Home / रास्ट्रिय खबर / बीस महिलाको चुल्ठो काटिएपछि स्थानीय त्रासमा, महिला बेहोस

बीस महिलाको चुल्ठो काटिएपछि स्थानीय त्रासमा, महिला बेहोस

वीरगञ्ज, ५ भदौ । भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो काट्ने) घटनाले पर्सा र बाराका महिला र युवतीमा त्रासमा छन् ।

साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पर्सा र बारामा गरी २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आइसकेको छ ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

साउन २९ गते एक, साउन ३२ गते एक, भदौ १ गते ६, भदौ २ गते सात र भदौ ३ गते पाँच गरी एक सातामा २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

वीरगन्ज महानगरपालिका १६ नगवाकी ३० वर्षीया महिला बगडी चमारिन् साउन २९ गते चुल्ठो काटिएर बेहोस भएर नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएपछि पर्सामा पहिलो पटक चुल्ठो काटिएको घटना सार्वजनिक भएको थियो ।

त्यसयता दैनिक पर्सा र बारामा महिला र युवतीको चुल्ठो काटिएको घटना सार्वजनिक हुँदै आएको छ । भदौ ३ गतेसम्म सार्वजनिक भएका २० घटना मध्येका अधिकांश पीडित महिलाले आफ्नो टाउँकोको पछाडि पट्टीको भागमा कुनै अज्ञात जीवले झट्का दिएपछि बेहोश भएको र अस्पतालमा पुर्याइएपछि होशमा आउँदा चुल्ठो काटिएको अवस्था भेटिएको बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए ।

केहीपीडित महिलाले भने अचानक अपरिचित मानिसको चित्र जस्तो देखिएको र उसले टाउँकोमा प्रहार गरेपछि बेहोश भएको र होशमा आउँदा कपाल काटिएको अवस्थामा भेटिएको बताएको गिरीले जानकारी दिए ।

अहिलेसम्म सार्वजनिक भएका २० घटनामा १४ देखि ३५ वर्षसम्मका युवती र महिला पीडित छन् । प्रहरी उपरीक्षक गिरीले २० मध्ये आठ महिलाको चुल्ठो रातको समयमा र बाँकी १२ महिलाको दिउँसो चुल्ठो काटिएको बताए ।

प्रहरीको अनुसन्धानमा पीडित महिलाको बयान उद्धृत गर्दै उपरीक्षक गिरीले भने, ‘टाउकोमा भेम किरा जस्तै आएर बस्यो, म बेहोस भएँ, त्यसपछि के भया भन्ने मलाई थाहा भएन ।’

भारतको राजस्थान सरकारले जारी गरेको सूचना अनुसार मैकी नामको किराले टाउकोमा टोकेर गन्ध छोडेपछि महिला बेहोस हुने र त्यही किराले कपाल काट्ने गरेको छ । तर, नेपाल प्रहरीले भने यस विषयमा अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक गिरीले बताए ।

‘चुल्ठो काट्ने किराको पर्सा प्रहरीले खोजी गरिरहेको छ,’ उनले भने, ‘भेटिएपछि अवश्य देखाउँछौ । शारीरिक कमजोरीको कारण पनि मान्छे बोहोस हुने, मुर्छा पर्ने जस्ता घटना हुनसक्छ’, उनले भने, ‘बेहोस हुने बितिकै चुल्ठो नै काटिएको हो भन्न सक्ने अवस्था छैन ।’

यस्ता घटनाले समाचार र समाजिक सञ्चालमा आउँदा महिलाहरु आत्तिने, रात भर जाग्राम बस्ने, माग्ने र एकल महिलालाई चुल्ठो काट्ने भनेर कुटपिट तथा दुव्र्यवहार गर्ने घटना समेत सार्वजनिक हुँदै आएका छन् ।

बारा, पर्सामा काटिएको चुल्ठोको कपालको नमुना काठमाडौंस्थित फरेन्सीक ल्याबमा परीक्षणका लागि पठाइएकाले त्यसको रिपोर्ट आएपछि मात्रै कसरी चुल्ठो काटिएको हो भन्ने विषयमा सत्य तथ्य जानकारी आउने प्रहरी उपरीक्षक गिरीले बताए ।

यसैबीच महिलाको चुल्ठोको कपाल काट्ने भनेर आरोप लगाएर कुटपिट गरिएका ६ जनालाई पर्सा प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका मध्ये एक बालिका, तीन माग्ने (भिखारी), एक बोल्न नसक्ने पुरुष र एक किसान रहेका छन् ।

source : dainiknepal

(Visited 1 times, 1 visits today)
x

Check Also

काँकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको डीपीआर फाइनल नयाँ सरकारको निर्णय कुरिरहेका छौंः विभाग

२६ मंसिर, काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...