काठमाडौंमा सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण

0
120
[Ads]

कुल संक्रमितमध्ये ३३.१२ प्रतिशत, सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएकामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।

काठमाडौंमा २१ देखि ४० वर्ष उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण देखिएको छ । यो उमेर समूहका व्यक्ति धेरै चलायमान हुने भएकाले उनीहरूमा बढी संक्रमण देखिएको हो । कुल १२६१३७ संक्रमितमध्ये ४१८५५ जना अर्थात् ३३.१२ प्रतिशत, ३७३८२ जना सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएका ७१५ जनामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार सबैभन्दा सक्रिय उमेर समूहमा बढी संक्रमित देखिनुले यसको व्यापकता र जटिलता दुवै देखाउँछ । ‘यो डरलाग्दो तथ्यांक हो, नेपालले आफ्नो सारा अवसर गुमायो, दक्षिण एसियामा सबैभन्दा नराम्रो अवस्थामा पुग्ने डर भयो,’ उनले भने, ‘खास गरेर राजधानी काठमाडौं नै कोल्याप्स भयो भने देशभरिको अरू भाग त सबै कोल्याप्स हुन्छ ।’

काठमाडौं जिल्लामा काम गर्ने उमेर समूहअन्तर्गत २१ देखि ५० वर्षसम्मका कोभिड संक्रमित ७२.८२ प्रतिशत छन् । ‘दिनहुँ हजार–दुई हजारभन्दा बढी नयाँ कोभिड संक्रमित काठमाडौंमा देखिएका मात्र हुन्,’ उनले भने, ‘काठमाडौंमा संक्रमण भएर पनि पहिचान नभई घुमिरहेकाको संख्या कति छ कति । अब गम्भीर हुनुपर्ने स्थिति आइसक्यो ।’

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा कोभिड संक्रमण समुदायमा गइसकेको भए पनि आधिकारिक स्तरबाट प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स सर्भे’ को नतिजा पर्खनुपर्ने अवस्था छ । काठमाडौंमा कोभिड संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना भएको जनाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘कोरोना भाइरसको काठमाडौं केन्द्रबिन्दु भयो । पछिल्लो दुई महिनामा कोभिडका चार गुणा केस बढेको छ । आईसीयूको त के कुरा, जनरल बेड पनि पाउन नसकिने अवस्था आएको छ ।’

स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरूले समेत काठमाडौंमा कोभिड बिरामीका लागि बेड पाउन गाह्रो भएको, नपाइएको गुनासो बढ्दै गएपछि बाध्य भएर सबै सरकारी अस्पतालमा कोभिडको उपचार गर्न थालिएको बताए । उनीहरूले अझै बेडको समस्या कायमै रहेको जनाए ।

काठमाडौंका सबै अस्पताल कोभिड बिरामीले भरिइसकेको र ठाउँसमेत नरहेको जनाउँदै डा. वन्त भन्छन्, ‘हामीभन्दा श्रीलंका धेरै माथि थियो, सानो जनसंख्या भएको माल्दिभ्स अत्यन्त जोखिममा थियो, उसले रोक्यो । पाकिस्तान, बंगलादेशले रोके । भुटानले पनि राम्रो गर्‍यो । भारतले राम्रो गर्न नसके पनि त्यहाँ निको हुने दर बढी भएकाले संक्रमितको संख्या घट्दै छ तर हामी कहाँ थियौं र गलत नीतिले गर्दा कहाँ पुग्यौं ?’

चिकित्सक संघले पनि काठमाडौंलगायत देशभर कोभिड संक्रमित बिरामीहरूको उपचारका लागि अस्पतालहरूमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजन र रेमडेसिभिरलगायत अत्यावश्यक औषधिहरूको अभावका कारण संक्रमितहरू सडकमा भौंतारिन बाध्य भएको जनाउँदै सहज उपलब्धताको माग गरेको छ । सरकारले काठमाडौंको कोभिड संक्रमणविरुद्घ चाँडै स्मार्ट एक्सन नलिए यसको प्रसार देशभरि हुने र थेग्न नसकिने अवस्था आउने विज्ञहरूले चेतावनी दिएका छन् ।

‘अब सरकारले स्वास्थ्य उपचारको स्रोत र साधनलाई पाँच गुणा नबढाए भयावह अवस्था निम्तिन्छ,’ डा. कार्कीले भने, ‘बेड नपाएर घरकै आइसोलेसनमा, सडकमा भौंतारिएर संक्रमितहरू मर्न थाले ।’ विज्ञहरूले राजधानीमा कम्तीमा १० हजार जनालाई पुग्ने आइसोलेसन सेन्टर स्थापनासँगै, एउटा ठूलो अस्पताल र मेडिकल कलेजलाई पूर्ण कोभिड अस्पतालका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्यकर्मीलाई कोरोना देखिए मात्र आइसोलेसन

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड–१९ बिरामीहरूका उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै गरी यस्तो निर्णय गरिएको बताएका हुन् । ( ई-कान्तिपुरबाट )