कविता – समयगढ

0
179
[Ads]

कविताकाे शीर्षक- समयगढ
– विजय अधिकारी

समयगढ छ मेराे रक्तमा घाेलिएकाे ।
प्रबल र गहिराे भाे साइनाे गाँसिएकाे ।।
रहनसहन मैले सिक्न पाएँ यसैमा ।
शुभ विषय पढेथेँ बालकै थेँ जसै म ।।

खुरुखुरु म बिहानै धाउने गर्छु जैल्यै ।
परपर किन हुन्थेँ मित्रदेखि म कैल्यै ।।
अब पनि पछि सम्मै रम्न पाऊँ यहीँ म ।
तन मन खुब लाई गम्न पाऊँ यहीँ म ।।

असल पथ चिनाऊँ याेग्य हुन् छात्रछात्रा ।
कुलततिर नलागुन् वृद्धि हाेस् ज्ञान मात्रा ।।
मुलुक सुदृढ पार्ने लक्ष्य बाेक्ने यिनैकाे ।
प्रगति सतत देखूँ शुद्ध स्वप्ना बुनेकाे ।।

अविचलित रहन्छन् ज्ञानले पूर्ण मान्छे ।
प्रतिदिन अघि बढ्छन् सभ्यता चिन्न मान्छे ।।
युगयुगतक बत्ती बाल्छ याे पाठशाला ।
तमस सब हटाई सत्यकाे गाँस्न माला ।।

वय जब पर जाला भावना मित्र बन्छ ।
झलझल मनमा याे याद मात्रै रहन्छ ।।
जुन मनुज यहाँकाे दीपक स्पर्श गर्ला ।
समयगढ कसैले भुल्न सक्दैन हाेला ।।

कमल-५, पाडाजुँगी, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here