Home / स्वास्थ्य

स्वास्थ्य

जुकाको चुसाइबाट जटिल रोगको उपचार ! जुकाको र्‍यालमा एक सयभन्दा बढी यस्ता तत्त्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँछ ।

काठमाडौँ — राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले छाला, रक्तसञ्चारलगायत केही जटिल रोगका बिरामीको उपचार जुकाको चुसाइ (लिच थेरापी) बाट गर्न थालेको छ ।

आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म दुई जनाको उपचार गरिएको छ । लिच थेरापीबाट केही दिनभित्रै जटिलखालका अन्य शारीरिक समस्याको समेत उपचार गरिने विशेषज्ञहरूले बताएका छन् । आचार्य सुश्रुतले शताब्दियौं पहिले क्यान्सर, सिस्ट, हर्पिज, रक्तदोष, घाउलगायत जटिल शारीरिक समस्या भएका बिरामीमा जलौकावचारण कर्मलाई उपयुक्त ठहर्‍याएका थिए ।
लिच थेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज वन्ड (मधुमेहका घाउ), वोइल्स एन्ड एवसेस, रुमेटिक डिजिज, अस्टियोअर्थराइटिस, रुमेटोयड अर्थराइटिस, सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेसन, हाइपरटेन्सन, थ्रम्बोसिस (ब्लड क्लाउट) लगायत रोगको उपचार गर्न सकिन्छ ।
‘वनारस हिन्दु युनिभर्सिटीको सहयोगमा हामीले उपचारका लागि उपयोग गर्न २५ वटा जुका ल्याएका छौं, यो संख्या बढाउँदै जान्छौं,’ केन्द्रका कार्यकारी निर्देशक डा. सिद्घार्थ ठाकुरले कान्तिपुरसँग भने, ‘यसअघि नेपालमा लिच थेरापी उपचार पद्धति थिएन ।’
चिकित्सकका अनुसार यो उपचारमा प्रयोग गरिने एउटा जुकाले बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि १० मिलिलिटर अशुद्घ रगत सेवन गर्न सक्छ । रगत चुस्ने क्रममा जुकाको मुखबाट निस्किने श्रावमा हिरुडिन नामक इन्जाइम हुन्छ । जुकाको र्‍यालमा एक सयभन्दा बढी यस्ता तत्त्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँछ । डा. ठाकुरका अनुसार जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुन सघाउँछ, तन्तु र मासु कुहिन दिँदैन । जुकाले तन्तु प्रवद्र्धनको काममा समेत सहयोग पुर्‍याउँछ ।
‘घाउ, खटिरा, रक्त विकार वा छालासँग सम्बन्धितलगायत रोग निवारणमा जुका कुनै डाक्टरभन्दा कम हुन्न,’ डा.ठाकुर भन्छन्, ‘आयुर्वेदका अनुसार जुकाले पहिलो टोकाइमा मात्र अशुद्घ रगत चुस्छ र शुद्घ रगतलाई छाड्छ ।’ केन्द्रले सोराइसिस रोगमा लिच थेरापीको उपयोगिताबारे विस्तृत अनुसन्धान सुरु गर्ने जानकारी उनले दिए ।
ठाकुरका अनुसार जुकाले रगत चुस्न थाल्दा बिरामीलाई केही अनौठो महसुस मात्र हुन्छ, दुख्दैन । जुकाले अशुद्घ रगत चुस्दासम्म खासै अनुभव नभए पनि शुद्घ रगत चुस्न थालेपछि हल्का चिलाएको अनुभव हुन्छ, त्यसपछि जुकालाई हटाइन्छ । जुकाको रगत चुस्ने विज्ञानसमेत अचम्मको छ । जुकाले छाला छेड्न आफ्नो सुँड उपयोग गर्छ, त्यसपछि तीनवटा बंगारा र स–साना दाँत उपयोग गर्छ ।
करिब १० वर्षसम्म जीवन भएको जुका एक वर्ष खाना नखाइकन पनि बाँच्न सक्छ । यसलाई उपचारका लागि संरक्षित राख्दा क्लोरिनविहीन सामान्य पानीमा राखिन्छ । एक व्यक्तिमा उपयोग गरिएको जुका अन्य व्यक्तिमा उपयोग गरिँदैन । नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा उपयोग गरिएको जुकालाई पुन: उसकै लागि उपयोग गर्ने गरी संरक्षित गरेरसमेत राखिन्छ । एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुस्न दिइन्छ ।

कपालको स्याहार कसरि गर्ने ?

‘मानसिक तनाव, चिन्ता, पाचन प्रणालीको समस्या, अपर्याप्त पोषण, औषधिको साइड इफेक्ट, प्रदूषित वातावरण, खाद्यपदार्थमा विषादी–रसायन आदिको अधिकतम प्रयोगले गर्दा कपाल पनि प्रभावित हुन थालेको छ ।’

 

काठमाडौँ — नरदेवी आयुर्वेदिक चिकित्सालयमा दिनहुँ ४०(५० व्यक्ति कपाल झर्ने समस्या लिएर पुग्ने गरेका छन् । तिनमा २५–३५ वर्ष उमेर समूहको अधिकता छ र युवतीको संख्या बढी छ । आयुर्वेदिक विशेषज्ञहरूका अनुसार, एक/दुई दशकअघि यस्तो स्थिति थिएन ।

अचेल तीस नकटी युवायुवती कपाल झर्ने समस्याले पीडित हुन थालेका छन् । यसैले होला, कपाल झर्न रोक्ने दाबी गर्ने सौन्दर्य उत्पादनको बिक्रीसमेत हाम्रो मुलुकमा दिनहुँ बढ्दो छ ।
‘केही दशकअघिसम्म यस्तो अवस्था थिएन,’ नरदेवीका निर्देशक डा. रामदेव यादव भन्छन्, ‘अचेल मानसिक तनाव, चिन्ता, पाचन प्रणालीको समस्या, अपर्याप्त पोषण, औषधिको साइड इफेक्ट, प्रदूषित वातावरण, खाद्यपदार्थमा विषादी(रसायन आदिको अधिकतम प्रयोग र प्रकृतिबाट टाढिने प्रक्रियाले गर्दा शरीरका विभिन्न अंगसँगै कपाललाई पनि प्रभावित गर्न थालेको छ ।’
अस्पतालमा पुग्ने धेरैजसोमा कपाल रंगाउने रासायनिक रंग (केमिकल हेयर डाई) को प्रयोगपछि समेत कपाल झर्ने समस्या बढ्दो देखिएको छ । किशोरवयदेखि नै कपाललाई विभिन्न रंगले रंग्याउनेचलनले कपाल झर्ने समस्याबढ्दो छ ।
रासायनिक डाईले कपाल कालो गर्नु केश झर्ने प्रमुख कारण रहेको विज्ञहरूको ठम्याइ छ । कपाल झर्नबाट रोक्न केश रंग्याउने रासायनिक डाईको उपयोगको सट्टा प्राकृतिक मेहन्दीको उपयोग गर्नुपर्ने सल्लाहसमेत उनीहरूको छ ।
विज्ञहरूका अनुसार रिट्ठा, माटो आदि प्राकृतिक वस्तुले कपाल धुने जमानामा यो समस्या त्यति साह्रो देखिँदैनथ्यो । अझै गाउँघरमा बूढापाकाको कपाल राम्रै पाउन सकिन्छ ।
आयुर्वेदले कपाल झर्नमा पित्तदोषलाई जिम्मेवार मान्छ । हाडको गठनका लागि जिम्मेवार तन्तु नै कपालको विकासमा सहायक मानिन्छ ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका डा. शंकर गौतम भन्छन्, ‘हाम्रै घरगाउँ, जंगल, बारीमा पाइने वस्तुका माध्यमले आयुर्वेद पद्धति उपयोग गरेर कपाल झर्न
रोक्न सकिन्छ ।’
झरिरहेको कपाल नियन्त्रणका लागि मन र शरीरको स्थिरता आवश्यक मानिन्छ । कपाल झर्ने थुप्रै कारण हुन सक्छन् । यसैले यसलाई रोक्न सबैभन्दा पहिले कपाल झर्ने कारण खोजेर त्यसको उपचार गर्नु आवश्यक मानिन्छ । घरेलु उपचारले कपाल झर्न रोक्न सकिएन भने चिकित्सकीय सल्लाह लिनुपर्छ ।
रिट्ठाले कपाल धुँदा यसले कपाल उमार्नेसँगै यसलाई मोटो र कालोसमेत बनाउने जनाउँदै डा. गौतम भन्छन्, ‘नेवार समुदायमा अझै रिट्ठाकोप्रयोग हुन्छ ।’ कपालको राम्ररी रेखदेख, सफा नगर्दा चायाको समस्या देखिएरसमेत कपाल झर्ने गरेको छ ।
कपाल झर्न रोक्न
कागतीको रसमा अमलाचूर्ण र पानी मिसाएर लेदो बनाएर टाउकोमा लगाएर एक–डेढ घण्टापछि धुँदा कपाल झर्न रोकिनुका साथै चायासमेत कम हुन्छ । सातामा दुई पटक यस्तो गर्नुपर्ने औंल्याउँदै डा. यादव भन्छन्, ‘कपाललाई स्वस्थ र निरोगी राख्न झर्ने समस्या नभएकाहरूले समेत यो प्रक्रिया अपनाउँदा यसले भविष्यमा हुन सक्ने सम्भावित कपाल झर्ने प्रक्रियाबाट बचाउ हुन्छ ।’
तर कपाल झर्ने समस्या भएकाहरूले अमलाचूर्ण र कागतीको रस लगाउनुका साथै कम्तीमा एक महिनासम्म एउटा आयुर्वेदिक औषधिसमेत बनाएर खानुपर्ने डा. यादव औंल्याउँछन् । उदरामृत पाउडर २ ग्राम, प्रवाल पिष्टि २५० मिलिग्राम, काम दुधारस २५० मिलिग्राम, लघुसुत शेखर रस २५० मिलिग्राम मिसाएर एक चम्चा बिहान र बेलुका खानाअघि मनतातो पानीसँग कम्तीमा एक महिना सेवन गर्दा कपाल झर्न रोकिन्छ ।
अश्वगन्धा, ब्राह्मी तेल, सिकाकाई, भृंगराज आदिको उपयोगले कपाल झर्न रोक्ने मात्र नभई यसले कपाल उमार्ने डा. गौतमको दाबी छ ।
अझ भृंगराजले त फुलेको कपाललाई कालोसमेत बनाउन छ । भृंगराजको १५(२० वटा पातको पेस्ट बनाएर २० मिनेटसम्म टाउकोमा लगाएर राख्ने र यसपछि स्याम्पु लगाएर धुँदा धेरै फाइदा पुग्छ । पात नभए भृंगराजको धुलोमा पानी मिसाएर पेस्ट बनाएर लगाउँदासमेत हुन्छ । यो प्रक्रिया टाउकोमा साताको दुईदेखि तीन पटकसम्म गर्नुपर्छ ।
जटामसीसमेत कपालका लागि अत्यन्त लाभकारी मानिन्छ । यसले छालाहरूको खराबी हटाउनुका साथै रगतलाई शुद्घीकरणसमेत गर्छ । जटामसीले तालुमा रक्तसञ्चार राम्रो गराउँदा त्यहाँ पोषकतत्त्व आदि पुग्छ र कपाल झर्नबाट रोकिने मात्र नभई झरेको कपालसमेत पलाउँछ । जटामसीको ५(६ थोपा तेललाई हामीले लगाउने नरिवल वा अन्य तेलमा मिसाएर टाउकोमा १५ मिनेटसम्म मालिस गरेर आधा घण्टापछि टाउको धुँदा फाइदा पुग्छ ।
हाम्रो भान्सामा उपयोग हुने मेथी कपाल झर्नबाट रोक्ने राम्रो उपाय हो । यसका लागि दुई चम्चाजति मेथी भुटेर पिँधी थोरै पानी राखेर पेस्ट बनाएर २० मिनेट कपालमा राखेर त्यसपछि धुनुपर्छ । यसले कपाल झर्नबाट रोकिनुका साथै चायालाई पनि हटाउँछ र छालाको स्वास्थ्य राम्रो पार्छ ।
नरिवल, महाभृंगराज, अमला, सिसिम विज, बदाम, ब्राह्मी तेलमध्ये कुनै एकले ४५ मिनेटसम्म टाउकोमा मालिस गर्दासमेत कपाल झर्न रोक्न धेरै प्रभावकारी रहेको जनाउँदै डा. गौतम तेल मालिसले टाउकोको रक्तसञ्चार बढाउनुका साथै जरा उत्पन्न हुने वा कपाल झरेको ठाउँमा फेरि कपाल पलाउने बताउँछन् ।
यस्तै पिप्पली, मरिच, दूध, कागतीको बीउको पेस्ट बनाएर रांै झरेको ठाउँठाउँमा बेलुका लगाएर बिहान धँुदासमेत धेरै फाइदा पुग्छ ।
आधा कप घ्यूकुमारीमा तीन चिया चम्चा नरिवलको तेल मिसाएर २० मिनेटसम्म
तालु र कपालमा लगाएर मनतातो पानीले पखाल्दासमेत फाइदा पुग्छ ।
यस्तै भृंगराज, अमला, सिकाकाई, ब्राह्मी सबैको मात्रा मिलाएर पेस्ट बनाई सकेसम्म दिनहँु, नभए साताको तीन पटक तालुमा लगाउँदासमेत कपाल झर्न रोकिन्छ ।
१५ दिनदेखि डेढ महिनासम्म बिहानबेलुका एक–एकचम्चा अश्वगन्धा चूर्ण सेवन गर्नाले समेत फाइदा पुग्ने डा. गौतम बताउँछन् ।
खानपान र आहारविहार
कपाल राम्रो बनाउन, नझरोस् भन्न खानपान, जीवनशैलीमा
समेत विशेष ध्यान दिनुपर्छ । कब्जियतले कपालमा असर गर्छ । यसैले कब्जियत हटाउन सलादलगायत फाइबरयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ ।
त्रिफला सेवनले समेतकब्जियतलाई हटाउँछ ।
दिनहुँ शरीरलाई चाहिएजति उपयुक्त पानीको खानुसमेत महत्त्वपूर्ण मानिन्छ । कपाल झर्न रोक्न अमला सबैभन्दा राम्रो उपचार हो । प्रचूर मात्रामा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त अमला कपाल झर्नबाट रोक्ने सबै भन्दा राम्रो उपचार हो । अमलाको नियमित सेवनले कपाल राम्रो हुनुका साथै अन्य शारीरिक फाइदासमेत हुन्छ । पौष्टिक आहार सेवन गर्नुपर्छ ।
बढी तारेको, भुटेको मसालेदार खाना कम गर्नुपर्छ । प्रोटिन, जिंक, भिटामिन ‘बी’, आइरन भएका खानेकुरा खानुपर्छ ।
नियमित योग, व्यायाम, मालिस, टाउकाको सरसफाइसमेत कपालको स्वास्थ्यका लागि राम्रो मानिन्छ । नियमित प्राणायामले रक्तसञ्चारमा वृद्घि भएर कपाल बलियो हुन्छ । धूमपानले समेत कपाल झर्ने समस्या हुन सक्छ । तनावमुक्त हुनुपर्छ । तनाव बढी लिँदा कपाल झर्ने समस्या देखिन्छ ।

अमृत फल सुन्तला

काठमाडौँ — जाडोयाममा घाममा बसेर अमिलो, गुलियो, रसिलो सुन्तला खाँदाको आनन्द हामी बिर्सन सक्दैनौं । यसको रस शताब्दियौँदेखि औषधीय गुणका लागि चिनिने गरेको छ । सुन्तला स्वास्थ्यवद्र्धक फल हो । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न सकिन्छ ।

आयुर्वेदअनुसार सुन्तला वातनाशक, ज्वरो, हृदय विकारलगायतमा उपयोगी मानिन्छ ।
सुन्तला सिट्स फ्रुट हो । यसमा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसमा प्राकृतिक एन्टी–अक्सिडेन्ट हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउनुका साथै रगतको सफाइ र स्टेमिना बढाउन सघाउँछ । यो एन्टि–अक्सिडेन्टले उमेरमा वृद्घिसँगै छालामा हुने चाउरीलाई कम गर्छ । भिटामिन ‘सी’ ले मांसपेशीहरूका लागि भोजनबाट क्याल्सियम अवशोषण गर्न सहयोग गर्छ ।
सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तला को नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ । यसले अस्टियोस्पोरोसिसको जोखिमलाई धेरै हदसम्म कम गर्छ । यति मात्र नभई, यो फलले रगतमा ब्लड सुगरको स्तरलाई सामान्य राख्छ ।
रेसा (फाइबर) को राम्रो स्रोत भएकाले सुन्तलाले चिनीलाई फ्रुटोसमा परिवर्तित गर्छ । यो गुलियो भए पनि चिनीको स्तरलाई नियन्त्रित गरेर मधुमेहपीडित व्यक्तिका लागि राम्रो पेयपदार्थ सावित हुन्छ ।
सुन्तलाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्नासाथ ऊर्जा दिन थाल्नु हो । सूर्यकिरणद्वारा सुन्तलाको ‘स्टार्च’ गुलियोमा परिवर्तित हुन्छ, जुन मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि स्फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, छालामा निखार आउँछ र सौन्दर्यमा वृद्घि हुन्छ ।
सुन्तलामा भएको पोटेसियम, फोलिक एसिड, क्याल्सियमले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापलाई नियन्त्रित राख्छन् । यी तत्त्व कोषिकाहरूमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर मुटुलाई स्वस्थ राख्न सघाउँछन् । पोटेसियमले मस्तिष्कमा अक्सिजनको सञ्चारमा
सघाउँछ । यसले हामीलाई तनाव र डिप्रेसन (उदासी रोग) बाट निकाल्न सघाउँछ ।
सुन्तला सुक्खा खोकीमा समेत फाइदाजनक हुन्छ । यसले कफलाई पातलो गरेर शरीरबाट निकाल्न सघाएर नाक र छातीको बाटामा आउने अवरोध हटाउँछ । यो फलले स्वस्थ राख्नुका साथै शरीरको सफाइसमेत गर्छ । यसमा भएका फाइबरका कारण यस्तो हुने गर्छ । सुन्तलाको रसमा भने यी रेसाहरूको कमी हुन्छ, त्यसैलेसिंगो सुन्तला खानु नै बढी लाभदायक हुन्छ ।
सुन्तला नियमित रूपमाखानाले रुघाखोकी र रक्तस्रावको समस्या हुँदैन । शरीर सशक्त र दीर्घायु बन्छ । पाचन प्रणाली सधैँ ठीक हुन्छ ।
सुन्तलामा एन्टि–इन्फेमेन्ट्री गुण हुन्छ, जसका कारण शरीरमा इलोक्ट्रोलाइटको सन्तुलन कायम रहन मद्दत मिल्छ । यसमा भएको साइट्रिक एसिडले मूत्र र मृगौलासम्बन्धी निर्मूल गर्न सघाउँछ । नियमित रूपमा सुन्तलाको सेवनले पिसाबका माध्यमले साइट्रिक एसिडको उत्सर्जन हुने गर्नाले पीएच स्तरमा सुधार हुन्छ । यसले मृगौलाको क्याल्सियमलाई फयाँक्न सघाउँछ । यसै कारण मृगौलाको पत्थरीको जोखिम कम हुन्छ । अर्थात्, सुन्तलाको रसले मृगौलामा क्याल्सियमको ओक्सलेटस्लाई एक ठाउँमा जम्मा हुन दिँदैन र पत्थरीको सम्भावना न्यून हुन्छ ।
सुन्तलाको रस क्याल्सियम अक्सलेटलाई तोड्नसमेत सहायक हुने विश्वास गरिन्छ । यसैले प्राचीनकालमा पत्थरी रोगबाट पीडितलाई औषधिकै रूपमा सुन्तलाको रस खाने सल्लाह दिइने आयुर्वेदमा उल्लेख छ ।
सुन्तलाको बोक्रासमेत गुणकारी मानिन्छ । सुकेका बोक्रा पिँधेर अनुहारमा लेपन गर्दा दाग, कालो पोतो हट्नुका साथै अनुहार टल्किन्छ ।
बालबालिका, बूढापाका, रोगीहरूलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेदअनुसार, सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुग्छ ।

हुम्लामा रुघाखोकीले ४ को मृत्यु

हुम्ला — तीन दिनयता सर्केघाट गाउँपालिकामा रुघाखोकीले ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केघाट गाउँपालिका–७ का भ्याले कार्की, खोइया शाही, गोर्‍या जैसी र ८ नम्बर वडाका शंकरे रोकाया छन् । उनीहरू सबै ६५ वर्षमाथिका हुन् ।

स्थानीय कलबहादुर एडीका अनुसार कार्की, शाही र जैसीको आइतबार, रोकायाको मंगलबार बिहान मृत्यु भएको हो । दुई सातायता फैलिएको रुघाखोकीले यस गाउँपालिकामा सयौं थलिएका छन् । बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको एडीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार लामो समयदेखि पानी नपरेका कारण धूलो र बढदो चिसोले संक्रमण फैलिएको हो ।
गाउँमा औषधि र स्वास्थ्यकर्मी अभाव छ । दरबन्दीका स्वास्थ्यकर्मी बिदामा रहेकाले स्वाथ्यचौकीमा कोही छैनन् । स्थानीयका अनुसार रोडीकोट गाउँपालिकाको राहदेउँ गाउँको प्राथमिक स्वास्थ्य चौकीमा त सिटामोल पनि छैन । अघिल्ला वर्ष जिल्ला अस्पतालबाट औषधि खरिद गरी तल्ला निकायमा पठाउने गरिएकोमा यस वर्षदेखि स्थानीय तहबाटै खरिद गर्ने भनिए पनि समयमै बजेट विनियोजन नभएकाले औषधि अभाव भएको हो ।
राहदेउँ स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा तीन महिनादेखि उपचारमा समस्या भएको इञ्चार्ज सुपे ऐडीले बताए । उनका अनुसार बिरामीको संख्या बढदै गए पनि औषधि छैन । ‘गाउँमा बिरामी धेरै छन् तर औषधि छैन,’ उनले भने ।
सर्केघाट स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष रंगमल रोकायाले गाउँपालिकाले औषधि खरिदका लागि समयमै बजेट नदिँदा अभाव भएको बताए । मृतकमध्येका शंकर उनकै छोरा हुन् । गाउँमा औषधि किन्न सुर्खेत वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । सरकारले नि:शुल्क औषधि दिने भने पनि प्रकोप फैलिएकै बेला औषधि अभाव भएको स्थानीय काली रोकायाले बताइन् । स्वास्थ्यचौकीमा औषधि नपाएपछि ४ घण्टा हिँडेर निजी मेडिकलबाट ३ हजार ५ सयको औषधि किनेर सेवन गरिरहेको उनले बताइन् ।
जिल्लाका अन्य गाउँपालिकामा समेत रुघाखोकी फैलिएको छ । चंखेली गाउँपालिकाको दार्मगाउँका भूपेन्द्र उपाध्यायले रुघाखोकीको संक्रमण फैलिए पनि स्वास्थ्यचौकीमा औषधि नरहेको बताए । उनका अनुसार श्वासप्रश्वासको समस्या, बान्ता हुने, टाउको दुख्ने र ज्वरो आउनेजस्ता बिरामी बढ्दै गएका छन् ।

अनुहारको छालामा देखिने छिद्रबाट बच्ने उपाय

काठमाडौँ — अनुहारमा हुने ओपनपोर्स, यसले तपाईको अनुहारको सौन्दर्यलाई बिगार्ने मात्र होईन कि छालाको लागि पनि नोक्सानदायक हुन सक्छ । यस अवस्थामा छालाको बिषेश ख्याल राख्नुपर्ने हुन्छ । ओपनपोर्स अनुहारको एउटा ठुलो समस्या हो । यो मानिसको उमेर बढ्नुको साथ साथै बढ्दै जान्छ ।

 

अनुहारमा हुने ओपनपोर्स, यसले तपाईको अनुहारको सौन्दर्यलाई बिगार्ने मात्र होईन कि छालाको लागि पनि नोक्सानदायक हुन सक्छ। यस अवस्थामा छालाको बिषेश ख्याल राख्नुपर्ने हुन्छ। ओपनपोर्स अनुहारको एउटा ठुलो समस्या हो। यो मानिसको उमेर बढ्नुको साथ साथै बढ्दै जान्छ।
कसै-कसेमा भने तीस/पैतिस बर्षको उमेरमा पनि अनुहारमा यो समस्या भएको देखिन्छ। अब ओपनपोर्सको उमेरसँग पनि सम्बन्ध रहेको देखिंदैन। हाम्रो अनुहारको छालामा सा-साना धेरै पोर्स (प्वालहरु) हुन्छन्। जुन झटहेर्दा हतपत देखिंदैन तर पावरवाला शिशा (मेग्निफाइंग ग्लास) ले हेर्ने हो भने गाला, नाकमा त्यस्ता प्वालहरु देखिन्छन्। जसको संख्या हजारौमा हुन्छन्।
यि अनुहारमा भएका रोम छिद्र (पोर्स) को काम हाम्रो अनुहारमा शुद्ध अक्सिजनलाई मेन्टेन गरेर राख्नु हो। यसका साथै शरीरमा भएको टाँक्सिन (खराब) पदार्थलाई बाहिर निकाल्नु हो। एक किसिमले भन्ने होभने छालाले पनि श्वास फेर्छ। अक्सिजनलाई मेन्टेन गर्छ र खराब पदार्थ अर्थात टोक्सिनलाई वाहिर निकाल्छ।
हाम्रो अनुहारमा ग्लो ल्याउनु उज्यालो पार्नु पनि छालाको नै काम हो। जब यि पोर्स (रोम छिद्रहरु) ठुलो हुन्छन् र स्पष्टरुपमा परैबाट देखिन्छ भने त्यस अवस्थालाई हामी ओपन पोर्स भन्दछौ।
ओपनपोर्सका कारण : आयली स्किन हुने ब्याक्तिहरुमा ओपनपोर्स (रोमछिद्र) बढिनै हुने गर्दछ। ओयली स्किनको साथै जसको शरीरमा धेरै मात्रामा पसिना आउछ। उनीहरुलाई पनि अनुहारको यो समस्या प्राय बढि नै देखिन्छ। कहिले काहि यस्ता सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ जुन तपाईको छालाको अनुकुल हँदैन। जसको प्रतिक्रिया स्वरुप ओपनपोर्स हुनसक्छ। जेनेटिक (वंशानुगत) पनि यसको मुख्य कारण मध्ये एक हो।
यदी कसैको परिवारमा आमा-बाबु मध्ये कुनै एक जनामा यो समस्या बिगतका समयमा रहेको भए त्यस घरका अन्य सदस्यमा पनि यो समस्या हुने संभावना बढि रहन्छ। यदि तपाई आफ्नो स्किनको केयर ठिकसंग गर्नु हुन्न भने धुलो, माटो, प्रदुषित वातावरणमा बढि नै समय बिताउनु हुन्छ। कामबाट साँझ जब घर फर्किनु हुन्छ त्यसबेला अनुहारलाई राम्रोसँग धुनुहुन्न भने तपाईलाई ओपनपोर्स हुने संभावना बढी हुन्छ।
मनोवैज्ञानिक पक्षबाट हेर्ने हो भने मानसिक तनाव पनि यसको मुख्य कारण हो। यदि तपाई बढि नै सोच्नु हुन्छ। स्वभावमा चिडचिडापन छ, सानो-सानो कुरामा पनि चाडै रिसाउने किसिमको बानी छ भने तपाईलाई पनि यो समस्या हुनसक्छ। हाईजिन तथा पोषणतत्वको कमी, राम्रोसँग निदाउन नसक्नु, अपुरो निन्द्रा हुनु पनि यसका कारण मध्येका हुन्।
ओपन पोर्सका लक्षणहरु : ओपनपोर्समा अनुहारमा सा-साना प्वाल देखिन थाल्छन्। खासगरी नाक र गालामा देखिन्छ। अनुहारमा ओपनपोर्स (रोमछिद्र) भएको अवस्थामा नाक र गालामा सुन्तलाको बोक्रामा भएजस्तो सा-साना प्वाल जस्तो अनुहार देखिन्छ। हेर्दा अनुहार राम्रो देखिंदैन, कुरुप जस्तो लाग्छ। ब्लेकहेड (कालो) हुने संभावना बढि हुन्छ। कसै-कसैको अनुहारमा त बढिनै साना–साना प्वालहरु देखिन्छन्। जुन हेर्दा धेरै फोहर देखिन्छ जसले तपाईको अनुहारको सौन्दर्यमा ग्रहण लगाई दिन्छ। यदि लामोसमयसम्म ओपनपोर्स रहिरहयो भने पछिगएर जब हाम्रो उमेर बढि हुन्छ। त्यसबेला यो अनुहारका प्वालहरु अझ ठुलो र भद्दा देखिन थाल्छ।
बचाउ : ओपनपोर्सलाई रोक्नको लागि कम्तिमा दिनको दुई पटक अनुहारलाई धुनु पर्छ। मुख धुँदा राम्रो मुलायम फेसवासको उपयोग गर्नुपर्छ। अनुहारको छालको अनुरुप मोस्चराईजर लगाउनु पर्छ। छाला को अनुरुप हप्तामा दुई पटक स्क्रव गराउनु पर्छ।
घरेलु उपचार : सप्ताहमा एक पटक स्टिम वाफ लिने। गोलभेंडाको रस कपासमा भिजाएर अनुहारमा लगाउने र करिब बिस मिनेट राख्ने। त्यसपछि अनुहार धुने। यसवाट पनि फाईदा हुन्छ। खानपानमा बोसो, गुलियो, फास्टफुड तथा मदिराको सेवन गर्नु हुँदैन। यसको सेवनले पनि छालामा नराम्रो प्रभाव पार्दछ।
होमियोप्याथिक उपचार : ओपनपोर्स अर्थात अनुहारको छालामा देखिने प्वालहरुको उपचारमा रोगीको मानसिक एवं शारीरिक लक्षणको आधारमा सफलतापुर्वक प्रयोग गरिने केहि औषधीहरु निम्नलिखित छन। (१) साईलिशिया- १२x शक्ति / यो औषधी त्यस्ता व्यक्तिको लागि उतम मानिन्छ जसको छाला हेर्दा मैलो देखिन्छ र ओपनपोर्स बरावर भईरहन्छ। (२) केलेन्डुला क्रिम – स्किन हिलिंगको लागि यो राम्रो औषधि हो। अनुहारका (रोमछिद्र) भर्न र बराबर (सम) गर्नको लागि यो क्रिम उत्तम मानिन्छ। (३) बरबेरिस क्रिम- यो क्रिम अनुहारको छालालाई स्वस्थ, चमकिलो, बनाउनमा बहुतै उपयोगी छ। यस बाहेक यस रोगमा प्रयोग हुने अन्य औषधीहरु- कालिवाइक्रोम, नेट्रम-म्युर, सलफर, हिपरसल्फ, ग्रेफाइटिस आदि पनि छन। औषधिहरुको प्रयोग आफ्नो नजिकको चिकित्सकको सल्लाह लिई गर्दा उपयुक्त हुन्छ।
अस्तु

थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ बेथे को साग !

काठमाडौँ — बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन पाउँदैन । आमाशयलाई बलियो बनाउँछ ।

 

बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा
बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन पाउँदैन । आमाशयलाई बलियो बनाउँछ ।
बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ । भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ ।
बेथे उमालेको पानीले कपाल पखाल्दा जुम्राबाट मुक्ति पाइन्छ । यसो गर्दा कपालसमेत स्वस्थ बनाउँछ । कपालको प्राकृतिक रंग यथावत् रहन्छ ।

घमाइलोमा हिँडाइ तनमनलाई स्वस्थ राख्ने सबैभन्दा सस्तो र सजिलो स्वस्थकर प्रयास हिँडाइ हो । -डा. ओममूर्ति अनिल

काठमाडौँ — मुटु रोगी वा यससम्बन्धी उच्च जोखिम भएकालाई जाडो याममा ‘मर्निङ’ वा ‘इभनिङ’ वाकले जोखिममा पार्न सक्ने हुन्छ । त्यही भएर त्यस्ता व्यक्तिहरूका लागि ‘घमाइलोमा हिँडाइ’ फाइदाजनक हुन्छ ।

भक्तपुरस्थित सिद्धपोखरीमा मर्निङवाक गर्दै स्थानीय बासिन्दा ।

मुटु रोगी वा यससम्बन्धी उच्च जोखिम भएकालाई जाडो याममा ‘मर्निङ’ वा ‘इभनिङ’ वाकले जोखिममा पार्नसक्ने हुन्छ । त्यही भएर त्यस्ता व्यक्तिहरूका लागि ‘घमाइलोमा हिँडाइ’ फाइदाजनक हुन्छ ।
ह्दयरोगीहरूको मुटुलाई चिसो मौसमले प्रभावित गर्ने भएकोले वातावरणको तापक्रम कम भएको समय घरबाहिर उपयुक्त लुगाफाटोबिना निस्कनु हुन्न । सामान्य स्वस्थ व्यक्तिको लागि मर्निङवाक फाइदाकारी मानिए पनि मुटुको समस्या भएकाहरूको लागि जाडोमा बिहान वा बेलुकाको हिँडाइले स्वास्थ्यसम्बन्धी जटिलता उत्पन्न गर्न सक्छ ।
जाडो याममा वातावरणको तापक्रममा आएको कमीले गर्दा बढी ह्दयाघात, उच्च रक्तचापलगायतका मुटुसम्बन्धी समस्या हुने गरेका छन् । यति हुँदाहुँदै यस्ता व्यक्तिले अहिलेको निकै चिसोमा समेत दिनहुँ शारीरिक रूपले सक्रिय रहनु स्वास्थ्यको लागि त्यतिकै आवश्यक हुन्छ ।
यसैले मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मुटुका बिरामीहरूलाई यो मौसममा मर्निङ वा इभिनिङवाकको सट्टा दिनहुँ घाम लागेपछि हिँड्न सल्लाह दिने गरेका छन् । यस्तो हिँडाइ दिनहुँ न्यूनतम आधा घण्टा हुनैपर्छ । हिँडाइ सबैभन्दा सहज र सस्तो स्वस्थकर प्रयास रहेको उनी बताउँछन् ।
‘मुटु रोगीको लागि नियमित व्यायाम ओखती जतिकै महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छन्, ‘तर चिसोमा बाहिर हिँडदा ज्यान जोखिममा पर्ने भएकोले यो मौसममा एकमात्र समाधान घाम लागेपछिको हिँडाइ हो ।’
तर शारीरिक स्वास्थ्यका लागि हिँडाइलगायत अन्य व्यायाम रोजेका मुटु रोगी वा मुटु रोगको उच्च जोखिममा रहेकाहरूले विशेषज्ञसँग आफूले दिनहुँ गर्ने हिँडाइलगायतका शारीरिक सक्रियताबारे सल्लाह लिनु आवश्यक हुन्छ ।
घाम लागेको बेला उपयुक्त लुगाफाटो, जुत्ता लगाएर स्वास्थ्यका लागि पैदल हिँडनु नै घमाइलो हिँडाइ रहेको आंैल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘व्यायामले तपाईंको मुटुको मांसपेशीलाई बलियो बनाउँछ । यसले छाती नदुखी, अन्य लक्षण नभई बढी सक्रिय रहन सघाउँछ ।’
एक्कासि हिँडाइमा निस्कनु विज्ञान सम्मत होइन । डा. ओममूर्ति हिँडाइमा निस्कनुअघि शरीरलाई तताउनु (वार्मअप गर्नु) पर्ने बताउँछन् । जीउलाई तन्काएर वा घुमफिर गरेर तपाईं आफूलाई तताउन सक्नुहुन्छ । यसो गर्दा मांसपेशीमा रक्तसञ्चार बढ्छ । यस्तै, हिँडाइ सकिनुभन्दा ५–७ मिनेट अगावैदेखि विस्तारै हिँडन थाल्नुपर्छ । यसले तपाईंको शरीरलाई शान्त हुन समय मिल्छ ।
व्यायामले रक्तचाप र कोलेस्ट्रोललाई कम गर्न सघाउन सक्छ । मधुमेह भए चिनी नियन्त्रण गर्नसमेत यो सहयोगी हुन सक्छ ।
अमेरिकास्थित नेसनल हार्ट लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार केही खास प्रकारको व्यायामले छातीमा एक्कासि दुखाइ (एन्जाइना) को प्रकरण ल्याउन सक्छ । तर अन्य प्रकारका शारीरिक गतिविधिको कोमल रूपले वास्तवमा तपाईंको मुटुको स्वास्थ्यलाई राम्रो पार्न सघाउँछ । यसैले यस्ता प्रकारका नियमित शारीरिक गतिविधि राम्रो मानिन्छ ।
जाडोले शरीरको गर्मी चोर्छ
हाम्रो मुलुकमा समतल मधेसदेखि पहाड हँुदै उच्च हिमाली क्षेत्रसमेत पर्ने भएकोले यहाँ जाडो याममा हिउँ, पानी, हावा अत्यन्त चिसोको अवस्थासँग जुध्नुपर्ने स्थिति देखिन्छ ।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार तापक्रममा कमीसँगै उच्च हावा, पानी, हिउँ पर्नुले समेत हाम्रो शरीरको गर्मीलाई चोर्छ । यसअन्तर्गत हावा मुख्य रूपले खतरनाक हो । किनभने यसले तपाईंको शरीरवरपर भएको तातो हावाको तहलाई हटाउँछ । ३० डिग्री फरेनहाइट तापक्रममा ३० माइल (४८.२८ किलोमिटर) प्रतिघण्टाका दरले बगेको हावाको चिस्याउने प्रभाव १५ डिग्री फरेनहाइट बराबर हुन्छ ।
यस्तैउस्तै तापक्रमको अवस्थामा नमी/गिलोपनाले शरीरबाट तातोपना सुक्खा मौसमको दाँजोमा छिट्टै हराउँछ । यसैले जाडो याममा शरीरलाई न्यानो राख्न विभिन्न तहमा लुगा लगाउनुपर्छ । अर्थात्, एक–दुइटा बाक्ला लुगा लगाउनुको सट्टा तीन/चारवटा पातलो लुगा लगाउनुले बढी न्यानो राख्छ । विभिन्न तहमा लुगा लगाउँदा यसले विभिन्न तहबीच हावालाई समात्छ र कुचालकको काम गर्छ । यस्तै यसले शरीरलाई चिसोबाट जोगाउन एउटा तहसमेत निर्माण गर्छ ।
जाडो याममा घरबाहिर निस्किँदा टाउको टोपी वा स्कार्फले छोप्नैपर्छ । टाउकोको माध्यमले तपाईंको शरीरको धेरैजसो तापक्रम गुम्छ । यस्तै कानसमेत जोगाउनुपर्छ भने हातखुट्टासमेत न्यानो राख्नुपर्छ । यो तापक्रम छिटो गुमाउने अंग हो ।
कति तापक्रम उपयुक्त ?
मानव शरीरको सामान्य भित्री तापक्रम ९७ डिग्री फरेनहाइटदेखि ९९ डिग्री फरेनहाइटको बीचमा हुन्छ । तर शरीरको औसत सामान्य तापक्रम ९८.७ डिग्री फरेनहाइट (३७ डिग्री सेन्टिग्रेट) हुन्छ । बिनाकुनै तातो पार्ने वा चिस्याउने यन्त्रको सहयोगले शरीरको यो तापक्रमलाई कायम राख्न हाम्रो शरीर छेउछाउको वातावरणको तापक्रम करिब ८२ डिग्री फरेनहाइट (२८ डिग्री सेन्टिग्रेड) हुनुपर्छ ।
‘हावा चलेको बेला बाहिर निस्किँदा यसले मुटु स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भएकोले साँझपख हावा चलेको समयमा बाहिर निस्कनु हुँदैन,’ डा. ओममूर्ति भन्छन्, ‘तपाईंले लगाउने लुगाफाटोले तपाईंलाई राम्रो देखिनका लागि मात्र हैन, तपाईंको शरीरलाई न्यानो राख्नसमेत त्यतिकै महत्त्वपूर्ण हुन्छ ।’
यति मात्र नभई जाडो याममा चिसो हावा बगिरहेको समय मास्क लगाएर निस्किए यसले प्रदूषणबाट जोगाउने मात्र नभई शरीरको गर्मीलाई कायम राख्नमा समेत सघाउने डा.ओममूर्ति औंल्याउँछन् ।
के गर्छ चिसोले ?
जाडो याममा मुटु र रक्तनलीमा विभिन्न प्रकारका नकारात्मक परिवर्तन आउँछन् । यस्तो प्रभाव मुख्यत: मुटु र रक्तबाहिनीसम्बन्धी (कार्डियोभास्कुलर) रोग भएकाहरूमा बढी मात्रामा देखिन्छ ।
विशेषज्ञहरूको अनुसार मुटु रोगीका लागि चिसो याम बढी घातक हुन्छ । चिसो याममा मुटु एवं रक्तसञ्चार प्रभावित हुन्छ । यो मौसममा रगतको बाक्लोपना बढ्छ । पातलो रगतको नली झन् साँगुरो हुन्छ । यसले रगतको दबाब बढ्छ र मुटुको चालमा समेत वृद्घि हुन्छ ।
जाडो याममा चिसो बढ्नुका साथै मुटुमा रगत आपूर्ति गर्ने कोरोनरी धमनीको भित्री सतहमा कोलेस्ट्रोल जम्छ । यसले धमनी साँगुरो र असमतल हुन्छ । जाडो याममा मुटुलाई कोरोनरी धमनीले पर्याप्त रगत आपूर्ति नगर्दा एनजाइना(मुटु दुखाइ) समेत हुन सक्छ ।
जाडोमा मुटुबाहेक मस्तिष्क र शरीरको अन्य अंगको धमनीसमेत साँगुरो हुन्छन् । यसले रगतको प्रवाहमा रोकावट आउनुका साथै रगत जम्ने डर हुन्छ । यसमा मुटुमात्र नभई मस्तिष्क र शरीरको अन्य अंगको पक्षाघात हुने सम्भावनासमेत बढ्छ ।
राजधानीमा मर्निङवाक जोखिमपूर्ण
नेपाल स्वास्थ्य अनुसन्धानपरिषद्द्वारा गरिएको एउटा अध्ययनअनुसार राजधानीमा मर्निङ वा इभिनिङवाक गर्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण छ ।
उपत्यकाको वायु प्रदूषण र श्वासप्रश्वासमा पर्ने असरबारे सन् २०१५ मा गरिएको उक्त अध्ययनअनुसार प्रदूषणको स्तर एकाबिहानैदेखि बढ्न थाल्छ । राजधानीमा वायु प्रदूषणको स्तर सबेरैदेखि बढ्दै बिहान ८/९ बजेतिर सबैभन्दा बढी हुन्छ ।
यस्तै साँझतिर पनि प्रदूषणको स्तर बढी हुन्छ । मर्निङवाक गर्नेहरूलाई उपत्यकाको वायु प्रदूषणले ‘हेल्थ थ्रेट’ दिइरहेको समेत अध्ययनले आंैल्याएको छ ।
हिँडाइअघि कसले सल्लाह लिनैपर्छ ?
  • हालै ह्दयाघात भएकाहरूले
  • हालै मुटुसम्बन्धी शल्यक्रिया वा उपचार गरेकाहरूले
  • मुटु कमजोर (हार्ट फेल्योर) र ब्लकेज भएकाहरूले
  • हालसालै मस्तिकाघात भएकाहरूले
  • मुटु रोगको उच्च जोखिममा भएकाहरूले
  • लामो समयदेखि मधुमेहको समस्या भई रक्तचाप अनियन्त्रित भएकाहरूले
  • हिँडदा छाती दुख्ने, सास फेर्न असजिलो हुनेहरूले

हातको स्पर्शले पीडा घटाउँछ

मंसिर २३, २०७४-माया र स्नेह दर्साउन पनि हामी अरूका हात स्पर्श गर्ने गर्छौं । यसो गर्नाले मुटु र श्वासको सम्बन्ध मिल्न गई पीडा कम हुने एउटा अध्ययनले देखाएको छ ।

साइन्टिफिक रिपोर्टमा प्रकाशित उक्त अध्ययन २२ जोडीको सर्वेक्षणबाट निकालिएको हो । अध्ययन परिणामअनुसार सँगै बस्ने दुई व्यक्ति अरूभन्दा कम पीडामा हुने गर्छन् । जब दुवै जना एकअर्काको हस्तस्पर्शलाई अनुभव गर्छन् त्यतिखेर उनीहरूको मुटुको सासको गतिसमेत समान हुन्छ ।

जब सँगै रहेर कुनै भावुक फिल्म हेर्छन् भने त्यतिखेर दुवैको मुटु र सासको गति पनि समान हुने अध्ययनले देखाएको छ ।

अनुसन्धानअनुसार, नेता र तिनको समर्थकबीच राम्रो तालमेल हुँदा उनीहरूको सोचाइमा पनि समानता हुन्छ । यस्तै यदि कुनै प्रेमिल जोडी साथै छन् भने उनीहरूको मुटु र मस्तिष्कको गति लगभग समान हुन्छ । प्रसव पीडामा रहेकी पत्नीको हात पतिले समात्दा पत्नीको पीडा घट्ने अनुसन्धानमा उल्लेख छ ।

 

मेरो श्रीमान् ३७ वर्षको हुनुभयो । हिजोआज उहाँलाई पहिलेको जस्तो शारीरिक सम्बन्धमा रुचि छैन । यस्तो किन भएको होला ? के यो उमेरका कारणले उत्पन्न समस्या त होइन ? 

मेरो श्रीमान् ३७ वर्षको हुनुभयो । हिजोआज उहाँलाई पहिलेको जस्तो शारीरिक सम्बन्धमा रुचि छैन । यस्तो किन भएको होला ? के यो उमेरका कारणले उत्पन्न समस्या त होइन ? 

          – ९००५ 

यौनेच्छाको सञ्चालन

मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसले यौनेच्छाको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले ।

यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पार्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसमा इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । तपाईंले भन्नुभएजस्तै यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ । यौन उत्तेजनाको स्रोत जे–सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ ।

किन कम रुचि ?

यौन क्रियाकलापमा राम्रोसँग र निरन्तर रूपमा संलग्न हुन एकातिर यौनेच्छा हुनुपर्छ भने अर्कातिर मानसिक एवं शारीरिक दुवै रूपमा यौनसम्पर्कका लागि तयार हुनुपर्छ ।

यौनेच्छा नै नहुने वा कम यौनेच्छा हुने स्थिति (hypoactive sexual desire) मा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनिहाल्न मिल्दैन, यदि दुवै जना यसमा सन्तुष्ट छन् भने ।

यौनेच्छा भए पनि शारीरिक रूपमा तयार छैन भने व्यक्तिले यौनसम्पर्क राख्न सक्दैन । यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोग–व्याधि लागेको वा दीर्घरोगको असर वा थकान यसका उदाहरण हुन् । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ जसले यौनक्रियाकलापमा नकारात्मक असर पार्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसको कारण हुन सक्छ ।

त्यसैगरी मानसिक कारणले पनि यौन क्रियाकलाप घटाउन सक्छ । तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग आदि यसका केही कारण हुन् । यसका साथै तपाईं र श्रीमान्को सम्बन्ध तनावपूर्ण भएको स्थितिमा पनि यौन चाहनामा नकारात्मक असर पर्छ ।

उमेरले यस्तो भएको हो कि ? 

हामीलाई थाहै भएको कुरा हो कि सबै व्यक्तिमा एकनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै व्यक्तिमा सधैं एकनासको यौनेच्छा हुँदैन । यौनेच्छा अनि यौन क्रियाकलापमा संलग्नतालाई उमेरले समेत प्रभाव पार्छ । तपाईंले आफ्नो उमेर कति भयो लेख्नुभएको छैन ।

किशोरावस्था अनि युवावस्थामा यौनेच्छा उच्च हुन्छ भने त्यसपछि केही कम हुन्छ । दुवैमा भएको यौनेच्छामा तालमेल नमिल्दा पनि यस्तो अनुभव टड्कारो रूपमा देखा पर्छ । ४० वर्षको हाराहारीमा पुग्दा किशोरावस्थाको जस्तो यौन सक्रियता रहँदैन, तर यो श्रीमतीलाई नै असर पर्ने किसिमको निष्क्रियता आउनुपर्ने समय पनि होइन ।

 

समाधान के होला ? 

व्यक्तिअनुसार यौन चाहना फरक भएजस्तै उनीहरूको यौन क्रियाकलापमा संलग्नता पनि फरक–फरक हुन्छ । यो स्वभाविक कुरा हो । यौनसम्पर्कका सन्दर्भमा पनि कसैले धेरै पटक सम्बन्ध राख्छन् भने कसैले थोरै । यस्ता फरकपनलाई स्वीकार गर्नुपर्छ ।

तपार्इं नै समस्यालाई नजिकबाट हेर्न सक्ने स्थितिमा हुनुभएकाले माथि उल्लेख गरिएका कारणहरूमध्ये यौनेच्छामा नै कमी भएको हो वा त्यसका शारीरिक वा मानसिक कारण छन् तपाईंले नै पहिल्याउनुपर्छ । कुनै पनि समस्या समाधानका लागि त्यसको कारण पत्ता लाग्नु जरुरी छ । यसमा चिकित्सक वा मनोरोग विशेषज्ञले पनि सहयोग गर्न सक्नुहुन्छ ।

सम्बन्धमा तिक्तता आएको भए त्यसलाई समाधान गर्ने प्रयास गर्नुपर्छ । तपाईंहरूबीचको सम्बन्धको न्यानोपन सुखमय यौन जीवनका लागि अपरिहार्य छ ।

एकनासेपनका कारणले यौनसम्बन्धमा रुचि नभएजस्तो लाग्छ भने नयाँ–नयाँ किसिमका यौन आसन वा यौन क्रियाकपापमा संलग्न भै प्रयोग गर्न सक्नुहुन्छ । दुई व्यक्ति अर्थात् श्रीमान्–श्रीमती दुवै संलग्न हुनुपर्ने भएकाले यसमा दुवैको सहमति एवं समझदारी पनि त्यत्तिकै आवश्यक छ ।

 

रुघाखोकी लाग्यो ? जँचाइहाल्नुस्, स्वाइन फ्लू पनि हुनसक्छ !

२३ साउन, पोखरा । के तपाईंलाई सामान्य भन्दा बढी नै ज्वरो आएको छ ? वा तीन दिनसम्म पनि ज्वरो घटेन र रुघाखोकी समेत लागिरहेको छ ? यदी यसो हो भने तपाईंलाई मौसमी रुघाखोकी (ईन्फ्लूएञ्जा) अर्थात स्वाइन फ्लू भएको हुनसक्छ ।

 

ईन्फ्लूएञ्जा ‘ए’.’बी’ र ‘सी’ गरेर तीन प्रकारका हुन्छन् । जसमध्ये ‘ए’मा पर्ने एचवानए संक्रमण भए संक्रमित व्यक्तिको ज्यानै पनि जानसक्छ ।

यो ईन्फ्लूएञ्जा’ए’ एचवानएनवान भाईरसलाई ‘स्वाइन् फ्लू’ पनि भनिन्छ । पहिले पहिले सुंगुरबाट सर्ने भएको यसलाई ‘स्वाइन् फ्लू’ भनिएपनि हाल आएर मान्छेबाट मान्छेलाई नै सर्ने भएकाले यसलाई मौसमी रुघाखोकी भन्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोलर याम बरालले बताए ।

यदी तपाईंलाई रुघा, खोकी र ज्वरो लगातार आइरहेको छ भने तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुहोस् । मौसमी रुघाखोकी भए/नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जाँच्ने गरिन्छ । जहाँ निःशुल्क रुपमा मौसमी रुघाखोकी जाँच्ने गरिएको भेक्टर कन्ट्रोलर बरालले जानकारी दिए ।

उनका अनुसार एक सय डीग्री भन्दा बढी ज्वरो लगातार आइरहे वा रुघाखोकी लागेको छ भने बिना टिकट लार्इन नबसी जाँच्ने ब्यबस्था गरिएको छ ।

यो जाँच्न करिव १० मिनेट लाग्ने उनले बताए । मौसमी रुघाखोकी जाँच्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एच वानएनवान भने पत्ता लाग्दैन ।

त्यहाँ मौसमी रुघाखोकी भए/नभएको र त्यसमा ‘ए’, ‘वि’ र ‘सी’ मध्ये कुन प्रकारको मौसमी रुघाखोकी हो भन्ने मात्र खुल्ने बरालले बताए । मौसमी रुघाखोकीको ईन्फ्लूएञ्जा ‘ए’ प्रकारमा पर्ने एचवानएन वान जाँच्न भने काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

उनका अनुसार ईन्फ्लूएञ्जा’ए’ एचवानएनवान जाँच्नका लागि ‘सिँगान’ पठाइने र एक हप्तामा रिपोर्ट आउने गरेको छ ।

हालसम्म १०४ जना संक्रमित

पश्चिमाञ्चलमा ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट हालसम्म १०४ जना संक्रमित भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट परीक्षणका लागि पठाइएका २२८ जना मध्ये १०४ जनामा संक्रमण देखिएको बरालले जानकारी दिए । यो परीक्षणका लागि पठाइएको संख्याको ४५.६१ प्रतिशत हो ।

पछिल्लो क्रमलाई हेर्ने हो भने ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवान संक्रमितको संख्या झन् बढ्दै गएको छ ।

पछिल्लो हप्ता मात्रै ६० जनाको परीक्षणका लागि पठाएकोमा ४१ जनामा संक्रमण देखिएको उनले बताए । यो कुल पठाइएको मध्ये ६६.६६ प्रतिशत हो ।

संक्रमित मध्ये पोखराका ३ जनाको ज्यान गइसकेको उनले बताए । संक्रमित मध्ये करिव ७० प्रतिशत पोखराका मानिसहरु रहेको बताउँदै प्रभावित क्षेत्रको बारेमा भने अनुसन्धान भइरहेको बताए ।

३ को मृत्यु

मौसमी ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट पोखरामा ३ जनाको मृत्यू भइसकेको छ । मृत्यु भएकाहरु पोखराबाट थप उपचारका लागि काठमाडौं रिफर भएका बिरामी हुन् । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ का एक पुरुष, पोखरा १५ की एक महिला र १७ की एक महिलाको मृत्यू भएको भेक्टर कन्ट्रोलर वरालले जानकारी दिए ।

वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी खतरा

मौसमी रुघाखोकी वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी लाग्ने गर्दछ । उमेर पाको हुँदै गएकाहरु, वालवालिका र गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई लाग्ने सम्भावना बढी हुने र खतरा पनि हुने भेक्टर कन्ट्रोलर बरालले बताए ।

तथ्यांक अनुसार बिरामी भएका मध्ये २० देखि ३० प्रतिशत वालवालिका र करिव १० प्रतिशत बृद्धबृद्धा संक्रमित भएको पाइएको छ । बच्चामा पनि २ देखी ५ वर्षसम्मका वालवालिका बढी संक्रमित हुने खतरा रहने वरालले बताए ।

के हो मौसमी रुघाखोकी ?

यो रुघाखोकी भाईरसबाट सर्ने सरुवा रोग हो । सामान्य रुघाखोकी जस्तै यो पनि मौषमी हुन्छ । जाडो सुरु हुने बेला, जाडो सकिने बेला, गर्मी सुरु हुने बेला र गर्मी सकिनेबेला मौसमी रुघाखोकी लाग्ने गर्दछ ।

मौसमी रुघा खोकी लागेको बेला रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, बच्चालाई लागेको भए झाडा पखाला लाग्ने लगायतका लक्षण देखिने भेक्टर कन्ट्रोलर बरालले जानकारी दिए ।

रुघा लागेको ३ दिनसम्म ज्वरो घटेन वा १०० डीग्री भन्दा धेरै ज्वरो आईरहेमा तथा रुघा र खोकी लागिरहेमा मौसमी रुघाखोकी लागेको हुनसक्छ । सामान्य खालको मौसमी रुघाखोकी घरमा आफैपनि निको हुनसक्ने उनले बताए । विरामीको रोग प्रतिरोधात्मक क्षमता कति छ त्यसमा निको हुने/नहुने भर पर्ने उनले बताए ।

कसरी सर्छ ?

मौसमी रुघाखोकी विरामीले हाँछ्यू गर्दा, विरामीको एक मिटरसम्म नजिक बसेको व्यक्तिलाई हावाको माध्यमबाट सर्दछ ।

त्यस्तै, विरामीले प्रयोग गरेको रुमाल, तौलिया, चश्मा, मोवाइल, कम्प्युटर, ल्यापटप प्रयोग गर्दा, विरामीसँग हात मिलाउँदा, जुठो खाँदा यो रोग सर्न सक्छ । यसको भाईरस विरामीले छोएको ठाउँमा चिसो छ भने केही दिनसम्म रहन्छ भने तातो ठाउँमा करीब १० मिनेसम्म बाँच्न सक्छ ।

यो रोग लाग्दैमा मान्छेको मृत्यु नभएपनि लापर्वाही र ढिलो उपचारका कारण मृत्यु हुने उनले बताए । यद्यपि उपचार हुँदाहुँदै पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका विरामीको मृत्यु हुनसक्ने खतरा भने रहने उनले प्रष्ट्याए

कसरी बच्ने ?

मौसमी रुघाखोकीबाट बच्न खोक्दा, हाँछ्यू गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गर्नुपर्छ ।

साबुन पानीले मिचिमिची हात धुने, पोषिलो र झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउने गर्नुपर्छ । त्यस्तै, ज्वरो आएको व्यक्ति नगुम्सिएको तथा हावा ओहोरदोहोर हुने कोठामा बस्नुपर्छ ।

विरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजानु उत्तम हुन्छ । घरेलु विधीबाट उपचार गर्दा पनि निको नभएमा पश्चिमाञ्चलका विरामी भए पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएर जाँच्नुपर्छ ।

विरामी व्यक्ति वा शंकास्पद व्यक्तिसँग सकभर सँगै नबस्ने, आँखा नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, सकभर अर्का व्यक्तिसँग हात नमिलाउने बरु नमस्कार गर्ने, अरुले प्रयोग गरेको रुमाल, तौलिवा वा कपडा प्रयोग गर्न नहुने भेक्टर कन्ट्रोलर वरालले बताए ।

यो रोग लाग्दैमा डराईहाल्नु भने नपर्ने भेक्टर कन्ट्रोलर वरालले बताए । बरु सतर्कता र सावधानी भने अप्नाउन उनले सुझाव दिए ।

सचेत सहन जनस्वास्थ्य कार्यालयको अपील

मौसमी रुघाखोकी र ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट जोगिन जिल्ला जनस्वास्थ्यले सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले संक्रमितको संख्या बढ्दै गएपछि कार्यालयले कर्मचारीलाई विदा नलिन र काजमा नछाड्न सम्पूर्ण कार्यालयलाई परिपत्र गरेको भेक्टर कन्ट्रोलर बरालले बताए ।

त्यस्तै, महानगरपालिका तथा गाउँपालिकाहरुलाई सर्तकता अप्नाउनका लागि सूचना प्रकाशन र नियन्त्रण तथा रोकथामको प्रयास गर्न पनि निर्देशन दिइएको उनले बताए ।

उनले कास्कीमा सबै ठाउँमा औषधी पर्याप्त रुपमा रहेको र अभाव हुने सम्भावना नरहेको दाबी गरे ।

संक्रमितको संख्यामा कमी नआए केही दिनभित्रै विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको उनले बताए ।

अहिले नै विद्यालय बन्द गर्दा मान्छे आतंकित हुने र नकारात्मक सन्देश जाने भएकाले आफूहरुले हतारमा निर्णय नगरेको तर संक्रमित संख्या बढ्दै गएमा त्यसतर्फ पनि निर्णय गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।

source : onlinekhabar