Home / अन्तर्राष्ट्रिय खबर

अन्तर्राष्ट्रिय खबर

बलात्कारपछि बालिकालाई जिउँदै जलाइयो

राँची — भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलत्कारपछि गाउँका अगुवाले दोषीलाई १ सय पटक उठबस गर्न र ५० हजार रुपैया जरिवाना तिर्न आदेश दिएका थिए । तर त्यसबाट कुद्ध बलत्कारीले किशोरीका आमाबाबुमाथि निर्घात कुटपिट गर्नुका साथै उनलाई आगो लगाएका हुन् ।
स्थानीय प्रहरी कार्यालयका प्रमुख अशोक रामले भने, ‘उनीहरुले आरोपीले पीडित किशोरीका आमाबाबुलाई कुटपिट गर्नुका साथै घरमा पुगेर किशोरीलाई आगो लगाएका हुन् ।’
उनीहरुले आफ्ना बुबाआमा आफन्तको विवाहमा गएका बेला किशोरीलाई ४ जनाले अपहरण गरेका थिए । प्रहरीका अनुसार अपहरणपछि राजा केन्डुवा गाउँ नजिकैको जंगलमा लगेर किशोरीमाथि बलत्कार गरेका थिए ।
घटनाबारे थाहा पाएलगत्तै उनका बाबुआमा दोषीमाथि कारवाहीको माग गर्दै गाउँका अगुवासमक्ष पुगेका थिए । तर गाउँ परिषदा अगुवाले कानूनी प्रक्रियाको साटो आफै विवाद समाधानको पहल गरेका थिए । भारतका कतिपय ग्रामिण इलाकामा अझैपनि त्यस्ता गाउँ परिषदो महत्वपूर्ण प्रभाव कायमै छ ।
बलत्कार र हत्याबारे अनुसन्धान गर्न प्रहरीले १४ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार ४ जनाको खोजी भइरहेको छ । प्रहरीले कैयौं गाउँलेमाथि गैरकानुनी कार्य गरेको तथा घटनालाई तोडमोड गर्न प्रयास गरेको आरोपमा मुद्दा दायर गरिने जनाएको छ ।
भारतमा सन् २०१६ को एक प्रतिवेदन अनुसार वर्षमा करिब ४० हजार बलत्कारका घटना हुने गर्छन् । यद्यपी, उक्त प्रतिवेदनमा सामाजिक अपहेलनाको त्रासका कारण अधिकांश घटनाहरु सार्वजनिक नहुने उल्लेख छ ।

मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

 

मेक्सिको सिटी — मेक्सिकोमा दुई पक्ष बीच भएको गोली हानाहानको घटनामा परी कम्तीमा १६ जना व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी र अपराधिक समुहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधिक समुहका र ६ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ ।
मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गरेको बताएका छन् ।
ड्युटीमा खटिएका प्रहरीलाई अपराधिक समुहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो ।
राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।
गुइरेरो पछिल्लो दुई वर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

रुसी सेनाको विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

२३ फागुन, काठमाडौं । रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ ।

रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार माध्यमहरुले रसियन एएन–२६ मिलिटरी ट्रान्सपोर्ट प्लेन सिरियाकाे लताकिया राज्यस्थित हेमिम एयरबेसमा अवतरणका क्रममा दुर्घटना भएको जनाएका छन् ।

 

न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये ३३ जना रसियन आर्मी र ६ जना चालक दलका सदस्य हुन् ।

विमान दुर्घटनाको कारण खुलेको छैन । आतंकवादी आक्रमण या प्राविधिक गडबडीमध्ये कुनै एक कारणले  विमान दुर्घटना भएको अनुमान गरिएको छ ।

सिरियामा हवाई हमला, बालबाबालिकासहित ७७ को मृत्यु


८ फागुन, काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । अरु ३ सय जना घाइते भएका छन् ।

सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् ।

राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ ।

चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन् २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन् । यसलाई विद्रोहीबाट मुक्त पार्ने प्रयासमा सरकार लागेको छ । सोमबार हवाइ आक्रमण गरेको सिरियाली सेनाले स्थल आक्रमण पनि गर्ने तयारी गरेको छ ।

चीनद्वारा अमेरिकालाई चेतावनी–युद्धको मानसिकता त्याग

बेइजिङ — चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ ।

 

अमेरिकाले आफूसँग भएका हतियारहरू प्रयोग गर्न निकै ठूला भएको भन्दै नयाँ स–साना परमाणु हतियार विकास गर्ने योजना सार्वजनिक गरेको हो । रूसले भने अमेरिकी योजनाको यसअघि नै विरोध गरिसकेको छ ।
अमेरिकाले चीन, रूस, उत्तर कोरिया र इरान आफ्नो सुरक्षा खतराका रूपमा रहेको औंल्याउँदै साना हतियारको आवश्यकता भएको जनाउँदै आएको छ । चीनले आइतबार अमेरिकी योजनाको दृढतापूर्वक विरोध जनाएको हो । चिनियाँ रक्षा मन्त्रालयले आफ्नो रक्षात्मक नीतिको वासिङ्टनले फाइदा उठाएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई आशा छ अमेरिकाले आफ्नो शीतयुद्धकालीन मानसिकता त्याग्नेछ र निशस्त्रीकरण प्रतिको आफ्नो उत्तरदायित्व महसुस गर्नेछ ।’ चीनले यसअघि पनिपटकपटक अमेरिकाको रक्षा रणनीतिको विरोधका लागि ‘शीतयुद्ध’ को सन्दर्भ उल्लेख गर्ने गर्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको योजनामा जमिन, पन्डुब्बी तथा विमानबाट प्रहार गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्रको आधुनिकीकरणमा जोड दिइएको छ । उक्त योजना पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सुरु गरिएको थियो । यसअघि रूसी विदेश मन्त्रलायले अमेरिकी योजनाप्रति ‘पूर्णरूपमा निराश’ भएको बताएको थियो । विदेशमन्त्री सर्गेइ ल्याभ्रोभले राष्ट्रको सुरक्षाका लागि ‘आवश्यक उपायहरू अवलम्बन’ गर्ने बताएका थिए ।

ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छः राष्ट्रपति इन

सोल — दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएका छन् ।

 

सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गर्नुभएको सम्बोधनमा उनले सो धारणा राखेका हुन् । उनले भने, ‘उक्त खेलकूदपछि पनि वार्ताको वातावरण बनाउनुपर्छ ।’
उनले आफू वार्ताप्रति आशावादी भएको र आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिनलाई गृहकार्यमा लागिपरेको बताए ।
आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउने भएको समाचार यसअघि नै आएको थियो ।
सो खेलकूदका कारण दुई कोरियाबीच गएको महिना दिनयता तीन पटकसम्म उच्चस्तरीय वार्ता भएको छ भने चार वर्षयता पहिलो पटक उत्तर कोरियाली अधिकारीहरुले दक्षिणको भ्रमण गरेका छन् ।
उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ । यसले गर्दा यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा सुधार आएको देखिएको छ ।
उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारी उत्तरले दक्षिण पठाउन लागेको छ । ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलका बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ ।
उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा विकास गर्न विश्व समुदायले नै आग्रह गरिरहेको छ ।

पाँचतारे होटल बन्दुकधारीको कब्जाबाट मुक्त एजेन्सी

काबुल — अफगानिस्तानको राजधानी काबुलमा रहेको पाँचतारे होटल इन्टरकन्टिनेन्टलमा ३ बन्दुकधारीहरुले आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ ।

 

त्यहाँको विशेष तालिम प्राप्त सुरक्षाकर्मीले १२ घण्टा पछि होटललाई पुन: आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् । अफगान गृहमन्त्रालयले सुरक्षा कारवाहीमा तीनैजना बन्दुकधारी मारिएको बताएको छ ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी छ जना घाइते भएका छन् भने १६० जनालाई भने उद्धर गरिएको छ ।
इन्टरकन्टिनेन्टल होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट लगाएका तीन बन्दुकधारीले आक्रमण गरेका थिए । शनिबार राति होटलमा आक्रमण हुँदा त्यहाँ विदेशी पर्यटकका साथी उच्चपदस्थ सरकारी कर्मचारी पनि रहेको बताइएको छ ।
होटलमा हमला भएपछि प्रहरीले उक्त होटलमा घेरा हालि संदिग्धको खोजी गरेको थियो ।

टर्कीमा बस दुर्घटना, ११ को मृत्यु ४६ घाइते

इस्तानबुल — टर्कीमा भएको एउटा बस दुर्घटनामा ११ को मृत्यु भएको छ । उक्त घटनामा अन्य ४६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक जनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

 

यात्रामा गइरहेको बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
राजधानी अङ्कराबाट पश्चिमतर्फ पर्ने सहर बुर्सातर्फ गइरहेको रात्रि बस दुर्घटना भएको जनाइएको छ ।

कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद — पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय सरकारले बुधबार प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

 

अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मङ्गलबार साँझ तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्ष्य गरेर हवाई कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ । कारबाहीको क्रममा एकजना कुख्यात तालिबान कमाण्डर मोहिदुल्लाह आलिज यासेरसहित छ आतङ्ककारीको घटनास्थालमा नै मृत्यु भएको पनि विज्ञप्तिमा जानकारी दिइएको छ ।
कारबाहीको विषयमा हालसम्म तालिबान आतङ्ककारी समूहको तर्फबाट भने कुनै टिप्पणी आएको छैन ।

ट्यांकर डुब्दा ३२ को ज्यान गयो

बेइजिङ — चीनको पूर्वी सामुद्रिक क्षेत्रमा एक सातादेखि जलिरहेको इरानी तेल ट्यांकर आइतबार डुबेपछि चालक दलका ३२ सदस्यको मृत्यु भएको इरानी अधिकारीले जनाएका छन् । चालक दलमा ३० इरानीसहित २ बंगलादेशी नागरिक थिए ।

 

चिनियाँ सेन्ट्रल टेलिभिजनका अनुसार उक्त ट्यांकर आइतबार भएको ठूलो विस्फोटलगत्तै डुबेको हो । टेलिभिजनका अनुसार ट्यांकर डुब्नुअघि भएको विस्फोटका कारण करिब १ किलोमिटर माथिसम्म आगो फैलिएको थियो । सान्ची नामक उक्त पानीजहाज चीनको सांघाईबाट २ सय ६० किलोमिटर टाढा एक कार्गो जहाजसँग ठोकिएको थियो । ट्यांकरले १ लाख ३६ हजार टन कच्चा तेल बोकेको थियो । १३ सामुद्रिक डुंगाको सहायताले इरानी कमान्डोले १० दिनदेखि आगलागी नियन्त्रणका लागि जारी राखेको प्रयास खराब मौसमका कारण असफल भएको हो । इरानी समूहका प्रवक्ता मोहम्मद रस्तादले भने, ‘अब कसैलाई जीवितै फेला पार्ने आशा सकिएको छ ।’
यसअघि शनिबार उद्धारकर्ताहरूले दुई जनाको शव भेटेका थिए । तर विषालु धूवाँ तथा उच्च तापक्रमका कारण उनीहरूले हतारमा पानीजहाजको ‘ब्याल्क बक्स’ लिएर फर्किएको जनाए ।
सान्ची पनामाले इरानसँग भाडामा लिएर चलाएको थियो । उक्त ट्यांकर इरानबाट दक्षिण कोरियातर्फ जाने क्रममा जनवरी ६ मा हङकङको सीएफ क्रिस्टलसँग ठोक्किएको थियो । क्रिस्टलका चालक दलका २१ सदस्यको भने सकुशल उद्धार गरिएको थियो ।
दुई जहाज ठोकिएलगत्तै सान्ची दक्षिण–पूर्वी क्षेत्रमा पर्ने जापानी टापु अमामी ओसिमातर्फ २ किलोमिटरभन्दा बढी बगेको थियो । उक्त ट्यांकरले जेटमा प्रयोग हुने तेल, पेट्रोल, डिजेल उत्पादन गर्न मिल्ने कच्चा तेल बोकेको थियो । दुर्घटनाको कारणहालसम्म थाहा हुन सकेको छैन । अधिकारीले घटनाबारेछानबिन भइरहेको जनाएका छन् ।