Home / स्वास्थ्य / ब्लडप्रेसरका बिरामी त्यागीदेखि अटेरीसम्मः तपाईं कुन पर्नुभो ?

ब्लडप्रेसरका बिरामी त्यागीदेखि अटेरीसम्मः तपाईं कुन पर्नुभो ?

High_Blood_Pressure

उच्च रक्तचापको उपचारको सिलसिलामा धेरै किसिमका बिरामी भेटिन्छन् । तिनै बिरामीका किसिमबारे यहाँ चर्चा गर्दै छु । यो लेख बिरामीको मजाक उडाउन नभई ब्लडप्रेसरबारे फरक तरिकाले जानकारी दिने उद्देश्यले लेखिएको हो ।

 

त्यागी बिरामी

उच्च रक्तचाप भएका बिरामीलाई साधारणतया नुन र चिल्लो कम खाने सल्लाह दिइन्छ । यसको मतलब नुन पूर्णरुपमा बन्द गर्नु भनेको होइन । नुन र चिल्लो शरीरलाई चाहिने भएकोले यी तत्वहरु पूर्णरुपमा बन्द नगरी केही मात्रामा दैनिक सेवन गर्नैपर्ने हुन्छ ।

आफूले दैनिक खाने वस्तुमा नुनको मात्रा धेरै हुने देखियो भने एउटा परिकारमा सामान्य नुन खाएर अन्यमा बन्दै वा कम राखेर खानुपर्छ । धेरै चिल्लो हुने खसी लगायत चारखुट्टे जनावरको मासु सकिन्छ भने बन्दै गर्ने वा कम खानु उचित हुन्छ । मासु खानैपरे छाला झिकेर कुखुराको मासु खाने, माछामा बढी जोड दिने, चिल्लो बढी हुने दूधबाट बनेका बटर, चीज, घिउ जस्ता कुरा कम खानुुपर्छ । डाक्टरको भनाइ त्यत्ति हो ।

तर, डाक्टरको सल्लाहलाई कतिपय बिरामीले निकै कडा रुपमा पालना गरेको पाइन्छ । यस्ता त्यागी बिरामी रक्तचाप बढेको देखिएमा नुन चटक्कै बन्द गरेर दूध-भात मात्र खाएर बस्ने गर्छन् । यस्ता बिरामीहरु मासु पनि चटक्कै छोड्छन् । घिउकुमारी, नीम तथा करेलाको जूस बिहान-बेलुकै पिउँछन् । तर, यी सबै कुरा त्याग्नसक्ने बिरामी धेरै कम हुन्छन् ।

बिन्दास बिरामी

ब्लडप्रेसर भएका बिरामीले औषधि सुरु गरेपछि बेलाबेलामा आफ्नो प्रेसर जाँच गराइरहनुपर्छ । यसका साथै आफूलाई कुनै किसिमको समस्या नभए पनि कम्तीमा ६ महिनामा एक पटक आफ्नो डाक्टरसँग सम्पर्क राखिरहनुपर्छ । ब्लडप्रेसर तथा यसको लागि खाइने औषधिले शरीरका विभिन्न अंगमा प्रत्यक्ष असर पारिरहेको हुनसक्छ । डाक्टरसँगको नियमित भेटघाट र त्यस क्रममा रगत तथा अन्य जाँचहरुबाट त्यस्ता नकारात्मक असर परे-नपरेको प्रष्ट थाहा हुन्छ ।

लामो समयसम्म ब्लडप्रेसरको औषधि खाने, प्रेसर जाँच गर्दा ठीकै हुने तथा अन्य नयाँ समस्या नदेखिएमा डाक्टरसँग ३,४ वर्षसम्म पनि भेट नगर्ने बिन्दास बिरामी भने प्रशस्तै भेटिन्छन् ।

स्मार्ट बिरामी

डा. मिलनप्रकाश श्रेष्ठ

जाँड, रक्सी, चुरोट खाँदा तथा ब्लडप्रेसर, सुगरको औषधि नखाई बस्दा शरीरमा के-कस्तो नकारात्मक असर पर्छ, त्यसबारे मानिस त्यति चासो दिँदैनन् । तर, ब्लडप्रेसरको औषधिका बारेमा इन्टरनेटमा सर्च गरेर यो र त्यो साइड इफेक्ट हुँदो रै’छ भनेर औषधि नखाने जिद्दी गर्ने स्मार्ट बिरामी पनि प्रशस्तै भेटिन्छन् । उनीहरु औषधि खायो भने जीवनभर खाइरहनुपर्छ भन्ने सोच राख्छन् ।

कुरा वास्तविक नै हो, ब्लडप्रेसरका औषधिहरुको पनि साइड इफेक्ट पक्कै हुन्छन् । तर, ती सबै साइड इफेक्ट औषधि खानासाथ सधैं अनि सबैलाई हुन्छन् भन्ने होइन । कसैलाई खाएको केही हप्ताभित्रै देखिन्छ भने कसैलाई खाएको २०, ३० वर्षपछि देखिन्छ । कसैलाई त साइड इफेक्ट हुँदै हुँदैन । तर, डाक्टरसँग नियमित जाँचमा बसिरहने र सल्लाह बमोजिम गर्ने हो भने यस्ता साइडइफेक्ट हुन लागे वा भए तुरुन्तै थाहा पाइन्छ । त्यस अनुसारको औषधि फेरबदल गर्न पनि सकिन्छ ।

साइड इफेक्ट हुन्छ भन्दै औषधि नखाई बस्दा औषधिले गर्ने साइड इफेक्टभन्दा ब्लडप्रेसरले गम्भीर असर पार्न सक्छ ।

व्यस्त बिरामी

ब्लडप्रेसरले खराब गर्छ भन्ने थाहा छ, अरु मान्छेलाई नराम्रो गरेको पनि देखेको छ । तर, कामको प्रशस्तै तनावले ऊ आफ्नो स्वास्थ्यबारे सोच्न फुर्सदै पाउँदैन । बिहान-साँझ शारिरिक व्यायाम गर्न पनि समय छैन । अरु व्यस्तता त भइगयो, खाना खाने, घर फर्किने र सुत्ने ठेगान समेत छैन ।

खानामा खासै परहेज गर्न सकिएको छैन । सूर्ती र मदिरा पनि छोड्न सकेको होइन । डाक्टरकहाँ गएर जाँच गराउनुपर्छ भन्ने पनि भए पनि समयनै छैन ।  यस्ता बिरामी परिवारका सदस्यहरुको करबलले मात्र डाक्टरकहाँ आउँछन् । यस्तो स्थितिमा चेकजाँच गराउन पनि महाभारत नै पर्छ । फलोअप भिजिटमा त आउनै छोड्छन् । कुनै दिन छाती दुखेका जस्तो भए, सास फेर्न गाह्रो भए वा ढुकढुक भएमा वा चक्कर आए जस्तो भएमा दौडिँदै इमरजेन्सीमा आइपुग्छन् ।

स्वास्थ्यभन्दा ठूलो पैसा होइन, त्यसैले काममा जति नै व्यस्त भए पनि ६ महिनामा एकचोटि डाक्टरसँग भेट्ने समय निकाल्नुस् । आफैं रहनुभएन भने पैसाको के काम ?

अनुशासित बिरामी

ब्लडप्रेसरले प्यारालाइसिस गराएको, हृदयाघात, पक्षघात, दुवै मिर्गौला काम नलाग्ने भएर नियमित डाइलाइसिसमा दौडिनुपरेको, मिर्गौला फेर्नुपरेको, आँखामा समस्या भएर दृष्टि गुमेको साथै दैनिक जीवनमा ब्लडप्रेसरबाट झेल्नुपरेका समस्या परिवारभित्र वा अन्यत्र देखेका बिरामीलाई ब्लडप्रेसरको नकारात्मक असरबारे बुझाउन त्यति कसरत गर्नुपर्दैन ।

केही हप्ता औषधि नखाई अन्य उपाय अपनाएर हेर्ने हो कि भन्दा पनि हैन, सुरु गरौं भन्ने ज्ञानी बिरामी पनि हुन्छन् । वास्तवमा हुनुपर्ने पनि यस्तै हो । कुनै पनि डाक्टरले आवश्यक नदेखी ब्लडप्रेसरको औषधि सुरु गर्दैनन् । त्यसैले सम्पूर्ण जाँचपछि डाक्टरले सल्लाह दिँदा पनि औषधि सुरु नगर्नु बुद्धिमानी हुँदैन । साथै डाक्टरले भनेको समयमा भेट्ने सल्लाह मान्ने गरेमा भविष्यमा हुन सक्ने खतराबाट बच्न सकिन्छ ।

अटेरी बिरामी

जति भन्दा पनि सामान्य व्यायाम पनि नगर्ने, खानपान र मदिरामा नियन्त्रण नगर्ने, भनेको समयमा डाक्टरकहाँ नजाने, मन लागे औषधि खाने नत्र नखाने, चक्कर लाग्यो भनेर औषधि कम गर्ने वा बन्दै गर्ने जस्ता अटेरी बिरामीहरु पनि हुन्छन् ।

ब्लडप्रेसरको औषधि नियमित खानुपर्ने हुन्छ । नियमित औषधि पनि खांदै जाने साथै शारीरिक व्यायाम पनि गर्ने, मदिरा, सूर्ती सेवन त्याग्ने, खानपानमा विशेष ध्यान दिने गरेमा ब्लडप्रेसर नियन्त्रण हुन्छ । ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु नै यसको उपचार पनि हो ।

ब्लडप्रेसर कहिल्यै पनि एउटै विन्दुमा रहँदैन । माथि १४० र तल ९० भित्रको ब्लडप्रेसरलाई सामान्य मानिन्छ । तर, मानिसको स्वभाव, निद्रा, मानसिक तनाव, खानपान र अन्य शारीरिक समस्या आदिले ब्लडप्रेसर कहिलेकाहीँ बढ्न वा कम हुनसक्छ । यसो हुँदैमा एकचोटि कम वा बढी हुनासाथ औषधि आफैं थपघट गर्नुहुँदैन ।

यस्तो आइपरेमा र ठूलै समस्या तथा लक्षण नभएको अवस्थामा दुई-तीन दिन लगातार ब्लडप्रेसर नापेर हेर्नुपर्छ । बारम्बार नाप्दा पनि यस्तै अवस्था रहिरहे डाक्टरको सल्लाह अनुसार औषधिको मात्रा घटबढ गर्नुपर्छ, आफ्नै विचारले कदापि गर्नुहुँदैन ।

प्यानिक बिरामी

हाइ ब्लडप्रेसरका लक्षणहरु व्यक्ति अनुसार फरक-फरक हुन्छन् । माथिको ब्लडप्रेसर १५० हुँदा पनि कसैलाई टाउको दुख्ने चक्कर आउने हुन्छ भने कसैलाई २५० पुग्दा पनि केही नहुन सक्छ । हाइ ब्लडप्रेसर भएमा टाउको दुख्नुका साथै चक्कर आउने, छातीमा चसचस घोचेको अनुभव हुने, ढुकढुकी बढ्ने, चिटचिट पसिना आउने, छटपटी हुने, जिउ दुख्ने जस्ता लक्षण देखा पर्छन् ।

माथि भनिए जस्तै कहिलेकाहीँ विभिन्न कारणले ब्लडप्रेसर केही क्षणको लागि बढ्नसक्छ । यसरी बढेमा सकेसम्म डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ । तर, तुरन्त सल्लाह लिने मौका नमिलेमा वा छाती निकै दुखेको र सास फेर्न अत्यन्तै गाह्रो भएको जस्तो अवस्था गम्भीर नभएमा केही क्षण आराम गरेर हेर्न सकिन्छ ।

शान्त र शीतल वातावरणमा केही क्षण निदाउने, ध्यान गर्ने, नुहाउने, पानी पिउने र आफूलाई शान्त राख्ने कोसिस गर्ने हो भने केही क्षणपछि ब्लडप्रेसर सामान्य अवस्थामा आउन सक्छ । तर, मन अलि कमजोर भएका बिरामीहरु अलिकति प्रेसर बढ्नासाथै पनि लौ मलाई हृदयाघात नै हुन लाग्यो भनेर तनावमा आएर अस्पताल दौडिन्छन् ।

यसरी हुने तनावले ब्लडप्रेसरलाई अझ बढाइदिन्छ । बढेको ब्लडप्रेसरले तनावलाई अझ बढाइदिन्छ । बिरामीमा तनाव र व्यग्रताको यो अवस्था अस्पतालको इमरजेन्सीमा आउँदासम्म कायम रहन्छ । तर, इमरजेन्सीमा आएर एकछिन आराम गरेपछि वा तनाव कम गर्ने औषधि दिएपछि उनीहरु केही छिनमै शान्त हुन्छन् र ब्लडप्रेसर सामान्य भइहाल्छ ।

अञ्जान बिरामी

कतिपय बिरामी आफ्नो रोगको प्रकृति र औषधिबारे केही थाहा नभएका अञ्जान खालका हुन्छन् ।

तीमध्ये केही आएर यस्तो भन्छन्, ‘डाक्टरसा’ब, पहिले पानको आकारको औषधि खान्थेँ, त्यो सकिएको त एक महिना भइसक्यो । अहिले यिनीहरु खाँदै छु । त्यो सेतो गोली पनि मुटुकै भन्थे, त्यो त १५ दिन खाएर छोडिदिएँ । फेरि खाएको छैन ।’

बिरामीलाई ब्लडप्रेसरको औषधि नियमित खानुपर्छ भन्ने कुरा डाक्टरले प्रष्ट नबुझाउँदा पनि यस्तो समस्या परेको पाइन्छ । त्यसका साथै धेरै नपढेका, वृद्ध उमेरका बिरामीहरु, बिर्सने समस्या भएका बिरामीहरुलाई नियमित औषधि खानुपर्छ भनेर बारम्बार सम्झाइरहनुपर्छ ।

यस्तो समस्या भएका बिरामीका लागि औषधि सकिनुअगावै किनेर लगिदिने गर्नुपर्छ । धेरै किसिमका औषधि खानुपर्ने बिरामीको लागि यो बिहान, यो साँझ, यो खानाअघि र यो पछि खाने भनेर छुट्टाछुट्टै रङको बट्टामा राखेर दिने गरे सम्भिmन अलि सजिलो हुन्छ ।

कतिपय अवस्थामा खानुपर्ने औषधि नखाएको, कुनै दुईपल्ट खाएको, बन्द गर्नुभनेको पनि बन्द नगरेर बिरामीहरु विभिन्न समस्या लिएर आएको पाइन्छ ।यस्ता बिरामीहरुलाई घर-परिवारका सदस्यले विशेष ध्यान दिनुपर्छ ।

(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ हुन् ।)

स्रोत : अनलाइन खबर

Loading...
x

Check Also

यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । ...