तामाकोशीका शेयरधनीले तत्काल लाभांश नपाउने,आयोजनाको लागत र समय पर धकेलियाे

0
146
  • Save

माथिल्लो तामाकोशी आयोजनाका शेयरधनीहरुले लाभांश पाउन अझै लामो समय कुर्नु पर्ने भएको छ । निर्माण सम्पन्न हुने समयसम्म आयोजनाको लागत बढेर १ खर्बको नजिक पुग्ने र समयमा आयोजनाबाट बिजुली पनि उत्पादन नहुने भएपछि लगानीकर्ताले लाभांश पाउने अवधि पर धकेलिने भएको हो ।

आयोजना निर्माणमा अझै जटिल काम बाँकी भएकाले आयोजना निर्माण सम्पन्न गर्न अझै समय लाग्ने भएको छ । केही महिना पहिला सार्वजनिक गरिएको समय तालिका अनुसार, यही कार्तिक महिनादेखि पहिलो युनिटबाट बिजुली उत्पादन गर्नेे भनिएको थियो । तर, अहिले त्यो मिति पर सारेर माघसम्म पुर्याइरहेको छ ।

माघको अन्त्यसम्ममा तामाकोशीको पहिलो युनिटबाट बिजुली निकाल्ने योजना रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले गत आर्थिक वर्षको अन्त्यसम्मको पेश गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । ‘कार्तिकसम्ममा पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने भनिएपनि त्यो मिति पर धकेलिएर माघसम्म पुगेको छ,’ वित्तीय विवरणमा उल्लेख गरिएको छ, ‘कारोनाका कारण परामर्शदाताहरुको नेपाल आउनमा भएको समस्या र ठेक्कासँग सम्वन्धित सामानहरुको ढुवानीमा भएको समस्या तथा कार्य सम्पादनमा भइरहेको सुस्तताले निर्धारित समयमा नै बाँकी काम सम्पन्न गर्ने चुनौती थपिएको हो ।’

गत आर्थिक वर्षकाे अन्त्यसम्ममा कम्तिमा एउटा युनिटबाट बिजुली उत्पादन गर्ने भनिएको थियो । तर, त्यो पनि पूरा हुन सकेन् । त्यसपछि पहिलाको त्यो ट्युन फेरिएर सबै युनिटबाट बिजुली कार्तिकसम्म निकालि सक्ने योजनामा राखिएको थियो । सबै युनिटबाट बिजुली कार्तिक सम्ममा निकाल्न सकिने सम्भावना नरहेको आयोजनाका अधिकारीहरु बताउँछन् । आयोजनाबाट बिजुली निकाल्ने समय पनि अझै पर धकेलिदै जाने र लागत पनि बढ्दै जाने निश्चित जस्तै भएको छ ।

अहिलेसम्म साँवा र ब्याज समेत गरेर आयोजनाको लागत ७० अर्ब पुगिसकेको छ । सुरुको ३५ अर्बको लागत बढेर ७० अर्ब पुगेको कर्मचारी स्वयं बताउँछन् । आयोजना निर्माण सम्पन्न हुने बेलासम्म कम्तिमा १ खर्ब लाग्ने अनुमान गरिदै छ । १ खर्ब निर्माण लागत लाग्ने उक्त आयोजनाले ब्याज,ऋण भुक्तानी गर्न थालेपछि मात्रै लगानीकर्तालाई लाभांश वितरण गर्न थाल्छ । त्यसकारण सर्वसाधारणले आयोजनाबाट लाभांश पाउन अझै लामो लाग्ने आयोजनाको भनाइ छ ।

आयोजना निर्माण सुरु हुने वर्ष सुनको अण्डा पार्ने कुखुरीको रुपमा लिइएको तामाकोशीको शेयर आयोजना छिटो सकिने आकलन गरेका कारण गत असार अन्त्यमा प्रतिकित्ता २४० रुपैयाँ रहेकोमा अहिले बढेर करिव २८५ को हाराहारीमा पुगेको छ ।

सुरुमा तामाकोसी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो । त्यतिवेला एक अमेरिकी डलरको सटही दर ९७.६ रुपैयाँ थियो । अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संसोधित अनुमान छ । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान गरिएको छ । त्यति खर्चमा पनि आयोजना निर्माण हुने अवस्था छैन, कम्तिमा १ खर्ब लाग्ने अनुमान गरिएको आयोजनाका एक कर्मचारीले बताए ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २ र २ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । उनीहरुले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएको समयमा निर्माण सम्पन्न हुने छाडकाट देखिएको छैन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजना तोकिएको समयमा सम्पन्न गर्ने वातावरण मिलाउन हरेक महिना जम्बो टोली सहित आयोजना स्थलमा पुग्ने गरेपनि त्यो कुदाइलाई अर्थहीन, लागत बढाउने खेल मात्र भन्न थालिएको छ ।

आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीकाका कारण आयोजना ढिला हुन गएको हो । आयोजनाको काम कछुवाको चालमा भइरहेको छ ।

माथिल्लो तामाकोशी समयमै सम्पन्न भएमा मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन आउने भनिदै आएको छ । तर, उक्त आयोजनाबाट बिजुली कहिले उत्पादन हुने हो र अर्थतन्त्रले कसरी फडको मार्ने हो त्यो भने अझै अनिश्चित छ । केहीले उक्त आयोजना मेलम्ची खानेपानी आयोजना जस्तै त हुने होइन भन्न थालेका छन् ।

अहिले कोरोना भाइरसका कारण आयोजना निर्माणमा ढिलाई भएको बताउन थालिएको छ । यसअघि २०७२ को भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको भनिदै आएको थियो । (मेरो लगानीमा विष्णु बेेल्बासेले लेखेका छन् ।)