Home / अपराध

अपराध

किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप

४ पुस, नेपालगन्ज । बाँकेको नरैनापुर-५ मटेहियामा १४ वर्षीया एक किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलासा भएको हो ।

 

इलाका प्रहरी कार्यालय भन्दा करिब ३ किलोमिटर उत्तर पूर्वमा गस्तीमा गएको बेलामा सो घटना भएको जनाइएको छ ।

किशोरी कराएपछि उद्धार गर्न पुगेका गाउँलेहरुले म्यादी प्रहरी टेकबहादुर बिकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घटनामा संलग्न बाँकी २ जना म्यादी भने फरार भएको बताइएको छ ।

सोमबार साँझको घटना भएपनि स्थानीयस्तर मै घटना मिलाउने प्रयास सफल नभएको र विवाद सुरु भएपछि पीडित र पीडकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके झिकाइएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले जानकारी दिए ।

उनले पीडित किशोरीलाई नेपालगञ्ज ल्याई स्वास्थ्य परीक्षण गरी पीडक माथि अनुसन्धान सुरु गरेको जनाए । पीडित किशोरीको मानसिक अवस्था विक्षिप्त रहेको गाउँलेले जनाएका छन् ।

करोडौं ठगेर भारतीय व्यापारी फरार

पुस ३, २०७४-चुनावको मेसोमा करोडौं रुपैयाँ ठगेर ४ भारतीय व्यापारी पोखराबाट फरार भएका छन् । बजार मूल्यभन्दा झण्डै आधा रकममा सामान पाइने लोभमा अग्रीम पैसा बुझाएका ग्राहकलाई ठगेर उनीहरु फरार भएका हुन् ।

फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचलापतली उरहिउर थानाका ५३ वर्षीय मथु रावन, तन्जाउर प्यारावरणी थानाका ५६ वर्षीय राजेन्द्र शेठ्ठी, तन्जाउ त्रिचित्मट्रप्लम थानाका ३५ वर्षीय मूर्खानन्दम तेवर र ४५ वर्षीय मथु उडियार छन् ।

उनीहरुले मंसिरको पहिलो हप्ता पोखराको सिर्जनाचोकमा सटर भाडामा लिई अक्सिजन ट्रेडर्स सञ्चालनमा ल्याएका थिए । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा थिए । ग्राहकले पुरै पैसा बुझाएर अग्रिम बुकिङ गरेको १५ दिनमा सामान पाउने बताइएको थियो । त्यति सस्तोमा सामान पाइने भएपछि पसलमा पैसा बुझाएर बुकिङ गर्नेको भीड लाग्ने गरेको थियो । ग्राहकले ५ सयदेखि ५ लाख रुपैयाँसम्म पैसा बुझाएका थिए ।

सोमबार सामान बुझ्ने समय दिइएको भएपनि पसल बन्द छ । सामान दिन केही दिन ढिला हुने सूचना सटरमा टाँगिएको छ । आइतबार बिदा भनेर बन्द गरिएको पसल सोमबार बिहान नखुलेपछि पैसा बुझाएका ग्राहकले आफू ठगिएको बताएका छन् । पसलमा ठगीमा परेका पोखरेलीको भीड लागेको छ । पान नम्बर सहितको बिलमा भएको मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन । त्यहाँका ६ कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

ठगिनेमा धेरै सिर्जनाचोक, जाल्पारोड, मालेपाटन वरपरकै छन् । सिर्जनाचोककी सुष्मा थापाले बजारमा २२ हजार रुपैयाँ पर्ने दराज १२ हजारमा पाइने देखेपछि पैसा बुझाइन् । जाल्पारोडकी गंगा कार्कीले सुरुमा ४ हजार ५ सय रुपैयाँ तिरेर टेबुल, हटकेस, बाटा, कुकर लगायत सामान बुक गरिन् । १५ दिनपछि उनले ति सबै सामान पाइन् पनि । उनले फेरि ५ हजार रुपैयाँको सामान बुक गरिन् । यसपटक भने उनी ठगिइन् ।

ठगिनेमा चिकित्सक, कर्मचारी, सञ्चारकर्मीदेखि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसम्म छन् । त्यहीं कर्मचारी पृथ्वी भण्डारीले आफूसहित १२ कर्मचारी पनि ठगिएको बताए । उनले सामान बुक गर्न १७ हजार रुपैयाँ बुझाएका थिए । करिब १ हजारजनाबाट १० करोड रुपैयाँ ठगेको हुनसक्ने विरौटाका लक्ष्मण बरालले बताए । ‘सुरुसुरुमा सामान दिएजस्तो गरेका थिए,’ उनले भने, ‘सामान पाइदो रहेछ भनेर पैसा बुझाइयो, अहिले आएर फसियो ।’

मंसिर २० मा प्रहरीले ४ व्यापारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३ दिनपछि ग्राहक नै आएर उनीहरुलाई छुटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ‘ठगिएको भनेर कसैको लिखित उजुरी आएन,’ उनले भने, ‘ग्राहक नै आएर आफूले सामान पाइरहेका छौं भनेपछि हामीले छोड्नैपर्‍यो ।’ 

उनका अनुसार ६० जना त्यस्ता ग्राहकको रोहबरमा व्यापारीलाई छोडिएको थियो । उनले लिखित उजुरी आए खोजतलास गर्ने बताए । ग्राहकले भने प्रहरीले छाड्नु नै गलत भएको बताएका छन् । पर्स्याङका डा.गोविन्द पाण्डेले प्रहरीले व्यापारीलाई छोडेपछि झन् धेरै ग्राहकले पैसा बुझाएको दाबी गरे ।

 

सिंहदरबारभित्रै सरकारी गाडीको पांग्रा चोरी

पुस २, २०७४-महानगरीय प्रहरी वृत्त अनामनगरका डीएसपी अपिल बोहोराले एकाबिहानै अनौठो खबर सुने । उनले चोरीको खबर त सधैं सुनेका थिए तर आइतबार सुनेको खबर भने सामान्य खालको थिएन । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने र चारैतिर सीसीटीभी निगरानीमा रहने सिंहदरबारभित्रै भएको चोरीको खबरले उनलाई छक्कै पार्‍यो ।

डीएसपी बोहोरा त्यतिबेला पो चकित परे, जब उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकको बा२झ २९२७ नम्बरको नयाँ टोयटा हाइलक्स गाडीका चारै टायर (डिस्कसहित) चोरी भएको जानकारी पाए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पार्किङस्थलबाटै गाडीको डिस्कसहित चोरी भएको थियो ।

खबर सुनेलगत्तै बोहोराले मन्त्रालयको क्षेत्र कभर गर्ने सीसीटीभी फुटेजको अध्ययन थाले । साथै उनले शनिबार सिंहदरबार छिर्ने गाडीको नम्बर सूची पनि नियाले । डीएसपी बोहोराले मध्यदिन नहुँदै सिंहदरबारभित्रको चोरीको घटनाको रहस्य पत्ता लगाइछाडे । नयाँ टायर चोरेर बेच्ने अरू कोही नभएर स्थानीय निकाय वित्तीय आयोगको कार्यालय, पुल्चोक ललितपुरमा कार्यरत गाडीचालक चन्द्रबहादुर मोक्तान थिए ।

प्रहरीका अनुसार शनिबार कार्यालय बिदाको दिनमा मोक्तान आयोगको सरकारी गाडी लिएर टायर चोर्न सिंहदरबार पसेका थिए । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार १ घण्टाभन्दा बढी समय लगाएर उनले सबै चक्काको नट–बोल्ट खोलेर डिस्कसहित टायर निकालेका थिए । यसरी निकालिएको टायर उनले आयोगकै बा२झ १२१७ नम्बरको गाडीमा राखेर सिंहदरबारबाट बाहिरिए ।

टायर चोरी भएको गाडीका चालक कृष्णसुन्दर श्रेष्ठले शुक्रबार साँझ मन्त्रालयअगाडि गाडी पार्किङ गरी राखेका थिए । आइतबार बिहान ९ नबज्दै गाडी लिन आएका चालक कृष्णसुन्दरले चक्का नदेखेपछि कार्यलयमा खबर गरेका थिए । चोरीको खबर त्यसपछि मात्रै प्रहरीकहाँ पुगेको थियो ।

प्रहरीले सीसीटीभी फुटेजमा मोक्तानलाई टायर निकाल्दै गरेको अवस्थामा देखेको थियो । साथै उनी बिदाको दिन पनि सरकारी गाडी लिएर सिंहदरबार छिरेको पश्चिम गेटमा राखिने अभिलेखमा देखिएको थियो ।

शंखमूलस्थित बराही टायर सेन्टरमा पुगेपछि पो प्रहरीले पत्तो पायो, मोक्तानले टायर निकालेर बेच्न योजनाबद्ध रूपमा काम गरेका थिए । मोक्तानले सेन्टरबाटै नीलो रंगको ‘हाइड्रोलिक ज्याक’ ल्याएर टायर निकाल्न प्रयोग गरेका थिए । प्रहरीका अनुसार चोरिएका टायर र डिस्कसहितको मूल्य ६ लाख ६२ हजार रुपैयाँमा पर्छ ।

टायर चोरीमा मिलेमतो गरेको आशंकामा सेन्टरका जगतबहादुर मगरलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार चोरी गर्ने मोक्तान भने फरार छन् । कान्तिपुरसँग कुरा गर्दै बोहाराले भने, ‘सिंहदरबारभित्र यसअघि पनि गाडीका टायर चोरी हुने गरेका थिए । मन्त्रालयबाटै ल्यापटप हराएका खबर पनि सुनिएका थिए । तर, यो सार्वजनिकमध्येकै ठूलो हो ।’ बोहोराले फरार मोक्तानले यसअघि पनि टायर चोरी गरेको हुन सक्ने बताए । उनले भने, ‘अनुसन्धानपछि धेरै तथ्य बाहिर आउनेछ ।’

source:ekantipur

 

युवती अपहरणमा संलग्न ६ जना कारागार चलान

१४ मंसिर, बुटवल । रुपन्देहीको सैनामैनाकी युवती अपहरणमा संलग्न ६ जना अभियुत्तरु कारागार चलान भएका छन् ।

 

गत असोज २ गते सोमबार सैनामैना नगरपालिका १ वनकट्टाकी अन्दाजी २१ वर्षाीया रेखा भुसाललाई अज्ञात समूहले अपहरण गरेको थियो । सोहि दिन नै प्रहरीले युवतीलाई सकुशल उद्धार  गर्न सफल भएका थियो ।

सोही घटनामा संलग्न ६ जनालाइ प्रहरीले असोज १२ गते पक्राउ गरेको थियो । रुपन्देही जिल्ला अदालतको आदेशले उनीहरु कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा रुपन्देही सैनामैना नगरपालिका १ बस्ने २२ वर्षीय प्रकाश भुसाल, सुद्दोधन गाँउपालिका २ घर भएका २१ वर्षीय राजिब सुनारी र सैनामैना नगरपालिका ४ बस्न २१ वर्षीय अनमोल जंग राणा छन् । यस्तै तिलोत्तमा नगरपालिका १६ बस्ने ३९ वर्षीय लाल बहादुर पुन, तिलोत्तमा नगरपालिका १६ बस्ने ३८ वर्षीय डम्बर बहादुर राना र अर्घाखाची भुमिकास्थान गाँउपालिका ९ का २८ वर्षीय दिपक नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले बताए ।

युवतीलाई तिलोत्तमा नगरपालिका ७ सेमराबजारबाट उद्धार गरेको थियो ।

ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

२ मंसिर, काठमाडौं । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो ।

रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाकाअनुसार शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो ।

 

गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा गाडीबाट सुन बरामद गरिएको थापाले बताए । सुन र गाडी कसको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

source: onlinekhabar

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

झापा, २८ जेठ । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।

“के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भन्नुभयो – “हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।”

अनुसन्धानकै क्रममा प्रहरीले शनिबार राति दाहालको घर नजिकै खाल्डो खनेर प्लास्टिकमा बेरिएको अवस्थामा पुरिएको रु ८५ हजार फेला पारेको छ ।

दाहाल परिवारले डेढ महिनाअघि रु एक लाख हत्याका अभियुक्त अधिकारीले चोरेर लगेको आरोप लगाउँदै आएका थिए । दाहाल परिवारले अभियुक्त अधिकारीले सो रकम चोरी गरेको आरोप लगाए पनि खाल्डोमा पुरिएको अवस्थामा रु ८५ हजारमात्र फेला परेपछि बालिका हत्याको विषय थप रहस्यमय बनेको प्रहरीले जनाएको छ ।

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरीसमक्ष स्वीकारेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकाको अनुहार, टाउको र छातीमा बन्चरो प्रहार गरी गत बुधवार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । रासस

दाङ घर भएका कलेज पढ्ने तीन युवती ५० लाखको अफिमसहित पक्राउ

भैरहवा, २४ जेठ । रुपन्देहीमा कलेज पढ्ने युवतीहरूको साथबाट ५० लाख मूल्य बराबरको अफिम बरामद भएको छ । नेपाल भारत सीमा नाका बेलहियाबाट नेपाल प्रहरीले सो मूल्य बराबरको लागुऔषध अफिम सहित ३ जना युवतीलाई पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यलय बेलहियाका प्रहरी निरीक्षक रबिन विष्टका अनुसार रुकुम घर भइ दाङमा बस्ने ३ युवतीहरू १५ केजी अफिम लुकाइछिपाई भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा २७ वर्षीया बिशमाया बुढा, १९ वर्षीया कामना पुनमगर र २१ वर्षीया सकुन्तला बुढा रहेका छन् । उनीहरूमध्ये विशमाया र सकुन्तला घोराहीमा बसेर क्याम्पस पढिरहेका विद्यार्थी हुन् । कामना लालमटियाकी बासिन्दा हुन् ।

तीनै जना युवतीहरू रात्रि बसमा चढेर बुटवलको एक होटलमा बसेका थिए । उनीहरूलाई सो अफिम सोही होटलमा दिइएको थियो । पक्राउ परेका युवतीहरूले आफूहरूलाई भांग हो बोर्डर पारी पुगाएर आएपछि ५ हजार पाउने भन्दै एकजना दाइले फोनमार्फत निर्देशन दिएको बताए । ती दाइको नाम ठेगाना भने उनीहरूलाई थाहा नभएको बयान प्रहरी समक्ष दिएका छन् ।

बरामद अफिमको बजार मूल्य ५० लाख रहेको प्रहरीले जनाएको छ । विश्वबजारमा प्रतिकेजी अफिमको मूल्य १६ हजार युएस डलर प्रतिकेजी रहेको छ ।

अफिमसहित पक्राउ परेका युवतीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुझाइएको इप्रका बेलहियाले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषध ओसार पसार गर्नेलाई १५ वर्ष कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ ।

बालिकाको बलात्कारपछि हत्या भएको भन्दै माडी बन्द पिकनिक खान हिँडेका बालिका पोखरीमा मृत फेला

२३, जेठ, चितवन । चितवनको माडीमा दुई बालिकाहरुको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् ।

माडी नगरपालिका वडा नम्बर– ६ रामराज्यपुरस्थित मजुवा सिंचाइँ पोखरीमा २० गते शनिबार बिहान १० बजे पिकनिक खान भनी घरबाट हिँडेका थिए । १० वर्षकी दिपिका सुनार र वर्ष ११ की दीपशीला परियारको शव पोखरीमा फेला परेको थियो ।

 

मृतक २ बालिका मध्ये १ जनाको गुप्ताङ्गबाट रगत आएको र शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले बालिकाहरुको बलात्कार पछि हत्या गरेर फालेको हुन सक्ने स्थानीयको अनुमान छ ।

स्थानीयबासीले अनुसन्धानमा दबाव दिनका लागि सोमबार दिउँसो इलाका प्रहरी कार्यालय माडी घेराउ गरेका थिए । बालिकाहरुको हत्या भएको भन्दै उनीहरुले अपराधीलाई खोजी गरी तत्काल कारबाहीको माग गरेका छन् ।

घटनाका बारेमा थप बुझ्न भन्दै सोमबार जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा, मुद्दा फाँटकी प्रहरी अनुसन्धान अधिकृत अञ्जना श्रेष्ठ, जिल्लाका महिला अधिकारकर्मी, डाक्टर र पत्रकारसहितको टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थल अवलोकनपछि स्थानीय र अधिकारकर्मीले बालिकाको बलात्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले कसैले कर्तव्य गरेर बालिकालाई पोखरीमा फालेको हुन सक्ने भन्दै घटनाको सुक्ष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताए ।

मृतक बालिकाहरुको भरतपुर अस्पतालमा पोर्टमार्टम गरिए पनि अझै रिर्पोट आएको छैन । चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बालिकाको अपराधिक गतिविधिबाट मृत्यु भएको हुन सक्ने आशंकामा ५ जना युवा र केही बालबालिकाहरुसँग पनि सोधपुछ गरिएको बताए ।

बन्दबाट जनजीवन प्रभावित

बन्दका कारण माडीबाट सदरमुकाम भरतपुर चल्ने र पर्साको ठोरी जाने सवारी साधनहरु रोकिएका छन् । माडी बजारसमेत बन्द छ । माडीबाट चल्ने लामा तथा छोटा दुरीका सबै सवारी साधन रोकिएका छन् । पसल,उद्योग धन्दा, शैक्षिक संस्थासमेत बन्द भएका छन् ।

बन्दका कारण स्नातक तेस्रो बर्षको परीक्षा दिन भरतरपुर जाने विद्यार्थीहरु प्रभावित भएका छन् । त्यसैगरी बगईदेखि बाँदरमँुढेको घटनाको सम्झनामा गर्न लागिएको कार्यक्रममा जानेहरुलाई पनि समस्या परेको छ ।

रहस्यमय मृत्युका सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै सोमवार माडीका बिधार्थीहरु र्‍यालीसमेत निकालेका थिए ।

source : onlinekhabar

आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेम, पैसाका लागि हत्या

१७ मंसिर, नुवाकोट । पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखी हत्या गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

Murderविदुर नगरपालिका–११ त्रिशूली बजारकी ४५ वर्षीया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवाको ठूलोगाउ– ६ घर भई रसुवाकै सरमथली–२ बस्ने १९ वर्षीय रमेश लामालाई पक्राउ गरेको हो ।

प्रतिमाको फिकुरी–८ गोगनेको जंगलमा गत जेठ २० गते हत्या भएको थियो । काठमाडौं बस्दै आएका रमेशलाई प्रहरीले बिहीबार पक्राउ गरी नुवाकोट ल्याएको हो । प्रहरीले नै आरोपीको बयानको आधारमा घटनास्थल पत्ता लगाई शवको उत्खनन् गरेको छ ।
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराका अनुसार मृतक प्रतिमाले घर बेचेको १० लाख रमेशले लिएको स्वीकारेका छन् । जग्गा बेचेको पैसा पनि मृतकसँग भएकाले उक्त पैसा के गरेको हो अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

‘पैसा नपाउन्जेल सँगै बसेको र पैसा फुत्काएपछि हत्याको योजना बनाएको देखिन्छ । गाउँ जाने विवाह दर्ता गर्ने र नागरिकता पनि बनाइदिने भन्दै जङ्गलमा लगेर हत्या गरेको देखिन्छ’ उनले भने ।

मृतककी बहिनी चितवनको भरतपुर उपमहानगरपालिका–२ बस्दै आएकी निरा श्रेष्ठले गत जेठदेखि दिदी प्रतिमा बेपत्ता भएकाले खोजी गरिदिन भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएकी थिइन् ।

प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएको एक थान पिक, हातेआरो एक थान, मृतकले लगाएको घडी एक थान फेला पारेको छ । जङ्गलमा गाडेको अवस्थामा उत्खनन् गरेको शवको टाउको भने फेला परेको छैन ।

बैंकबाट चोरी भयो ४० लाख मूल्य बराबरको सुनचाँदी

gold-sun-chadi

१४ मंसिर

, वीरगन्ज । वीरगन्ज उपमहानगरपालिका– १० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली दराज खोलेर रु ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला चाँदी चोरी भएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले सो बैंकका सुरक्षागार्ड बृजकिशोर चौहान, उमेशप्रसाद र फुनेरा राजकुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

सो दराजको तीनवटा साँचोमध्ये एउटा साँचो बैंक प्रबन्धक, अर्को लेखापालसँग थियो भने एउटा साँचो क्षेत्रीय कार्यालयमा पठाउनुपर्नेमा त्यहाँ नपठाई प्रबन्धकले आफ्नै कोठामा रहेको दराजमा राखेको थियो । चोरले पहिले दराजमा राखेको साँचो झिकेर सुनचाँदी राखिएको दराज खोली चोरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको प्रहरीले जनाएको छ ।