Home / बिचार/ब्लग / ‘राष्ट्रिय एकताको प्रतीक मास्न क्रिश्चियनहरु लागेका छन्’

‘राष्ट्रिय एकताको प्रतीक मास्न क्रिश्चियनहरु लागेका छन्’

dr-ramesh-dhungel_810

लोकतन्त्र आएपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाड्यो । यो वर्ष पनि सरकारले कुनै औपचारिक कार्याक्रम गरेन । तर, क्रिसमसमा विदा दिने सरकारले पृथ्वी जयन्तीलाई चटक्कै विर्सिएको भन्दै आलोचना भएको छ ।

यसै सन्दर्भमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समितिका सह-संयोजक समेत रहेका इतिहासविद् तथा संस्कृतिविद् डा. रमेश ढुंगेलसँग अनलाइनखबरका लागि जोतारे धाइबाले गरेको कुराकानीः

पृथ्वीनारायण शाहबारे हामीकहाँ वस्तुगत मूल्यांकन कत्तिको भएको छ ?

– हुँदै नभएको त होइन । एक तप्काबाट भएको छ । तर, राष्ट्रिय स्तरमा धेरै कुरा चिन्तन नै नगरीकन भावावेश र हुलमुलमा बिगार्ने हाम्रो प्रवृत्ति बढेको छ । विगत एक-दुई दशयताको राजनीतिक परिवर्तनको क्रममै यस्तो भयो । एउटा तप्काले पृथ्वीनारायण शाहको योगदानलाई भुल्नु हुँदैन भनेर आवाज उठाइरहेको छ । तर, राष्ट्रले हुलमुलवादलाई प्रश्रय दियो । जनतामा बहसै नगरीकन पृथ्वी जयन्ती र एकता दिवस हटाइयो ।

युद्ध र आन्दोलनको बेला पृथ्वीनारायणलाई नै मुख्य तारो बनाएर सालिकहरु ढालियो । जसले राष्ट्र निर्माण गर्‍यो र हामीलाई हाम्रो देश भन्ने जग दियो, त्यो जग नै भत्काउन थालियो । जुन राष्ट्रियताको लागि घातक थियो । पृथ्वीनारायण शाह ऐतिहासिक आवश्यकता थिए, उनी राजा मात्र नभई राष्ट्रनिर्माता थिए भन्ने व्याख्या पहिल्यैदेखि हुनुपथ्र्यो । जुन नहुँदा आज इतिहासको अपव्याख्या गर्ने ठाउँ बनिरहेको छ । एकता दिवस नै नामेट पार्ने काम भएको छ ।

नेपाल देश नरहोस् भन्नेले जरामा धमिरा छोडेको छ, पृथ्वीनारायणलाई सम्झिनु भनेको त्यो धमिरा मार्नु हो

उनी एकीकरणका अभियन्ता र राष्ट्रनिर्माता हुन् कि होइनन् भनेर पछिल्लो समय बहस भइरहेको छ, यो अवस्थामा राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने आधारहरू के छन् त ?

– पृथ्वीनारायणलाई सम्झनु र उनलाई सम्मान गर्दै राष्ट्रिय दिवस मान्नु भनेको अहिले धमिरा लाग्दै गरेको नेपाली राष्ट्रियताको जुन जरा छ, त्यसमा फेरि नयाँ अंकुरण गराउनु हो । विरोधी तत्वहरुले त्यही कुरा बुझेर विरोध गरिरहेका छन् । नेपाल देश नरहोस् भन्नेले जरामा धमिरा छोडेको छ, पृथ्वीनारायणलाई सम्झिनु भनेको त्यो धमिरा मार्नु हो । त्यसैले धमिरा लगाउने तत्वले अनेक बहाना गरेर भरिशक्य अवरोध गर्छ । तर, हामीले एकता दिवसको मर्म छोड्नु हुँदैन । हामीले छोड्यौं भने नेपाल राष्ट्रको मुख्य जग नै बिर्से जस्तो हुन्छ । त्यो नभई न आजका हामी रहन्थ्यौं, न विभिन्न दलहरु हुन्थे, न त आजको अग्रगामी राजनीतिक फड्को मानिएको गणतन्त्र नै आउँथ्यो ।

कुनै देशलाई चट पार्नु छ भने सबैभन्दा पहिले त्यहाँको सांस्कृतिक र धार्मिक धरोहरमाथि नै आक्रमण हुने हो । त्यही कुरा अहिले भइरहेको छ । त्यसभित्रका संवर्द्धनकर्ता र निर्माणकर्ता पृथ्वीनारायण भएकाले उनीमाथि प्रहार भइरहेको छ ।

पृथ्वीनारायणको सालिक भत्काउने र एकता दिवसै नमान्ने कुरा के बाट प्रेरित भए जस्तो लाग्छ ?

– मानव स्वभाव परिवर्तन चाहन्छ, जुन स्वाभाविक पनि हो । दुई सय ५० वर्षयता धेरै शासकहरुले शासन गरे । मान्छेहरुमा एक किसिमको मनोटोनस पैदा भयो । शासकहरु नै खराब भएर देशको विकास भएन, हामी गरिब भयौं भन्ने धेरैलाई लाग्यो । विरोधमा व्यक्ति, समूह र राजनीतिक पार्टी आन्दोलित भए ।

परिवर्तन खोज्ने क्रममा पहिले गरेको योगदानलाई हुलमुलमा पारेर बिर्सने काम भयो । सोच्दै नसोची आज पृथ्वी जयन्ती बन्द गर्दिउ“m, भोलि पशुपतिनाथमा पूजारी फेर्दिउ“m, बहुमत भएको जातजातिलाई शासकसँग लगेर तिनीहरुको गलत परिभाषा जोडिदिऊँ भन्ने लहर चल्यो । सबै दोष शासक र तिनको संस्थापकमा लगेर हाल्दिने प्रवृत्ति हावी भयो । त्यही घानमा पृथ्वीनारायण परे । जुन पूर्णरुपमा गलत हो । सोचविचार तथा अध्ययन नगरी र इतिहास नबुझी गरियो । त्यसमा हामीले पुनर्विचार गर्नुपर्ने अवस्था छ ।

हामीले पृथ्वीनारायणलाई सम्झिनुपर्ने कारणहरु चाहिँ के हुन् ?

– पृथ्वीनारायण शाह नभएको भए अहिलेको नेपाल हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा जानुपर्ने हुन्छ । जन्मन त अर्को कोही जन्मन्थ्यो होला, कहिले जन्मन्थ्यो, धेरै समय पनि लाग्न सक्थ्यो । उनी सुरुमा त ठूलो देशको राजा हुन्छु भन्ने सोचले नै महत्वाकांक्षी भएर राज्य विस्तारमा निस्किए । सामन्ती युगमा त्यस्तो आवश्यकता थियो । तर, स्रोतहरु अध्ययन गर्दा उनी त तुलनात्मक रुपमा सन्तुलित, पक्षपातरहित देखिन्छन् ।

पाँच दर्जनभन्दा धेरै भुरेटाकुरे राज्यमा गोर्खा त जम्मा १२ हजार घर भएको सानो राज्य थियो । त्यति सानो राज्यले आफू हाराहारीको र आफूभन्दा ठूला राज्यलाई जित्दै जाने भिजन निकाल्यो । पछि राज्य विस्तार हुँदै जाँदा पृथ्वीनारायणलाई यसरी त राज्य ठूलो र बलियो बन्ने रहेछ, यो क्षेत्रका धर्म-संस्कृति र सभ्यताहरु पनि बच्ने रैछन् भनेर सोच आएको देखिन्छ ।

उनी निश्चित धर्म र जातिको मात्र रक्षक बनेनन् । लडाइँका क्रममा आफ्नै सगोत्री समेत मार्नुपर्छ भनेर उनले आफ्नो गोत्र समेत परिवर्तन गरेका थिए । फेरि एकीकरणको अभियानमा उनको मार्ने र मिच्ने मात्र प्रवृत्ति थिएन । मेरो छत्र मान्नू, स्थानीय अधिकार तिमीहरुकै हुन्छ भनेर उनले सम्झौताको नीति पनि अपनाए । यस्ता भयंकर भिजन लिएर नेपाल राष्ट्र निर्माण गरेकोले उनको योगदान उच्च छ ।

सारा विश्वमा नै सामन्ती र साम्राज्यवादी शासन व्याप्त भएको समयमा पृथ्वीनारायण चाहिँ कसरी फरक थिए ?

– सामन्त युगमा तुलना गर्‍यो भने उनी साझा संस्कृतिका परिचायक थिए । उनले मसँग खस छन्, खाँडहरु छन्, मगर छन्, गुरुङ छन्, यिनैलाई सदाएर मैले राज्य अघि बढाउनुपर्छ भनेका छन् । जो पहुँचमा छन्, उनीहरुलाई नै प्रयोग गर्ने हो । उनले गोर्खाबाट राज्य विस्तार अभियान सुरु गरे, त्यतिखेर एकैचोटि किराँत वा नेवारलाई सेना नायक त कसरी बनाउँथे ?

काठमाडौं उपत्यका जितेपछि यहाँ नेवारहरुको संस्कृतिको सबैभन्दा प्रशंसा गर्ने उनै हुन् । उनले राजनीतिक रुपमा विजय हासिल गरे पनि र सांस्कृतिक रुपले आत्मसमर्पण गरे । डबलीमा बोलाएर भारदारहरुले तीन वटै शहरका झाँकीहरु हेर्नू, मुजरा हेर्न नजानू भन्थे । सबै संस्कृति जस्ताको तस्तै संरक्षण गरेर राख्दिएको हुनाले उपत्यकाको नेवारी सभ्यता जीवित रह्यो ।

कुमारी प्रथा, सम्यक पूजा, कार्तिक नाच लगायतका कुरामा फेरबदल गरेनन् । सांस्कृतिक क्षेत्रमा जस्तै आर्थिक क्षेत्रमा पनि उनले आत्मनिर्भरतामा जोड दिए । बरु उनका पछिका सन्तानबाट केही कमजोरी भएका छन् । उनी साझा संस्कृतिकै परिचायक हुन् ।

त्यसो भए उनलाई निश्चित जातिको पृष्ठपोषक भए भनेर किन आरोप लगाइन्छ त ?

– त्यो त पछिल्लो समयमा अध्ययन बिना लगाइएको आरोप हो । पृथ्वीनारायणले राज्य विस्तार गर्ने क्रममा सबैभन्दा पहिले आफ्नै गोत्रको राजामाथि युद्ध गर्दै सुरु गरे । पहिले मकवानपुरको सेन राज्य जितेका हुन्, जुन उनको आफ्नै ससुराली थियो । त्यस क्रममा आफ्नै जेठान दिगबन्धन सेनलाई मारे । उनले पहिले नेवार र किराँत राज्य त जितेका होइनन् । कुनै पनि जातीय राज्य जितेका होइनन् । किराँत राज्य भन्ने नै थिएन, त्यो त सेनहरुले पहिल्यै लिइसकेका राज्य थिए । त्यतिबेला कुनै जातीय राज्य नभई चौदण्डी, विजयपुर, मकवानपुर जस्ता राज्य थिए । त्यही राज्य जितेका हुन् उनले ।

कीर्तिपुरमा उनले गोर्खाको विरोध गर्‍यो भने यस्तै हुन्छ भनेर देखाउन केहीको नाक काटेकै हुन्, यति धार्नी भयो भन्ने फाल्तु कुरा चाहिँ क्रिश्चियनहरुले फैलाएको अतिशयोक्ति हो, किनकि क्रिश्चियनको साँच्चै विरोधी थिए पृथ्वीनारायण

हाम्रो राज्य खोसियो, हामीलाई दमन गरियो भनेर अपव्याख्या गरिएकै हो । अन्तर्राष्ट्रिय जगतमा अपव्याख्या पनि भएको छ यहाँ । नेपालको अपव्याख्या गर्न युरोप र अमेरिकासम्मका विश्वविद्यालयका फोरमहरु प्रयोग गरिएको छ । अहिले पृथ्वीनारायणले जातीय हिसाबमा मान्छे मार्दै हिँड्यो भन्ने कुराको जवाफ खोज्नुपर्छ हामीले । इतिहास कसैको मनपरी गर्ने ठेक्का होइन । यसमा त वास्तविकताको विश्लेषण गरिनुपर्छ । उनीबारे बोल्न हामीले सेन्टिमेन्टल हुनु जरुरी छैन, प्रमाण र प्रमेयले नै स्पष्ट बोल्छन् ।

उनीबारे अफवाह फैलिनुको कारण के हो ?

– उनले कीर्तिपुरेको नाक काटे, जातीय रुपमा थिचोमिचो गरे भनिएको पाइन्छ । कीर्तिपुरमा उनले गोर्खाको विरोध गर्‍यो भने यस्तै हुन्छ भनेर देखाउन केहीको नाक काटेकै हुन् । यति धार्नी भयो भन्ने फाल्तु कुरा चाहिँ क्रिश्चियनहरुले फैलाएको अतिशयोक्ति हो । किनकि क्रिश्चियनको साँच्चै विरोधी थिए पृथ्वीनारायण । उतिबेला क्रिश्चियनहरुलाई सात दिनभित्र निस्किएर जान उनले आदेश दिएका थिए ।

यहाँ कति क्रिश्चियन पनि बनेका थिए, उनीहरु पनि सँगै भागेका थिए । त्यसपछि नै क्रिश्चियनहरु शाह राजाको विरोधमा लागेका हुन् । अहिले पनि नेपालमा इसाईकरणको प्रयास स्पष्ट देखिन्छ । त्यो चाहिँ नेपालको दुर्भाग्य हो ।

त्यसको अर्थ पृथ्वीनारायणप्रति पूर्वाग्रही भावना विकास हुनुमा पश्चिमा मुलुकहरुको पनि हात छ ?

– क्रिश्चियनहरुमा क्याथोलिकहरु आफूभित्रै रमाउने खालमा भए पनि प्रोस्टेस्टेन्टहरु चाहिँ संसारै क्रिश्चियनको साम्राज्य हुनुपर्छ भनेर कुदिरहेका छन् । क्रिश्चियानिटी भनेको मिसिनरी रिलिजन हो ।

dr-ramesh-dhungel

हिन्दूहरुलाई तल-वितल पार्ने क्रिश्चियनहरुको सोच पक्कै छ । प्रोस्टेस्टेन्ट अन्तर्गत नयाँ किसिमका खेलहरु भइरहेका छन् । यहाँनेर चर्चहरु सशक्त छन् । तिनले पृथ्वीनारायणलाई एउटा शत्रुका रुपमा लिए । नेपालमा र भारतमा रहेका हिन्दूका संस्थाहरुलाई निशाना बनाए ।

युरोपेली सभ्यतामा विकास भएका कुरा हाम्रो न्याय प्रणालीमा पसेका छन् । हाम्रो परम्परा, स्थानीय मान्यता, हिन्दू धर्मका कुरा अब कम हुँदै गए । तिनलाई अझ मास्न क्रिश्चियनहरुको भित्रभित्रै जोड छ । अंग्रेजको शासनले भारतमा धर्म-संस्कृतिको गि्रप कमजोर भए पनि नेपालभित्र भने गि्रप बाँकी छ भनेर तहसनहस पार्न उनीहरु लागेका छन् ।

त्यसमाथि पृथ्वीनारायण राष्ट्रिय एकता र सांस्कृतिक धरोहरका प्रतीक भए । उनी हिन्दुपति नभए पनि ‘यो त असली हिन्दुस्ताना रहेछ’ भनेर क्रिश्चियनबाट पीडितहरु यहाँ आऊ, ओत पाउँछौ भने । त्यसैले क्रिश्चियनहरुले विभिन्न जातजातिमा उनी नै मुख्य शत्रु हो, उनले आक्रामक नीति लिएर तिमीहरुलाई दमन गरेर खाए भन्ने व्याख्या गरे । जनता परिवर्तनको क्रममा भएको बेला त्यस्तो भ्रम पारियो । त्यसबाट उनी आक्रमणको तारोमा परे ।

क्रिश्चियनहरुको प्रभाव बढिरहँदा राजनीतिक परिवर्तनको क्रममा हाम्रो इतिहास मेट्न यहाँका नेताहरु पनि प्रयोग भएको देखिन्छ ?

– अवश्य भए र प्रष्ट रुपमा भए । कतिपय नेता त क्रिश्चियनको पैंतालाको धूलो भइरहेका छन् । यहाँ त क्रिश्चियनहरुको जग्गा जमिन किन्दिनुपर्‍यो भने उनीहरु नै पछि-पछि लाग्छन् । ठूला-ठूला पदमा र पोलिसी मेकिङमा पुगेका मान्छेहरु प्रष्ट रुपमा बिकेका छन् यहाँ । यो देशलाई धर्म निरपेक्ष भनेर राख्नु त्यसैको एउटा उपक्रम हो । नत्र किन धर्मनिरपेक्ष भनेर संविधानमा राख्नुपर्‍यो ?

पृथ्वीनारायणले पनि त्यही साझा संस्कृतिकै कुरा गरेका थिए । क्रिश्चियनले पैसा दिएर, बोकेर मन्त्री बनाइदिन्छन् यहाँ । अनेकथरि ढाँट र छलका समूहको नाम दिएको छ, भित्रभित्रै क्रिश्चियनको गतिविधि छ । कुनै भोटै नआउने पार्टी बनाइदिएको छ, त्यसबाट फुतुफुतु फुल मन्त्री भएर खाए अस्तिसम्म । तिनको काम के छ भने, क्रिश्चियन फैलाउने, चर्च बनाउने ।

अहिले जातीय-सांस्कृतिक विविधताको एकता खलबलिएको जुन अवस्था छ, यो बेला पृथ्वीनारायणलाई सम्भिmनुपर्ने आवश्यकता झन् प्रबल भएको हो ?

– हो । उनले ‘चारै वर्ण छत्तीसै जातको साझा फूलबारी हो, चेतना भया’ भनेर दिव्योपदेशमा भनेका छन् । चेतना भया भनेर उनले आदेश पनि दिएका हैनन् । कतिले अपव्याख्या गर्छन् । यदि तिमीलाई यो देशप्रति अलिकता गम्भीरता छ भने यो देश चारै वर्ण छत्तीस जातको साझा फूलबारी हो भनेको हो ।

पछिल्लो समय जनजाति भन्ने शब्दलाई गलत रुपमा प्रयोग गरिएको छ । जनजाति टर्म बाह्य शक्तिबाट निर्देशित हो । जन भनेको जनता, जाति भनेको आम समुदाय भएकोले हामी सबै जनजाति हौं । पहिलेको समयमा एउटा रुलिङ क्लास हुन्थ्यो, अर्को जनता हुन्थ्यो । जनजाति भनेको त्यही थियो । अहिले चाहिँ क्षेत्री, बाहुन र ठकुरीलाई सर्लक्क झिकेर अलग्याएपछि बाँकी जनजाति हुने भए । कलुषित दृष्टिकोणले बनाइएको हो त्यो चिज । अरु चाहिँ शासक हुन् त ? त्यसलाई बकाइदा छाती खोलेरै संविधानमै उल्लेख गर्न थालियो । गलत त्यहीँ छ । पृथ्वीनारायणको सालिक ठोक्न थालियो, गलत त्यहीँ छ ।

उनले विभिन्न जातलाई हाने भनिएको पाइन्छ । त्यसको लागि कसैले प्रमाण अघि सारोस् । उनले आफ्ना जात च्यापेर अरुलाई पूर्वाग्रहवश हानेका छैनन् । उनले त आफ्नै ससुरालीलाई पनि बाँकी राखेनन् । बरु किराँत र लिम्बूसँग सम्झौता गरे । कुनै पनि एउटा जातलाई थिचोमिचो गरौं भन्ने उनको सोच थिएन । त्यो बेकारको कुरा हो । सबैको साथ लिएर एकता अभियान सफल पारेकोले अहिलेको संवेदनशील समयमा त्यो मर्म झन् महत्वपूर्ण भएको छ ।

अहिले नयाँ परिवर्तनकारी उनले गरेको भूराजनीतिको व्याख्यालाई गलत व्याख्या गरेर नेपाल भनेको त दुई ढुंगाको बीचको डाइनामाइट हो भने

पृथ्वीनारायणले ‘नेपाल दुई ढुंगा बीचको तरुल रहेछ’ भनेका छन् । यसबाट उनमा भूराजनीतिक चेत कस्तो रहेछ भन्ने बुझिन्छ ?

– उनले राज्य जितेर विस्तार गर्दै गए । जित्दै जाँदा कतिसम्म फैलिने भन्ने कुरा आयो । कतिसम्म जाने र बनाएको कुरालाई कसरी बचाएर लैजाने भनेर उनीभित्र प्रश्न उठ्न थाल्यो । उनले सोचे, उत्तरमा त्यत्रो ठूलो बादशाह छ, सजग भएन भने नेपाललाई सर्लक्कै किचिदिन सक्छ । दक्षिणको बादशाह अंग्रेज झन् महाचतुर छ, छुद्र बुद्धि लगाएर खाइदिन सक्छ भनेका छन् उनले ।

यी दुइटा ठूला ढुंगा हुन्, ढुंगो लड्यो भने तरुल त किचिन्छ । तर, तलकोसँग सजग भयो र माथिको सँग पनि जोगिएर बस्यो भने तरुल बाँचे जस्तो बाँच्न सकिन्छ भन्ने धारणा उनले बनाए । उनमा भूराजनीतिक स्थितिको ज्ञान रहेछ । आज पनि अंग्रेजले उपनिवेश बनाएको दक्षिणको छिमेकीसँग सावधान भएर बस्नुपर्ने अवस्था छ ।

डाइनामाइट भएर चीन र भारतलाई पनि समस्या सिर्जना गरिदिनु त दुस्साहस मात्र हो, हामी आफैंलाई भष्म बनाउने कुरा हो

अहिले नयाँ परिवर्तनकारी उनले गरेको भूराजनीतिको व्याख्यालाई गलत व्याख्या गरेर नेपाल भनेको त दुई ढुंगाको बीचको डाइनामाइट हो भने । माओवादीबाट सुरु भएको डाइनामाइट भन्ने कन्सेप्ट निकै क्याची भयो । डाइनामाइट भएर दुइटै ढुंगालाई फोडेर हामी त विशेष हुन सक्छौं भनेर धेरैले गजब माने । तर, अहिलेको युगमा त्यसमा पनि यति सानो मुलुक डाइनामाइट हुन सम्भव छैन । डाइनामाइट भएर चीन र भारतलाई पनि समस्या सिर्जना गरिदिनु त दुस्साहस मात्र हो । हामी आफैंलाई भष्म बनाउने कुरा हो । अहिले कूटनीति चल्छ । कूटनीतिमा डाइनामाइटको नीति चल्दैन । पृथ्वीनारायणले चाहिँ सुरक्षा र संवर्द्धन गर्ने कुरा गरे । उनकै नीति बरु उपयोगी हुन्छ ।

उनी साम्राज्यवादी शक्ति विरुद्ध लडे, उनलाई नै साम्राज्यवादी पनि भनियो । साम्राज्य खडा गर्ने उनको त्यस्तो योजना देखिन्छ ?

– एकदम अन्याय हो त्यो आरोप । त्यतिबेलाको दृष्टिकोणबाट हेरौं, यदि पृथ्वीनारायणले स-साना भुरे टाकुरे राज्यलाई एकीकरण गर्ने अभियानको सूत्रपात नगरेको भए तिनलाई टुक्रा-टुक्रा गर्दै अंग्रेजले खाइदिन सक्थ्यो । राज्यहरुको बीचमा आन्तरिक द्वन्द्व थियो । एउटाको झुन्ड बटुलेर अर्को राज्यमा पाकिरहेको धान लुट्न जान्थे, त्यस्तो तल्लो स्तर थियो । कुनै जनता सुरक्षित थिएनन् । जनताले नै एउटा भरपर्दो र बलियो शासक खोजिरहेको अवस्था थियो । एकातिर आफैंभित्र द्वन्द्व थियो भने अर्कोतिर त्यस्तो कमजोर अवस्थामा बाहिरको ठूलो शक्ति सहयोग गर्न राज्यहरुमा पसिरहेको थियो ।

पृथ्वीनारायणले दूरदर्शिता देखाएर अंग्रेज फौज राज्यहरुमा पस्नु अगावै आक्रमण गरेर भगाए । अंग्रेज फौज पसेको भए आजको नेपाल नरहन सक्थ्यो । अहिलेको जस्तो नेपाल कुनै हालतमा बन्ने थिएन । इतिहास नै अर्कै हुन्थ्यो ।

Loading...
x

Check Also

‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्नेलाई १० करोडको ‘अफर’

भारतीय राष्ट्रपति प्रणव मुखर्जी गत कात्तिक १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लन लागेकै बेला चिलले ...