Home / रास्ट्रिय खबर / एकताको विषय नटुंगिई माओवादी सरकारमा नजाने, एमालेले गलाउन खोजेको आशंका

एकताको विषय नटुंगिई माओवादी सरकारमा नजाने, एमालेले गलाउन खोजेको आशंका

काठमाडौँ — एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ । बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट मन्त्री पठाएन ।

 

प्रधानमन्त्री ओलीसहित एमालेका दुई मन्त्रीले मात्र शपथ लिए ।‘पार्टी एकता र सरकारसम्बन्धी दुई दलको छलफल नटुंगिएका कारण हामीले अहिले मन्त्री नपठाएका हौं,’ माओवादी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, ‘केही राजनीतिक र वैचारिक विषय टुंग्याउन बाँकी छन् ।’
माओवादी केन्द्रका प्रमुख नेताहरू बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक बसेका थिए । बैठकले प्रधानमन्त्रीमा ओलीलाई तत्काल समर्थनसहितको पत्र राष्ट्रपतिकामा पुर्‍याउने तर सरकारमा सामेल नहुने निष्कर्ष निकालेको थियो । खुमलटार बैठकपछि माओवादीको समर्थन रहेको भन्दै दाहालले लेखेको पत्रसहित नेता नारायणकाजी श्रेष्ठ मात्र एमाले नेताहरूसँगै राष्ट्रपति कार्यालय पुगेका थिए । त्यहाँ दाहालले राष्ट्रपतिलाई सम्बोधन गर्दै पठाएको आफ्ना ५३ जना सांसदको केपी ओलीलाई समर्थन रहेको बेहोराको पत्र श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
बुधबारको वार्तामा दुई दलबीच बिहीबार वाम एकता संयोजन समितिको बैठक बसी बाँकी विषय टुंग्याउने सहमति थियो । तर, बिहीबार बिहानैदेखि प्रधानमन्त्री नियुक्तिसम्बन्धी काममा अल्झिएकाले दुई दलको बैठक हुन सकेन । शुक्रबार दुई दलबीच छलफल हुने माओवादी प्रवक्ता भुसालले जानकारी दिइन् । उक्त बैठक सहमतिमा पुगे माओवादीले ओली नेतृत्वको सरकारमा आफ्ना मन्त्रीहरू पठाउनेछ । नत्र बाहिरै बसेर समर्थन मात्र गर्नेछ ।
नेताहरूका अनुसार बुधबार झन्डै चार घण्टा चलेको बैठकमा प्रधानमन्त्री आलोपालो गर्ने र पार्टीको सैद्धान्तिक विषय के हुने भन्नेमा कुरा मिल्न सकेको थिएन । दुवै पार्टीका अध्यक्ष पार्टीको संयुक्त नेतृत्व गर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत थिए । तर, सरकारको नेतृत्व पनि ओली र दाहालबीच आलोपालो हुनुपर्ने, समय पनि किटान गर्नुपर्ने माओवादीको अडान थियो ।
एमालेले अहिलेसम्म मान्दै आएको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई कतै न कतै उल्लेख गर्नुपर्ने धारणा राखेको थियो । स्रोतका अनुसार बुधबारको बैठकमा एमाले नेता माधवकुमार नेपालले जबजलाई एकीकृत पार्टीको मूल सैद्धान्तिक विषय बनाउनुपर्ने अडान राखेका थिए । महासचिव ईश्वर पोखरेललगायत नेता पनि जबजको दिशाबाटै अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । बैठकमा नेता नेपालले जबजको विषय उठाएपछि माओवादी नेताहरूले पनि माओवाद राख्नुपर्ने धारणा राखे । यही विषयमा दुई पक्षबीच लामो छलफल भए पनि सहमति जुट्न सकेन । अघिल्ला बैठकमा दुवैका मिलेका सैद्धान्तिक विषय लिपिबद्ध गर्ने र नमिलेकालाई महाधिवेशनमा लैजाने समझदारी थियो । बुधबारको छलफलबाट एमालेले आफूलाई गलाउने नीति लिन खोजेको हो कि भन्ने आशंका माओवादीमा पैदा भएपछि बिहीबारको मन्त्रिपरिषद् विस्तारमा आफ्ना तर्फबाट मन्त्री नै नपठाउने निष्कर्षमा पुगेको हो ।
छलफलमा दुई पार्टीका अध्यक्षको संयुक्त नेतृत्वको विषय टुंगिए पनि अन्य शीर्ष नेताका बारेमा के गर्ने भन्ने स्पष्ट धारणा बनिसकेको थिएन । दुवै दलका प्रमुख नेताले एकता प्रक्रियामा आफ्नो पनि स्थान सुरक्षित होस् भन्ने चाहेका छन् । उनीहरूको भूमिका अहिले नै के हुने भन्ने तय नहुँदा त्यसको प्रभाव बुधबारको वार्तामा पर्‍यो । अब शुक्रबार बिहानैदेखि बस्ने एकतासम्बन्धी बैठकले यो विषयसमेत निरूपण गर्नुपर्नेछ ।
(Visited 1 times, 1 visits today)
x

Check Also

येसरी पक्राउ परे दीपक मनाङ्गे

६ वैशाख, काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का ...