कविता – माग्ने छु पैसा सबै

0
205
[Ads]


शार्दूलविक्रीडित छन्दमा

ज्यालादार भनी चढेर अहिले गर्छाै नराम्रो किन
आएका नबिकी कहीँ पनि भनी ठान्छाै दिलायाैँ ऋण
सक्थे हाे म पढी लडेर सरकारी जागिर खानै अझै
छाेडाैँला सजिलै डराइ म कहाँ माग्ने छु पैसा सबै ।

राम्रो छान्न भनी प्रवेश म हुँदा गर्याै नि विज्ञापन
लाग्ला पाप पछाडि फेरि नदिँदा बाँकी भएको धन
त्यो बेला सबकाे बढेर सुविधा जानेछ भन्याै अझै
आनाकान गरी नराख अहिले माग्ने छु पैसा सबै ।

नाफामा पहिले प्रशस्त रहँदा चासो नराखी सधैं
अप्ठ्यारो म परेँ विवेक छ भने दिन्छन् कि माया अझै
निष्ठाबान् बनी सदा गरिरहे खट्ने र जुट्ने काम
तिर्नैपर्छ सबै हिसाब अहिले माग्ने छु पैसा सबै ।

बिर्सिन्छाै सहजै भनेर निमुखा एक्लो छु जस्तो गरी
संस्था संगठनै छ साथ मसँगै लड्ने छु साथै परी
चल्नै पर्छ तिमी बुझेर अहिले सिद्धान्त पढ्दै अझै
एक्लै निर्णय हुन्छ तैपनि अझै माग्ने छु पैसा सबै ।

लाखौंको अहिले बिजाेग नबुझी बाेल्दैन सरकार किन
खाली हात भयो कुरेर रहँदा भन्दैन लैजा ऋण
के लान्छाै त तिमी जितेर यसरी साेरेर पैसा अझै
के विश्वास गराैँ बुझेर कसरी माग्ने छु पैसा सबै ।

राणा शासन चल्दा त पहिले थापेर ज्यानै लडे
छाेडाैँला कसरी पछाडि नहटी सन्तान तिन्कै परेँ
भ्रष्टाचार बढी भएर अहिले कङ्गाल हामी अझै
सच्चा निर्णय गर्नु छैन उसको माग्ने छु पैसा सबै ।

✍️ अर्चना दाहाल , हेटौंडा -५,सानो पोखरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here