Home / बिचार/ब्लग / मोदीले गुमाए, पाकिस्तानले जित्दा नेपालमा खुशीयाली प्रदीप गिरीदेखि पशुपति समशेरसम्म, कसले भारतीयलाई के भने ?

मोदीले गुमाए, पाकिस्तानले जित्दा नेपालमा खुशीयाली प्रदीप गिरीदेखि पशुपति समशेरसम्म, कसले भारतीयलाई के भने ?

६ साउन, काठमाडौं । भारतका चर्चित पूर्वसांसद मणिशंकर ऐयर दोस्रो चरणको स्थानीय निर्वाचन हुनै लाग्दा सुटुक्क काठमाडौं आएका थिए । ऐयरले नेपालमा विभिन्न दलका नेताहरु र बुद्धिजीवीसँग भेटघाट गरे । दोस्रो चरणको निर्वाचन हुने दिन दिल्ली फर्किएका उनले हालै एउटा सनसनीपूर्ण ‘काठमाडौं डायरी’ सार्वजनिक गरेका छन् ।

 

एनडीटीभीमा प्रकाशित लामो लेखमा ऐयरले मधेसी दलको कडा आलोचना गरेका छन् । नेपाल-भारत सम्बन्धबारे चर्चा गर्दै उनले मोदी सरकारले विगतमा लगाएको नाकाबन्दीको चर्को विरोध गरेका छन् । मोलीले नेपालमा सदभावना गुमाएको उनको निश्कर्ष छ ।

आफूसँगको भेटमा कुन नेपाली नेताले भारत र चीनबारे के कस्ता कुराहरु गरे भन्नेबारे यी भारतीय नेताले फेहरिस्थ नै उतारेका छन् । ऐयरको उक्त लेखकको नेपाली अनुवाद यस्तो छः

अनिल झाले केके भने…

मधेसी नेता अनिलकुमार झाले मुख फोरेर भने, ‘तपाईं काठमाडौं पक्षधर र मधेसी विरोधी हो ।’

नेपालमा मोदी सरकारले लगाएको नाकाबन्दीको आलोचना गर्दै २०१५ को डिसेम्बरमा राज्यसभामा मैले गरेको भाषणलाई उनी ईंगित गर्दै थिए । उक्त भाषणले मलाई नेपालमा क्षणिक लोकप्रियता दिलाएको थियो, जसलाई स्थानीय मिडियाहरुले व्यापक कभरेज गरेका थिए भने सामाजिक सञ्जालमा पनि निकै सेयर भएको थियो ।

त्यसैको परिणामस्वरुप अघिल्ला उपप्रधानमन्त्री तथा अहिले नेपाली कांग्रेसका एक प्रमुख नेता विमलेन्द्र निधिले मलाई नेपाली राजनीतिबारे विचार आदान-प्रदानमा एक साता बिताउने गरी आफ्नो देशमा निम्तो गरे ।

राजनीतिको एउटा ध्रुवमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) देखि अर्को ध्रुवमा नेकपा एमालेसम्म तथा तिनीहरुका बीचमा अलिकति देब्रेतिर ढल्किएको नेकपा माओवादी केन्द्र र अलिकति दाहिनेतिर ढल्किएको नेपाली कांग्रेससँग समेत मैले (काठमाडौंमा) छलफल गरेँ । साथै केही साना पार्टीहरु, पत्रकारहरु, टिप्पणीकारहरु तथा बुद्धिजीवीसँग पनि म बसेँ ।

मोदीले सन् २०१४ को नोभेम्बरमा सार्क सम्मेलनका लागि नेपाल आउने क्रममा जनकपुरमा आयोजित एउटा विशाल सभालाई सम्वोधन गरेपश्चात मधेसी केटीहरु (उनीहरुमध्ये धेरैले बिहारी पति पाउने सम्भावना रहन्छ) लाई हजारौंको संख्यामा साइकल वितरण गरेर बिहारको चुनावलाई प्रभाव पार्ने अवसर नेपालको सरकारले तुहाइदिएको झोक निकाल्न खोजे

झालाई मैले लुलो जवाफ दिएँ, ‘होइन, होइन, म नेपाल पक्षधर मात्र हुँ ।’

तर, झाले मुख चपाएर कुरा गरिरहेका थिएनन् । उनले तराईका मानिसहरुलाई भेदभाव गरिएको, एउटै आवाजमा बोल्न नदिएर विभाजित गरिएको, उनीहरु छिमेकी भारतसँग रोटी-बेटीको सम्वन्धमा भएकै कारणले समान प्रजातान्त्रिक अधिकारबाट वञ्चित गरिएको, जनसंख्याको अनुपातमा प्रतिनिधित्वको सिद्धान्तलाई लत्याएर उनीहरुलाई संसदमा उचित स्थान नदिइएको, मधेसी आवाजलाई विभाजित गर्न प्रान्तहरुको जातीय संरचनामा एकरुपतालाई इन्कार गरिएको र प्रशासनिक तथा कूटनीतिक क्षेत्रका उच्च पदहरुमा समानुपातिक प्रतिनिधित्व हासिल गर्ने उनीहरुको प्रयासलाई असफल पारिएको जस्ता कुराहरु गरे ।

यसका अतिरिक्त अंगीकृत नागरिकहरुलाई न्यायिक तथा सुरक्षा बल लगायत राजनीतिक र संवैधानिक कार्यालयका प्रमुख पदहरुमा जानबाट रोक्न संवैधानिक प्रावधान लागू गरिएको पनि उनले उल्लेख गरे । उनले यो पनि भने कि नेपाली नागरिकसँग बिहे गर्ने भारतीयहरुले नेपाली नागरिकता प्राप्त गर्न नयाँ शर्तहरु लागू गरिएको छ ।
‘हाम्रा यी मानवीय चिन्ताहरुलाई भारतले मात्रै बुझ्न सक्छ, तर तपाईं तराईका नागरिकहरुमाथि दमनमा जिम्मेवार काठमाडौंका नेता तथा पहाडिहरुको मतियार बन्नुभएको छ,’ उनले भने ।

झा बोल्दै गए, ‘नेपाल राष्ट्रहरु र राष्ट्रियताहरुको एउटा समूह हो र राजपाका विरोधीहरु शक्तिमा रहिरहनका लागि यी राष्ट्रियताहरुलाई एक आपसमा द्वन्द्वरत राख्न तल्लीन छन् ।’

मधेसीहरु देशको विभाजन चाहँदैनन् भन्नेमा झाले जोड दिए । उनीहरुको पार्टीको नाममै नेपाल जोडिएको र नेपाली झण्डा फहराइएको उनले उल्लेख गरे । ‘तर अहिले लागू गरिएको संविधान हामीलाई पूर्णरुपमा अस्वीकार्य छ,’ झाले भने, ‘हामी अहिले आफ्ना चासोहरुको सम्वोधनका लागि संविधान संशोधनको माग गरिरहेका छौं । तर मधेसीका मागहरुलाई पन्छाएर संविधानको कार्यान्वयन द्रुत गतिमा अगाडि बढिरहेको छ ।’

उदाहरणका रुपमा झाले दाबी गरे कि ५ नम्बर प्रदेशमा स्थानीय जनसंख्याभन्दा बढी सुरक्षाकर्मीहरु खटिएका छन् (यद्यपि, मेरा अन्य वार्तालापहरुमा यो दाबी झूटो ठहरियो) ।

झाका अनुसार मधेसीले राखेका मागहरु न्यूनतम हुन् । यी मागहरुको सम्वोधन गर्ने बाटो भनेको संविधान संशोधन नै हो । ‘संविधान संशोधनको बाटो एकदमै सरल र सहज छ,’ उनले भने, ‘तैपनि यो काम किन हुन सकेको छैन ?’

अहिलेको देउवा सरकारसँग दुई तिहाई बहुमत नभएकाले संविधान संशोधन हुन सक्दैन भन्ने तर्क बकवास भएको झाले बताए । यदि देउवा र प्रचण्ड गम्भीर भएर लागे भने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउन सक्ने झाको भनाइ थियो ।

‘यदि आउँदो माघ ७ भित्रै स्थानीय तह, प्रदेश र संसदको चुनाव भएको खण्डमा संविधान संशोधनको ढोका नै बन्द हुन्छ भन्ने चिन्ता मधेसी दलहरुलाई छ,’ झाले भने, ‘त्यसैले राजपाले निर्वाचन बहिष्कार गर्ने र आफ्ना समर्थकहरुलाई भोट नहाल्न आह्वान गर्ने निर्णय लिएको हो ।’

प्रदीप गिरीले लगाएको आरोप

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मलाई भने कि नेपालमा प्रत्यक्ष हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेर मैले आधारभूत रुपमा गल्ती गरेँ । उनले भने, ‘यो असम्भव छ । भारत हाम्रो निकट छ, यसले हामीलाई प्रभावमा राखेको छ, त्यसैले उ हाम्रो मामलाबाट अलग हुनै सक्दैन ।’

‘आफैंले सुरु गरेको प्रक्रियाबाट भारत अहिले कसरी भाग्न सक्छ ?’ गिरीले प्रश्न गरे ।

उनले यो पनि भने कि नेपालमा २००३ सालदेखि जेजति महत्वपूर्ण घटना भएका छन्, सबैमा भारत संलग्न छ । (उनले २००३ साल नै किन भने भन्ने लागेको थियो, तर मैले सोधिनँ ।)

साथै उनले विगतमा नेपाल र भारतबीच एक किसिमको ‘सम्झौता’ भएको उल्लेख गर्दै भने, ‘यसलाई भारतले अहिले इन्कार गर्न पाउँदैन ।’

गिरी बोल्दै गए, ‘उक्त सम्झौतालाई राजा महेन्द्रले १७ सालमा फ्याँकिदिए (जब भारत सरकारसँग महेन्द्रको टकराव परेको थियो) । तर, नेपालमा गणतन्त्र ल्याउने क्रममा भारतसहित हामी सबै एकै ठाउँमा आयौं ।’

मैले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थिएँ, जसले संसदमा दुई तिहाई बहुमत जुटाएर संविधान संसोधन गर्न आफू इच्छुक रहेको बताए । यो काम अहिले सम्भव नभए चुनावपछि हुने उनको भनाइ थियो ।

यसैगरी मैले माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेँ । उनले भने कि समझदारीको बिन्दू पत्ता लगाउन एमाले र मधेसीहरुलाई एक ठाउँमा ल्याउने चुनौति छ, जसले संविधान संशोधनलाई सहजीकरण गर्नेछ ।

एमालेको विचार बुझ्दा

मैले मधेसीको विचार पहिल्यै बुझिसकेको थिएँ । अब मेरो सबैभन्दा टड्कारो आवश्यकता भनेको एमाले नेतृत्वलाई भेट्नु थियो । तर, दुर्भाग्यवस त्यतिबेला दोस्रा चरणको चुनाव नजिकै आएको थियो र एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेताहरु काठमाडौं बाहिर थिए ।

यद्यपि, यसबीचमा मैले एमाले महासचिव ईश्वर पोखरेलको अन्तरवार्ता एउटा अंग्रेजी दैनिकमा पढ्न पाएँ । अन्तरवार्तामा उनले एमालेलाई मधेसविरोधी भनेर लाग्ने गरेको आरोपको खण्डन गरेका थिए ।

‘एमाले मधेसमै जन्मिएको र हुर्किएको पार्टी हो,’ पोखरेलले भनेका थिए । उनले मधेस र मधेसी जनताको हितमा एमालेको सरकारले के-के काम गर्‍यो भनेर लामो फेहरिस्त पनि प्रस्तुत गरेका थिए । ‘हामी एउटा कुरामा स्पष्ट छौं,’ उनले भनेका थिए, ‘मधेसका जनताहरु राष्ट्रवादी छन् र नेपालको दक्षिणतर्फको सीमा रक्षा गरेर बसेका छन् ।’

संविधान संशोधनको विषयमा उनले भने, ‘हामीले संविधान संशोधन गर्नै हुँदैन भनेका छैनौं, यति मात्र भनेका छौं कि संशोधनको औचित्य पुष्टि हुनुपर्छ ।’

समस्याको चुरो के छ भने एमाले बाहेकका शक्तिहरु संविधान संशोधनको औचित्य देख्छन् तर एमाले देख्दैन । तर, पोखरेलका शब्दमा, एमाले संविधान एउटा गतिशील र परिवर्तनीय दस्तावेज हो भनेर मान्छ ।

साइकल बाँड्न वञ्चित मोदी

विदेश सचिव र सुरक्षा सल्लाहकारको कथित टिप्पणीको आधिकारिकता जे भए पनि तथ्य के हो भने मोदीले आफ्नो सपथग्रहण लगत्तै नेपाल भ्रमण गर्दा यहाँको संसदमा चिप्लो भाषण गरेर कमाएको लोकप्रियता नाकाबन्दी चकनाचुर पारिदिएको छ

त्यसोभए भारतले यो विषयलाई केलाउने र सल्टाउने जिम्मा नेपालीहरुकै हातमा छोडिदिनुपर्ने होइन ?

यसको जवाफ हुन्छ, ‘हो’, यदि हामीले नेपाल एउटा सार्वभौम, स्वतन्त्र राज्य हो भन्ने तथ्य बिर्सिएनौं भने । तर, मोदीले सन् २०१४ को नोभेम्बरमा सार्क सम्मेलनका लागि नेपाल आउने क्रममा जनकपुरमा आयोजित एउटा विशाल सभालाई सम्वोधन गरेपश्चात मधेसी केटीहरु (उनीहरुमध्ये धेरैले बिहारी पति पाउने सम्भावना रहन्छ) लाई हजारौंको संख्यामा साइकल वितरण गरेर बिहारको चुनावलाई प्रभाव पार्ने अवसर नेपालको सरकारले तुहाइदिएको झोक निकाल्न खोजे ।

संविधानसभामा रहेका मधेसी सदस्यहरुको अत्यधिक बहुमतले भोट हालेको संविधानलाई मधेसीहरुको मागको प्रतिरक्षा गर्ने बहानामा उनले रोक्न खोजे र विधिपूर्वक संविधान पारित भइसकेपछि आफ्ना विदेश सचिव एस जयशंकरलाई संविधान जारी गर्न रोक्ने कार्यभारका साथ विशेष दूत बनाएर नेपाल पठाए ।

नेपालमा जयशंकरको व्यवाहार र शैली ‘लर्ड कुर्जोन’ को जस्तो देखियो । हामी कल्पना गर्न सक्छौं, यदि २६ जनवरीमा लर्ड माउन्ट ब्याटन भारत फर्केर दुई दिनअघि २४ जनवरी १९५० मा यहाँ जारी भएको संविधानको घोषणा रोक्नलाई आदेश दिएको भए हामी के गथ्र्यौं ?

नेपालले आफ्नो आदेश नमानेको झोंक उतार्न मोदीले हठधर्मी र चुनावमा पराजित मधेसी शक्तिहरुसँग मिलेर नेपालमाथि ‘अमानवीय’ नाकाबन्दी थोपरे । यसले भारतबाट नेपाल आउने अत्यावश्यक सामानहरु महिनौंसम्म अवरुद्ध भए । तर, अन्ततः यो नाकाबन्दी बाफ बनेर उड्यो ।

नेपाल र भारत सम्वन्धका जानकार हरी शर्माले विश्वस्त सूत्रलाई उद्वृत गर्दै मसँग भने, ‘जयशंकरले नेपालका प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेका थिए, मोदीलाई मनमोहन सिंह जस्तो नसम्झिनुस् ।’

यसैगरी मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले जनकपुरको प्रस्तावित सभा रद्द गरिएबाट मोदी क्रुद्ध बनेको जानकारी गराएका थिए । शर्माले निस्कर्ष सुनाए, ‘मोदी ठुस्किरहेका छन् ।’

मोदीको साख गिर्‍यो

नेपालीहरुले नाकाबन्दीको पीडा अझै भूलेका छैनन् । मैले सुनेअनुसार हालै सम्पन्न भएको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराउँदा नेपालमा व्यापकरुपमा खुशी मनाइयो ।

विदेश सचिव र सुरक्षा सल्लाहकारको कथित टिप्पणीको आधिकारिकता जे भए पनि तथ्य के हो भने मोदीले आफ्नो सपथग्रहण लगत्तै नेपाल भ्रमण गर्दा यहाँको संसदमा चिप्लो भाषण गरेर कमाएको लोकप्रियता नाकाबन्दी चकनाचुर पारिदिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर राणाले भने कि मोदीको असाधारण रुपमा सफल भ्रमण तथा भूकम्पपछिको शिघ्र र आक्रामक सहायताले नेपालमा पारेको प्रभावलाई नाकाबन्दीले खण्डित तुल्याइदिएको छ । नाकाबन्दीको आक्रोश तराईमा बिस्तारै मत्थर भए पनि पहाडमा भने नघटेको उनले बताए ।

पूर्वप्रधानमन्त्री तथा माओवादीबाट निस्केर आफ्नै पार्टी नयाँ शक्ति गठन गरेका नेता डा. बाबुराम भट्टराईले बीपी कोइराला र जवाहरलाल नेहरुका दिनहरु सम्झिए, जब नेपाली नेताहरुको भारतीय समकक्षीसँग सुमधुर सम्वन्ध थियो । तर, राजतन्त्रले यो सम्वन्ध भत्काइदिएको उनले बताए ।

भट्टराईले दुःख मान्दै भने कि नेपाली नेताहरुको अहिले मोदीसँग कुनै सम्वन्ध छैन । ‘मोदी राम्रो नियतले काठमाडौं आउनुभएको थियो र संसदमा उत्कृष्ट भाषण गर्नुभयो । तर, त्यसपछिका उहाँ नेपालको धरातलीय यथार्थप्रति बेखबरजस्तो देखिनुभयो । त्यसैले उहाँले मधेसीहरुको इस्यूमा माइक्रोम्यानेजमेन्ट गर्न खोजेर एक वर्ष समय खेर फाल्नुभयो । अन्त्यमा मधेसीहरुले पनि उहाँबाट धोका पाएको महसुस गरे,’ भट्टराईले भने ।

राजपालाई पैसा र सल्लाह !

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार भारतले नेपालमा नाकाबन्दी लगाउनु गम्भीर भुल थियो भन्ने महसुस गरेको छ । तर, भारतीय एजेन्सीहरुले स्थानीय तहको निर्वाचनमा भाग नलिनका लागि राजपालाई पैसा र सल्लाह दिइरहेका छन् । ‘राजपा दिल्लीको सल्लाहमा चल्दै आएको छ, तर दिल्ली आफैंमा विभाजित छ,’ उनले भने ।

नयाँ आएका भारतीय राजदूत विगतका राजदूतहरुभन्दा कम हस्तक्षेपकारी छन् भन्ने विश्वासले नेपालीहरुलाई अलिकति राहत दिएको छ । नयाँ राजदूतले राजपाको बहिष्कारका बाबजुद मधेसीहरुलाई स्थानीय चुनावमा भाग लिन प्रोत्साहन गरेका थिए ।

सिक्किम-भुटान-चीनको त्रिदेशीय सिमानामा हाल जारी तनावका बीच अहिले हाम्रो सबैभन्दा चिन्ताको विषय भनेको नेपाल र चीनको सम्वन्धमाथि मोदीको ‘गेम’ ले निम्त्याउन सक्ने प्रभाव हो । नेपालका प्रधानमन्त्री देउवा भन्छन्, ‘चीनसँग नेपालको सम्वन्ध राम्रो छ तर, विशेष छैन ।’ उनी थप्छन् कि चीनसँगको राम्रो सम्वन्धले नेपालको सुरक्षालाई मजबुत बनाउँछ तर, यो सम्वन्ध कहिल्यै नेपाल र भारतको सम्वन्धजस्तो न्यानो हुन सक्दैन ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि आश्वस्त पार्छन्, ‘भारतविरोधी सेन्टिमेन्टलाई प्रयोग गरेर नेपालले चीनसँगको सम्वन्धलाई बढी मजबुत बनाउन वा भारतसँगको सम्बन्धलाई कमजोर बनाउन खोज्ने छैन ।’

उनी थप्छन्, ‘हामी सबैसँग राम्रो सम्बन्ध कायम गर्न इच्छुक छौं, तर भारतसँगको सम्वन्ध बढी महत्वपूर्ण र अनिवार्य ठान्छौं ।’

सी जिनपिन हस्तक्षेपकारी ?

राप्रपा नेता पशुपतिशम्शेर राणाको नजरमा चिनियाँ राष्ट्रपति सी जिनपिन अलि हस्तक्षेपकारी छन् । र, यो नेपालसँगको सम्वन्धमा झल्किएको छ ।

‘पहिले चीनले नेपालको आन्तरिक मामलामा कहिले पनि हस्तक्षेप गर्थेन,’ राणाले भने, ‘तर अहिले यो विस्तारै परिवर्तन हुँदैछ । तिब्बतको रेल्वे सिगात्सेसम्म आइसकेको छ र अबको तीनदेखि चार वर्षमा यो काठमाडौं नजिकसम्म आउनेछ । पछि सायद लुम्बिनीसम्म पुग्ला । नेपालमा चीनको लगानी भारतको भन्दा बढी छ र नेपालीहरुलाई चिनियाँ भाषा तथा संस्कृति सिकाउने स्कुलहरु बढिरहेका छन् । (यो पनि जोड्नु आवश्यक छ कि नेपालको चीनसँग दैनिक हवाई सम्पर्क भारतसँगको भन्दा निकै बढी छ ।) त्यसैले बदलिएको परिप्रेक्षमा भारतले नेपालमा आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ । यो अहिलेको प्रमुख आवश्यकता हो ।’

अन्ततः म एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेट्न सफल भएँ । उनले आफ्नो भनाइ प्रष्ट शब्दमा राखे, ‘हामी प्रो-चाइना वा एन्टी इन्डियन होइनौं । तर, हामी भारतको हातमा चाहिँ छैनौं ।’

उनले भनेको सही हो । भुपरिवेष्ठित नेपाललाई भारतले तीन साइडबाट घेरेको छ, तर चौथो साइडमा चीन छ ।

‘हामी स्वतन्त्र हौं । हाम्रो आफ्नो सार्वभौमसत्ता छ । हाम्रो आफ्ना अन्तर्राष्ट्रिय अधिकारहरु छन् । हामी ‘ल्यान्ड लक्ड’ हौं, तर, अब ‘ल्यान्ड लिंक्ड’ हुन चाहन्छौं । हामी किन चीनसँग व्यापार तथा पारवहन सन्धि गर्न सक्दैनौं ?’ पोखरेलले प्रश्न गरे ।

अन्त्यमा उनले भारत र नेपाल मिलेर अघि बढ्नुपर्ने, एक-अर्काप्रति खुलस्त हुनुपर्ने, दुवैले दुवै पक्षको कुरा सुन्नुपर्ने र एक-अर्काको संवेदनशीलतालाई ख्याल राख्नुपर्नेमा जोड दिए ।

बुद्धीजीवीहरुको राय

म सोच्छु कि यसले नेपालसँग परिपक्वताको सम्वन्ध विकास गर्नुपर्छ, जसले नेपाललाई एउटा संरक्षित राज्य वा चीनका विरुद्ध बफरको रुपमा होइन कि आफ्नो स्वार्थ राम्रोसँग बुझेको, एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रको रुपमा व्यवहार गर्छ र जसले विश्वास गर्छ कि यो भारतको अधीनमा रहेको नेपाल होइन, यो नेपाल हो, जसले भारतको उत्तरतिर रहेको सच्चा साथीका रुपमा आफ्नो शीर उच्च राख्छ ।

राजनीतिज्ञहरुभन्दा विश्लेषकहरु खुलेर कुरा गर्छन् ।

राजनीतिक विश्लेषक सिके लालले भने, ‘भारत नेपालीहरुलाई अनादर गर्छ । विशेष गरी राजनीतिज्ञहरुलाई । भारत सोच्छ कि उनीहरुलाई खरिद गर्न सकिन्छ ।’

हरि शर्मा यसमा थप्छन्, ‘भारत-नेपालका हरेक अन्तरक्रिया नेपालको मुद्दामा केन्द्रित हुन्छन्, जुन हाम्रो लागि शर्मनाक अनुभव हो ।’

युवराज घिमिरे अझै अगाडि बढ्दै भन्छन्, ‘नेपालको चीनसँग बढ्दो निकटता भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाउनुको एउटा कारण हो ।’

‘भारतले के बुझ्नु आवश्यक छ भने,’ हरि शर्मा भन्छन्, ‘नेपाल र चीनबीचको सम्वन्धलाई ठूलो प्रक्रियाको सन्दर्भमा हेरिनु आवश्यक छ, जसमा नेपाल चीनको वान बेल्ट वान रोड परियोजनाबाट लाभान्वित हुन चाहन्छ, चाहे यसमा भारतको रिजर्भेसन किन नहोस् ।’

नेपाली कांग्रेसका पूर्वमन्त्री नविन्द्रराज जोशी भन्छन्, ‘बटमलाइन के हो भने, हामीसँग संविधान छ र यो कार्यान्वयन भइरहेको छ । यसका अतिरिक्त, संविधान लचिलो छ र आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ ।’

सबैको कुरा सुन्दा मोदीले मधेसीको रक्षक बनेर बुरुक्क उफ्रिनुपर्ने कुनै कारण छैन । नेपालीहरु आफैं उनीहरुका कामबारे सचेत छन् ।

चुनावी परिणामको सन्देश

म फर्केको दिन २८ जूनमा नेपालमा दोस्रो चरणको स्थानीय चुनाव भयो । उक्त चुनावमा ७३.७ प्रतिशत मत खस्यो । जबकि राजपाले चुनाव बहिष्कारको आह्वान गरेको थियो । राजपाका थुप्रै राष्ट्रिय तथा स्थानीय नेताहरुले आफ्नो नेतृत्वको आदेश उल्लंघन गरे र चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा खडा भए ।

यो चुनाव एमालेको पक्षमा गयो । मधेसमा पनि एमाले पहिलो पार्टी भयो, जून ठूलो आश्चर्य थियो । कांग्रेस दोस्रो स्थानमा धकेलियो भने माओवादी केन्द्र तेस्रो स्थानमा ।

भारतले अब हरुवाहरुलाई बोकेर हिँड्ने मोदीको अभ्यासलाई निरन्तरता दिइरहने होइन कि नयाँ जनमतलाई आत्मसात गर्दै आफूलाई त्यसअनुरुप ढाल्नुपर्छ ।

कुन बाटो रोज्ने ?

प्रदीप गिरीले आरोप लगाएजस्तो म नेपालप्रति भारतले आफ्नो पिठ्यूँ फर्काउनुपर्छ भन्ने विश्वास राख्दिनँ । तर, म सोच्छु कि यसले नेपालसँग परिपक्वताको सम्वन्ध विकास गर्नुपर्छ, जसले नेपाललाई एउटा संरक्षित राज्य वा चीनका विरुद्ध बफरको रुपमा होइन कि आफ्नो स्वार्थ राम्रोसँग बुझेको, एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रको रुपमा व्यवहार गर्छ र जसले विश्वास गर्छ कि यो भारतको अधीनमा रहेको नेपाल होइन, यो नेपाल हो जसले भारतको उत्तरतिर रहेको सच्चा साथीका रुपमा आफ्नो शीर उच्च राख्छ ।

यहाँबाट हामी कता जान्छौं ? मैले रोबर्ट फोर्स्टको  प्रख्यात कविताको पङ्ती सम्झिएको छुः ‘एउटा जंगलमा दुईवटा बाटा छुट्टिन्छन् र म त्यो बाटो रोज्छु, जुनमा कम यात्रा गरिएको छ र यसले सबै फरक पार्‍यो । र, यसले सबै फरक पार्नेछ ।

source :onlinekhabar

(Visited 1 times, 12 visits today)
x

Check Also

सासुको खुट्टा नढोग्ने महिलाले श्रीमानको बिस्तारामा किन जाने ?

‘जब पर्खालले नछोपिने दृश्यहरु बिचारका धर्काहरुले छोपिदिन्छन तब मस्तिष्कहरु भ्रमित हुन्छन् ।’ त्यस्तै नेपालीको धर्म, ...