Home / Author Archives: admin

Author Archives: admin

देउवाको भारत भ्रमणः यी हुन् नेपालका मुख्य एजेन्डा

६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि गर्न लागेको भारतको राजकीय भ्रमणको एजेन्डा तय भएको छ । देउवाले विविध विषयहरु भ्रमणका क्रममा उठाउने भएका छन् ।

महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने भएको छ । प्रधानमन्त्रीले प्राविधिक तहमा डिपिआर टुंग्याउनुपर्ने र त्यसपछि तल्लोतटीय लाभ, सामाजिक–आर्थिक लाभ, लाभ बाँडफाँड, वाइडर कस्ट, बाढी व्यवस्थापनका विषयमा राजनीतिक तहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव लगिने भएको छ ।

 

भारतीय बाँधका कारण सीमावर्ती नेपाली क्षेत्र डुबानमा परेका विषयमा नेपाल र भारतका विज्ञहरूको टोलीले संयुक्त अनुगमन गर्ने यसअघिको सहमति कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पनि लगिनेछ ।

स्थानीय तहको दोस्रो निर्वाचनदेखि १० मंसिरका लागि तोकिएको प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरण माग्ने तयारी छ ।

नेपाली सेनालाई विगतमा सैन्य सामग्री खरिद गरिदिएबापत दुई अर्ब ४६ करोड ८० लाख रुपैयाँ भारतलाई तिर्नुपर्नेछ । भारतले ६० प्रतिशत अनुदान कटाएर लिनुपर्ने ४० प्रतिशत मूल्यबराबरको उक्त रकम मिनाहाका लागि प्रस्ताव लैजाने गरी छलफल भइरहेको छ । पुरानो सहमतिअनुसार आपूर्ति हुनुपर्ने सैन्य सामग्रीलाई निरन्तरता दिन पनि पहल गरिनेछ ।

प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीका लागि फेरि प्रस्ताव लगिनेछ । यसबारे भारतको स्टेट बैंक र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आएको छ ।

नेपाली एलपिजी बुलेटलाई भारतसम्म खुला प्रवेश दिन माग गरिनेछ ।

जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट एयर इन्ट्री अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा यीसहित विराटनगरबाट जहाज आउन पाउनुपर्ने प्रस्ताव लगिनेछ । यसबारे नेपाल र भारतबीच पटक–पटक भएका वार्ता निष्कर्षविहीन हुँदै आएका छन् । भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता जनाउँदै त्यसआसपासबाट नेपालतर्फ जहाज आउने रुटको अनुमति दिएको छैन ।

नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि प्रस्ताव गरिने, ननट्यारिफ ब्यारिअर हटाउन थप प्रस्ताव गर्ने तयारी छ ।

पशुपतिनगर सुकियापोखरी नाका सञ्चालनका लागि प्रस्ताव गरिने, वीरगन्जदेखि कोलकाता–हल्दियासम्म भारतीय रेलमा दोहोरो सामान ओहोरदोहोरका लागि थप सजीकरणका लागि पहल गर्ने तयारी छ ।

इनर्जी बैंकिङका लागि प्रस्ताव गर्ने सरकारी तयारी छ । यसका लागि उत्तरप्रदेश र बिहार सरकार सहयोगका लागि इच्छुक रहेको सरकारी बुझाइ छ ।

बुटवल–गोरखपुर ४०० केभी सीमापार विद्युतीय प्रसारण लाइन जिटुजी (सरकारीस्तरमा) निर्माणका लागि आग्रह गरिनेछ । जम्मा सात अर्ब २१ करोड २० लाख भारु खर्च हुने सो परियोजनामा नेपालले दुई अर्ब ६ करोड ३७ लाख र भारतले पाँच अर्ब १५ करोड ३३ लाख रूपैयाँ खर्च गर्ने सहमति भइसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

source: dainiknepal.com

 

चोरले यस्तो चिज चोरेपछि भयो लाजमर्नु…

चोरले हाम्रा केही चिज चोर्यो भने पिर पर्छ, सातो पुत्लो उड्छ । तर आयरल्याण्डकी लीसा कोएनलाई भने आफ्नो चिज चोरी हुँदा समेत त्यस्तो कुनै दुख लागेन । उल्टै मज्जा आयो ।

 

राजधानी डब्लिनमा ट्रामबाट यात्रा गरिरहेको बेला चोरले उनको यस्तो चिज चोर्यो की उनलाई रिस उठेन, उल्टै हाँसो उठ्यो ।

वास्तवमा चोरले उनको गोजीबाट रजस्वला हुँदा लगाउने प्याड चोरेको रहेछ । जब चोरले उनको गोजीबाट झिकेको चिज रजस्वला हुँदा लगाउने वस्तु हो भन्ने थाहा पायो, ऊ मनमनै निकै लज्जित भएछ । त्यसपछि उसले त्यो वस्तु पुनः लिसाकै गोजीमा राखिदिने कोसिस गर्यो । तर त्यसबेला सम्म लिसाले आफ्नो प्याड चोरले चोरिसकेको र चोरले पुनः आफ्नो गोजीमा राखिदिने प्रयास गरिरहेको पत्तो पाइसकेकी थिइन् ।

ट्राममा उक्त चोरलाई उनले के भनिन् भन्ने त खुलाएकी छैनन् । तर उनले पछि यसबारेमा खुलासा गर्दै टि्वट गरेकी छिन् । टि्वटमा उनले लेखेकी छिन्ः त्यस चोरका लागि मैले प्रार्थना गर्दछु जसले पकेटमारी गरेर मेरो ट्याम्पोन निकाल्यो अनि लज्जित महसुस गर्दै पुनः मेरो गोजीमै राखिदिने कोसिस गर्न थाल्यो ।

उनले अगष्ट ६ मा गरेको उक्त टि्वट निकै चर्चित बनेको छ । ८ हजार भन्दा धेरैले रिट्वीट गरेका छन् भने झण्डै ३५ हजारले लाइक गरेका छन् ।

लिसाले यस्तो ट्वीट गरेपछि अन्य टि्वटेहरुले पनि चोरीमा परेको आफ्नो अनौठो अनुभव शेयर गर्न थाले । त्यसमध्ये एक महिलाले लेखेकी छिन्ः जब मैले मेरो बच्चालाई ट्याक्सीबाट झार्दै थिएँ तब मेरो ब्याग चोरी भयो । हामी घर फर्किरहेका थियौँ र उक्त ब्यागमा प्रयोग भैसकेका न्यापकिन मात्र थिए ।

एक अर्की महिलाले लेखेकी छिन्ः मेरो एकजना विद्यार्थीले मेरो झोलाबाट रिवार्ड स्टिकर चोरी गर्ने कोसिस गरेको थियो तर उसले रजश्वला हुँदा प्रयोग गर्ने सामान हात पार्‍यो ।

अर्का एकजना व्यक्तिको अनुभव अझै गज्जबको रहेछ । उनी भन्छन्ः मेरो भाइको साथीले झोलामा दिसाको नमूना लिएर ल्याब जाँदै रहेछ । बाटोमा एकजना चोरले उसको हातबाट झोला खोसेर बाइकमा चढेर फरार भएछ ।

एजेन्सी

नवराज सिलवालले समातेको ३३ किलो अवैध सुनका मालिक ७ महिनापछि युएईबाट पक्राउ

काठमाडौं, ५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ३३ किलो अवैध सुनका मालिकलाई युएईबाट पक्राउ गरेको छ ।

तत्कालिन सिआईबी प्रमुख डिआईजी नवराज सिलवालको नेतृत्वमा विदेशबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन बरामद भएको थियो । सुन बरामदका क्रममा दुई जना भरिया पक्राउ परेका थिए ।

भरियाको वयानका आधारमा भन्सारका कर्मचारी र प्रहरीकै एक जना एसएसपीको संलग्नता देखिएपछि निलम्बन गरी नियन्त्रणमा लिइएको थियो । र, अहिले ७ महिनापछि सुन तस्करीका मुख्य नाइके राजन प्रसाद पन्तलाई नेपाल प्रहरीको विशेष टोलीले युएई प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

सिआईबी प्रवक्ता एसपी किरण बज्रार्चायका अनुसार पन्तलाई नेपाल ल्याइसकिएको छ । र, अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरिनेछ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको पार्किङबाट १५ करोड मुल्य बराबरको ३३ किलो अवैध सुन बरामद गरेको थियो ।

source :dainiknepal.com

संविधान संशोधन विधेयक फेल, दुई तिहाईलाई ४८ मत पुगेन

५ भदौ, काठमाडौं । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको छ ।

 

तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक ‘पास फेल जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत’ भएसँगै अघि बढाइएको थियो ।

केही दिनको दफावार छलफलपछि संशोधन विधेयक सोमबार निर्णयार्थ पेश भयो तर, पास गर्न आवश्यक दुई तिहाई पुगेन ।

मतदानका समयमा संसदमा ५५३ सांसद उपस्थित थिए । उनीहरु मध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको छ ।

मतदान सुरु हुनु अघि नै ५ सांसद भएको मालेले भने प्रक्रियामा भाग नलिने भन्दै बैठक बहिस्कार गरेको थियो ।

संसदमा हाल ५९२ सांसद छन्, जसको दुई तिहाई ३९५ हुन्छ । तर, सोमबारको मतदानमा संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् । लगतै एमालेसहितका विपक्षी सांसदहरुले टेबल ठोकेर खुसी मनाएका छन् ।

संशोधन विधेयकको पक्षमा खसेको मत प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले पाएको भन्दै कम हो । त्यसबेला ५५८ अर्थात अहिले भन्दा ५ सांसद बढी उपस्थित थिए र देउवाले ३८८ मत पाएका थिए ।

तर, संशोधनको पक्षमा देउवाले पाएको भन्दा ४१ मत कम हो ।

राप्रपामा देखिएको फुटको असरमा यसमा देखिएको छ । कमल थापा नेतृत्वको राप्रपाका १९ सांसदले संशोधन विधेयकको विपक्षमा मतदान गरेका छन् ।

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा

५ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

 

‘कुशे औंसी पर्व पनि यस दिनपर्ने भएकाले आज सोमबार परेकाले आज उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको छ’, उनले भने ।

यसैगरी, आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ । मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ ।आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश यो वर्ष सोमबारे औंसी परेकाले १२ वर्षसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य वर्षको कुशे औंसीका दिन उखेलिएको कुश त्यो वर्ष मात्र प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ ।

औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताए । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ ।

source :onlinekhabar

बीस महिलाको चुल्ठो काटिएपछि स्थानीय त्रासमा, महिला बेहोस

वीरगञ्ज, ५ भदौ । भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो काट्ने) घटनाले पर्सा र बाराका महिला र युवतीमा त्रासमा छन् ।

साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पर्सा र बारामा गरी २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आइसकेको छ ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

साउन २९ गते एक, साउन ३२ गते एक, भदौ १ गते ६, भदौ २ गते सात र भदौ ३ गते पाँच गरी एक सातामा २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

वीरगन्ज महानगरपालिका १६ नगवाकी ३० वर्षीया महिला बगडी चमारिन् साउन २९ गते चुल्ठो काटिएर बेहोस भएर नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएपछि पर्सामा पहिलो पटक चुल्ठो काटिएको घटना सार्वजनिक भएको थियो ।

त्यसयता दैनिक पर्सा र बारामा महिला र युवतीको चुल्ठो काटिएको घटना सार्वजनिक हुँदै आएको छ । भदौ ३ गतेसम्म सार्वजनिक भएका २० घटना मध्येका अधिकांश पीडित महिलाले आफ्नो टाउँकोको पछाडि पट्टीको भागमा कुनै अज्ञात जीवले झट्का दिएपछि बेहोश भएको र अस्पतालमा पुर्याइएपछि होशमा आउँदा चुल्ठो काटिएको अवस्था भेटिएको बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए ।

केहीपीडित महिलाले भने अचानक अपरिचित मानिसको चित्र जस्तो देखिएको र उसले टाउँकोमा प्रहार गरेपछि बेहोश भएको र होशमा आउँदा कपाल काटिएको अवस्थामा भेटिएको बताएको गिरीले जानकारी दिए ।

अहिलेसम्म सार्वजनिक भएका २० घटनामा १४ देखि ३५ वर्षसम्मका युवती र महिला पीडित छन् । प्रहरी उपरीक्षक गिरीले २० मध्ये आठ महिलाको चुल्ठो रातको समयमा र बाँकी १२ महिलाको दिउँसो चुल्ठो काटिएको बताए ।

प्रहरीको अनुसन्धानमा पीडित महिलाको बयान उद्धृत गर्दै उपरीक्षक गिरीले भने, ‘टाउकोमा भेम किरा जस्तै आएर बस्यो, म बेहोस भएँ, त्यसपछि के भया भन्ने मलाई थाहा भएन ।’

भारतको राजस्थान सरकारले जारी गरेको सूचना अनुसार मैकी नामको किराले टाउकोमा टोकेर गन्ध छोडेपछि महिला बेहोस हुने र त्यही किराले कपाल काट्ने गरेको छ । तर, नेपाल प्रहरीले भने यस विषयमा अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक गिरीले बताए ।

‘चुल्ठो काट्ने किराको पर्सा प्रहरीले खोजी गरिरहेको छ,’ उनले भने, ‘भेटिएपछि अवश्य देखाउँछौ । शारीरिक कमजोरीको कारण पनि मान्छे बोहोस हुने, मुर्छा पर्ने जस्ता घटना हुनसक्छ’, उनले भने, ‘बेहोस हुने बितिकै चुल्ठो नै काटिएको हो भन्न सक्ने अवस्था छैन ।’

यस्ता घटनाले समाचार र समाजिक सञ्चालमा आउँदा महिलाहरु आत्तिने, रात भर जाग्राम बस्ने, माग्ने र एकल महिलालाई चुल्ठो काट्ने भनेर कुटपिट तथा दुव्र्यवहार गर्ने घटना समेत सार्वजनिक हुँदै आएका छन् ।

बारा, पर्सामा काटिएको चुल्ठोको कपालको नमुना काठमाडौंस्थित फरेन्सीक ल्याबमा परीक्षणका लागि पठाइएकाले त्यसको रिपोर्ट आएपछि मात्रै कसरी चुल्ठो काटिएको हो भन्ने विषयमा सत्य तथ्य जानकारी आउने प्रहरी उपरीक्षक गिरीले बताए ।

यसैबीच महिलाको चुल्ठोको कपाल काट्ने भनेर आरोप लगाएर कुटपिट गरिएका ६ जनालाई पर्सा प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका मध्ये एक बालिका, तीन माग्ने (भिखारी), एक बोल्न नसक्ने पुरुष र एक किसान रहेका छन् ।

source : dainiknepal

हराएको हिराको औँठी १३ वर्षपछि गाजरमा भेटियो

क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी १३ वर्ष पहिले घरकै बगैँचामा हराएको थियो । त्यो सन् २००४ को कुरा थियो । अहिले मेरी ८४ वर्षकी छिन् ।

 

हराएको यति लामो समय हुुँदा समेत फेला नपरेपछि औँठी भेटिने आश उनले मारिसकेकी थिइन् । तर हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारिन्, एउटा गाजरको साथमा ।

सायद भाग्य यसैलाई भन्छन् । अझ रोचक त के भने मेरीले हिराको औँठी हराएको कुरा आजसम्म कसैलाई पनि भनेकी थिइनन् । आफ्नो लोग्नेसँग पनि लुकाएकी थिइन् कुरा । तर छोरालाई भने आमाको औँठी हराएको थाहा थियो । औँठी हराएको कुरा लुकाउन उनले बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औँठी किनेर लगाउने गरेकी थिइन् ।

गत सोमबार मेरीकी बुहारीले जब खानका लागि करेसाबारीबाट एउटा गाजर उखेलिन् तब हिराको औँठीको रहसय पर्दाफास भयो । वर्षौँसम्म माटोमै रहेको औँठी गाजरमा उनिएको अवस्थामा फेला पारिन् बुहारीले । उखेल्ने बित्तिकै नै अनौठो देखियो गाजर, कम्मर छिनेको जस्तो । जब उनले गाजरलाई पानीमा पखालिन् तब त गाजरले हिराको औँठी लगाएको प्रष्टै देखियो । बीबीसी

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु लागेको पाइएको बताए ।

 

कालिका नगरपालिकास्थित जुटपानीकी १७ वर्षीया एक किशोरीमा रोग देखिएको जनाइएको छ । गएको साउन २७ गते भरतपुर अस्पतालमा डेंगु पुष्टि भएको र उनलाई स्क्रब टाइफससमेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक केसीले बताए ।

अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनको भरतपुर अस्पतालमा २७, रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३६ र मनकामना अस्पतालमा दुई जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै अन्य १३ जना बिरामी अन्य विभिन्न निजी ल्याबमा पत्ता लागेका हुन् ।

यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएको केसीले जानकारी दिए । स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण उस्तै भए पनि स्वाइनफ्लुमा भने रुघाखोकी देखिने चिकित्सकले बताएका छन् । स्क्रब टाइफस माइट नामको सुक्ष्म कीराले टोकेमा सर्छ भने डेंगु एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्छ ।

जिल्लामा अहिले भाइरल ज्वरोसमेत फैलिएकाले सचेत हुन र ज्वरोसँगै लक्षण देखिनेबित्तिकै चिकित्सकको निगरानीमा जान भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले आग्रह गरे ।

source: onlinekhabar

भारत भ्रमणमा के–के गर्दै छन् देउवाले ?

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण केन्द्रित हुने बताएका छन् ।

पूर्व प्रधानमन्त्रीहरूसँग भारत भ्रमणबारे शनिबार सुझाव लिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘नेपाल र नेपालीकै हित र राष्ट्रिय स्वार्थपूर्ति गर्न मैले यो भ्रमणलाई उपयोग गर्नेछु ।’

देउवाले तराईमा बाढीका कारण उत्पन्न डुबान समस्याबारे भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री देउवा बुधबारदेखि भारतको चारदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री भएयता पहिलोपटक उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री भ्रमणको औपचारिक घोषणा दुवै विदेश मन्त्रालयका तर्फबाट सोमबार हुनेछ । पूर्व सरकार प्रमुखहरू पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल र खिलराज रेग्मीले प्रधानमन्त्रीलाई आफ्ना सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने बैठकमा गएनन् ।

बैठकको सुरुमा बोलेका पूर्वप्रधानमन्त्री खनालले भारतीय सीमा बाँधका कारण नेपाली भूभाग डुबानमा परेकाले यस्तो बाँधबारे समीक्षाका लागि भारतसँग कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिए । ‘भारतसँगका सीमा बाँधहरू अन्तर्राष्ट्रिय ऐन-कानुनविपरीत छन् । ‘अहिले तराई भयावह अवस्थामा डुबानमा छ । यसमा प्रधानमन्त्रीले खुट्टा नकमाई भारतीय पक्षसँग कुरा राख्नुहोला’, खनालले भने ।

खनालले बैठकपछि अन्नपूर्णसँग भने, ‘असमान सन्धि-सम्झौताका कारण नेपालले जहिल्यै भारतीय पक्षको हेपाहा व्यवहार भोगिरहनुपरेको छ । असमान सन्धि-सम्झौताका विषयमा पनि नेपालले भारतीय पक्षसँग कुरा उठाउनुपर्छ । देशको राष्ट्रिय हितमा रहेर कुरा गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री दाहालले भारतसँगका पूर्वसहमति कार्यान्वयनमा भ्रमण केन्द्रित गर्न देउवालाई सुझाव दिए । पूर्वसरकार प्रमुख रेग्मीले देउवालाई भने, ‘तपाईं अनुभवी प्रधानमन्त्री हुनुहुन्छ । मुलुकको हितमा हुनेगरी भारतसँग सम्बन्ध विस्तारका लागि कुरा राख्नुहोला ।’ भारतसँग विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित रहने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले बताए ।

आधा दर्जन समझदारीपत्रमा हस्ताक्षर हुने

नेपाल-भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षरको तयारी भएको छ । स्रोतका अनुसार नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५० मिलियन अमेरिकी डलर अनुदान सहयोग परिचालनका लागि चारवटा विधामा भिन्दाभिन्दै समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
जसअनुसार ५० मिलियन स्वास्थ्य क्षेत्रमा, ५० मिलियन सांस्कृतिक सम्पदा, ५० मिलियन शिक्षा क्षेत्रमा र एक सय मिलियन भूकम्पपीडितका लागि घर निर्माणमा खर्च हुनेछ ।

नेपाल र भारतका गुणस्तर तथा नापतौल निकायबीच वस्तुको गुणस्तरलाई एकअर्काले मान्यता दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । स्रोतका अनुसार एसियाली विकास बैंकको सहयोगमा सासेक कार्यक्रमअन्तर्गत मेची नदीमा बनाइने पुलका लागि समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । त्यस्तै, भारतले पशुपति क्षेत्रको पुनर्निर्माणका लागि सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । ‘तर पशुपतिको मुख्य मन्दिर पुनर्निर्माण गर्न भारतलाई दिनुहुँदैन भन्नेमा सरकार सचेत छ’, भ्रमणबारे जानकार एक अधिकारीले अन्नपूर्णसँग भने ।

लुम्बिनीको बृहत्तर विकासअन्तर्गत लुम्बिनीमा भारतले सभागृह बनाउन सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि टुंगो हुन भने सकेको छैन । ‘यी सझदारीपत्रमा नेपालको मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ’, ती अधिकारीले भने । उनले पूर्वाधार विकासमा भारतीय सहयोग, सीमापार कनेक्टिभिटी सुदृढ गर्ने, पुनर्निर्माणमा भारतीय सहयोगलगायत आर्थिक विकासका मुद्दामा नेपाल-भारतबीच समझदारीपत्रमा हस्ताक्षर हुने भट्टराईले बताए ।

जलस्रोत विकासका क्षेत्रमा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउन देखिएका जटिलता हल गर्ने विषयमा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल हुनेछ । ‘प्राविधिक र प्रशासनिक तहबाट पञ्चेश्वरको डीपीआर टुंग्याउने गरी सरकारलाई सिफारिस भएको छैन । राजनीतिक तहमा कुरा भएर पञ्चेश्वरको डीपीआर टुंगो भए त्यो मुलुकको हितमा हुने छैन । किनकि महाकालीको पानी बाँडफाँटजस्ता विषयमा हाम्रो कुरा भारतसँग मिलिसकेको छैन’, अर्का एक सरकारी अधिकारीले भने । माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत जलविद्युत् परियोजना निर्माणमा भइरहेको प्रगतिबारे भ्रमणमा छलफल हुनेछ ।

भ्रमणको प्रारम्भिक कार्यतालिका
बुधबार : बिहान प्रधानमन्त्री नयाँदिल्ली प्रस्थान
दिउँसो भारतीय सत्तापक्ष र प्रतिपक्षी दलका नेतासँग भेट
साँझ दिल्लीस्थित दूतावासको कार्यक्रममा सम्बोधन

बिहीबार :भारतीय उच्च राजनीतिक तहमा भेटवार्ता
भारतीय राष्ट्रपतिसँग भेट, भारतीय प्रधानमन्त्री मोदीसँग एकल र सरकारी तहमा वार्ता
भारतीय सरकारका मन्त्री र देउवाबीच भेट

शुक्रबार : भारतीय थिंकट्यांक र व्यापारीसँग छलफल
हैदरावाद गई त्यहाँको सूचना प्रविधि पार्क अवलोकन
तिरुपति दर्शन
शनिबार : बिहार भ्रमण
आइतबार : स्वदेश फिर्ता

source: dainiknepal

यतिले सुरु गर्‍यो एटीआरमार्फत ब्यवसायिक उडान

७ साउन, काठमाडौं । यति एयरलाइन्स आफ्नो नयाँ एटीआर विमानमार्फत सेवा थालेको छ । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यतिको पहिलो एटीआर विमान गत साउन ७ गते काठमाडौं ल्याएको थियो ।

फ्रान्सेली कम्पनी एटीआरको ७२-५०० सिरिजको विमान जहाजमार्फत यतिले पहिलोपटक सेवा थालेको हो । विमानले पहिलो उडान भैरहवामा भरेको छ भने ब्यवसायिक उडान भने नेपालगञ्जबाट थालेको छ ।

 

एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ्नो बजारलाई तल झन नदिने रणनीतिका साथ एटीआर विमानहरु ल्याउने अनुमति पाएको थियो ।

यले अहिले नेपालगञ्ज र बिराटनगरमा दैनिक उडान भर्नेछ । सेप्टेम्बरभित्रै दोस्रो विमान ल्याएर भैरहवा, भद्रपुरमा पनि एटीआरमार्फत नै सेवा दिने योजना यतिको छ ।

७२ सिट क्षमताको एटीआर-५०० विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ ।

सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२-५०० ल्याएको हो । कम्पनीले अब एक वर्षभत्र थप २ वटा एटीआर ल्याउनेछ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिलेसम्म ३० सिटे जेटस्टि्रम-४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।

अब जेटस्ट्रिमसहित एटीआरमार्फत पनि सेवा विस्तार गर्दै जाने योजना यतिको छ । अहिले बुद्ध एयरसँग पनि ४ वटा एटीआर छन् ।

source:onlinekhabar