Home / रास्ट्रिय खबर / आफ्नैबाट कोइरालाको विरोध

आफ्नैबाट कोइरालाको विरोध

काठमाडौं: प्रधानमन्त्री निर्वाचनमा तयारी नगरी उम्मेदवार बनेको भन्दै कांग्रेस सभापति सुशील कोइराला आफ्नैबाट आलोचित भएका छन्।
तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकमा कोइरालाका निकट सहयोगीले नै प्रधानमन्त्रीमा उम्मेदवार बनेर राष्ट्रका प्रमुख पद गुमाएको भन्दै आलोचना गरेका हुन्।उनीहरूले एमालेसँग भएको १६ बुँदे सहमतिको जानकारी केन्द्रीय समिति र संसदीय दलमा नगराउनु, आफै उम्मेदवार हुने वा नहुने विषयमा जानकारी नदिनुलगायतका विषयमा गम्भीर असहमति राखेका थिए। Sushil-Koirala_772375951_243255360_285023759
कोइरालाको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै उनी निकट रहेका केन्द्रीय सदस्य सूर्यमान गुरुङ, श्याम घिमिरे, बलबहादुर केसी, रामकुमार चौधरीलगायतकाले विरोध गरेका छन्।कोइराला सरकारमा सहभागी नरहरि आचार्य, रामशरण महत र महेश आचार्यले समेत हार्ने प्रधानमन्त्रीको चुनावमा लड्ने सभापतिको निर्णय गलत भएको भन्दै विरोध गरेका थिए।
‘प्रधानमन्त्री भएको व्यक्तिले हार्ने चुनाव लड्ने हिम्मत कसरी गर्नुभयो’, केन्द्रीय सदस्य चौधरीले प्रश्न गरे, ‘यो सभापतिको गम्भीर गल्ती हो।’बैठकमा बोल्ने अधिकांश सदस्यले सभापतिको पछिल्लो निर्णयले पार्टीलाई गम्भीर हानि पुर्‍याएको भन्दै आलोचना गरेका थिए।
कोइराला निकट सदस्य आचार्यले प्रधानमन्त्रीमा उम्मेदवार हुने भए पनि छिटै निर्णय गरेर तयारी गर्नुपर्ने धारणा राखेका थिए। ‘प्रधानमन्त्री र राष्ट्रपति दुवै निर्वाचनमा गृहकार्य पुगेन’, आचार्यले भने, ‘अब हामीले कार्यशैली बदल्नुपर्छ।’
बैठकमा बोल्ने सदस्यले एमालेसँग भएको सहमति तोडे पनि त्यसबारे केन्द्रीय समितिमा जानकारी गराएर नयाँ गठबन्धनका लागि पहल गर्नुपर्ने भन्दै नेतृत्वको आलोचना गरेका थिए। बुधबारको बैठकमा केन्द्रीय सदस्य शशांक कोइरालाले कम्युनिस्टसँगको गठबन्धन तोड्नैपर्ने थियो त्यो तोडिएको भन्दै प्रधानमन्त्रीको उम्मेदवारी राम्रो भएको धारणा व्यक्त गरेका थिए।
तत्कालीन वाममोर्चासँग कांग्रेसले गठबन्धन गरेर गल्ती गरेको आफ्ना दाजु प्रकाशले २०४६ सालै भनेको स्मरण गराउँदै उनले कम्युनिस्टसँग एकता गर्न नहुने धारणा राखेका थिए।बैठकमा केन्द्रीय सदस्य प्रदीप गिरीले अब नेताले राजनीति छाडेर युवालाई सुम्पनुपर्ने धारणा राखेका थिए।
‘अहिले राष्ट्रियताको परिभाषा फेरिएको छ, लोकतन्त्रको परिभाषा फेरिएको छ’, गिरीले भने, ‘अब हामीजस्तो मान्छेले राजनीति गर्ने होइन, युवापुस्तालाई सुम्पिऊँ।’ उनले आफू संविधानमा असहमत भएर नै संविधान पारित गर्दा अनुपस्थित भएको पनि बताएका थिए। ‘म बिरामी परेर होइन, असन्तुष्ट भएर संविधानमा हस्ताक्षर गर्न नआएको हुँ’, उनले भने।
केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने हो भने उत्तरका १२ जिल्लामा फेरि समस्या पर्ने भन्दै त्यसमा ध्यान दिन आग्रह गरेका थिए। ‘कांग्रेसले अघि सारेको दुईबुँदे संविधान संशोधन प्रस्ताव सकरात्मक हो’, उनले भने, ‘तर हिमाली १२ जिल्लालाई भूगोलका आधारमा निर्वाचन क्षेत्र तोकिएन भने त्यहाँ फेरि अर्को विवाद हुन्छ।’

 

(Visited 25 times, 1 visits today)
x

Check Also

काँकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको डीपीआर फाइनल नयाँ सरकारको निर्णय कुरिरहेका छौंः विभाग

२६ मंसिर, काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...