Home / रास्ट्रिय खबर / जाँदाजाँदै देउवाले भने– ‘तीन तहको चुनाव गराउनु मेरो उपलब्धि’ दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरि हितमा काम गर्न नयाँ सरकारलाई देउवाको शुभकामना

जाँदाजाँदै देउवाले भने– ‘तीन तहको चुनाव गराउनु मेरो उपलब्धि’ दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरि हितमा काम गर्न नयाँ सरकारलाई देउवाको शुभकामना

काठमाडौँ — चौथोपटक प्रधानमन्त्रीका रूपमा ८ महिना १० दिन सरकारमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको निर्वाचन सम्पन्न गर्नेबाहेक मुलुकले सम्झनलायक कुनै काम गरेनन् । बरु, जनभावनाविपरीत विवादास्पद निर्णयका कारण पछिल्लो कार्यकालमा पनि विवादमुक्त रहन सकेनन् ।

 

अघिल्ला तीन कार्यकालको विवादास्पद बहिगर्मनबाट पाठ सिक्दै यसपटक तीनै तहका निर्वाचन गराउन सक्नु नै देउवाको महत्त्वपूर्ण उपलब्धि हो । एमाले अध्यक्ष केपी ओलीलाई बिहीबार सत्ता हस्तान्तरण गर्दैगर्दा देउवाले आफ्नो पछिल्लो कार्यकाललाई पूर्ण सफलताको श्रेणीमा चढाएका छन् ।
ओली प्रधानमन्त्रीमा नियुक्त हुनु एक घण्टाअघि आफ्नो राजीनामा सम्बोधनमा देउवाले निर्वाचन गराउने आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गरेकामा गर्व गरे । ‘नेपालको अत्यन्त विकट डडेल्धुरा जिल्लामा जन्मेको, ५० वर्षभन्दा लामो राजनीतिक यात्रामा करिब ९ वर्ष जेलजीवन बिताएको मजस्तो व्यक्तिका लागि यो कार्य सम्पन्न गर्न सक्नु सन्तोषको विषय भएको छ,’ उनले भने ।
संविधानका केही प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनरत मधेसकेन्द्रित दललाई निर्वाचनसम्म ल्याउनु उनको ठूलो सफलता रह्यो । मधेसकेन्द्रित दललाई चुनावमा ल्याउन त्यतिबेला भइरहेको ढिलाइप्रति देउवामा ठूलै आशंका उब्जेको थियो । ‘मैले धैर्य नगरेको भए र संविधानप्रति असन्तुष्ट दललाई राजनीतिक मूल धारमा ल्याउने अनवरत प्रयत्न नगरेको भए संक्रमणकाल टुंगिने थिएन,’ सम्बोधनमा देउवाले भने, ‘बल प्रयोग गरेर निर्वाचन गरेको भए प्राविधिक रूपमा संक्रमण त सकिने थियो होला तर मुलुक फेरि हिंसा र अस्थिरताको दुश्चक्रमा फस्ने थियो ।’
‘नयाँ संघीय सरकार निर्माण गर्ने चरणमा हामी पुगेका छौं,’ देउवाले भने, ‘सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदु:खमा मेरो पार्टी र म सदासर्वदा क्रियाशील रहनेछौं । नेपाललाई समृद्ध मुलुक बनाउने अभियानमा हाम्रो निष्ठापूर्ण प्रतिबद्धता रहनेछ ।’ उनले तीन तहको निर्वाचनले मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रूपमा अघि बढाउन बलियो आधारशिला निर्माण गरेको पनि उल्लेख गरे ।
कांग्रेस र माओवादीको सत्ता गठबन्धनबाट देउवा गत जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकार ढालेर यी दुई दलले आलोपालो सरकारको नेतृत्व गरे । पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र दोस्रो चरणमा देउवा प्रधानमन्त्री भए । तर, देउवाले राजीनामा दिँदै गर्दा माओवादी केन्द्रलाई धन्यवादसमेत दिन ‘कन्जुस्याइँ’ गरे । जबकि उनले सरकारमा सहभागी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) लाई भने नामै लिएर धन्यवाद दिए । वाम गठबन्धनमा सामेल भएपछि देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई बिनाविभागीय बनाए र केही समयअघि मात्रै उनीहरूले सरकार छाडेका थिए ।
सम्बोधनमा देउवाले राष्ट्रियताको विषयप्रति एमालेलाई तिखो प्रहार पनि गरे । ‘लोकतन्त्रलाई आस्था नभई साधनका रूपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनुपर्छ,’ देउवाले भनेका छन् ।
विविध जातजाति, भाषाभाषी, क्षेत्र, धर्म र समुदायबीचको सम्बन्धलाई एउटै मालामा गाँसेर राष्ट्रियतालाई थप मजबुत बनाउने आफ्नो पार्टीको चाहना रहेको उनको भनाइ छ । ‘मौलिक अधिकार, सामाजिक न्याय र आर्थिक प्रगति लोकतान्त्रिक व्यवस्थाभित्र नै सम्भव हुन्छ र अहिंसा लोकतान्त्रिक पद्धतिको अभिन्न अंग हो,’ तीन पृष्ठको लिखित भाषण पढदै देउवाले भने, ‘कांग्रेसले लिँदै आएको यही मान्यता विभिन्न वाद र पथ अँगाल्ने सबैका लागि स्वीकार्य बाटो बनेको छ ।’
अब बन्ने नयाँ सरकारलाई दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरि हितमा काम गर्न देउवाले शुभकामना दिएका छन् । देउवाले बालुवाटारबाटै देशवासीका नाममा सम्बोधन गरेका थिए । सम्बोधनपछि उनी सिधै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राजीनामा बुझाएका थिए । देउवाको सम्बोधनअघि नै एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री दाबी शीतलनिवास पुगिसकेको थियो । ‘ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने विषयमा छलफल चलिरहेकै बेला प्रधानमन्त्रीबाट राजीनामा लिएर आउँदै छु भन्ने खबर आयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले कान्तिपुरसँग भने, ‘त्यसो भनेको केही मिनेटमै प्रधानमन्त्री शीतलनिवास आउनुभयो । प्रधानमन्त्रीको नियुक्ति हुनु केही समयअघि उहाँको राजीनामा स्वीकृत भएको हो ।’
‘मैले मुलुकको सर्वोच्च कार्यकारी पद सम्हाल्न आउँदा गरेका संविधान कार्यान्वयन गर्ने र शान्तिपूर्ण रूपमा आम सहभागितामा निर्वाचन गराउने प्रतिबद्धता पूरा गरेको छु,’ सम्बोधनमा देउवाले भने, ‘संघीयता कार्यान्वयनका लागि नयाँ ऐन, प्रशासनिक पुन:संरचनाअनुरूप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको छु ।’
उनले आफूले सम्झनलायक काम नगरेको घुमारो पाराले स्विकारेका छन । आफ्नो नेतृत्वमा सरकार निर्माण भएदेखि नै निर्वाचनका काममा व्यस्त हुनुपर्ने र आचारसंहिताले बाँधिनुपर्ने अवस्थाका कारण चाहेजतिको गतिमा विकासका काम अघि बढाउन नसकेको उनले बताए । तैपनि ठूला पूर्वाधार निर्माणमा सरकारले उल्लेख्य प्रगति गरेको उनको दाबी छ । ‘बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने र काठमाडौं–तराई–मधेस द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाले तदारुकतासाथ अघि बढाउँदै छ । काठमाडौं उपत्यकामा हिमालको पानी ल्याउने किशुनजी (कांग्रेस नेता कृष्णप्रसाद भट्टराई) को सपना मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको छ,’ देउवाले भने, ‘सरकारले विशेष महत्त्वका साथ अनुगमन गरेको अरुण तेस्रो र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, हुलाकी सडक र पोखरा क्षेत्रीय विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजनाका काममा म आएपछि ठूलो प्रगति भएको छ ।’
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज आयोजनाअन्तर्गत इतिहासमै सबभन्दा ठूलो अनुदान सम्झौतामा आफ्नो सरकारले हस्ताक्षर गरेको उनले बताए । ‘तदनुरूप ५० अर्ब रुपैयाँ लागतमा ३ सय किलोमिटरजति उच्च भोल्टेजको प्रसारण लाइन बन्ने र सडक सुधार गर्ने कार्य हुनेछ,’ उनले भने, ‘गरिबी निवारणका लागि गरिबी निवारण कोषलाई प्रभावकारी बनाइएको छ । समृद्ध नेपालको हाम्रो यात्रामा यो महत्त्वपूर्ण आधार हुने विश्वास मैले लिएको छु ।’
राष्ट्रिय स्वार्थ र जनताको सर्वोत्तम हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन भएको देउवाले बताए । ‘हाम्रा दुई विशाल छिमेकी भारत र चीनसँगको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई मेरो कार्यकालमा थप विश्वसनीय र सम्मानमा आधारित बनाइएको छ,’ उनले भने ।
उनले नेपालका ५० भन्दा बढी जिल्लामा औसत आयु ७० वर्षभन्दा कम रहेकाले वृद्धभत्ता पाउने उमेर पाँच वर्ष घटाइएको बताएका छन् । अनिवार्य स्वास्थ्य बिमा ऐन कार्यान्वयनसँगै क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीलगायत जटिल प्रकृतिका दीर्घ रोगीलाई आजीवन मासिक ५ हजार जीवन निर्वाह भत्ता दिने निर्णयसमेत आफ्नो नेतृत्वको सरकारले गरेको उनले बताए ।
(Visited 1 times, 1 visits today)
x

Check Also

येसरी पक्राउ परे दीपक मनाङ्गे

६ वैशाख, काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का ...