Home / अपराध

अपराध

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद सन्तोषीले न्याय पाइन्, १३ महिनापछि शव उठाउने तयारी

२८ जेठ, काठमाडौं । १२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

यो फैसलाले न्यायको लागि संघर्षरत बालिकाकी आमा सन्तोषी नेपालीले केही राहतको सास फेरेकी छन् । तर, १३ महिनादेखि शिक्षण अस्पतालमा रहेको छोरीको शव उठाएर अन्तिम संस्कार गर्ने पैसा छैन । अस्पतालमा तिर्नुपर्ने रकम जुटाउन सके छोरीको अन्त्येष्टि गर्ने उनको योजना छ ।

 

स्वयम्भूमा डेरा गरी बस्ने सन्तोषीकी छोरी अमृताको ०७३ जेठ ५ गते बलात्कारपछि हत्या भएको थियो ।

काठमाडौं जिल्ला अदालतले सोमबार मोरङ, बाहुनीका विश्वराम रनपहेँलीलाई बलात्कार र हत्या दुबैमा दोषी ठहर गरेको हो । न्यायाधीश राजेन्द्र नेपालको इजलासले जबरजस्ती करणी र हत्यामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको हो । त्यस्तै पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

पीडितको पक्षबाट अधिवक्ताद्वय टिकाप्रसाद शर्मा कँडेल र  स्वागत नेपालले बहस गरेका थिए ।

१३ महिनापछि शव उठाउने तयारी

सन्तोषी ज्याला मजदुरी गर्छिन् । ५ जेठ, ०७३ मा उनी अरु दिन जस्तै छोरा र छोरीलाई कोठामा छाडेर उनी काममा गएकी थिइन् । त्यो दिन स्कुलमा अतिरिक्त क्रियाकलापका लागि चाहिने ड्रेस नभएका कारण अमृता स्कुल गएकी थिइनन् ।

भाइ स्कुलबाट फर्किदा अमृतालाई कोठामा अचेत अवस्थामा देखेपछि आमालाई बोलाउन पुगेका थिए । सन्तोषीका अनुसार उनी कोठामा आउँदा छोरीलाई हातखुट्टा खुम्चिएको र झ्यालमा सलको पासो अड्किएको अवस्थामा भेटेकी थिइन् ।

प्रहरी आएर मुचुल्का र पोर्टमार्टम गर्ने क्रममा बालिकाको यौनांगमा चोट र घाँटीमा समेत चिथोरिएको देखियो । उनले विगतदेखि नै शंकास्पद गतिविधि गरेका छिमेकी विश्वरामविरुद्ध किटानी जाहेरी दिएकी थिइन् तर, सुरुमा प्रहरीले जाहेरी नै लिन मानेन ।

त्यसपछि सन्तोषीले छोरीको हत्यारालाई सजाय नदिलाएसम्म छोरीको शव नै नउठाउने अठोट लिइन् ।

सोमबार अदालतले विश्वरामलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि सन्तोषीले न्याय पाएको प्रतिक्रिया दिइन् ।

तर, अस्पतालमा तिर्नुपर्ने रकमको अभावमा छोरीको अन्त्येष्टि कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘न्याय त पाएँ । तर, हस्पिटलले महिनाको १५ हजार लाग्ने भनेको थियो । त्यसो चाहिँ कसरी ल्याउने चिन्ताले सताउन थालेको छ’ उनले भनिन् ।

‘भोलि हस्पिटल त जान्छु । कति तिर्नुपर्छ भन्छ । त्यसरी अनुसार केही गर्नु पर्ला’, उनले अघि भनिन् ।

source : onlinekhabar

करणी गर्ने सशस्त्र प्रहरीलाई १० वर्ष कैद

कपिलवस्तु — शारीरिक अपांगता भएकी महिलालाई करणी गरेका सशस्त्र प्रहरीका लोकराज अवस्थीलाई जिल्ला अदालतले १ लाख रुपैयाँ क्षतिपूर्ति र १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको इजलासले उक्त फैसला गरेको हो ।

मुलुकी ऐन जबरजस्ती करणी महल ३ (५) अनुसार ५ वर्ष कैद तोकिएको थियो । उक्त महलको ३ (क) अनुसार शारीरिक अस्वस्थता देखिएकी महिलालाई करणी गरेकामा थप ५ वर्ष कैद सजाय थपिएको स्रेस्तेदार डिल्लीराज शर्माले बताए ।
मुद्दाका अर्का आरोपी सशस्त्र प्रहरीका राजु थारुलाई ३ वर्ष कैद तोकिएको छ । अवस्थीले करणी गर्दा थारुले मद्दत गरेको पाइएकाले उनलाई पनि सजाय भएको स्रेस्तेदार शर्माले बताए। अवस्थी कञ्चनपुर, झलारी पीपलडाँडी नगरपालिका ३ तथा थारु वाणगंगा नगरपालिका १५ चौवाका हुन् ।
०७३ जेठ ३० गते भैंसी चराउन गएकी महिलालाई अवस्थीले करणी गरेको अभियोग लागेको थियो । उनीहरु विन्ध्यवासिनी सशस्त्र प्रहरी गणमा कार्यरत थिए । आरोपित प्रहरीलाई पक्राउ गर्न स्थानीयले चन्द्रौटामा पूर्व पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

जबरजस्ती करणीपछि महिलाको हत्या प्रयास गर्ने युवक पक्राउ

२३ चैत, विराटनगर । प्रहरीले महिलालाई जबरजस्ती करणीपछि हत्या प्रयास गरेको अभियोगमा सुनसरीका अजय झालाई पक्राउ गरेको छ ।

सुनसरी बराह नगरपालिका ७ का २३ वषर्ीय झालाई बिहीबार विराटनगरबाट पक्राउ गरेको हो । स्थानीय महिलालाई जबरजस्ती करणी गरी हत्याको प्रयास गरेको आरोपमा पक्राउ परेका उनलाई शुक्रबार सार्वजनिक गरेको छ ।

 

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले बराह नगरपालिकाको स्थानीय होटलमा काम गर्ने युवतीलाई बिवाह गर्छु भनी ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए ।

जबरजस्ती करणीबाट ३० वषर्ीया महिला गर्भवती भएपछि अजयले ती महिलालाई तीन साताअघि झापा दमकको डेरामा राख्ने भन्दै लगेर मोरङको भाउन्नेको जंगलमा ज्यान मार्ने उद्देश्यले कुटपिट लछारपछार गरी घाँटीमा सलले बाँधेर अचेत अवस्थामा फाली फरार भएका थिए ।

पीडित महिलाकी श्रीमानले दोस्रो विवाह गरी वेपत्ता भएपछि उनी होटलमा भाडा माझ्ने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

अजयलाई खोजी गर्ने क्रममा बिराटनगर १३ कोशी प्रोजेक्टको एरियामा लुकी छिपी हिँडडुल गर्दै गरेको अवस्थामा बिहीबार विहान अजयलाई पक्राउ गरेको प्रहरी उपरीक्षक विसीले जानकारी दिए ।

ती महिलालाई दमक लाने क्रममा सहयोग गर्ने अजयका साथी सन्तोष तामाङ भने फरार रहेका छन् ।

तीन साताअघि मोरङ बेलबारी नगरपालिका १० स्थित भाउन्नेको जंगलमा ती महिला बेहोस अवस्थामा फेला परेकी थिइन् ।

उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।

उपचारका क्र्ममा उनको होस खुलेपछि ती महिलाले आफूलाई जबरजस्ती करणी गरी अजयले हत्याको प्रयास गरेको बताएपछि प्रहरी अजयको खोजीमा लागेको थियो ।

ती महिलाको पेटमा रहेको ७ महिनाको गर्भको बच्चाको भने मृत्यु भएको छ । पीडित महिलाका बाबुले अजयविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएका थिए ।

अजयलाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको जनाएको छ ।

किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप

४ पुस, नेपालगन्ज । बाँकेको नरैनापुर-५ मटेहियामा १४ वर्षीया एक किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलासा भएको हो ।

 

इलाका प्रहरी कार्यालय भन्दा करिब ३ किलोमिटर उत्तर पूर्वमा गस्तीमा गएको बेलामा सो घटना भएको जनाइएको छ ।

किशोरी कराएपछि उद्धार गर्न पुगेका गाउँलेहरुले म्यादी प्रहरी टेकबहादुर बिकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घटनामा संलग्न बाँकी २ जना म्यादी भने फरार भएको बताइएको छ ।

सोमबार साँझको घटना भएपनि स्थानीयस्तर मै घटना मिलाउने प्रयास सफल नभएको र विवाद सुरु भएपछि पीडित र पीडकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके झिकाइएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले जानकारी दिए ।

उनले पीडित किशोरीलाई नेपालगञ्ज ल्याई स्वास्थ्य परीक्षण गरी पीडक माथि अनुसन्धान सुरु गरेको जनाए । पीडित किशोरीको मानसिक अवस्था विक्षिप्त रहेको गाउँलेले जनाएका छन् ।

करोडौं ठगेर भारतीय व्यापारी फरार

पुस ३, २०७४-चुनावको मेसोमा करोडौं रुपैयाँ ठगेर ४ भारतीय व्यापारी पोखराबाट फरार भएका छन् । बजार मूल्यभन्दा झण्डै आधा रकममा सामान पाइने लोभमा अग्रीम पैसा बुझाएका ग्राहकलाई ठगेर उनीहरु फरार भएका हुन् ।

फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचलापतली उरहिउर थानाका ५३ वर्षीय मथु रावन, तन्जाउर प्यारावरणी थानाका ५६ वर्षीय राजेन्द्र शेठ्ठी, तन्जाउ त्रिचित्मट्रप्लम थानाका ३५ वर्षीय मूर्खानन्दम तेवर र ४५ वर्षीय मथु उडियार छन् ।

उनीहरुले मंसिरको पहिलो हप्ता पोखराको सिर्जनाचोकमा सटर भाडामा लिई अक्सिजन ट्रेडर्स सञ्चालनमा ल्याएका थिए । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा थिए । ग्राहकले पुरै पैसा बुझाएर अग्रिम बुकिङ गरेको १५ दिनमा सामान पाउने बताइएको थियो । त्यति सस्तोमा सामान पाइने भएपछि पसलमा पैसा बुझाएर बुकिङ गर्नेको भीड लाग्ने गरेको थियो । ग्राहकले ५ सयदेखि ५ लाख रुपैयाँसम्म पैसा बुझाएका थिए ।

सोमबार सामान बुझ्ने समय दिइएको भएपनि पसल बन्द छ । सामान दिन केही दिन ढिला हुने सूचना सटरमा टाँगिएको छ । आइतबार बिदा भनेर बन्द गरिएको पसल सोमबार बिहान नखुलेपछि पैसा बुझाएका ग्राहकले आफू ठगिएको बताएका छन् । पसलमा ठगीमा परेका पोखरेलीको भीड लागेको छ । पान नम्बर सहितको बिलमा भएको मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन । त्यहाँका ६ कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

ठगिनेमा धेरै सिर्जनाचोक, जाल्पारोड, मालेपाटन वरपरकै छन् । सिर्जनाचोककी सुष्मा थापाले बजारमा २२ हजार रुपैयाँ पर्ने दराज १२ हजारमा पाइने देखेपछि पैसा बुझाइन् । जाल्पारोडकी गंगा कार्कीले सुरुमा ४ हजार ५ सय रुपैयाँ तिरेर टेबुल, हटकेस, बाटा, कुकर लगायत सामान बुक गरिन् । १५ दिनपछि उनले ति सबै सामान पाइन् पनि । उनले फेरि ५ हजार रुपैयाँको सामान बुक गरिन् । यसपटक भने उनी ठगिइन् ।

ठगिनेमा चिकित्सक, कर्मचारी, सञ्चारकर्मीदेखि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसम्म छन् । त्यहीं कर्मचारी पृथ्वी भण्डारीले आफूसहित १२ कर्मचारी पनि ठगिएको बताए । उनले सामान बुक गर्न १७ हजार रुपैयाँ बुझाएका थिए । करिब १ हजारजनाबाट १० करोड रुपैयाँ ठगेको हुनसक्ने विरौटाका लक्ष्मण बरालले बताए । ‘सुरुसुरुमा सामान दिएजस्तो गरेका थिए,’ उनले भने, ‘सामान पाइदो रहेछ भनेर पैसा बुझाइयो, अहिले आएर फसियो ।’

मंसिर २० मा प्रहरीले ४ व्यापारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३ दिनपछि ग्राहक नै आएर उनीहरुलाई छुटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ‘ठगिएको भनेर कसैको लिखित उजुरी आएन,’ उनले भने, ‘ग्राहक नै आएर आफूले सामान पाइरहेका छौं भनेपछि हामीले छोड्नैपर्‍यो ।’ 

उनका अनुसार ६० जना त्यस्ता ग्राहकको रोहबरमा व्यापारीलाई छोडिएको थियो । उनले लिखित उजुरी आए खोजतलास गर्ने बताए । ग्राहकले भने प्रहरीले छाड्नु नै गलत भएको बताएका छन् । पर्स्याङका डा.गोविन्द पाण्डेले प्रहरीले व्यापारीलाई छोडेपछि झन् धेरै ग्राहकले पैसा बुझाएको दाबी गरे ।

 

सिंहदरबारभित्रै सरकारी गाडीको पांग्रा चोरी

पुस २, २०७४-महानगरीय प्रहरी वृत्त अनामनगरका डीएसपी अपिल बोहोराले एकाबिहानै अनौठो खबर सुने । उनले चोरीको खबर त सधैं सुनेका थिए तर आइतबार सुनेको खबर भने सामान्य खालको थिएन । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने र चारैतिर सीसीटीभी निगरानीमा रहने सिंहदरबारभित्रै भएको चोरीको खबरले उनलाई छक्कै पार्‍यो ।

डीएसपी बोहोरा त्यतिबेला पो चकित परे, जब उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकको बा२झ २९२७ नम्बरको नयाँ टोयटा हाइलक्स गाडीका चारै टायर (डिस्कसहित) चोरी भएको जानकारी पाए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पार्किङस्थलबाटै गाडीको डिस्कसहित चोरी भएको थियो ।

खबर सुनेलगत्तै बोहोराले मन्त्रालयको क्षेत्र कभर गर्ने सीसीटीभी फुटेजको अध्ययन थाले । साथै उनले शनिबार सिंहदरबार छिर्ने गाडीको नम्बर सूची पनि नियाले । डीएसपी बोहोराले मध्यदिन नहुँदै सिंहदरबारभित्रको चोरीको घटनाको रहस्य पत्ता लगाइछाडे । नयाँ टायर चोरेर बेच्ने अरू कोही नभएर स्थानीय निकाय वित्तीय आयोगको कार्यालय, पुल्चोक ललितपुरमा कार्यरत गाडीचालक चन्द्रबहादुर मोक्तान थिए ।

प्रहरीका अनुसार शनिबार कार्यालय बिदाको दिनमा मोक्तान आयोगको सरकारी गाडी लिएर टायर चोर्न सिंहदरबार पसेका थिए । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार १ घण्टाभन्दा बढी समय लगाएर उनले सबै चक्काको नट–बोल्ट खोलेर डिस्कसहित टायर निकालेका थिए । यसरी निकालिएको टायर उनले आयोगकै बा२झ १२१७ नम्बरको गाडीमा राखेर सिंहदरबारबाट बाहिरिए ।

टायर चोरी भएको गाडीका चालक कृष्णसुन्दर श्रेष्ठले शुक्रबार साँझ मन्त्रालयअगाडि गाडी पार्किङ गरी राखेका थिए । आइतबार बिहान ९ नबज्दै गाडी लिन आएका चालक कृष्णसुन्दरले चक्का नदेखेपछि कार्यलयमा खबर गरेका थिए । चोरीको खबर त्यसपछि मात्रै प्रहरीकहाँ पुगेको थियो ।

प्रहरीले सीसीटीभी फुटेजमा मोक्तानलाई टायर निकाल्दै गरेको अवस्थामा देखेको थियो । साथै उनी बिदाको दिन पनि सरकारी गाडी लिएर सिंहदरबार छिरेको पश्चिम गेटमा राखिने अभिलेखमा देखिएको थियो ।

शंखमूलस्थित बराही टायर सेन्टरमा पुगेपछि पो प्रहरीले पत्तो पायो, मोक्तानले टायर निकालेर बेच्न योजनाबद्ध रूपमा काम गरेका थिए । मोक्तानले सेन्टरबाटै नीलो रंगको ‘हाइड्रोलिक ज्याक’ ल्याएर टायर निकाल्न प्रयोग गरेका थिए । प्रहरीका अनुसार चोरिएका टायर र डिस्कसहितको मूल्य ६ लाख ६२ हजार रुपैयाँमा पर्छ ।

टायर चोरीमा मिलेमतो गरेको आशंकामा सेन्टरका जगतबहादुर मगरलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार चोरी गर्ने मोक्तान भने फरार छन् । कान्तिपुरसँग कुरा गर्दै बोहाराले भने, ‘सिंहदरबारभित्र यसअघि पनि गाडीका टायर चोरी हुने गरेका थिए । मन्त्रालयबाटै ल्यापटप हराएका खबर पनि सुनिएका थिए । तर, यो सार्वजनिकमध्येकै ठूलो हो ।’ बोहोराले फरार मोक्तानले यसअघि पनि टायर चोरी गरेको हुन सक्ने बताए । उनले भने, ‘अनुसन्धानपछि धेरै तथ्य बाहिर आउनेछ ।’

source:ekantipur

 

युवती अपहरणमा संलग्न ६ जना कारागार चलान

१४ मंसिर, बुटवल । रुपन्देहीको सैनामैनाकी युवती अपहरणमा संलग्न ६ जना अभियुत्तरु कारागार चलान भएका छन् ।

 

गत असोज २ गते सोमबार सैनामैना नगरपालिका १ वनकट्टाकी अन्दाजी २१ वर्षाीया रेखा भुसाललाई अज्ञात समूहले अपहरण गरेको थियो । सोहि दिन नै प्रहरीले युवतीलाई सकुशल उद्धार  गर्न सफल भएका थियो ।

सोही घटनामा संलग्न ६ जनालाइ प्रहरीले असोज १२ गते पक्राउ गरेको थियो । रुपन्देही जिल्ला अदालतको आदेशले उनीहरु कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा रुपन्देही सैनामैना नगरपालिका १ बस्ने २२ वर्षीय प्रकाश भुसाल, सुद्दोधन गाँउपालिका २ घर भएका २१ वर्षीय राजिब सुनारी र सैनामैना नगरपालिका ४ बस्न २१ वर्षीय अनमोल जंग राणा छन् । यस्तै तिलोत्तमा नगरपालिका १६ बस्ने ३९ वर्षीय लाल बहादुर पुन, तिलोत्तमा नगरपालिका १६ बस्ने ३८ वर्षीय डम्बर बहादुर राना र अर्घाखाची भुमिकास्थान गाँउपालिका ९ का २८ वर्षीय दिपक नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले बताए ।

युवतीलाई तिलोत्तमा नगरपालिका ७ सेमराबजारबाट उद्धार गरेको थियो ।

ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

२ मंसिर, काठमाडौं । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो ।

रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाकाअनुसार शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो ।

 

गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा गाडीबाट सुन बरामद गरिएको थापाले बताए । सुन र गाडी कसको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

source: onlinekhabar

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

झापा, २८ जेठ । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।

“के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भन्नुभयो – “हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।”

अनुसन्धानकै क्रममा प्रहरीले शनिबार राति दाहालको घर नजिकै खाल्डो खनेर प्लास्टिकमा बेरिएको अवस्थामा पुरिएको रु ८५ हजार फेला पारेको छ ।

दाहाल परिवारले डेढ महिनाअघि रु एक लाख हत्याका अभियुक्त अधिकारीले चोरेर लगेको आरोप लगाउँदै आएका थिए । दाहाल परिवारले अभियुक्त अधिकारीले सो रकम चोरी गरेको आरोप लगाए पनि खाल्डोमा पुरिएको अवस्थामा रु ८५ हजारमात्र फेला परेपछि बालिका हत्याको विषय थप रहस्यमय बनेको प्रहरीले जनाएको छ ।

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरीसमक्ष स्वीकारेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकाको अनुहार, टाउको र छातीमा बन्चरो प्रहार गरी गत बुधवार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । रासस

दाङ घर भएका कलेज पढ्ने तीन युवती ५० लाखको अफिमसहित पक्राउ

भैरहवा, २४ जेठ । रुपन्देहीमा कलेज पढ्ने युवतीहरूको साथबाट ५० लाख मूल्य बराबरको अफिम बरामद भएको छ । नेपाल भारत सीमा नाका बेलहियाबाट नेपाल प्रहरीले सो मूल्य बराबरको लागुऔषध अफिम सहित ३ जना युवतीलाई पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यलय बेलहियाका प्रहरी निरीक्षक रबिन विष्टका अनुसार रुकुम घर भइ दाङमा बस्ने ३ युवतीहरू १५ केजी अफिम लुकाइछिपाई भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा २७ वर्षीया बिशमाया बुढा, १९ वर्षीया कामना पुनमगर र २१ वर्षीया सकुन्तला बुढा रहेका छन् । उनीहरूमध्ये विशमाया र सकुन्तला घोराहीमा बसेर क्याम्पस पढिरहेका विद्यार्थी हुन् । कामना लालमटियाकी बासिन्दा हुन् ।

तीनै जना युवतीहरू रात्रि बसमा चढेर बुटवलको एक होटलमा बसेका थिए । उनीहरूलाई सो अफिम सोही होटलमा दिइएको थियो । पक्राउ परेका युवतीहरूले आफूहरूलाई भांग हो बोर्डर पारी पुगाएर आएपछि ५ हजार पाउने भन्दै एकजना दाइले फोनमार्फत निर्देशन दिएको बताए । ती दाइको नाम ठेगाना भने उनीहरूलाई थाहा नभएको बयान प्रहरी समक्ष दिएका छन् ।

बरामद अफिमको बजार मूल्य ५० लाख रहेको प्रहरीले जनाएको छ । विश्वबजारमा प्रतिकेजी अफिमको मूल्य १६ हजार युएस डलर प्रतिकेजी रहेको छ ।

अफिमसहित पक्राउ परेका युवतीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुझाइएको इप्रका बेलहियाले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषध ओसार पसार गर्नेलाई १५ वर्ष कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ ।