मकवानपुरले स्वास्थ्य क्षेत्रमा फट्को मारेको मुख्यमन्त्री पौडेलको भनाइ

0
195

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरले स्वास्थ्यको क्षेत्रमा फट्को मारेको बताउनुभएको छ ।
मकवानपुर सहकारी अस्पतालले बिहीवारबाट संचालन गरेको अति सघन उपचार कक्ष (आइसियु) सहितको ट्रमा सेन्टरको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गठन पश्चात् सरकारले प्रदेशका १३ वटै जिल्लाको स्वास्थ्य सुधारमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

मकवानपुर जिल्लाको स्वास्थ्य सेवा गुणस्तरीय नभएकै कारण जिल्लावासीले जिल्ला बाहिर गइ स्वास्थ्य उपचार गरिअर्बौ रुपैयाँ खर्च गर्नुपरेको अबस्थामा प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गरि मेडिकल शिक्षा र स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्दै स्वास्थ्य सेवा सुरु गरिएको समेत जानकारी दिनुभयो ।

उहाँले अब केहि वर्ष पछि मकवानपुरबाटै डाक्टर उत्पादन हुने गरि पढाई सुरु हुने समेत बताउनुभयो । उहाँले सहकारी संस्था मार्फत सेवामूलक कार्य भएकोले प्रदेश सरकारले निजी तथा सहकारी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थालाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

बिगत १० बर्ष देखि संचालन भइरहेको अस्पतालले दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको हो । २५ बेडको मकवानपुर सहकारी अस्पतालले बेडको क्षमता समेत वृद्धि गरि स्वास्थ्य सेवा संचालन गर्ने योजना बनाएको सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो ।