Home / रास्ट्रिय खबर / महाअभियोगलाई संविधान संशोधनसँग सौदावाजी गर्दैनौंः शंकर पोखरेल

महाअभियोगलाई संविधान संशोधनसँग सौदावाजी गर्दैनौंः शंकर पोखरेल

snapshot

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको शर्तको रुपमा महाअभियोग प्रस्ताव बनाईए कुनै हालतमा नमान्ने बताएका छन् ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई संविधान संशोधनको सौदावाजीको रुपमा लिइए आफ्नो पार्टीले नमान्ने उनले बताएका हुन् । बिहीबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले भने, राष्ट्रिय एजेण्डा हो, तर संविधान संशोधनको लागि महाअभियोग प्रस्तावलाई शर्त बनाईन्छ भने हामी कुनै हालतमा मान्दैनौं ।’

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनेबारेमा प्रमुख तीन दलका शीर्ष नेताहरुवीच छलफल भएर नै प्रस्ताव आएको उनको दाबी छ । उनले अघि भने,’यो प्रस्ताव तीन दलका शीर्ष नेताहरुवीच छलफल भएरै आएको हो, यसमा कुनै शंका उपशंका नगरे हुन्छ ।’
उनले अघि भने, ‘हिजो उनको नियुक्ति हुँदैगर्दा हामीले विरोध गरेकै हो, हामी त राष्ट्रपतिसमक्ष डेलिगेशनमै गएका थियौं ।’

नेता पोखरेलले कार्कीको नियुक्ती गलत भएपनि उनले आफूलाई सुधार गर्न सक्ने अपेक्षा दलहरुले त्यतिवेला गरेको भन्दै एमाले नेता पोखरेलले भने, ‘तर कार्कीले आफूलाई सुधार गर्न सकेनन्, उनले आफ्नो गलत प्रवृत्ति नसुधारेका कारण आज उनीविरुद्ध महाअभियोगको प्रस्ताव आएको हो ।’

उनले लोकमानविरुद्धको महाअभियोग नआउँदा चुनाव हुँदैन कि भन्ने शंका भएको भएपनि महाअभियोगको प्रस्ताव आएसँगै अब चुनाव हुने सुनिश्चितता बढेको विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता दिपक खड्काले माओवादी केन्द्र र नेकपा एमालेले आफ्नो पार्टीलाई गुमराहामा राखेर अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोग प्रस्ताव ल्याएकोले काँग्रेसले हचुवाको भरमा पक्ष वा विपक्ष केहीमा पनि निर्णय नगर्ने स्पष्ट पारे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मणि थापाले लोकमानविरुद्धको महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रस्ताव भएको बताए ।

रापप्राका अध्यक्ष पशुपति शमशेर जबराले मुलुक यतिवेला महाअभियोगमय बनेको बताएका छन् । उनले अघि भने, ‘म एक महिना लामो बसाईपछि भर्खरै काठमाडौं आएको छु, यतिवेला मुलुक त महाअभियोगमय भैसकेको रहेछ ।’

उनले महाअभियोगको प्रस्तावले यतिवेला भूकम्पपनि नेपालमा आएकै होईन कि भन्ने लाग्न थालेको भन्दै ठट्टा समेत गरे । अध्यक्ष राणाले महाअभियोगको प्रस्तावबारे आफ्नो दलले अहिले नै निर्णय गर्नुभन्दापनि कार्यसम्पादन बैठकले नै यसबारेमा टुँगोमा पुग्ने बताए ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले महाअभियोगको प्रस्तावबारे आफ्नो पार्टीले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

स्रोत : अनलाइन खबर

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...