Home / दुर्घटना

दुर्घटना

भारतमा भएको जीप दुर्घटनामा ३ नेपालीको मृत्यु, २ घाइते

खोतिला भन्ने स्थानमा जीप दुर्घटनामा परि एकै घरका ३ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुला, पीपलचौर सौतलीका हिरादेवी बम उनका छोरा ओमकार र छोरी प्रियंका रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै दुर्घटनामापीपलचौरीकै डम्बरी बम र माधुरी बम घाइते छन् । दुर्घटनामा परी २ जना भारतीय नागरिक पनि मृत्यु भएको छ ।

 

युके ०५ पीए १२८१ नम्बरको जीप भारतको गर्भाधारबाट धार्चुलातिर आइरहेका बेला खोतिला भन्ने ठाउँ विहीबार दिउँसो पहिरोमा परेको प्रहरीले जनाएको छ ।

पहिरोले जीप पुरिदा जीपमा सवार ३ जना नेपाली तथा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

नेपालतिर बाटो नहुदा दार्चुलाको दुहू क्षेत्रका स्थानीयहरु सदरमुकाम खलंगा आउन पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

मुग्लिन-नारायणगढ सडकमा भयानक पहिरो: पहिरोले किचेर असईसहित दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

चितवन, ९ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँगै त्रिशूलीमा खसेको प्रहरी भ्यानका दुई प्रहरीको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको हो ।

तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का हुनुहुन्थ्यो । उहाँहरुको शवलाई सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला परेको घटनास्थलमा रहनुभएका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । गाडीका चालक मास्के र प्रहरी सहायक निरीक्षक तामाङ गाडीको अघिल्लो सिटमा रहनुभएको थियो ।

पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनका जवान २१ वर्षीय सन्दीप कार्की र ३१ वर्षीय लीलाबहादुर चेपाङ पनि बेपत्ता हुनुभएको छ । कार्की तनहुँको रुपाकोट–३ का र चेपाङ गोरखा मकैसिङ–१ का हुनुहुन्छ । उहाँहरुसँगै प्रहरीको ना१झ १३९० नंको भ्यान र दुई थान एसएलआर हतियार बेपत्ता भएका छन् ।

प्रहरी उपरीक्षक थापाले सुरुमा सडकमै पहिरोमा भ्यान पुरिएको अनुमान गरिएको भए पनि शवलाई भिरमा भेटिएपछि गाडी त्रिशूलीमा खसेको अनुमान गरिएको बताउनुभयो । पहिरोले भिरमा अड्काएको ना५ख ७८२७ नंको ट्रकका सहयोगी चालक सिजल लामालाई उपचारका लागि आँबु खैरहनी लगिएको छ भने चालक रामकुमार लामा सकुशल रहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट २।५ किमी नारायणगढतर्फ पहिरो खसेको हो ।

सवारीसाधन र बेपत्ता भएकाको रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । सोही सडकको चारकिलोमा खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ । दुई पहिरो बीचमा रहेका सवारीसाधनलाई नारायणगढतर्फ पठाइएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

मुख्य घटनास्थलमा खसेको पहिरो भने पन्छाउने क्रम जारी रहेको छ । राति ९ः४० बजे कालीखोलाको मुखमा खसेको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । चारकिलोको पहिरो पन्छाउन नसकेपछि फर्किने क्रममा सो ठाउँमा पहिरो खसेर गाडी दुर्घटना भएको हो । रासस

स्रोत : दैनिकनेपाल

काठमाडौंबाट हिडेको ट्रक धादिङमा दुर्घटना, तीन जनाको मृत्यु

धादिङ, ९ असार । धादिङमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङ गाउँपालिकामा पर्ने हुग्दीखोला पुलबाट खस्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रक चालक गढिमाई–१ बाराका नरबहादुर खत्री, सहचालक पर्सा ढोरीका जीवन लामा र नुवाकोट घर भएकी सन्जु राईको मृत्यु भएको धादिङका डीएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो ।

कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

६ असार, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन ।

लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो ।
घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए ।

जिप असार १४ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसले प्रचारप्रसारमा लगेको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत : अनलाइन खबर

लुक्लामा विमान दुर्घटनाः चालकको मृत्यु, दुई घाइतेलाई काठमाडौं ल्याउन सकिएन

१३ जेठ, काठमाडौं । सोलखुम्बुको लुक्ला

विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य पनि घाइते छन् ।

 

काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका कारण चालक राईको उद्दारमा कठिनाई भएको थियो ।

उद्दार लगतै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएन । उनको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको सोलखुम्बु प्रहरीले जनाएको छ ।

सहचालक श्रीजन मानन्धरको उपचार जारी छ । विमान परिचारिका प्रज्ञा महर्जनलाई काठमाडौं पठाउन खोजिएको थियो तर, खराब मौसमका कारण सम्भव भएन ।

उद्दारपछि लुक्ला अस्पताल भर्ना गरिएका उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउन भन्दै फेरि विमानस्थल ल्याइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि फेरि फर्काएर लुक्ला अस्पतालमा नै लगिएको छ ।

मौसममा सुधार आउनासाथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

तीर्थयात्री सवार बस कागवेनीमा दुर्घटना, ५ जनाको मृत्यु

९ बैशाख, पोखरा । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

 

शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना भएको हो । दुर्घटनामा ११ जना भन्दा बढी घाइते भएका छन् ।

मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक हरिहर योगीले जानकारी दिए ।

२६ जना सवार बसमा अन्य सामान्य घाइते भएको छन् । ‘घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइदैछ, दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको छ’ उनले भने ।

गुर्जुधारामा ठूलो दुर्घटना, ब्रेक फेल भएको ट्रकले चार सवारी साधनलाई हान्यो

४ चैत, काठमाडौं । थानकोट-कलंकी सडकखण्डको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार कलंकीतर्फ आउँदै गरेको ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको थियो ।

 

थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीका अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एकसाथ हानेको छ । दुर्घटनामा परी आठ जना घाइते भएको बताइएको छ ।

ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरुमा विजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो । ट्रककै ठक्करबाट ट्याक्सी पछाडि रहेको मोटरसाइकलमा पनि क्षति पुगेको डीएसपी पंगेनीले बताए ।

ट्रकको ठक्करबाट वान टन ट्रकका चालक,  ट्याक्सी चालक र ट्याक्सीमा रहेका यात्रुसहित आठ जना घाइते भएका छन् । ट्याक्सी चालकको अवस्था गम्भीर रहेको डीएसपी पंगेनीले बताए ।

उनीहरुको वयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार छन् भने केहीबेरअवरुद्ध भएको सवारी आवागमन सुचारु भइसकेको छ ।


तस्बिर: अनुराग अनन्त र शिवकुमार महर्जन

अपडेटः जाजरकोटमा बस दुर्घटना, २०को मृत्यु, दर्जनौं घाइते

२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए ।

 

जाजरकोटका प्रमुख जिल्ला  अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या २० भन्दा बढी छ । दर्जनौं घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको छ ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो ।

दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए ।

जाजरकोट पत्रकार महासंघका सचिव दिपेन्द्र शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाको भीरबाट बस पासागाड खोलामा खसेको छ ।

बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको शर्माले बताए ।

घटनामा धेरै जना हताहती भएको र उनीहरुको सनाखत नभएको शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

पाल्पामा जन्ती बोकेको जिप दुर्घटनाः चारको मृत्यु, १६ जना घाइते

palpa-accident (1)

२५ माघ, पाल्पा । पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्‍याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो ।

 

मंगलबार राति भएको दुर्घटनामा जसविर बकावल मगर, मिनबहादुर थापा मगर, हरि बहादुर राना र यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैजना दोभान २ देउरालीका हुन् ।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । १६ जना घाइतेमध्ये चार जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ ।

अत्यधिक ओरालो भएका कारण ब्रेक फेल भएर दुर्घटना भएका हुनसक्ने प्रहरीको अनुमान छ ।

स्रोत : अनलाइन खबर

धादिङको खाल्टेमा बस दुर्घटना, १५ यात्रु गम्भीर घाइते

Dhading-Map

३ माघ, धादिङबेसी । धादिङको सदरमुकाम धादिङबेशीबाट खाल्टे गाविस जाँदै गरेको यात्रुबाहक बस पतेनी भन्ने स्थानमा दुर्घटना हुँदा १५ यात्रु गम्भीर घाइते भएका छन् ।

सोमबार साँझ करिब साढे ६ बजे खाल्टे गाविसको पतेनी भन्ने ठाउँमा बस दुर्घटना भएको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय शिक्षक विष्णु ढुंगानाले जानकारी दिए ।

 

घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् ।

घाइतेहरुको उद्धारमा जिल्ला सदरमुकाम धादिङबेशीबाट ६ वटा एम्बुलेन्स पुगेका छन् ।