Home / खेलकुद / नेपाल श्रीलंकासँग १ रनले पराजितः दीपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

नेपाल श्रीलंकासँग १ रनले पराजितः दीपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

man-of-the-match-dipendra-airee-5852b02de35b12-40741272

काठमाडौं: अन्तिम समयमा सम्हालिन नसक्दा नेपाली क्रिकेट टोली पुन एक पटक टेस्ट टोलीमाथी जित हातपार्नबाट चुकेको छ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपअन्तर्गत बिहीबार आफ्नो पहिलो खेलमा घरेलु टोलीविरुद्ध उत्रिएको नेपाल एक रनले पराजित भएको हो ।

दुई सय २८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २६ रन जोड्न सक्यो । ४९ औं ओभरमा दुई ब्याट्सम्यान रन आउटको सिकार भएपछि नेपाली टोली अप्ठेरोमा परेको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि आठ रन आवश्यक थियो भने एक विकेट मात्र साथमा थियो । यस्तो स्थितिमा मध्यक्रमका दीपेन्द्र ऐरी एक्लैले क्रिज सम्हाल्ने प्रयास गरेका थिए । ५० औं ओभरको पहिलो बलमा रन जोड्न नसके पनि दोस्रो बलमा छक्का प्रहार गर्दै उनले नेपाललाई जित नजिक पुर्याए । तर, तेस्रो बलमा उनी एलबीडब्लू सिकार बने । पाँचौं नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ९० रन बनाए । उनलाई स्पिनर प्रविन जयाविक्रमाले एलबीडब्लू धरापमा पारे ।

यसअघि ४९ औं ओभरमा कप्तान सन्दीप लामिछाने र कमलसिंह ऐरी रन आउट भए । त्यसअघि नेपाललाई १८ बलमा १९ रन आवश्यक थियो । कमजोर सुरुवात गरेको नेपाली टोलीलाई दीपेन्द्र र अविनाश कर्णले जिततर्फ डो¥याउने प्रयास गरे । एक सय १२ रन जोड्दा पाँच विकेट गुमाएको नेपाली टोलीका लागि दिपेन्द्र र अविनासले छैटौं विकेटका लागि ८४ रनको साझेदारी गरे । अविनास आउट हुँदा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन जोडेको थियो । उक्त ओभरमा पवन सर्राफ पनि आउट भए ।

नेपालको पालीमा अविनाशले ४०, अदिल खानले ३९ र विकेटकिपर प्रकाश केसीले १४ रन जोडे । सन्दीप सुनार दुई, आसिफ शेख एक र भीम सार्की आठ रन जोडेर आउट भए । नेपालले चौथो विकेटका लागि ४५ र पाँचौं विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो । दीपेन्द्रले ९९ बलमा एक छक्का र नौ चौका प्रहार गरे । अविनासले ६४ बलमा एक छक्का र तीन चौका हिर्काए । नेपालका चार ब्याट्सम्यान एलबीडब्लू सिकार बनेका थिए । यो खेलमा एक जना रेफ्री स्वयं श्रीलंकन थिए ।

यसअघि श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २७ रन जोडेको थियो । घरेलु टोलीका हासिथा बायोगोडाले ८३, आसेन बन्दराले ४८, कृसन आर्चिजले २८ र रेभेन केल्लीले १९ रन बनाए । पालीको पहिलो बलमै विकेट गुमाएको श्रीलंका त्यसपछि सम्हालिएको थियो । नेपाली बलर कमल ऐरीले तीन , पवन सर्राफले दुई र दिपेन्द्र ऐरीले एक विकेट लिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएका अन्य खेलमा बंगलादेशले अफगानिस्तानलाई चार विकेटले, भारतले मलेसियालाई दुई सय ३५ रनले र पाकिस्तानले सिंगापुरलाई नौ विकेटले हरायो ।

भारतले पहिला ब्याटिङ गर्नेक्रममा निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८९ रन जोडेको थियो । प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूहमा भारत र श्रीलंकाबाहेक मलेसिया पनि छ ।

अर्को समूहमा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् । प्रतियोगितामा एसियाका चारवटा टेस्ट राष्ट्र र चारवटा एसोसिएट राष्ट्र समावेश छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

Loading...
x

Check Also

‘टोली बनाउनै गाह्रो ! दुई-तीन जना भए पनि खेल्छौं’ झण्डै क्रिकेट छाडेकी थिएँ- सबनम रार्इ

१५ मंसिर, काठमाडौं । पाकिस्तान विरुद्ध ४७ रनमा अलआउट । श्रीलंका विरुद्ध २३ र बंगलादेश ...