Home / अन्तर्राष्ट्रिय खबर

अन्तर्राष्ट्रिय खबर

भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चीनको अपिल

एजेन्सी । भारत र चीनबीचको सीमा विवाद उग्र बन्दै गएको छ । सीमा विवादलाई लिएर चीनले आफ्ना नागरिकका लागि परामर्श जारी गरेको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार चीनको दिल्लीस्थित दुतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।
चीनियाँ दुतावासका एक अधिकारीले पीटीआइलाई भने, यो यात्रा चेतावनी होइन, चीनका नागरिकलाई सचेत रहन सुझाव दिइएको हो ।

चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सुरक्षाका हर उपाय अपनाउन र सचेत रहन भनेको हो । दुई देशबीच सिक्किमको डोकलाम क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

प्रहरी अधिकारीको कुटेर हत्या

१० असार, श्रीनगर (भारत) । भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।

कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

विवादित यस क्षेत्रमा यस घटनापछि तनाव झन बढेको छ । यसअघि केही समययतादेखि जारी रहेको हिंसाबीच शुक्रबार भएको यस घटनाले थप तनाव बढाएको छ ।

मोहमद आयुब पान्डित नामका ती प्रहरी अधिकारी मारिएपछि यस पहाडी क्षेत्रमा सुरक्षाबल र सर्वसाधारणबीच नै झडप सुरु भएको छ ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा राज्य प्रहरी सञ्जालका उप निरीक्षक पन्डितको उत्तेजित भिडको आक्रमणको कारण हत्या भएको छ । आफ्नो कर्तव्य पालनाकै क्रममा उनको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भूभागका रुपमा दावी गर्दै आएका छन् । रासस/एएफपी

दार्जीलिङः सर्बदलीय बैंठकमा भाजपा र कांग्रेस पनि, हड्ताल जारी राख्ने निर्णय

६ असार, काठमाडौं । दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आहृवान गरेको सर्बदलीय बैठकमा कांग्रेस र भारतीय जनता पार्टी पनि सहभागी भएको छ । साथै प्रहरी दमन नरोकिएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ ।

 

मोर्चाले जिमखाना क्लबमा बोलाएको बैठकमा गोर्खा नेशनल लिबरेशन फ्रान्टका साथै भाजपा र कांग्रेस पनि सहभागी भएको छ । बैठकमा जन आन्दोलन पार्टीका नेता हर्कबहादुर क्षेत्रीले अड्ताल फिर्ता लिन र गोर्खाल्याण्ड टेरीटोरियल एडि्मनिस्ट्रेसन (जीटीए)बाट राजीनामा दिने प्रस्ताव राखेका थिए ।

तर, सर्बदलीय बैठकले केन्द्रीय सुरक्षा फौज फिर्ता नभएसम्म बन्द जारी राख्ने र जीटीए चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । साथै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहलाई भेटेर आफ्नो एजेण्डा राख्ने सहमति जुटेको छ ।

साथै पश्चिम बंगाल सरकारले २२ जुनमा बोलाएको बैठकमा नजाने सहमति पनि बैठकमा भएको छ ।

गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले सुरु गरेको आन्दोलन मंगलबार नवौं दिन पनि जारी रहृयो । आन्दोलनका क्रममा तीन जनाको मृत्यु पनि भइरहेको छ ।

सर्बदलीय बैठकले सबै पार्टीको सहभागिता रहने संयन्त्र बनाउने र अर्को बैठक २४ तारिखमा गर्ने निर्णय पनि गरेको छ ।

गोर्खाल्याण्ड आन्दोलनबाट डरायो सरकार, दार्जिलिङका सबै सञ्चारमाध्यम बन्द

इलाम, ६ असार । अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ ।

इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय सेवा प्रदायक समेत मारमा परेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिनुभयो । उहाँले बंगाल सरकारको सो कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिनुभएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बंगाल सरकारले इन्टरनेटको कारण हिंसा भड्कने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्रप ठाएर सेवा बन्द गर्न लगाएको हो ।

आन्दोलनकारीले फोटो र भिडियो मार्फत सूचना प्रवाह गरेको बंगाल सरकारको विश्लेषण पछि सेवा बनद गरेको हो । शनिबार प्रदर्शनकारी र बंगाल प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्यु भएको खबरलाई अवेरसम्म प्रशासनले लुकाएपछि मोर्चाका कार्यकताले भिडियो र तस्बिर सार्वजनिक गरेका थिए। त्यसपछि मात्र प्रशासनले तीन जनाको मृत्यु भएको स्वीकार गरेको थियो ।

बंगाल सरकारले दार्जिलिङर आसपासमा आइतबारसम्म तीनजना भन्दा बढी भेला नहुन आदेश दिए पनि दैनिक प्रदर्शन भइरहेको छ । सोमबार पनि दार्जिलिङका विभिन्न स्थान, कालेबुङ खरसाङमिरिक लगायतका सहरमा मौन जुलुस निस्केको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो ।

बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवम् गोर्खा टेरीटोरीयल एडमिनिस्टेटीव(जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको मृत्यु भएको थियो ।

मोर्चाको आव्हानमा चलो पातलेवाँस अभियानको दोस्रो दिन मोर्चाको नारी मोर्चाले निकालेको डण्डी मोर्चामा प्रहरीले हस्तक्षेप गरेपछि भड्किएको मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि प्रहरीले दार्जिलिङको विजनवारी नजिक प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो । मृतकको नाममा सहरका विभिन्न स्थानमा विद्यार्थी मोर्चाले केण्डील जुलुस निकालेको मोर्चाकी कार्यकर्ता अनिता बस्नेतले जानकारी दिनुभयो ।

आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डि टीभीलगायतका स्थानीय च्यानल बन्द गराएको छ। बंगाल प्रहरीले पत्रकार विक्रम राईलाई यस अघि पक्राउ गरिसकेको छ ।

आकाशमै जन्मियो बच्चा !

एजेन्सी । साउदी अरबको दम्मासबाट भारतको कोच्ची आउँदै गरेको जेट एयरवेजको विमानमा एक महिलाले बच्चा जन्माएकी छिन् । विमान आकाशमै छँदा महिलालाई सुत्केरी व्यथा लागेको थियो ।

जेट एयरवेजका अनुसार विमान ३५ हजार फिट उचाइमा उडिरहँदा बच्चाको जन्म भएको थियो । त्यसपछि विमानलाई मुम्बइ एयरपोर्टमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ । मुम्बइमा अवतरणपछि आमा र बच्चा दुबलाई होली स्पिरिट अस्पतालमा भर्ना गरिएको छ ।

जेट एयरवेजले ति बच्चालाई आजीवन जेट एयरवेजमा यात्रा गर्न शुल्क नलिने घोषणा गरेको छ ।जेट एयरवेजले एउटा फ्रि पास जारी गरेको छ जसको प्रयोगबाट उनले आजीवन जेट एयरवेजमा निशुल्क उड्न पाउनेछन् ।

टर्की एयरलाइन्सको एक विमानमा पनि गएको अप्रिल महिनामा एक महिलाले बच्चा जन्माएकी थिइन् ।  जेट एयरवेजमा भने यो पहिलो घटना हो ।

 

दार्जिलिङमा भड्कियो आन्दोलन, सेनाले गर्‍यो क्रुर दमन, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)

दार्जिलिङ, ३ असार । दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भारतीय सेनाले गोली चलाउँदा तीनजना गोर्खाल्याण्ड समर्थक नेपाली भाषी भारतीयहरूको मृत्यु भएको छ । दार्जिलिङमा शनिबार विशेष गरेर महिलाहरूले प्रदर्शन गरेका छन् ।

गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तालाई शनिबार सेनाले अन्धाधुन्ध गोली चलाएको सहसचिव विनय तामाङले बताए । घटनामा दर्जनौं प्रदर्शनकारी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तामाङका अनुसार भारतीय सेनको गोली लागेर विमल शाह शंकर र सुनिल राईको मृत्यु भएको छ भने अर्का मृत्यु भएका व्यक्तिको नाम खुलेको छैन । घटनामा सुरक्षाकर्मीतर्फ आइआरबीका किरण तामाङको मृत्यु भएको छ । शनबिार दिनभरि दार्जिलिङको अवस्था तनावपूर्ण रहेको छ ।

उता, बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले कोलकातामा दार्जिलिङका विभिन्न जातीय बोर्डका प्रतिनिधिहरूसँगको छलफलमा आतंकवादी संगठनहरूसँग गोजमुमोको साठगाँठ रहेको आरोप लगाएकी थिइन । उनले आतंकवादी संगठनकै अगुवाईमा दार्जिलिङमा हिंसा भड्किएको आरोप लगाएकी छिन ।

मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई स्कूलहरूमा अनिर्वाय गरेपछि नेपाली भाषीहरूले त्यसको विरोध सुरु गरेका थिए । भाषा आन्दोलनबाट सुरु भएको प्रदर्शन अलग गोर्खाल्याण्डतिर प्रवेश गरेको छ ।

कतार विवाद चर्किए युद्ध हुन सक्छ: जर्मन विदेशमन्त्री

२८ जेठ, एजेन्सी ।

कतार तथा उसका अरब छिमेकीहरुसंगको विवाद चर्किएर युद्धसम्म हुन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार गाब्रियलले चेतावनी दिएका छन् । एक जर्मन अखबारलाई अन्तर्वार्ता दिंदै उनले हालको विवादमाझ दुई पक्षबीचको सम्बन्धमा अस्वाभाविक रुपमा कडा रुखोपना आएको बताएका हुन ।

गाब्रियलले यो साता विवादका सबै पक्षसंग कुराकानी गरेका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराईन तथा इजिप्टले कतारसंग सम्बन्ध विच्छेद गर्नुका साथै स्थल, सामुद्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएका छन् ।

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले नाकाबन्दी हटाउन गरेको आग्रहलाई उनीहरुले बेवास्ता गरेका छन् । तर उनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारविरुद्ध उनीहरुको कदमको समर्थनमा कडा टिप्पणी गरेकोमा भने स्वागत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कतारले आतंकवादलाई आर्थिक सहयोग गरेको भन्ने साउदी अरेवियाको दावीलाई समर्थन गरेका छन् । कतारले भने आरोपको खण्डन गर्दै आएको छ ।

लण्डन ब्रिजमा पैदलयात्रीमाथि भ्यानबाट आक्रमण

२० जेठ, काठमाडौं । सेन्ट्रल लण्डनको लण्डन ब्रिजमा पैदल हिडिरहेका मानिसहरुमाथि एक भ्यानबाट आक्रमण भएको छ ।

घटनामा कम्तिमा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।

स्थानीय समय अनुसार राति १० बजेर ८ मिनेटमा एक सेतो भ्यानले पुलमा हिँडिरहेका मानिसहरुलाई ठक्कर दिएको थियो । भ्यान पुलको फुटपाथमा चढेको थियो । त्यसक्रममा केही मानिसमाथि छुरा प्रहार भएको अधिकारीहरुले बताएका छन् ।

बेलायतका प्रधानमन्त्री टेरिजा मेले यो घटनालाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन् ।

लण्डन बि्रज रेल्वे स्टेशन बन्द गरिएको छ भने प्रहरीले सम्भावित तीन आक्रमणकारीको खोजी भइरहेको छ ।

‘भारतसंग भिड्न पाकिस्तानी वायुसेना तयार’

एजेन्सी।

पाकिस्तानको पत्रिका ‘दुनिया’को अनुसार भारतीय धम्कीको जवाफ दिन पाकिस्तानी वायु सेनाले आफ्नो सबै वायु अड्डालाई तयारी अवस्थामा राखेको छ।

पाकिस्तानका वायुसेना प्रमुख सोहेल अमानले सियाचिनमा लडाकु विमान उडाएका छन्।

एक पत्रकार सम्मेलनमा उनले पाकिस्तान चिन्तित हुन जरुरी नभएको समेत बताएका छन्।

दुनिया पत्रिकाले सेना प्रमुखको बयानको हवाला दिदै लेखेको छ, ‘दुश्मनको कुनै पनि आक्रमणलाई पाकिस्तानी वायुसेनाले यस्तो जवाफ दिनेछन् कि उसको आउने पुस्ताले पनि याद राख्नेछ। हामी शान्ति चाहन्छौ तर हामी हरेक चुनौति निप्ट्याउनको लागि पनि तयार छौ।’

केही दिन पहिले अमेरिकी गुप्तचर विभाग सिआइएले भारत पाकिस्तानको सीमा क्षेत्रमा युद्धको माहौल बनेको बताएको थियो।

 

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण, अमेरिका भन्छ– दक्षिण कोरिया, जापान र रुस खतरामा

१५ जेठ, काठमाडौं । उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले यसै वर्षभित्र प्रक्षेपण गरेको यो ९ औं क्षेप्यास्त्र हो ।

उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो ४५० किलोमिटर टाढा पुगेर सी अफ जापानमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् ।

 

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।

पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् । मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको गतिविधिप्रति आपत्ती जनाएका छन् । उनले उत्तर कोरियासँग एक्लै जुध्न अमेरिका तयार रहेको बताएका छन् ।

अमेरिकी रक्षामन्त्रीले आइतबार टेलिभिजन कुराकानीको क्रममा उत्तर कोरियाका कारण ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका छन् । उत्तर कोरियाको कारण दक्षिण कोरिया, जापान र रुससमेत खतरा परेको उनको भनाइ छ ।

जापानले पनि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई ‘उत्तेजनात्मक गतिविधि’को संज्ञा दिएको छ र यो सैह्य नहुने चेतावनी दिएको छ ।