तराईका महिलाहरूले मनाउने महान पर्व ‘ जितिया पावैन ‘

0
255
  • Save

२४ भाद्र २०७७, मकवानपुर – सदियौ देखि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका तराई र भित्री मधेशमा छरिएर बसोबास गरि आएका थारु समुदायको आफ्नो छुट्टै परम्परा र संस्कृतिहरु छन् । थारु जातीले मनाउने विभिन्न चाडपर्वहरु मध्ये “जितिया पावैन” विवाहित थारु महिलाहरुले मनाउने एक महान पर्व हो । आदिकाल देखि थारु महिलाहरुले हर्षोलासपूर्वक यो चाड मनाई ब्रत बस्ने भए पनि पछि पछि थारु समुदायमा मिसिन आएका अन्य जातीय समुदायका महिलाहरुले पनि मनाउँदै आएकोले यसलाई सम्पूर्ण तराईबासीका साझा पर्वको रुपमा लिइएको पाईन्छ ।

जितिया पावैन (पर्व) प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथि गरि तीन दिनसम्म मनाईन्छ । जितिया पावैनको ब्रत शुरुवात गर्नको लागि आश्विन कृष्ण पक्ष सप्तमी तिथिको दिन शनिवार लहाइ (नुहाइ, धुवाइ), अष्टमी तिथिको दिन आईतबार उपास (निराहार ब्रत पानी समेत नखाई ब्रत बस्ने) र नवमी तिथिको दिन सोमवार पारन (विधिपूर्वक भोजन शुरुवात) गर्ने तिथि मिति परेको सालमा मात्र नवविवाहित महिलाहरुले जितिया ब्रतको शुरुवात गर्न सकिन्छ जसलाई सुइध लागेको भनिन्छ । जितिया पर्व शूरुवात गरिसकेको विवाहित महिलाहरुले हरेक वर्ष जितिया व्रत बस्ने गर्दछ । विविध कारणले गर्दा कुनै वर्ष ब्रत वस्न सकेन भने पुनः सुइध लागेको वर्षमा फेरी विधिवत रुपमा जितिया ब्रत शुरुवात गर्नु पर्दछ ।
सप्तमी तिथि (लहाइ) :-
लहाइ अर्थात नुहाएर शुरु गर्ने दिन ब्रतालुहरु विहान सवेरै उठेर नदी, खोला, पोखरी, इनार मा गई नुहाई धुवाई गरि चिकनी माइट (एक प्रकारको माटो) र खैर (पिना) ले कपाल पखाली घेरा (घिरौला) को पातमा घिरौलाको फुल, माटो र पिना पूर्वतिर फर्केर भिजेकै कपडा लगाई चढाउने गर्दछन् । दिनभरि सखि बैहनपाहरु सामूहिक रुपमा खानपिनको तयारीमा जुटेका हुन्छन् । यस पर्वमा खानपिनको खासै बन्देज नभएपनि मासु खाने चलन छैन भने केही खानेकुराहरु अनिवार्य नै हुन्छ । जस्तै ःमाछा, मरुवा (कोदो), ओल (एक प्रकारको माटो मुनि फल्ने तरकारी) । यसरी सवै सरसामानहरु जुटाई साँझ सवेरै खानपिन गरि सुत्छन् र निसी राति नै उठेर विभिन्न किसिमका परिकारहरु पकाउनमा जुटछन् । खानपिनको तयारी पूरा भैसकेपछि सवेरै अर्थात काग कराउनुभन्दा अगावै सप्तमी तिथि भित्रै देवता घरको दलिनमा पूर्व फर्केर घिरौलाको पातमा दुई ठाउँमा चिल्ही र सियारिनलाई दही, चिउरा, सख्खर, सुपारी चढाउँछन् र खानपिन गर्छन जसलाई ओठघन (दर खाने) भनिन्छ । यसको बारेमा एउटा उखान रहेको छ ।
जितिया पावैन बर भारी ।
धियापुताके ठोइक सुताबे ।।
अपना लेवे भोइर थारी ।।।
अर्थात जितिया पर्व एकदम कठिन र महत्वपूर्ण पर्व हो । यो पर्व आफ्नो सन्तानहरुको लागि नै ब्रत बस्ने भएपनि राती विभिन्न परिकारहरु पकाउने वा खाने बेलामा साना साना बच्चाहरुले कठिनाई उत्पन्न नगरोस भनेर उनीहरुलाई थपथपाएर सुताउछन र आफूहरु थालभरि लिएर मिठो मिठो परिकारहरु खाने गर्छन साथै खानसक्ने बच्चाहरुलाई उठाएर समेत ओठघन खुवाउने गर्छन् ।
अष्टमी तिथि (उपास):-
अष्टमी तिथिको दिन उपास (निराहार ब्रत पानी समेत नखाई ब्रत बस्ने) बस्ने दिन विहानै उठेर नुहाइ धुवाई गरि डला तयारी (पुजा सामाग्रीको तयारी) मा जुटछन् । जसमा बिखमान (विशेष किसिमको कर्कलो) को पात, केराको पात, घिरौलाको पात र फुल, तुलसीको पात, जितियाको फुल, हर्दी (बेसार) को फुल, अक्षता (अर्बा चौर), बौटरा (सानो केराउ), करुतेल (तोरीको तेल), सिन्दुर, सिक्की, गौरा खर, धानको मोइर, दही चिउरा, फलफुल, सख्खर, रातो पहेलो र कालो रंगको ध्वजा इत्यादि रहेको हुन्छ । दिउँसो ब्रतालु दिदिबहिनीहरु सामूहिक रुपमा आँगन वा दुवारमा चारकुने सानो पोखरी खन्छन् । सवैजना विधिपूर्वक तयारी भैसकेपछि कथावाचकले जितमहान कथा प्रारम्भ गर्छ । कथामा पृथ्वीको उत्पति देखि ब्रम्हा, विष्णु, महादेवको जन्म र मानव सृष्टि तथा अन्य जीवजन्तुहरुको उत्पति सम्बन्धि पौराणिक धारणाहरुको वर्णन गरेको छ ।

कथा समाप्त भएपछि भाईले दिदिबहिनीलाई सिकीको धनुष र सिकीकै वाणबाट पिठ्यूँमा हान्छ, अखर छोरा भएका माइजु वा काकी वा भाउजुहरु कुशबाट ब्रतालु महिलाहरुलाई दाँत कोट्याईदिन्छ र कथा सुनिरहदा बीच बीचमा कथावाचकको आदेशानुसार कहिले सूर्य त कहिले जितमहान तथा गरुड, चिल, स्यालको नाममा खनेको पोखरी नजिकै पूर्वतिर फर्केर पुजा गर्छन । पुजा समाप्ती पछि कथावाचकलाई दान दिई विदाई गरि सरसमानहरु डालोमा राख्छन् । त्यस दिन गाउँघरमा जितमहानको मूर्ति बनाएको ठाउँमा पुजाआजा गर्छन र त्यस ठाउँमा जितमहानको मेला समेत लाग्ने गर्दछ ।

नवमी तिथि (पारन):-
अन्तिम दिन विहान घरआँगन गोबर माटोले लिपपोत गरेर नुहाईधुवाई गर्न जाँदा डालोमा भएका सम्पूर्ण पुजा सामाग्रीहरु पोखरी, नदिमा प्रवाह गरि नुहाईधुवाई गर्छन् । नुहाएर घर आएपछि आँगनमा पूर्वतिर फर्केर चौका बनाई सिन्दुर र तेलले दुईवटा ठाँडो धर्का तान्छन् बीचमा पानको पात राखी त्यसमाथि सुपारी, दही, चिउरा, बौटरा, अक्षता, तुलसीको पात चढाउँछन् । उक्त समयमै गौरा खर कान्छी औला र बुढी औलाको सहायताले सानो सानो टुक्रा भाँची क्रमशः पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशातिर तीनचोटी फाल्ने गर्छन् । पुजामा जलढार गरि पाँचवटा बौटरा, पाँचवटा अक्षता दाँतमा नछुवाईकन निल्छन्, अलिकति दही, चिउरा खाएर पारन (भोजनको शुरुवात) गर्छन् त्यसपछि आफूखुशी खान्छन् र चढाएको दही चिउरा केटाकेटीहरुलाई प्रसाद स्वरुप बाँडछन् ।

यो पर्वमा भाईबहिनी बीचको माया, प्रेम, स्नेहलाई प्रगाढ बनाउने गर्दछ भने आफ्नो सन्तानहरुको सुस्वास्थ्य र दिर्घायुको कामना सहित ब्रत सम्पन्न गर्दछ । यस पर्वले कुनै पनि काम निष्ठा तथा नियमपूर्वक विधि पुर्याएर गरेमा सफलता अवश्य हात पर्छ भने कुराको सन्देश पनि दिएको छ । यो सम्बन्धि एउटा प्रचलित भनाई रहेको छ “जो रे जो तोहर महताइर खर दिन जितिया पाथने रहौ ताब तु बचल्या” भनाईको अर्थ कुनैपनि व्यक्ति ठूलो आपत बिपत वा दुर्घटनाबाट बच्छन भने तिम्रो आमा निष्ठापूर्वक खर दिन (शुद्ध दिन) मा जितिया ब्रत बसेकोले गर्दा नै तिमी बाँच्न सफल भयौ । यस भनाईले जितिया पावैनको महत्वलाई थप उजागर गरेको देखिन्छ ।

म मेरो बाल्यकाल देखि हालसम्म थारु गाउँहरुमा मनाउने धेरै चाडपर्वहरु लगपाँच, कृष्ण अष्टमी, चौठीचान, रैब, जितिया, दशहरा, सुकराती, गबहा संक्राइत, छैंठ, समा चकेवा, नेमान, वियाह पञ्चमी, माघी (तिला संक्राइत), होरी (फागु पूर्णिमा), राम नवमी, सिरुवा पावैन, जुरसितल आदि देखेको र मनाउदै आईरहेको छू । पुराना पुस्ताहरुलाई पौराणिक तथा सांस्कृतिक चाडपर्वहरु मनाउने विधि र त्यसको महत्वको विषयमां जति जानकार छन् ती चाडपर्वहरु हाम्रो पहिचान र अस्तित्व सँग जोडिएको हुँदा नयाँ पुस्तामा हस्तान्तरण गर्न आजको आवश्यकता देखिन्छ ।
✍️ चन्द्रकान्त चौधरी ( लेखक मकवानपुरगढी गाउँपालिकाको कृषिशाखा प्रमुखमा कार्यरत हुनुहुन्छ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here