Home / दुर्घटना / सहचालकले चलाएको बस होटलभित्र पस्दा दम्पत्तिको मृत्यु

सहचालकले चलाएको बस होटलभित्र पस्दा दम्पत्तिको मृत्यु

accident-583d4b6a522429-56252922

दुई बर्षीया छोरी र १२ दिनको नवजात छोरा जीवित

जनकपुरधामः पूर्व पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको लालगढमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका ९ लालगढको पूर्वेली होटलमा सोमबार राति काठमाडौँबाट राजविराज जाँदै गरेको बसका सहचालकले चलाएको ना ५ ख ३५९ नम्बरको बस दुर्घटनामा परेको हो ।

बसले ठक्कर दिदा सप्तरी राजविराज हर्दिया ७ का २६ वर्षीय रामकुमार मण्डल र उनकी श्रीमती २३ वर्षीया आनन्द देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यात्रुलाई खाना खान रोकेको अवस्थामा बसका सहचालकले बसलाई पार्किङ गर्न खोज्दा ब्रेक फेल भएर बस होटलको भवन भित्रै पसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गाडीबाट झरेर होटलमा खाना खाँदै गरेका दम्पत्तिलाई बसले किचेको हाे । दम्पत्तिको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

मृतक दम्पत्तिका दुई बर्षीया छोरी र १२ दिनको नवजात छोरा भने जीवित छन् । छोराछोरीलाई भुइँमा सुताएर खाना खादै गर्दा दम्पत्तिलाई गाडीले खिचेको थियो । मृत दम्पत्तिका नाबालक छोराछोरीलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते मध्ये सुनसरी वराहक्षेत्र ६ बस्ने १७ बर्षीय समीर थापा, मोरङ बरलवारी ४ का २८ बर्षीया सपना कोइराला, पर्सा घर भइ काठमाडौं बस्ने पिया श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

अन्य घाइते सिरहा मिरचैया २ बस्ने अशोक कुमार महतो, सप्तरी दउरी मर्मा ५ बस्ने २६ बर्षीय ललित दास, सप्तरीको शम्भुनाथ ४ बस्ने २० बर्षीय सशी चौधरीको लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको छ । घटनापछि चालक र सहचालक फरार छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको बताएको छ।

x

Check Also

लुक्लामा विमान दुर्घटनाः चालकको मृत्यु, दुई घाइतेलाई काठमाडौं ल्याउन सकिएन

१३ जेठ, काठमाडौं । सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा ...