Home / प्रवास

प्रवास

श्रममन्त्रीले भने-कतारमा नेपालीलाई समस्या भएको छैन

९ असार, काठमाडौं । श्रममन्त्री फरमुल्लाह मन्सुरले कतारमा विकसित पछिल्लो घटनाक्रमले त्यहाँ कार्यरत नेपालीलाई कुनै असर नगरेको बताएका छन् ।

 

कतारको पछिल्लो अवस्थाबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत प्रभावकारी रुपमा वि्रफिङ गरेको उनले बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री मन्सुरले रोजगारीको सिलसिलामा कतारमा रहेका ४ लाख नेपाली कामदारबारे आफूले सम्पूर्ण जानकारी लिएको बताए ।

आफूले कतारका लागि नेपाली राजदूतसँग कूरा गरेको भन्दै उनले भने, ‘त्यहाँ जुन विकसित स्थिति छ, त्यसले नेपालीको रोजगार र पेशा व्यवसाय केही फरक पार्दैन, कतार आँफैमा दक्ष र सक्षम छ भनेर जवाफ दिनुभएको छ ।’

उनले अघि भने, कतारले पनि अन्य असन्तुष्ट मुलुकसँग वार्ता गरिरहेको छ, चाँडै समस्या समाधान हुने कुरा बुझिएको छ ।’

मलेसियामा अलपत्र २८ नेपाली स्वदेश फिर्ता

५ असार, काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ ।

दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।

दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ । दूतावासका अनुसार शङ्खलाल गोले (पर्सा), मनिराम बेङ्गासी (धनुषा), सञ्जयकुमार नेपाली (सर्लाही), सनम लिम्बू (धनकुटा), दीपेश लिम्बू र राजकुमार राई (सुनसरी), सन्तोष अधिकारी (कपिलवस्तु), मुकेशराज यादव (रौतहट), मनोजकुमार नेपाली (सिन्धुली), मनबहादुर तामाङ (काभ्रेपलान्चोक), खड्का लिम्बू (ताप्लेजुङ), निकेश कार्की (काठमाडौँ), विवश राई (खोटाङ), मीनप्रसाद डोटेल (काभ्रेपलान्चोक) र सुदीप तामाङ (चितवन) लाई नेपाल फकाईएको छ ।

यस्तै सञ्जय मल्ल र दीपेन्द्रकुमार भण्डारी (रुकुम), राजअलि शाही (बाँके) जितनारायण यादव (सिरहा), इन्द्रबहादुर सार्की (गुल्मी), सन्चबहादुर लिम्बू (ताप्लेजुङ), गर्जेन्द्र घर्ती मगर (रोल्पा), टेकबहादुर राप्चा (ओखलढुङ्गा), गुलाब चौधरी (सुनसरी), भरतबहादुर बुढा मगर (दाङ), विदुर कार्की (झापा) र सञ्जीव बैजु (मकवानपुर)लाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । रासस

 

भारत र अमेरिकाको एउटै चासोः प्रचण्ड सरकारको विदेश नीतिले निरन्तरता पाओस्

२७ जेठ, काठमाडौं । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी हुन् ।

शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिमा जोड दिइन् ।

 

शुक्रबार नै दिउँसो पौने १ बजे विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री महरालाई दिल्लीबाट टेलिफोन गरेर बधाई दिएकी थिइन् ।

माओवादी केन्द्रका विदेश विभाग सदस्य एवं महराका प्रमुख स्वकीय सचिव युवराज चौलागईका अनुसार करिब १० मिनेट लामो कुराकानीमा स्वराजले विगतको निरन्तरता चाहेको बताएकी थिइन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

मृत्युदण्डबाट बचेर घर फर्किए मलेसियाबाट एक नेपाली


२० अप्रिल, मलेसिया । मलेसियाली नागरिकको हत्या आरोपमा पक्राउ परेका एक नेपालीले यहाँको अदालतवाट न्याय पाएका छन् ।
सिन्धुपाल्चोकको किमे–९, गुम्थाङ घर भएका लालबहादुर तामाङ अदालतको आदेशपछि मृत्युदण्ड पाउनबाट जोगिएका हुन् ।

तामाङ मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।

उनीमाथि ड्युटी समयमा मलेसियन नागरिक माथुभेलु ए गोविन्दनको हत्या गरेको आरोप थियो । यही आरोपमा १० नोभेम्बर २०१६ मा उनी पक्राउ परेका थिए ।
तामाङ पक्राउ परेसँगै मृत्युदण्ड सजायको माग गर्दै पेनलकोर्टमा मुद्दा दर्ता गरिएको थियो ।

अदालतमा मुद्दा परेसँगै मलेसियास्थित नेपाली दूतावासले झुठा मुद्दा लगाइएको भन्दै १४ जुन २०१६ मा अदालतमा निवेदन पेश गरेको थियो । मार्च ८ मा उच्च अदालत शाहआलमले उनी निर्दोष रहेको फैसला सुनाएको थियो ।

निर्दाेष ठहरिएका लामा नेपाली राजदूतावासको पहलमा वैशाख ६ गते नेपाल फर्किएका छन । ‘तामाङको मुद्दामा कानुनी परामर्शदाताको सहयोग महत्त्वपूर्ण रह्यो’ मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमानसिं वस्न्यातले अनलाइनखबरसँग भने ।

अठार जनाको एकै दिन उद्धार


उता, वुधवार नै नेपाली राजदूतावास मलेसियाले अवैधानिक अवस्थामा पक्राउ परी डिटेन्सन सेन्टरमा रहेका १८ नेपालीको उद्दार गरेको छ । वुकित जलिल क्याम्पमा रहेका उनीहरुलाई उद्धार गरिएको हो । केही दिन अगाडि मात्रै नुवाकोटका विफ लामा, सिन्धुलीका लिला भोलन, भोजपुरका जयकुमार खवास, झापाका पदमवहादुर तामाङ, धनकुटाका धिरेन्द्र याक्खा, तनहुँका कमलवहादुर भुजेललाई पनि उद्धार गरी नेपाल पठाइएको थियो । नेपाल सरकारबाट उपलब्ध बजेटबाट हवाई टिकट खरिद गरेर नेपाल पठाइएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

२०७४ वैशाख ७ गते ७:३७ मा प्रकाशित

साउदीका गैरकानुनी विदेशी कामदारले आममाफी नलिए २८ लाखसम्म जरिवाना

saudi-arebia

१० चैत, काठमाडौं । साउदी अरेबियाले आममाफीका लागि दिएको ९० दिनको समयसीमा भित्रमा देश नछोड्ने अवैध (इलिगल) आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने निर्णय गरेको छ । आममाफीका लागि जारी गरिएको सूचनाअनुसार आफू स्वदेश फर्किन प्रक्रिया अघि नबढाउने कामदारले अब २८ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।

धेरै नेपाली कामदार पनि साउदीमा अवैध कामदारका रुपमा रहेकाले उनीहरुले आममाफीका सदुपयोग नगरे ठूलो जरिवाना तिर्नुपर्ने छ ।

 

कम्तिमा ४ लाख २० हजार रुपैयाँदेखि २८ लाख रुपैयाँ अर्थात १५ हजार देखि १ लाख रियालसम्म जरिवाना लगाउने निर्णय साउदीले गरेको हो । साउदीको अध्यागमन विभागले यसरी जरिवाना तिरेर फर्किएकालाई फेरि साउदीमा आउन नदिने निर्णय पनि गरेको छ ।

आममाफीको प्रक्रिया चैत १६ गतेदेखि लागू हुनेछ । यसको ९० दिनको अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा कार्यरत विदेशी कामदारले विना सजाय देश छाड्न सक्नेछन् ।

यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउने छन् । यस्तो सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिषा अवधि समप्त भएपछि पनि घर फिर्ता नभएका र भिसासँग सम्बनिधत अन्य मामिलामा पनि यो सुविधा लागू हुनेछ ।

यो सुविधा अवधि समाप्तिपछि पनि बसाई नटुंगाउनेहरुले भने जरिजाना सहित सजाय भोग्नु पर्ने पनि त्यहाँको सरकारले स्पष्ट पारेको छ । यसअघि ३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छोडेका थिए ।

महामन्त्री कोइरालासहित काँग्रेस नेताहरु बेल्जियममा

sasanka

२१ फागुन, बार्सिलोना । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालासहित काँग्रेस नेताहरू बेल्जियम आइपुगेका छन् । नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेता कोइराला बेल्जियम आईपुगेका हुन्। कोइरालासँगै केन्द्रीय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्यद्वय एनपी साउद र चन्द भण्डारी पनि बेल्जियम आइपुगेका छन् ।

बिपीपुत्र कोइरालासहित काँग्रेस नेताहरुको स्वागतका लागि बेल्जियमका काँग्रेसीहरुको बिमानस्थलमा भीड नै लागेको थियो । आइतबार हुने अधिबेशनलाई कोईरालाले उद्घाटन गर्दै छन् । महामन्त्री कोईरालाले बेल्जियम अलवा अन्य युरोपेली मुलुकमा पनि काँग्रेसीहरु माँझ अन्तरक्रिया, छलफल र भेटघाट गर्ने कार्यक्रम छ ।

जनसम्पर्क समिति बेल्जियमको मार्च ५ तारिखमा अधिबेशन उद्घाटन हुँदै छ । आगामी नेतृत्वका लागि काँग्रेस महासमिति सदस्य सीता सापकोटा, पूर्व उपाध्यक्ष माधव सापकोटा तथा बर्तमान उपाध्यक्ष अनुजा प्रधानले दाबी गर्दै आएका छन् । सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिखमा नयाँ कार्यसमितिका लागि चुनाव हुँदैछ । समितिका अध्यक्ष सुबास जोशीका अनुसार १ हजार ३ सय २७ सदस्यहरु मतदान सहभागी हुने छन् ।

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

 

१० फागुन, काठमाडौं । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।’

 

रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश मारेका छन् ।

उनीजस्तै अन्य १३ युवालाई मलेसियाको उच्च (पुनरावेदन) अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । यी नेपाली कामदारले आफूलाई फसाइएको भन्दै पटक-पटक जीवनरक्षाको अपिल गरे । दुई वर्षयता विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ । संघीय अदालतमा मुद्दा पेस हुने क्रममा छ । यो तहसम्म पुगेपछि जीवन बच्ने सम्भावना न्यून हुने कानुनी व्यवस्था छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

लागुऔषध ओसारपसार, कारोबार र कर्तव्य ज्यानमुद्दामा मृत्युदण्ड सुनाइएका अधिकांश नेपालीलाई फसाएको पाइएको मलेसियास्थित राजदूत निरञ्जनमानसिंह बस्न्यातले बताए । अधिकांश घटनामा घरमालिक र उनका परिवार गैरकानुनी गतिविधिमा संलग्न हुने र ओसारपसारमा नेपाली कामदारलाई लगाउने गरेको उनी बताउँछन् । त्यस्तो अवस्थामा प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको खुलेको बस्न्यातले बताए ।

बैंककमा पूर्वराजा शाहले के–के गरे होलान ?

Gyanendra-Himani-712x500

काठमाडौं, २८ माघ । एकसाता बैंकक भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् । उनी बेलाबेला बैंकक जाने गर्छन् ।

पूर्वराजा शाहले दोस्रो पटक बुहारी हिमानीलाई साथमा लिएर बैंकक पुगेका हुन् । उनको भ्रमणहरूलाई उच्च चासो र महात्वका साथ लिइने गरिइएको छ । भ्रमणका विषयमा निर्मल निवासले केही बताउन मान्दैन । तर, स्रोतहरूका अनुसार पूर्वराजा शाह बैंकक घुम्नमात्रै नगएको बताउँछ ।

निर्मल निवाससँग निकट रहेका पुराना एक कर्मचारी भन्छन्, ‘उहाँहरू बैंकक गएका विषयमा हामीलाई थाहा हुने कुरै हुँदैन । बैंकक भ्रमण त्यत्तिक जानु भएको होइन । केही उद्देश्य त पक्कै छ ।’ ती कर्मचारीले बैंककमा रहेका बेला त्यहाँ रहेका नेपाली र उच्च अधिकारीहरूसँग भेटवार्ता भएको विषयलाई नकारदैनन् ।

राजसंस्थालाई फर्काउने हाल्ल चलिरहेका बेला पूर्वराजा शाहले पटक पटक बुहारी हिमानीलाई लिएर बैंकक जानुलाई पनि स्वभाविक रुपमा लिनु सकिँदैन । पूर्वराजा शाहले चिनियाँ राष्ट्रपतिका विशेष प्रतिनिधीलाई पनि बैंककमा भेटवार्ता गरेको उनका निकट रहेकाहरूको दाबी छ ।

स्रोतहरूले चीन र भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता भएको दाबी गरे पनि पुष्टि हुने आधार भने छैनन् ।

हुन त केही पत्रिकाहरूले पनि पूर्वराजा शाहको बैंकक भ्रमणलाई स्वभाविक रुपमा लिन नसकिने भनेर समाचार प्रकाशित लेखिसकेका छन् । बुहारी हिमानीसँगको पहिलो बैंकक भ्रमणका बेला चीन पुगेर पूर्वराजा शाहले चिनियाँ अधिकारीहरूलाई भेट गरेको तस्बिर र समाचारहरू सार्वजनिक भइ सकेका छन् ।

यसपटक बुहारी हिमानीलाई साथमा लिएर बैंकक पुगेका पूर्व राजा शाहले राजसंस्था फिर्ता गराउने र मुलुकलाई हिन्दूराज्य घोषणाका लागि पहल थालेको आरोप छ । त्यसक्रममा पूर्वराजा शाहले भारतीय उच्च अधिकारीलाई पनि भेट गरेको हुन सक्ने स्रोतका भनाइ छ ।

बिहीबार त्रिभुवन विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई आफन्त र सीमित शुभचिन्तकहरूले स्वागत पनि गरेका थिए । अघिल्ला समयमा जस्तो पूर्वराजा शाहलाई धेरै शुभेच्छुकहरू भने पुगेका थिएनन् ।

ट्रम्पलाई कसरी हेर्ने ? घुरेर हेर्ने कि पिठ्युँ फर्काउने ? आप्रवासीमाथिको प्रतिबन्धः पुरानै बोतलमा नयाँ रक्सी

नेपालीहरुको बानी यस्तो छ कि चन्द्रमामा कुनै देश भएको भए हामी त्यहाँको राजनीतिका बारेमा पनि केही न केही टिप्पणी गर्नेथ्यौं । हामी नेपालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा चर्चा नगर्ने कुरै भएन ।
जे छ, ट्रम्पकै चर्चा छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिने घोषणा गरे । जिम्मेवारी सम्हाल्नासाथ उनले मेक्सिकोमा पर्खाल लगाउने घोषणा गरे । त्यसपछि उनले संसारलाई नै हल्लाउने गरी सात मुस्लिम देश (इरान, इराक, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन ) का नागरिकहरुमाथि भिसा नदिने कार्यकारी आदेश फर्माए । यसलाई सहयोग नगर्ने महान्यायाधिवक्तालाई गलहत्याए ।

र, मंगलबार मात्रै ट्रम्पले भिसासम्बन्धी नीतिमा कडाइ गर्ने गरी नयाँ विधेयक अमेरिकी संसदमा पेश गरिसकेका छन्, जसको सोझो असर अमेरिका जान खुट्टा उचालेका नेपालीहरुमाथि पनि पर्ने छ । यही विधेयकका भारतमा ‘रुवाबासी’ सुरु भइसकेको छ ।

यतिबेला संसारका मिडियाको ध्यान ट्रम्पले गर्ने निर्णय र उनले गोली हानेजसरी चलाउने टि्वटतर्फ केन्द्रित भएको छ । विभिन्न विमानस्थलमा अमेरिका छिर्न नपाएकाहरुले ट्रम्पको विरोधमा प्रदर्शन गरिरहेका छन् । अमेरिकाका मिडिया त पहिल्यैदेखि ट्रम्प विरुद्ध खनिएका खनिएकै छन् । संसारका विभिन्न देशमा क्रिया प्रतिक्रिया आइरहेका छन् (नेपाल सरकार बाहेक) ।

अमेरिकाको राजनीति नेपालको भन्दा अस्थिर र होहल्लामय बनिरहेको छ । ट्रम्पको विरोधमा एप्पल, गुगल र फेसबुकका मालिकहरु पनि मैदानमा उचिएका छन् । संसारभरि एकप्रकारको होहल्ला मच्चाइदिएका छन् ट्रम्पले ।

यसमा अर्को पक्ष पनि के छ भने संसारभरि उनको विरोध भइरहेको बताइए पनि डोनाल्ड ट्रम्प चुनावमा अमेरिकी जनताको बहुमत पाएर राष्ट्रपति बनेका हुन् । र, त्यहाँका बहुमत जनताले उनलाई जे एजेन्डाका लागि भोट हालेका थिए, उनी त्यसैको कार्यान्वयनमा अर्जुनदृष्टि लगाएर अघि बढेका छन्, मेक्सिकोमा पर्खाल, मुस्लिमलाई अमेरिका प्रवेशमा रोक आदि आदि ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा आउने अमेरिकी सहयोग केही मात्रामा कटौती गरिसकेका छन् । यससँगै अमेरिका जान तम्सिएका वा देश छाडेर अमेरिकामा पुगेका नेपालीहरुको समेत निद्राहरण भइरहेको छ । उनीहरुको मन-मस्तिष्कमा डोनाल्ड ट्रम्प सुनामी बनेर आइरहेका छन् ।

आखिर अमेरिकी डोनाल्ड ट्रम्पले ठीक काम गर्दैछन् कि उपद्रो गरिरहेका छन् ? उनको यस्तो नीतिबाट नेपाल र नेपालीलाई फाइदा हुन्छ कि घाटा ? यसबारे नेपालमा जे जति विश्लेषण हुनुपर्ने हो, त्यो चाँहि हुन सकिरहेको छैन । ट्रम्प फगत त्रासदी बनेर अाइरहेका छन् नेपालीमाझ ।

नेपालबाट ट्रम्पलाई कसरी हेर्ने ?
डोनाल्ड ट्रम्प र अमेरिकी राजनीतिको भवितव्यबारे चर्चा गर्नुपूर्व नेपालीको नजरमा ट्रम्पलाई कसरी हेर्ने भन्नेबारेमै एउटा अवधारणागत निश्कर्ष जरुरी छ ।

नेपालका बुद्धिजीवीमा एउटा रोग नै छ, माओकी श्रीमतीलाई कसरी हेर्ने ? ट्राटस्कीलाई कसरी हेर्ने ? लेनिन, काउत्स्की र रोजालाई कसरी हेर्ने ? पृथ्वीनारायण शाहलाई कसरी हेर्ने ? भानुभक्तलाई कसरी हेर्ने ? आदि इत्यादि ।
ट्रम्पलाई कसरी हेर्ने भन्ने पनि यस्तै-यस्तै बहस हो । हामीले हाम्रै देश र आफ्नै जनतालाई कसरी हेर्ने भनेर टुंगो लगाउन सकेका छैनौं, सात समुद्रपारिको देशका राष्ट्रपतिलाई जसरी हेरे पनि हुन्छ । नहेरिकन पिठ्युँ फर्काए पनि केही फरक पर्दैन ।

तथापि डोनाल्ड ट्रम्प र उनले लिने नीतिसँग नेपालका दुईवटा कनेक्सन छन्ः

प्रथमतः संयुक्त राज्य अमेरिका अधिकांश सुकिला-मुकिला नेपालीहरुको ‘स्वप्न गन्तव्य’ भएका कारण यसमा अमेरिकी नीतिको प्रभाव स्वाभाविकरुपमा नेपालमाथि पनि पर्छ ।

र, दोस्रोः संसारको शक्ति राष्ट्रका रुपमा रहेको अमेरिकाले लिने विदेश नीतिको प्रभाव तेस्रो देशहरुमा पर्न सक्छ । त्यस्तो असर भारत र चीन हुँदै नेपालमा पनि चाँडै आइपुग्न सक्छ । त्यसैले यो विषय ‘माओकी श्रीमतीलाई हेर्ने’ विषय भन्दा अलिकति सामयिक एवं व्यवहारिक प्रश्न हो ।

यस आलेखमा ट्रम्पले लिने नीतिबाट नेपाल जस्तो तेस्रो देशलाई के असर पर्छ भन्नेबारेमा तथ्यांकमा टेकेर विश्लेषण गर्ने उद्देश्य राखिएको छैन । यो छोटो लेखमा यति मात्रै भन्न सकिन्छ कि ट्रम्पनीतिका कारण नेपाल र नेपालीमाथि पर्ने असरका विषयमा विश्लेषणात्मक अध्ययनको आवश्यकता छ ।

टाढाका ट्रम्प धन्यवादका पात्र

हाम्रा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी पीआर र ग्रीनकार्डवालालाई रोक्न र स्वदेशमै बसेर केही गरौं भन्नाका खातिर धेरै पापड बेले । तैपनि पण्डितको केही लागेन । हाम्रो देशको ब्रेन अमेरिकातिर ओइरिने क्रममा कमी आएन ।

पढेलेखेका मानिसहरु नेपालमा भएको सबैथोक छाडेर अमेरिकामा के के न पाइन्छ भन्दै दौडिए । अमेरिका दौडने राष्ट्रिय रोग नै लाग्यो हाम्रो देशमा । पढ्न गएका भनिएकाहरु पनि उतै बसे । उनीहरुले अमेरिकामै ‘मिनी नेपाल’ बनाए । यता आफ्नो देशचाँहि उजाड बन्ने क्रम तीब्र गतिमा अघि बढ्यो ।
अहिले ट्रम्पले जसरी आप्रवासीहरुमाथि ‘सेबोटेज’ सुरु गरेका छन् यसले नेपालको अमेरिका पलायनमा कमी ल्यायो भने नेपाललाई हराभरा बनाउन यसबाट सहयोग नै पुग्ने छ र यसमा नेपालीहरुले ट्रम्पलाई धन्यवाद दिनैपर्ने हुन्छ ।

कुनै पनि देश सम्वृद्ध बन्नका लागि युवाशक्ति स्वदेशमै र्फकनुपर्छ । भारत र चीन समृद्धितिर लम्किएको पनि यही कारणले हो । र, ट्रम्पले अत्याएपछि भारतीयहरुको अर्को पुस्ता फेरि स्वदेश फर्किने स्थिति आइपुगेको छ र यसले भारतलाई पनि फाइदा गर्छ ।

जसले जसरी हर्काए पनि विदेशमा रहेका नेपालीलाई हर्काएर स्वदेश पठाइदियो भने आशा गरौं नेपालमा केही विकास र प्रगति हुन्छ । राजनीतिदेखि हरेक क्षेत्रमा नयाँ प्रतिभाहरु पुग्न सक्छन् ।

ट्रम्पले मेक्सिकोमा लगाउने पर्खाल नेपालीहरुले उक्लन नसक्लान्, त्यसबाट नेपाललाई केही घाटा छैन । भिसा दिने मापदण्डलाई महंगो एवं कडा बनाउलान्, त्यसले काठमाडौंको अमेरिकी दूताबासको कमाइलाई घाटा लगाउला र निम्न मध्यम वर्गका मानिसहरु अमेरिका जाने क्रम रोकिएला । यसबाट नेपालीलाई केही अंकगणीतीय तलमाथि होला, तर नेपाललाई यसले डुबाउँदैन । त्यसैले यसमा हामीले कोकोहोलो गरिरहनुपर्ने खासै जरुरी छैन ।

चीन र भारतको वीचमा रहेको नेपालले उत्तर-दक्षिण फर्किने विदेश विदेश नीति लिएर पनि हामी अघि बढ्न सक्छौं । पश्चिमतिर वा अमेरिकातिर घुरेर हेर्नुको साटो पिठ्युँ फर्काएर पनि नेपालको विकास सम्भव छ । हामी नजिकको अमेरिकाको छिमेकी होइनौं । ‘टाढाको देवता भन्दा नजिकको भुत’ नै काम लाग्छ भन्ने नेपालीमा आहानै छ ।

जहाँसम्म अमेरिकी राष्ट्रपति ट्रम्पले लिने विदेशनीति वा आप्रवासी नीतिबाट तेस्रो विश्वमा पर्ने असरको कुरा छ, यसबाट मुस्लिम देशमा जति धेरै असर पर्छ, एशियाको सुरक्षित ठाउँमा रहेको नेपाललाई त्यसको बाछिटाले खासै धेरै असर गर्ने स्थिति देखिँदैन । बढी असर गर्ने डीभीवालालाई नै हो ।

यसर्थ नेपालले ट्रम्पलाई घुरेर हेर्ने नीति लिनुभन्दा अमेरिकातिर पिठ्युँ फर्काउने र आफु (नेपाल) तिरै हेर्ने नीति लिनु बढी बैज्ञानिक होला कि ? यसमा चाहिँ बहस आवश्यक छ ।

आप्रवासीमाथिको प्रतिबन्धः पुरानै बोतलमा नयाँ रक्सी

ट्रम्पले आप्रवासीमाथि कडाइ गर्दै विदेशी नागरिकलाई भिसा नदिने निर्णय गरेको अमेरिकाको इतिहासमा यो पहिलो घटना होइन । यसअघि पनि करिब आधा दर्जनचोटि यस्ता आदेशहरु हुने गरेका थिए । र, यसको तारो यहुदी र कम्युनिष्टहरु बनेका थिए ।

अमेरिकामा सबैभन्दा पहिले सन् १८८२ मे ६ मा राष्ट्रपति चेस्टर ए. अर्थरका पालामा चिनियाँ कामदारहरुमाथि रोक लागेको थियो । चिनियाँमाथिको यो प्रतिबन्ध सुरुमा १० वर्षका लागि घोषणा गरिएको थियो । सन् १८९२ मा यसको म्याद सकिए पनि पुनः १० वर्ष थप गरियो । यद्यपि यो एक्ट सन् १९४३ सम्मै लागू भयो ।

दोस्रो विश्वयुद्ध ताका राष्ट्रपति रुजवेल्टका पालामा जर्मन यहुदी शरणार्थीहरुमाथि अमेरिकाले रोक लगायो । त्यसबेला नाजीवादको शिकार बनेर दशौं लाख यहुदीहरु शरणार्थी बनेका थिए । त्यसअघि ९३७ शरणार्थी बोकेको सामुदि्रक जहाजलाई सन् १९३९ मै अमेरिकाले युरोप फर्काइदिएको थियो ।

अमेरिकाले सन् १९०१ मा पनि निरंकुशतावादीहरुलाई आश्रय नदिने नीति ल्याएर पोलिस आप्रवासीमाथि रोक लगाएको थियो । यो कानूनलाई १९०३ को इमिग्रेसन एक्टका नामले चिनिन्छ । र, कुनै समूह वा देशवासीहरुलाई नभएर यो बञ्देज राजनीतिक विचारका आधारमा व्यक्तिगत प्रकारले लगाइएको थियो ।

अमेरिकाले अहिले मुस्लिममाथि प्रतिबन्ध लगाएजस्तै एक जमानामा आफ्नो देशमा कम्युनिष्टहरुलाई समेत छिर्न नदिने नीति अंगीकार गरेको थियो । इन्टरनेशनल सेक्युरिटी एक्ट-१९५० अनुसार अमेरिकाले सोही सालको अगस्त २३ बाट कम्युनिष्टहरुलाई भीसा नदिने नीति ल्यायो । कतिपय कम्युनिष्टहरुलाई अमेरिकाले डिपोटसमेत गर्‍यो । यो नीतिलाई सन् १९९३ मा त्यहाँको सुपि्रम कोर्टले असंवैधानिक ठहर गर्‍यो । तथापि अझै पनि अमेरिकाले रेडिकल कम्युनिष्टहरुको हकमा यो नीति व्यवहारतः अपनाइरहेको गुनासो आउन छाडेको छैन ।

अहिले द्वन्द्वविदको छवि बनाएका कार्टर सेन्टरका प्रमुख राष्ट्रपति जिम्मी कार्टरका पालामा सन् १९८० मा अमेरिकाले अहिलेजस्तै इरानीहरुमाथि रोक लगाएको थियो ।

त्यसैगरी राष्ट्रपति रोनाल्ड रेगनका पालामा सन् १९८७ मा अमेरिकाले एचआइभी संक्रमितलाई आफ्नो देशमा प्रवेश नदिने नीति ल्याएको थियो । जसले विशेषतः अफि्रकन अल्पसंख्यकहरुलाई नकारात्मक असर गर्‍यो । यो प्रतिबन्धलाई पूर्वराष्ट्रपति ओबामाले पूर्णरुपमा फुकुवा गरे, जसको प्रक्रिया जर्ज बुसकै पालामा आरम्भ भएको थियो ।

विचरा अमेरिका, कठैबरा ट्रम्प !

डोनाल्ड ट्रम्पले अहिले जे जे तमासा गरिरहेका छन्, यो उनको बहादुरी होइन, बाध्यता हो । अमेरिका र डोनाल्ड अहिले चरम संकटमा छन् । अमेरिकालाई संकटबाट बचाउनका लागि र विश्वमा उसको ‘सुपि्रम्यासी’ गुम्न नदिनका लागि डोनाल्डलाई श्वेत राष्ट्रवादले ‘प्रोजेक्ट’ गरेको छ ।

तर, ट्रम्पको भवितव्य के हो भने उनले अमेरिकाको श्रेष्ठता अब जसै गरे पनि जोगाउन सक्नेवाला छैनन् । अमेरिकाको सुपि्रम्यासी फर्काउँछु र फेरि ग्रेट अमेरिका बनाउँछु भन्नु भनेको बूढो मानिसलाई युवा बनाउँछु भन्नुजस्तै अप्राकृतिक चाहना हो । विश्वमा सुपरपावरका रुपमा अमेरिकाको अवस्थिति खस्कँदो छ र ट्रम्पको यस्तो नीतिले झनै खस्कँदै जानेछ ।

मुस्लिमहरुलाई प्रतिबन्ध लगाएर के हुन्छ ? अमेरिका आफ्नै कारणले राजनीतिक अस्थिरता र अशान्तिमा रुमलिएको छ । टाउको दुखेको औषधि नाइटोमा लगाएर हुँदैन ।

अमेरिकी विद्यालयमा हप्तैपिच्छे गोली चल्छ । बालबच्चाहरु स्कुलमै मारिन्छन् । यसरी गोली चलाउनेहरु आप्रवासी हैनन्, अमेरिकी नै हुन् उनीहरु मुस्लिम होइनन्, स्वेत अमेरिकीहरु हुन् ।

चार वर्षका लागि विधिवत चुनाव जितेका ट्रम्पको विरोधमा दशौं हजारको जुलुस सडकमा निस्कन थालेको छ । नेपालमा जस्तै संसदमा हैन, सडकमै समाधान खोज्ने विकृति अमेरिकी राजनीतिमा घुसिसकेको छ । बाहना आप्रवासीको छ, तर झगडा डेमोक्रेटिक र रिपब्लिकनवीच मच्चिइरहेको छ । यी तथ्यहरुले अमेरिकालाई चाँडै नै क्षतविक्षत गराउने संकेत गर्छन् । यसले विश्वसमुदायबाट उसलाई झनै अलग-थलग र कमजोर बनाउने निश्चित छ ।
ट्रम्पले भनेजस्तो नगर्ने र डेमोक्रेटले भनेजसरी आप्रवासी एवं शरणर्थीहरुलाई नरोक्ने हो भने अमेरिकाको स्थिति थप नाजुक हुनेवाला छ । विश्वका सबै मानिसहरु यसैगरी अनवरत रुपमा अमेरिकामा थुपि्रन दिने हो भने त्यो देशले कसरी धान्छ ? कहिलेसम्म धान्छ ? त्यो अवस्थामा अमेरिका भन्ने देश शरणार्थी एवं आप्रवासीहरुको भीमकाय शिविरमा रुपान्तरण हुन अब धेरै समय लाग्ने छैन । कति थेग्ने अमेरिकाले आप्रवासीहरु ? यसैले हुनुपर्छ ट्रम्पले मेक्सिकोलाई पर्खालले छेक्न खोजेको ।

तर, विचरा ट्रम्पलाई के थाहा ? आफ्नो आँगनमा पर्खाल लगाएपछि धेरै कुराहरु बाहिर पर्छन् । मेक्सिकोमा पर्खाल लगाएपछि त्यहाँका देशबासीलाई आर्थिक शोषण गर्न अमेरिकी कम्पनीलाई नै अप्ठ्यारो पर्नेछ । मेक्सिकोको भूमि र प्राकृतिक स्रोत साधनमा विगतमा जसरी रजाइँ गर्न त्यही पर्खाल बाधक बन्न सक्छ ।

त्यसैगरी मुस्लिमहरुमाथि बञ्देज लगाएपछि विश्व रंगमञ्चमा अमेरिका आफैं घेराबन्दीमा पर्न सक्छ । र, ऊविरुद्ध मनोवैज्ञानिक पर्खाल लाग्न सक्छ विश्वसमुदायमा ।

त्यसर्थ, ‘ट्रेजेडी अफ सुपर पावरको’ को वियोगान्त नियति भोगिरहेको अमेरिका अहिले दुःखमा छ । अहिले डोनाल्ड ट्रम्प विश्व रंगमञ्चमा यही दुःख र ‘पराजयको व्यवस्थापन’ मा जुटेका छन् । दुःखको भवसागरमा बाँकटे हान्दैछन् ।

सगरमाथाको फेदमा, बु्द्धभूमिमा बस्ने हामी नेपालीहरुले अमेरिका र डोनाल्ड ट्रम्पको भवितव्यलाई बेलैमा पर्नेल्न सक्यौं र त्यतातिर पिठ्यौं फर्कायौं भने धेरै कुराहरु सुल्टो देखिन थाल्नेछन् । त्यसबेला आफ्नै सुन्दर मातृभूमिमा सम्भावनाका किरणहरु देखिन थाल्नेछन् ।

ट्विटर- @ArunBaral1

२०७३ माघ १८ गते २०:४३ मा प्रकाशित
लेखक परिचय

अरूण बराल
अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् । कानुनमा स्नातक एवं राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका बराल सन् २०१३ देखि अनलाइनखवरको सम्पादक छन् ।
लेखकबाट थप

चर्चित र्‍याप गायक यमबुद्ध झुण्डिएको अबस्थामा भेटिए

yama-buddha-1024x576

१ माघ, लण्डन । यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्‍याप गायक अनिल अधिकारीको निधन भएको छ ।

 

हाल लण्डनमा रहेका अधिकारी स्थानीय समयअनुसार शनिबार बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए ।

श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने लण्डनमा रहेका अधिकारीका साथीहरुले जानकारी दिएका छन् ।
हाल उनको नेपालस्थित परिवारसाग सम्र्पक भइरहेको र उनको शवलाई नेपाल लैजाने वा नलैजाने भन्ने बिषयमा यकिन भइनसकेको उनीहरुले जानकारी दिए ।

२९ बषिर्य अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेको बताइएको छ ।