Home / रास्ट्रिय खबर (page 227)

रास्ट्रिय खबर

बालुवाटारमा एमालेले मध्यरातमा गरेको निर्णयले राजनीतिक हलचल राष्ट्रपतिमा आफै उम्मेदवारी दिने एमालेको निर्णय

काठमाडौं, ८ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आफ्नो तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।uml-sthai-samiti-meeting-650x219

बालुवाटारमा शनिबार राति साढे दश बजेसम्म बसेको स्थायी समितिको बैठकले आफ्ना तर्फबाट राष्ट्रपतिमा उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

‘सहमतिको प्रक्रियाबाट नै राष्ट्रपति निर्वाचनको निम्ति एमालेले आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको छ’, एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमालेले प्रस्तुत गर्ने राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल र सांसदहरूलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।’

‘सबै राजनीतिक दल सहमतिको साथ अगाडि बढ्नुपर्दछ भन्ने आमजनताको चाहना र भावनालाई कदर गर्दै, विगतमा खेलेका भूमिकाहरुको पुनः स्मरण गर्दै वर्तमान चुनौतीहरूको सामना गर्न मुलुकुको एकतालाई अक्षुण राख्नुपर्नेमा बैठकको जोड छ’, एमालेले भनेको छ ।

संविधानको कार्यान्यवन गर्दै राष्ट्रको अग्रगतिका लागि सहमतिको यात्रा निरन्तर रुपमा अगाडि बढाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई बोध गर्दै राष्ट्रिय सहमतिको यात्रामा सँग–सँगै अघि बढ्न नेपाली कांग्रेसलगायत सबै राजनीतिक दललाई एमालेले आह्वान गरेको छ ।

एमालेले दक्षिणी सिमानामा भारतले गरेको आघोषित नाकाबन्दीको कारण उत्पन्न असहज परिस्थितिको बारेमा बैठकमा गम्भीरताको साथ छलफल गरेको छ ।

बैठकले मुलुकको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षीय विकल्पको निम्ति ठोस ढंगले प्रयत्न गर्न र छिटोभन्दा छिटो आपूर्ति व्याबस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभएको छ ।

source : dainiknepal

बालिका बलात्कारको आरोपमा बिन्दर पक्राउ

कञ्चनपुर:  बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका– ९ का बिन्दर रानालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बेलौरीमा रानाविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको हो । शुक्रबार राति रानाले बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए। उजुरीका आधारमा रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको उनले बताए ।
पीडित बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणको विवरण आएपछि रानामाथि थप अनुसन्धान गरिने बताइएको छ ।

 

कांग्रेसले राष्ट्रपतिमा फेरि रामवरण यादबलाई अघि सार्यो

काठमाडौं—नेपाली कांग्रेसले सहमतीय राष्ट्रपति उम्मेदवारको रुपमा वर्तमान राष्ट्रपति रामवरण यादबलाई अघि सारेको छ।

व्यवस्थापिका संसदमा संविधानअनुसार राजनीतिक सहमतिबाट राष्ट्रपति चयन गर्ने प्रक्रिया सुरु भएको सन्दर्भमा कांग्रेसले यादबको नाम अघि सारेको हो।

‘सहमतीय प्रणालीबाट चयन गर्नुपर्दा पार्टीले वर्तमान राष्ट्रपति यादबलाई निरन्तरता दिन चाहेको छ’, कांग्रेसका बरिष्ठ नेताले भने, ‘यो कुरामा उहाँ आफैँले पनि हुन्छ भन्नुभएको छ।’

बहुमतीय प्रणालीबाट राष्ट्रपति छान्नु परेमा भने कांग्रेसले निर्णय फेर्न सक्ने उनले बताए।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवार छान्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको थियो।

सत्ताको नेतृत्व गरिरहेको एमालेले जसरी पनि सहमतिको वातावरण बनाएर अघि बढ्ने बताइरहँदा प्रमुख विपक्षी दल कांग्रेसले राष्ट्रपतिमा वर्तमान राष्ट्रपतिलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको हो। भद्र सहमति भंग गरेर प्रधानमन्त्री चुनाबमा उम्मेदवारी दिँदा कांग्रेसलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले मतदान गरेका थिए। राष्ट्रपतिको रुपमा यादवलाई अघि सार्दा मोर्चाको समेत सहमति पाउने आशा कांग्रेसले गरेको छ।

शनिबारको संसद बैठकले नेपालको संविधानको धारा २९७ को उदफा (२) अनुसार राजनीतिक सहमतिमा राष्ट्रपति चयन गर्न ८ कात्तिक १६ः३० बजेसम्मको समय दिएको छ। सोमबार साढे ४ बजेसम्म सहमतीय आधारमा राष्ट्रपति चयन नभए ११ गते ११ बजे राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि संसदमा गोप्य मतदान हुनेछ।

 

मधेसी मोर्चाको निशानामा पत्रकार, छानिछानी आक्रमण, हतियारसहित पक्राउ

लहान, ७ कात्तिक । आन्दोलनमा प्रेस, मानवअधिकार, एम्बुलेन्स र वारुणयन्त्रलाई कुनै अवरोध नगर्ने मधेसी मोर्चाको पूर्व प्रतिबद्धताविरुद्ध समाचार सङ्कलनका क्रममा रहेका पत्रकारको समेत मोटरसाइकल आज तोडफोड भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले बिहान सिरहाको लहानस्थित सहिद रमेश महतो चोकनजिक स्थानीय ‘सौगात’ एफएम र ‘मधेसस्पेसल डट कम’मा कार्यरत पत्रकार फिरोज शेखको मोटरसाइकल तोडफोड गरेका हुन् ।

पत्रकारको सङ्केत देखिने पोसाक लगाएर बिहान समाचार सङ्कलन गर्न जानुभएका शेख चढेको स ६प ८ नंको मोटरसाइकल तोडफोड हुँदा मोटरसाइकलको भाइजर र हेडलाइट काम नलाग्ने गरी क्षतिग्रस्त भएको छ ।

‘पत्रकार हुँ भन्दाभन्दै जबर्जस्ती मोटरसाइकलमा प्रहार गरे’, शेखले भन्नुभयो, ‘मोटरसाइकल तोडफोड भएपछि मोर्चाको स्थानीय नेतृत्वले बनाइदिन्छौँ भन्ने आश्वासन दिएको छ ।’

मोर्चाले शुक्रबार बिहानदेखि नै लहान क्षेत्रमा माइकिङ गरी मोटरसाइकलसमेत चलाउन नदिने घोषणा गरेको थियो ।

आफूहरुको घोषणा उल्लंघन गरेको भन्दै मोर्चा सम्बद्ध कार्यकर्ताले आज लहानमा बा६७ प ७२४२ र बा६१प१४५० नंको मोटरसाइकलसमेत तोडफोड गरेका छन् ।

सिरहा सप्तरीको सीमाका रुपमा रहेको बलान नदीको पुलमा करिब एक सयको हाराहारीमा मोटरसाइकल रोकिएका छन् । तोडफोड र आगजनी हुन सक्छ भन्दै लहान प्रहरीले करिब दुई दर्जन मोटरसाइकल प्रहरी कार्यालयमा लगेर राखेको छ ।

हतियारसहित तीन पक्राउ

शङ्कास्पद अवस्थामा तीन जना चढेर आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाएर राखिएको रिभल्वर पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीनायब निरीक्षक शिवनारायण यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले शुक्रबारराति ८ बजेतिर जिल्ला सदरमुकामसमेत रहेको सिरहाको सिरहा नगरपालिका–१ स्थित दुर्गामन्दिर नजिकबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ का १८ वर्षीय सन्तोषकुमार मुखिया, वडा नं ८ का १७ वर्षीय राम यादव र अफरोज भनिने मोहमद तोहिद राइन छन् । रासस

 

प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर

जनकपुरधाम। धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।  झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् ।

राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए ।

प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ ।

आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पुर्याउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिए ।

प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ । रासस

 

यूरोपियन यूनियनले भारतलाई भन्यो- नेपालमा लगाएको नाकाबन्दी हटाउ

७ कात्तिक, काठमाडौं । यूरेापियन युनियन (इयू)ले भारतले नेपालमा लगाएको नाकाबन्दीका बारेमा पहिलोपटक मुख खोलेको छ । युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टलले विज्ञप्ती जारी गरी नेपालमा लागेको अघोषित नाकाबन्दी हटाउन भारतलाई अपिल गरेकी छन् ।European-Union-EU-

‘हामी भारतलाई यो अपिल गर्दछौं कि, नेपालतर्फको आपूर्ति ब्यवस्थामा अवरोध सिर्जना नगरी बिनाअबरोध सीमापार ब्यापार सुनिश्चित गर्न सहयोग गर्नुपर्छ ।’ शुक्रबार जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ।

विनाशकारी भूकम्पको पीडाबाट माथि उठ्न नपाउँदै नेपाली जनता भारतको अघोषित नाकाबन्दीबाट प्रताडित बनेको इयूको ठहर छ ।

नाकाबन्दीका कारण उत्पन्न पेट्रोलियम पद्धार्थको चरम संकटका कारण नेपाली जनताको दैनिक जीबन र मुलुकको अर्थतन्त्र गंभीर असर परेको भन्दै यूरोपियन यूनियनले चिन्ता व्यक्त गरेको हो ।

नयाँ सरकारले आन्दोलनरत मधेशी दलहरुको मुद्दा संविधानमा संबोधन गर्न वार्ता जारी राख्नु सकरात्मक भएको भन्दै इयूले स्वागत गरेको छ ।

९० प्रतिशत जनताका प्रतिनिधिले संविधानसभाबाट जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै अघोषितरुपमा व्यापारिक नाकाबन्दी लगाउँदै आएको छ ।

सरकारले पटक-पटक नाकाबन्दी खुलाउन आग्रह गरेपनि भारतले रेस्पोन्स नगरिरहेको अवस्थामा यूरोपियन यूनियनले विज्ञप्ती जारी गरि चासो देखाएको हो ।

source: onlinekhabar

यात्रुबसमा ढुङ्गामुढा गर्नेमाथि गोली प्रहार

राजविराज : प्रहरी स्कर्टिङ्गमा गइरहेका सवारी साधनमाथि ढुङ्गामुढा गर्ने मधेसी मोर्चा सप्तरीका प्रदर्शनकारीमाथि प्रहरीले भारदहमा गएराति अश्रु ग्यास गोली फायर गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्र्तगत भारदह गाविस–१ स्थित सडकखण्ड हुँदै गइरहेको यात्रुबाहक बस र मालवाहक ट्रकमा ढुङ्गामुढा गर्ने प्रदर्शनकारीलाई तितरवितर बनाउन लाठीचार्ज गर्दै फायर गरेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
प्रनाउ चिमरियाका अनुसार प्रदर्शनकारीहरुबाट ढुङ्गामुढा भएपछि सशस्त्र प्रहरीले नौ सेल अश्रु ग्यास र नेपाल प्रहरीले सटगनबाट पाँच राउण्ड रबरको गोली प्रहार गरेको थियो ।
प्रदर्शनकारीको ढुङ्गामुढाबाट प्रहरीहरु छतिसकिरण कट्टेल, राजकुमार राजवंशी, किरण राई, सशस्त्र प्रहरी हवल्दारहरु महमद फारुख र धनबहादुर खत्री घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।
घाइते प्रहरीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा र सशस्त्र प्रहरी हवल्दारहरुको बरमझियास्थित सशस्त्र प्रहरी दन्तकाली गणमा उपचार भएको थियो ।
प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुङ्गामुढाबाट सातवटा सवारी साधनको झ्यालका सिसा फुटेर दशैं मान्न हिंडेका यात्रीहरु समेत घाइते भएका छन् ।
प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।
दशैंका अवसरमा कंकालिनी मन्दिर परिसरमा स्थानीय युवाहरुले लगाएको सांस्कृतिक कार्यक्रम हेर्नेहरुको भींडमा लुकेर बसेका प्रदर्शनकारीहरुले सवारीसाधनमाथि ढुङ्गामुढा गरेका थिए ।
ढुङ्गामुढाबाट मन्दिरको धर्मशालाको सिसा समेत फुटेको छ भने सांस्कृतिक कार्यक्रम विथोलिएको थियो ।
प्रहरीकोे स्कर्टिङ्गबाट गएराति पूर्वबाट सिरहातर्फ तीन सय ७४ र उदयपुरतर्फ एउटा तथा पश्चिमबाट सुनसरीतर्फ दुई सय ८७, उदयपुरतर्फ ३४, राजविराज र फत्तेपुरतर्फ तीन÷तीन वटा सवारी साधन पठाएको प्रहरी निरीक्षक लालध्वज सुवेदीले जनाए ।
बीच बाटोमै पेट्रोलियम पदार्थ सकिएर राजविराज आइरहेको ना.५ख १५१९ नम्बरको बस तथा पूर्वतर्फ गइरहेको ना.३ख ६८३७ र ना.३ख २९१० नम्बरको ट्रक क्रमशः शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कडरबोना र महुलीमा अलपत्र परेका छन् ।annapurnapost

चीनले हजार मेट्रिक टन इन्धन नेपाल पठाउँदै

इन्धन अायातकाे सम्झाैता गर्न सरकारी टोली आइतबार बेइजिङ जाने
काठमाडौं : भारतीय नाकाबन्दीपछि इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीन सरकारले एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोगस्वरुप मंगलबार पठाइदिने भएकाे छ ।
Petro_China-Station_nepal_208752568
भारतीय नाकाबन्दीपछि इन्धन आयातको विकल्प खोजिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच शुक्रबार भएको सहमति बमोजिम् चीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो ।
भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन आयतका लागि सक्रिय भएका थिए ।
शुक्रबार चिनियाँ राजदूत उ चुन्ताई र प्रम ओलीबीच भएको छलफलमा भएको सहमति अनुसार चीनले यही मंगलबार एक हजार मेट्रिक टन इन्धन अनुदानस्वरुप नेपाल पठाउन लागेको हो ।
चिनियाँ राजदूतसँगकाे छलफलपछि प्रधानमन्त्री अाेलीले सरकारी अधिकारीहरूलार्इ बालुवाटारमा बोलाएर चीनबाट इन्धन अायात गर्न कडा निर्देशन दिएका थिए ।

बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन तथा अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरूलार्इ बालुवाटारमा बोलाएर इन्धन अभावले जनताले दु:ख भोगिरहेका बेला सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै चीनबाट चाँडाे भन्दा चाँडो इन्धन भित्र्याउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

चिनियाँ राजदूतसँगकाे छलफलपछि अाेलीले दिएको कडा निर्देशन लगत्तै अनुदानस्वरुप दिने एक हजार मेट्रिक टन इन्धन चीनले रसुवा–केरुङ नाकाबाट मंगलबार नेपाल पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भएको सहमति बमोजिम चीनले पहिलो चरणमा अनुदानस्वरुप हजार मेट्रिक टन इन्धन नेपाल पठाउन लागेको हो’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘इन्धन आयातको विस्तृत सम्झौताका लागि आइतबारै सरकारको उच्च टोली बेइजिङ जाने कार्यक्रम छ ।’
भारतले संविधान संशोधन गरी आफ्ना सर्त पुरा गरेमात्र नाकाबन्दी खोल्ने जनाउ दिएपछि प्रम ओलीकै निर्देशनमा मंगलबार राति आयल निगमको उच्चस्तरीय टोली चीनको सिगात्से पुगिसकेको छ ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति नेपाल आयल निगमको ६ सदस्यीय टोली चीनको सिगात्से गएको थियो ।

पेट्रोलियम र ग्यास चीनबाट आयात गर्न सिगात्से पुगेको निगमका निमित्त उपमहाप्रवन्धक सुशील भट्टराई नेतृत्वको टोलीले त्यहाँबाट ग्यास र इन्धन आयतका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।
चीनले पेट्रोलियम र ग्यास दिने सहमति जनाएपछि विस्तृत सम्झौतका लागि आइतबारै नेपालबाट उच्चस्तरीय प्रतिनिधि मण्डल चीनको बेइजिङ जाने भएको छ ।
अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको उच्चस्तरीय सरकारी टोली इन्धनको आयातका लागि सम्झौता गर्न आइतबारै बेइजिङ जान लागेको हो ।
गत बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त रसुवागढी–केरुङ नाका गत असोज २८ गतेबाट सञ्चालनमा आएको थियो ।
नेपाल र चीन सरकारको संयुक्त पहलमा खुलाइएको सो नाकाको सडकमा पुनः पहिरो खसेर थुनिएपछि त्यसलाई खुलाउन दुबै पक्षका अधिकारी लागेका छन् ।
चीन र नेपाल दुबैतर्फका कर्मचारी र मजदुरले पहिरो हटाउने कामलाई द्रूतता  दिएकाले मंगलबारै केरुङ नाकाबाट इन्धनका ट्यांकर नेपाल छिर्ने बताइएको छ ।

 

पेट्रोलियम पदार्थमा कालोबजारी बढ्यो

७ कात्तिक, लुम्बिनी ।  भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ ।Capture

भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा बजारमा कालोबजारी बढेको हो ।

सीमा क्षेत्रमा बसोबास गर्ने तथा तराई मधेस आन्दोलनको प्रभाव परेका स्थानका अधिकांश युवाले भारतीय बजार सुनौली र नौतनवासम्म पुगेर सवारीसाधनमा पेट्रोल हालेर ल्याउने र त्यसलाई प्रतिलिटर २१० देखि ३५० रूपैयाँ सम्म बिक्री गर्ने गरेका छन् ।

खुल्ला ठाउँबाट बिक्री हुने उक्त पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टितेल, जीवनजल र पानी मिसाएर समेत बिक्री वितरण गर्ने गरिएको पाइएको छ ।

मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इञ्जिनमा खराबी आएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् ।

रुपन्देहीको बेलहिया, भैरहवा बसपार्क, वनगाई, मर्चवार लुम्बिनीलगायतका स्थानमा खुलेआमरुपमा पेट्रोलको कालोबजारी हुने गरेको छ । पेट्रोलमा व्यापकरुपमा कालोबजारी बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ ।

खुल्ला ठाउँमा खुलेआमरुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदा आगो लाग्ने खतरासमेत बढेर गएको स्थानीयवासीको गुनासो बढेको छ ।

खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कारबाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ । रासस

 

बसबाट पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ

भीमदत्तनगर:  आगलागीको जोखिम बढेपछि प्रहरीले यात्रुबाहक बसबाट हुने पेट्रोलियम पदार्थको ढुवानीमा निगरानी बढाएको छ । petrol_in_bottle_petrol_black_market_682404269_806515994
केही दिनअघि बाँकेमा बस दुर्घटना हुँदा बसभित्र ग्यालिनमा राखिएको पेट्रोलियम पदार्थ र ग्यासका कारण आगो फैलेर यात्रुको हताहत भएपछि कञ्चनपुरमा प्रहरीले काठमाडौँलगायतका रुटमा चल्ने सवारीसाधनमा पेट्रोलियम पदार्थ ढुवानीमा सजगता अपनाउन आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले लामो दूरीका सवारीसाधनमा ग्यालिनमा पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ गरिएको बताए ।
“ग्यालिनमा भएको पेट्रोलले नै दुर्घटनाग्रस्त बसमा आगलागी भएको घटनासमेत भयो,” बाँकेको घटनालाई स्मरण गर्दै उनले भने – “यस विषयमा हामीले सजगता अपनाउनु नै पर्छ ।” भारतले अघोषितरुपमा नाकाबन्दी गरेसँगै काठमाडौँमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि कञ्चनपुरबाट समेत सर्वसाधारणले पेट्रोलियम पदार्थ काठमाडौँ पठाएका थिए ।
यहाँका स्थानीय जनताले काठमाडौँमा रहेका आफन्तलाई यात्रुबाहक बसमा ग्यालिनमा हालेर पेट्रोल बढी मात्रामा पढाउने गरेका छन् । उनीहरुले भारतीय सीमावर्ती सहरबाट खरिद गरी काठमाडौँ पढाउने क्रम बढेको भए पनि बाँकेको घटनापछि बस व्यवसायीले समेत पेट्रोलियम पदार्थको ढुवानीमा रोक लगाउन थालेका छन् ।
कञ्चनपुरका विभिन्न सीमानाका तथा यहाँका पेट्रोलपम्पबाट खरिद गरी स्थानीयवासीले हजारौँ लिटर तेल काठमाडौँ पठाइसकेका छन् । यहाँबाट दैनिक पाँच वटा यात्रुबाहक बस काठमाडौँंका लागि दैनिक जाने गर्दछन् ।