गरे के हुन्न – सुख्खा डाँडोमा टमाटर खेती, १२ देखि १५ लाख आम्दानी हुने अनुमान

0
864

मकवानपुरगढी – जाँगर , पौरख अनि प्रयत्न गरे के हुन्न ? यसको जवाफ सँगै उदाहरण बनेका छन् मकवानपुरगढी वडा नम्बर ३ मक्रान्डाँडाका केदार पुडासैनी । डाँडाको टुप्पोमा सिंचाइ हुने त कुरै भएन तै पनि त्यस्तो ठाउँमा एक लडको टमाटर खेतीबाट १२ देखि १५ लाख आम्दानी गर्ने अनुमान गरेका छन् पुडासैनीले ।

ब्यवस्थित तरकारी खेतीका साथसाथै पशुपालन गर्ने उदेश्यले उनले ‘पुडासैनी बहुउद्देश्यीय तरकारी तथा पशु फर्म’ दर्ता गरेका छन् । आफ्नो करिब १० कठ्ठा र छिमेकीको ५ कठ्ठा गरि करिब १५ कठ्ठामा कतै टनेल र कतै खुल्ला रुपमा नै टमाटर खेती गर्दै आएका पुडासैनीले केही तल रहेकोे खोल्सीमा भएको सानो पानीको मुहानलाई संरक्षण गरि त्यहाँबाट मोटरको सहायताले पानी माथी ल्याई प्लास्टिकको ट्याङ्कीबाट थोपा सिंचाइको ब्यवस्था मिलाइएको छ ।

यसका लागि मकवानपुरगढी गाउँपालिकाले १ लाख असि हजार अनुदान उपलब्ध गराएको थियो । त्यसको अलावा पुडासैनीले अहिलेसम्म टमाटर खेतिकैलागी बाँसको टनेल लगायत बिरुवा उत्पादन , रोप्ने गोड्ने सहित करिब ४ लाख लगानी गरिसकेका छन् ।

अहिले टमाटर उत्पादन धमाधम शुरु भएको छ । अहिलेसम्म २ लाख पचास हजारको टमाटर बिक्री गरिसकेका पुडासैनीले अब १० लाख रुपैयाँ बराबरको आम्दानी हुने लक्ष्य लिएका छन् । उनको फर्ममा अहिले टमाटर लगायत बोडि , सिमि , तितेकरेला , लौका , आलु , साग लगायतका तरकारी पनि उत्पादन भइरहेको छ ।

तरकारीको साथमा उनले पशुपालन ब्यवसाय पनि गरिरहेका छन् ।गोठमा ५ वटा गाई र खोरमा १५ वटा बाख्रा छन् । दुध बिक्री र खसी बोका बिक्री बाट वार्षिक ४ देखि ५ लाख आम्दानी भइरहेको बताउँदै उनले आगामी दिनमा ब्यवसाय बढाउने लक्ष्य लिएका छन् । त्यति मात्र हैन अब लोकल कुखुरा , टर्की , बटाई चरा पाल्ने योजना रहेको पुडासैनी बताउँछन् ।

यसपाली घाँस कुड्क्याउने च्यापकटर मेसिन , हाते ट्याक्टर गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको छ । उनको पौरख र योजनालाई कृषि ज्ञान केन्द्र चितवनले पनि साथ दिएको छ फलस्वरूप उनले ३ लाख अनुदान पाएका छन् ।

यसले उनी अझ हौसिएका छन् र आगामी दिनमा अझ ब्यवस्थित तरिकाले खेती गर्न फलामको टनेल बनाउने योजना समेत बनाएका छन् यसका लागि उनले सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गरेका छन् ।

परिवारमा उनको श्रीमान-श्रीमती , आमा , ३ छोरी र १ छोरा गरि ७ जना रहेकामा ४ जना छोराछोरी भने अहिले पढाई मै छन् । बालबच्चा पढाउन र घरखर्च गर्न अहिले सहज नै भइरहेको उनको भनाई रहेको छ । नेपालमा केही काम पाइएन भनी आफ्नो खेतबारी बाँझै राखी विदेशी भुमिमा कडा परिश्रम गर्न जाने नेपाली युवाहरूको लागि केदार पुडासैनी एक गतिला उदाहरण हुनसक्छन् । गरे यहाँ के हुँदैन ? (भिडियो सहित)