प्रचण्ड/माधव समूहको तेस्रो चरणको सडक संघर्ष आजदेखि

0
40

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पश्चात् सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड/नेपाल समूहको तेस्रो चरणको आन्दोलन आजबाट सुरु हुदैछ। प्रचण्ड/नेपाल समूहले आन्दोलनको पहिलो दिन आज सिट्ठी जुलुस गर्न लागेको हो। काठमाडौं सहित देशका प्रमुख शहर लक्षित गरि आन्दोलन हुनेछ।

काठमाडौं र ललितपुरकोबाट सिट्ठी जुलुस निकालिने संघर्ष समितिका सह–संयोजक पम्फा भुसालले जानकारी दिइन्। आजदेखि शुरु हुने आन्दोलन २८ गतेसम्म चल्ने छ। १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरुसहितको दैनिक धर्ना कार्यक्रम हुनेछ।
त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। देशभर विभिन्न विरोध सभा र आन्दोलन घोषणा गरिएको छ। माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुनेछन् र ती सभामा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा हुने भुसालले जानकारी दिएन्।