कोभिड-१९ को जोखिम कायमै छ, यसपालिको दशैं-तिहार भिडभाड नगरी घरमा मात्रै मनाउँ-मकवानपुरगढी गाउँपालिका

0
184
[Ads]

मकवानपुरगढी – कोभिड-१९ को जोखिम कायम नै रहेकोले स्वास्थ्य मापदण्ड अपनाई यसपालीको दशैं- तिहार मनाउँदा आफ्नै घर परिवारमा मात्र सिमित गर्न मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाबासीलाई अनुरोध गरेको छ ।

विभिन्न शक्तिपिठहरुमा नित्यपुजा बाहेक बलि दिने कार्य यस वर्ष नगर्न भन्दै यो वर्षको दशैंमा टीका थाप्न आफ्नो घर बाहेक अन्यत्र आफन्तजनमा नजान र आफन्तजनलाई पनि टीका थाप्न नबोलाउन अनुरोध गरेको छ ।

सार्वजनिक स्थानहरुमा पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने – खेलाउने जस्ता भिडभाड हुने कार्यहरु नगर्न नगराउन भन्दै दशैं तिहार जस्ता पर्वहरुमा तास-जुवा खेल्ने , धूम्रपान तथा मद्यपानमा संलग्न हुने गरेको पाइएकोले त्यस्ता क्रियाकलापलाई मकवानपुरगढी गाउँपालिकाबाट जारी सामाजिक सुधार व्यवहार ऐन २०७५ बमोजिम बर्जित गरिएकोले त्यस्ता कार्य नगर्न नगराउन भनिएको छ ।



कोभिड १९ को जोखिम कायम नै रहेकोले सचेतना मुलक सन्देशहरु प्रवाह गर्ने , भिडभाड हुन नदिने , टीका लगाउने प्रयोजनका लागि हिडडुल गर्न नदिने , अटो लगायत सवारीका साधन प्रयोग गरि दशैं-तिहारमा हिडडुल नगर्ने तथा दिपावलीमा खेलिने देउसी भैलो जस्ता कार्यक्रमहरुको आयोजना नगरी घरमा मात्र सिमित गरि दशैंको टीका लगाउन तथा तिहार मनाउन पालिकाले सबैमा अनुरोध गरेको छ ।

यहि कार्तिक ३ गते एक सुचना जारी गर्दै गाउँपालिकाले यस वर्षको दशैं-तिहार सुरक्षित र संयमित रुपमा मनाउन सम्पुर्ण गाउँपालिकाबासीलाई अनुरोध गर्दै बडादशैं र शुभ दिपावलीको अवसरमा देश विदेशमा रहेका सम्पुर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।