Home / बिचार/ब्लग / पृथ्वीनारायणको दिव्योपदेश र राष्ट्रिय हित

पृथ्वीनारायणको दिव्योपदेश र राष्ट्रिय हित

prithivinarayan-shah-5852080695f227-20741053

नेपाललाई हृदयबाटै आफ्नो देश ठान्नेहरू जसले आफूलाई नेपाली हुनुमा गर्व गर्छन्, तिनले राष्ट्र, राष्ट्रनिर्माण प्रक्रिया र राष्ट्रनिर्माताप्रति सकारात्मक भाव राख्न पक्कै गाह्रो मान्दैनन् । जसले इमान धर्म बेचिसकेका छन्, विदेशीका एजेन्डामा काम गर्छन् वा पराइको सोझो गर्छन्, तिनलाई यो देशको नाम, झन्डा, राष्ट्रिय एकता, सामाजिक सम्बन्ध र संस्कृतिप्रति मनमा इख हुन सक्छ । अझ ती पराइ जसले आफ्नो विश्वास प्रणाली वा सोच पद्धतिमार्फत दासता लाद्न चाहन्छन्, तिनका मनमा त स्थानीय सभ्यता, संस्कृति, भाषा, लिपि, सामाजिक सद्भावको संयोजन पद्धतिप्रति विष हुन सक्छ । यी इखालु र विखालुको मिलाप राष्ट्र, राज्य, समाज, सभ्यता, संस्कृति र सामाजिक सम्बन्धको लागि कति खतरनाक होला ?

विगतमा कतिपयले उपनिवेश कायम गर्न र टिकाउन त्यही देशका बिकाउहरूलाई खरिद गरेर प्रयोग गरिएका उदाहरण छन् । क्रूरता, समग्र शोषण, संस्कृति र सभ्यतामाथि आक्रमण, मानवधिकारको गम्भीर उल्लंघन, शिक्षा, कानुन र नीतिमार्फत आक्रमण आदि अभौतिक र भौतिक हतियारको प्रयोग उनीहरूको प्रवृत्ति थियो । उसबेला प्रत्यक्ष उपनिवेशका लागि स्थानीय बिकाउहरूलाई साना पद वा अन्य लाभ दिइन्थ्यो । अहिले छायाँ उपनिवेशका निम्ति साना र गरिब देशमा विदेशी गैरसरकारी संस्थाको भरमग्दुर प्रयोग गरिन्छ । तिनका एजेन्डामा काम गर्न राज्यका अंग, निकाय, स्थानीय संस्था र सञ्चारमाध्यममा बिकाउ एजेन्ट राखेर आफ्ना कुरा लाद्ने प्रयास गरिन्छ । ती बिकाउहरू छाया दासता स्विकार्छन् ।

पराइका औजार यी सफेद्पोसी छाया दासहरू सञ्जाल बनाएर मुलुकको आफ्नोपन नष्ट गर्न, जनतामा राज्यप्रति कुण्ठा पैदा गर्न र आआफ्ना दातालाई अवतार प्रमाणित गर्न तल्लीन हुन्छन् । मुलुकमा त्यस्ता लोभीपापीहरूको संख्या बढ्नु र राज्यको महत्त्वपूर्ण नेतृत्व तहमा तिनको प्रभाव बढ्नु राष्ट्रिय हितको दृष्टिले खतरनाक हुन्छ । राष्ट्र, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान मात्र होइन, राज्य पनि खतरामा पर्न सक्छ । सन्दर्भतः राष्ट्र र राज्य निर्माणमा योगदान पुर्‌याउने ऐतिहासिक व्यक्तित्वहरूलाई अगाडि सारेर सम्मान दिनु छायाँ उपनिवेशवादविरुद्ध एउटा सानो उपाय हुन सक्छ । त्यसैले यो आलेखमा दिव्योपदेशका आधारमा बडामहाराज पृथ्वीनारायण शाहबारे चर्चा गरिनेछ ।

कतिपय विदेशी इतिहासकारले नेपालको राष्ट्र र राज्य निर्माण अभियानलाई अमर्यादित तरिकाबाट प्रस्तुत गरेका छन्, तर आफ्नो देशले विगतमा उपनिवेश निर्माण र विस्तारका निम्ति केके क्रूर, अमानवीय, अन्यायपूर्ण कार्य गरे, त्यो लुकाउन प्रयत्न गर्छन् । अरू मुलुक र त्यहाँका मानिसलाई सभ्यता सिकाउन भन्दै दास बनाएको, स्रोत र साधन दोहन गरेको, सभ्यता र संस्कृतिमाथि आक्रमण गरेकोमा पनि गर्व गर्छन् । सन्दर्भतः गत वर्ष एकजना भारतीय राजनीतिज्ञ तथा कूटनैयिक शशी थरुरले बेलायतको एउटा विश्वविद्यालयमा दिएको करिब १५ मिनेटको प्रभावशाली र सुन्नैपर्ने भाषणबाट यो पुष्टि हुन्छ ।

उपनिवेशका कारण नेपालले मेचीपूर्व र महाकालीपश्चिमको जमिन मात्र गुमाउनुपरेन, समुद्रपारिकासँग आफ्नै भूमिमा पटकपटक लड्नुपर्‌यो, उनीहरूलाई पश्चिमा इतिहासकारले आक्रमणकारी भन्दैनन् । तर कर्कप्याट्रिकलगायतका पश्चिमा इतिहासकार मात्र होइन, मानवशास्त्री र समाजशास्त्रीको भेषमा आएका कतिपयले आपसमा लोलीबोली मिलाउँछन् । उनीहरूको राज्य र राष्ट्र निर्माणकालमा भएका घटना सानदार र अनुकरणीय हुन्, तर हामीकहाँ भएको राष्ट्र निर्माण अभियानलाई विस्तारवाद र उपनिवेशीकरण भनी शिक्षादीक्षा दिन सदावहार देखिन्छन् ।

पराइका स्थानीय पुर्जाहरूलाई पनि सायद नेपाल निर्माण अभियान, नेपाल, नेपालका सभ्यता, संस्कृति, भाषा, लिपि, प्रचलित संवत् मन पर्दैनन् । नेपालका ‘राष्ट्रनिर्माता’ मन नपर्नुको कारण त मुखाग्र नै बनाउन लगाइएको छ पुर्जाहरूलाई । त्यसैले उनको सालिक ढालियो, संविधानमा संवत् लेखिएन, शब्दकोशमाथि आक्रमण भयो, संविधान निर्माणकालमा झन्डामाथि पनि आक्रमण भयो । सेना र न्यायपालिकालाई कमजोर पार्ने प्रयास भए । राष्ट्रिय पहिचानलाई जातीयताले विस्थापन गर्ने प्रयत्न भए । एकाथरीलाई अर्कोथरीविरुद्ध उचाल्न अनेकथरी लगानी भए । पराइका पुर्जालाई ठाउँठाउँमा नियुक्ति दिने प्रयास भए आदि आदि । पृथ्वीनारायणका पालामा पादरीको पहिरनमा आएका दुईजना जासुस बेतीया पठाउनुको बदला पृथ्वीनारायणसँग मात्र होइन, हाम्रा सभ्यता, संस्कृति, प्रतीक, भाषा, लिपि, पहिरन र राष्ट्रिय एकतासँग पनि लिइँदैछ ।

पृथ्वीनारायण कुनै विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका व्यक्ति थिएनन्, उनका पालामा मानवाधिकारका नाममा जारी भएका कुनै घोषणापत्र र महासन्धि जारी भएका थिएनन्, तथापि पृथ्वीनारायणको पालाको राष्ट्रिय एकता अभियानलाई दुई विश्वयुद्ध तथा त्यसपूर्व र पश्चात्का युद्ध र आक्रमणका ज्यादतीभन्दा अन्यायपूर्ण भन्न लगाएर आफूहरूलाई ढाक्ने प्रयत्न गरिँदै त छैन ?

पृथ्वीनारायणले आफ्नो राष्ट्रिय एकता अभियानमा आफैँ पैदल हिँडी ठाउँठाउँमा पुग्ने गरेको दिव्योपदेशबाट देखिन्छ । गोरखाबाट धादिङ, काठमाडौँ, मकवानपुर र बनारस पुगेको देखिन्छ । पृथ्वीनारायण राष्ट्र निर्माणका क्रममा दिनरात नभनी हिँडेको, गाउँका चौतारामा थर्पु हालेर बसेको भन्ने सिमलचौरको वासको प्रसंगबाट पनि देखिन्छ ।

उनले लिगलिगको आड गरी रणजित बस्नेत, मानसिंह रोकाहा र वीरभद्र पाठक जस्ता वीरहरूलाई राखिछोडेका थिए । अर्थात् राष्ट्रवादी मानिसहरूलाई राष्ट्र निर्माणका निम्ति जिम्मेवारी दिएका थिए । आफू एकता अभियानमा छत्रभंग गर्न एकातिर जाँदा अरूले आफ्नो राज्यमाथि आक्रमण गर्न सक्नेमा उनी सचेत थिए । राष्ट्र निर्माणमा कसले कताबाट कसरी आक्रमण गर्न सक्छ भन्नेबारे सतर्क हुनुपर्ने सन्देश यो प्रसंगले दिन्छ ।

आजभोलि हामी ससाना फाइदाको लागि राष्ट्र, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, सभ्यता र संस्कृति भत्काउन आएका पराइका कतिपय संस्थालाई ठाउँ दिएका मात्र छैनौं, कतिले त उक्साइरहेका पनि छौं । दिव्योपदेशमा पृथ्वीनारायणले आफ्नो सेनामा चार जातका सिपाही छन्, यिनमा कसको सवार गर्‌यो भने (मुख्य जिम्मेवारी दियो भने) चाँडो काम फत्ते होला भनी जिज्ञासा राखेको देखिन्छ । अर्थात् राष्ट्रिय सेनामा राष्ट्रिय चरित्र देखिन्छ र तीमध्ये उद्देश्य प्राप्तिका निम्ति कसलाई प्राथमिकता दिनु उपयुक्त हुने भन्दै योग्यता र क्षमतालाई प्र श्रय दिन खोजेको देखिन्छ ।

उनी कसैप्रति पक्षपाती र प्रवृत्त देखिादैनन्। यही प्रसंगमा उनलाई धेरैले बाहुनको सवार भनेको बयल हो र पाप लाग्छ, ठकुरी बाघ हो दगा (धोका) हुन्छ, मगर टागन घोडा हो ढिलो हुन्छ र खस भनेको ताजी तुर्की घोडा हो यसको सवार गरे चाँडो होला भनी अर्ती दिएकाले उनैका अर्ती लिएको भन्ने देखिन्छ । यसरी पृथ्वीनारायण राष्ट्र निर्माणकालमा अरूको अर्ती सुन्थे र उपयुक्त लागे ग्रहण गर्थे तर आजजस्तो ती अर्ती दिनेहरू विदेशी भने थिएनन् उनी राज्यभित्रैबाट अर्ती लिन्थे ।

राष्ट्र र राज्य निर्माण अभियानमा उनले कालु पाँडेलाई जिम्मेवारी दिँदाको प्रसंग आउँछ । उनी लमजुङका राजासँग छलफल गर्न गएको बेलामा कालु पाँडेले आफ्नो मनको कुरा बोलेकाले उनी प्रभावितचाहिँ थिए । शास्त्रमा भने दुनियाँ जोसँग राजी हुन्छन्, उसलाई कजाई दिनू भन्ने लेखेको पनि थाहा थियो । उनको मनमा बिराज बषेतिलाई कजाई दिने कुराको अठोट थियो । दुनियाँदारले कालु पाँडेलाई कजाई दिन सल्लाह दिएकाले उनले ज्यादा बुद्धि भएका कालु पाँडेलाई कजाई दिए अर्थात् उनी हठी थिएनन्, राष्ट्रको काम गर्दा योग्यता, क्षमता र जनताको इच्छालाई ध्यानमा राख्न उनी संकल्पित थिए । योग्य र सक्षम व्यक्तिबाट नै राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न मद्दत पुग्छ भन्नेमा उनको विश्वास थियो । क्षमता देखाएर पहिचान बनाउनु नै उनको लागि वास्तविक पहिचान थियो ।

उनले राष्ट्र निर्माणमा सहयोग पुगोस् भनी पाँडे परिवार र बस्नेत परिवारबीच वैवाहिक सम्बन्ध कायम गर्न लगाएका थिए । यसलाई उनले काठमाडौँ उपत्यका जित्न पाँडेको ढाल र बस्नेतको तरबारको रूपमा चित्रित गरेका छन् ।
पृथ्वीनारायण स्थानीय देवीदेवताको दर्शन गर्थे र मन्दिरका परम्परा मान्दथे भन्ने दिव्योपदेशको सल्यानकोटको देवीको मन्दिरमा बाहिरबाटै दर्शन र पूजाआजा गरेकोबाट पुष्टि हुन्छ । साथै इन्द्रायणी भैरवीको पनि ध्यान गर्थे । उनी धर्म र पूजाको लागि उनी परनिर्भर थिएनन्, आफ्नै धर्ती धार्मिक दृष्टिले पवित्र र आत्मनिर्भर दुवै छ भन्ने उनलाई लाग्दो हो ।

उनी यही माटोका देवीदेवतामा र खासगरी दैवी शक्तिमा विश्वास गर्थे, आस्था राख्थे । त्यसबेला बेतीयाबाट आएका पादरीको पहिरनमा आएका दुईजना जासुसहरूलाई यो कुरा मन पर्दैनथ्यो होला । त्यसैले उनीहरूको र पराजित सैनिकको प्रतिवेदनका आधारमा नेपालको इतिहास लेख्ने र त्यहीं इतिहासको प्रचार गर्न खाइपिइ गर्नेहरूलाई पृथ्वीनारायणको यो पक्ष मन पर्दैन होला ?

पृथ्वीनारायणले चीनका बादशाहसँग राम्रो सम्बन्ध बनाइराख्न प्रेरित गरेका छन् । दक्षिणको समुद्रका बादशाहसित सम्बन्ध त राख्नुपर्ने तर ऊ अति चतुर भएकाले सतर्क रहनुपर्ने बताएका छन् । उनले दिव्योपदेशमा अंग्रेजले हिन्दुस्थाना (भारत) लाई दबाइरहेको कुरा बताएका छन् । अंग्रेज सरजमिनमा रहेको र भारतीयहरू जागेका दिन अंग्रेज नेपालतिर बढ्न सक्नेतर्फ सचेत गराएका छन् । साथै अंग्रेजको आक्रमण रोक्न आफ्नो सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशित गरेका छन् । उनले अंग्रेजलाई जाई कटक नगर्न तर झिकी कटक गर्न सुझाव दिएका छन् ।

अंग्रेज आक्रमण गर्न आए चुरे शृंखलामा नै लडाइँ लड्न भनेका छन् । अंग्रेज लड्न आएन भने लोलोपोतो गर्न आउने, अनेक कल र छल गर्न आउने उनको मत देखिन्छ । सिन्धुलीगढी, बटौली र नालापानीमा नेपाल प्रत्यक्ष लडाइँमा होमिन बाध्य पारियो । सुगौली सन्धि गर्न बाध्य बनाइयो । मेची र महाकालीपारि र दक्षिणतर्फको जमिन अंग्रेजका कालमा गुमाउन नेपाल बाध्य भयो । राष्ट्र हितमा उनले गरेको भविष्यवाणी करिब-करिब मिलेकै देखिन्छ । सायद त्यसैले होला, कतिपय पराइ र पराइजीवीलाई उनको यो दृष्टिकोण आजसम्म पनि पचेको छैन । त्यो तुस मौका पर्दा सार्वजनिक गरिरहन्छन् ।

पृथ्वीनारायण आफ्नो मुलुकको कानुन निर्माण गर्न आफ्नो समाज र इतिहासप्रति उत्तरदायी देखिन्छन् । यसैले होला उनले राम शाह, जयस्थिति मल्ल र महेन्द्र मल्लले बाँधेका थिति (कानुन) अध्ययन गरेको र ईश्वरले दिए म पनि १२ हजार (त्यसबेला गोरखाका घरधुरी ? ) को थिति बाँधी जाउँला भन्ने कामना गर्छन् । यसरी उनी १२ हजार घरधुरीका जनतालाई समानरूपमा हेर्दथे भन्ने देखिन्छ । साथै थिति बाँधेर न्याय दिने उनको अभिलाषा देखिन्छ । विश्वका कतिपय देशमा राजा र राजसंस्था मिलेर अत्याचार गरको, अत्यधिक कर लगाएको एवं न्याय प्रणाली नै हातमा लिएको इतिहास छन् । तर नेपालको कुनै कन्दरामा राष्ट्रनिर्माताले राष्ट्र निर्माण मात्र होइन, न्यायका निम्ति थिति बाँध्ने सोच बनाएकोमा जलन हुँदो हो । त्यसैले उनको व्यक्तित्व भत्काउन उनीहरू उद्यत् देखिन्छन् र हाम्रा परजीवी तिनका गोटी बन्छन् ।

विदेशी महाजनलाई गोडप्रसाहदेखि माथि आउन नदिनू, विदेशी महाजन आफ्नो मुलुकमा आए भने जनतालाई कंगाल गरिछोड्छन् भन्ने उनको दृष्टिकोण देखिन्छ । यसरी विदेशीहरूलाई कहाँसम्म आउन दिने र कहाँ राख्ने भन्नेबारे उनी स्पष्ट देखिन्छन् । साथै आफ्ना देशका कपडा बुन्न जान्नेलाई नमुना देखाई कपडा बुन्न लगाउनुपर्ने, विदेशी कपडा लगाउन मनाही गर्नुपर्ने र यसो गरे नगद विदेश नजाने उनको धारणा देखिन्छ । आज विदेशी कपडा मनाही गर्ने कुरा अचम्म हुन सक्छ ।

त्यसको धेरै वर्षपछि अंग्रेजलाई लखेट्न महात्मा गान्धीले अंग्रेजी कपडा नलगाउने मात्र होइन, अंग्रेज कम्पनीको नुनसमेत बहिष्कार गराएका थिए । यहाँ पृथ्वीनारायणले उपनिवेशको रूपमा दैलामा आई भारतलाई गाँजेर बसेको, बेलाबेलामा नेपालसँग निहुँ खोज्ने, पादरीको पहिरनमा जासुस खटाउने, सिन्धुलीगढीमा आक्रमण गर्ने र नेपाल एकीकरणविरुद्ध सहयोग गर्ने बेलायतलाई भनेका थिए ।

‘प्रजा मोटा भया दर्बार बलियो रहन्छ’, ‘राजाका भण्डार भनेका रैतानहरू हुन्’, ‘मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो चेतना भया’ । जनताप्रतिको पृथ्वीनारायणको दृष्टिकोण कस्तो थियो भन्नेका लागि यी पंक्ति पर्याप्त छन् । कसैलाई यहाँ प्रजा र रैतान शब्दको बालको खाल निकाल्न मन लाग्न सक्छ । तर त्यसबेला जनता शब्द शब्दकोशमा थियो या थिएन, भाषाविद्ले बताउलान् । बेलायतमा अझै पनि प्रजा (सब्जेक्ट) र नोकर (सर्वेन्ट) भनिन्छ । नेपालमा नागरिक शब्द पहिले नगरवासीको लागि मात्र प्रयोग हुन्थ्यो ।

पृथ्वीनारायणले उसबेला अंग्रेजसँग लडाइँ गरेर जिते, देश बनाए, देश जोगाए, तर आज उनको सालिक कसको लागि ढालियो ? उनको अपमानका निम्ति कसले लगानी गर्छ ? उनको नेतृत्वमा एकीकरण भएको र उनले पराइ आक्रमणबाट जोगाएको नेपालको नेपाली हुनमा गर्व गर्नेले यी प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने कि ?

‘पाँडे, बस्न्यात, पन्थ, भैयाद, मगर’ लाई मराताप दिनू, ठकुरी जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थप्नू, कचहरीपिच्छे यक् यक् पण्डित राषी न्यायशास्त्रबमोजिम अदालत चलाउनू, गुरुङ, मगर, खान्ज्यादा, भैयाद, भारदार, मिर, उमराउ, थरघर पुराना-पुराना जाँची गौँडा-गौँडामा राख्नू, सुखसयलका लागि विदेशीको चलखेल हुन नदिनू, तीनै सहर नेपालका नेवारहरूको नाच झिकाई हेर्नू भन्ने उनको कथन रहेको पाइन्छ । अर्थात् उनी आफ्ना सबै जनताप्रति, न्यायप्रति र संस्कृतिप्रति पूर्ण लगाव र समभाव राख्थे । उनले पूर्व-पश्चिमका खस बाहुनलाई दरबारमा पैठ हुन नदिनू किनभने बाहिरिया मान्छेले दरबारमा बेथिति गराउँछन् भनेका छन् । अर्थात् पूर्वपश्चिम याने टाढा-टाढाका व्यक्ति जोसुकै भए पनि दरबारमा ठूलो पदमा राख्न नहुने उनको आशय हुन सक्छ ।

जयप्रकाश मल्लले मतलबको लागि दक्षिणतिरबाट नागा झिकाए र पछाडि दगा दिए । तिनीहरूलाई नेपालभित्र (उपत्यका) छिर्न नदिई सात गाउँ भित्रैमा पठाएँ । कश्मीरको नवाब मकवानपुर आक्रमण गर्न आयो, उसलाई पनि सिमाना कटाई आएँ सिन्धुलीगढीमा ‘हाँडीसाहेब’ (हार्डिङ ? ) चढ्यो, उसलाई पनि काटी पत्थरकाला च्याति ल्याएँ भन्ने कथन पनि दिव्योपदेशमा रहेका छन् । यो मुलुक बनाउन र जोगाउन उनी कसैसँग झुकेको देखिँदैन । सायद यी षड्यन्त्र र लडाइँ जितेकाले उनको अपमानका निम्ति लगानी हुन्छ र पुर्जाहरूले त्यही लगानीबाट ऊर्जा प्राप्त गर्छन् ।

पृथ्वीनारायणले उसबेला नागालाई डाँडा कटाए, कश्मिरी नवाबलाई सिमाना कटाए, अंग्रेजसँग सिन्धुलीगढीमा लडाइँ गरे र जिते, देश बनाए, देश जोगाए, मुलुकसापेक्ष कानुन र न्याय प्रणालीको प्रयास गरे, राष्ट्रिय र सीमा सुरक्षाका उपाय गरे, योग्यता प्रणालीलाई प्रधानता दिए, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता देखाए, तर आज उनको सालिक कसको लागि ढालियो ? उनलाई स्मृतिबाट बाहिर पठाउने तानाबाना कसको लागि बुनिँदै छ ? उनको अपमानका निम्ति कसले लगानी गर्छ ?

उनको नेतृत्वमा एकीकरण भएको र उनले पराइ आक्रमणबाट जोगाएको नेपालको नेपाली हुनमा गर्व गर्नेले यी प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने कि ? उनका प्रति इख राख्नेले पनि दिव्योपदेशका सन्दर्भबाट आफ्ना धारणामा पुनर्विचार गर्ने कि ? मर्जी आआफ्नो तर पराइले सुम्पेको विषमन, मष्तिस्क र मुखमा लिएर हिँड्नेलाई भने के भन्ने खोइ ?

source : annapurnapost

Loading...
x

Check Also

‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्नेलाई १० करोडको ‘अफर’

भारतीय राष्ट्रपति प्रणव मुखर्जी गत कात्तिक १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लन लागेकै बेला चिलले ...