दुग्ध उद्योग स्थापनाका विषयमा मनकामना दुग्ध सहकारीमा सरोकारवालाहरुको छलफल

0
213
  • Save

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उद्योग स्थापनाको संभावनाका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया छलफल गरेको छ ।

छलफलमा संघीय सांसद कृष्ण प्रसाद दाहाल , गाउँपालिका अध्यक्ष बिदुर हुमागाँई , वडा अध्यक्ष भागवत घिमिरे , संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहाल लगायत संस्थाका पदाधिकारी एवम् शेयर सदस्य किसानहरुको उपस्थिति रहेको थियो ।

छलफलमा किसानहरूले दूध उत्पादनका लागि आफ्ना खेतबारीमा खेती लगाउन छोडी घाँस लगाई पशुपालनमा लागेकोले दुधको उचित मूल्य पाउनुपर्ने तथा मिल्क होलिडे बाट किसानलाई जोगाउन उद्योग संचालन गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का संघीय सांसद कृष्ण प्रसाद दाहालले आयोजना संचालन गर्दा विभिन्न चुनौतीहरु हुने भएकोले सहकारीले एकल रुपले भन्दा पनि जिल्ला संघको संयोजनमा उद्योग संचालन गर्दा अझ प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । दुग्ध किसानहरुको समस्याका विषयमा आफू चिन्तित रहेकोले सहकारीले स्थापना गर्ने उद्योगलाई लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

छलफलमा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले आफुले लामो समय दुग्ध सहकारीमा नै बिताएकाले किसानहरुको समस्याको विषयमा जानकार रहेकोले परियोजना संचालनका लागि आफुले सक्दो सहयोग गर्ने धारणा राख्नु भएको थियो । परियोजना संचालन गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरेर मात्र कार्यक्रम बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

२०४२ सालमा स्थापना भएको संस्थाले हाल दैनिक ४ हजार लिटर दूध उत्पादन गरिएको छ । विगत वर्ष देखि नै संस्थाले दुधको परिकार उत्पादनका लागि उद्योग स्थापना गर्ने योजना बनाए पनि विविध कारण उद्योग स्थापना हुन सकिरहेको छैन ।

  • Save
  • Save