पालिकाको विकासको लागि कृषि र पर्यटनलाई विशेष जोड – अध्यक्ष हुमागाई

0
203

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पालिकाले कृषि र पर्यटनको प्रबर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको वताउनुभएको छ ।

आज मकवानपुरगढी पत्रकार समाजको आयोजनामा मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले गढीमा विकासको संभाबना धेरै रहेको तर श्रोत र साधनको अभाब रहेको वताउनुभयो ।

जनशक्ति र इच्छा शक्ति भएपनि पैसा नहुँदा काम गर्न समस्या रहेको उहाँले वताउनुभयो । राम्रो काम गरेमा प्रचार गर्न र नराम्रो काम गरेमा खबरदारी गर्नका लागि उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । किसानलाई हरेक क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको वताउँदै उहाँले भन्नुभयो–‘दुधमा किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान दिएका छौं । त्यसैगरी अन्नमा प्रती केजी दुई रुपैया दिन लागेका छौं ।’

यसैगरी पालिकाले नयाँ कार्यक्रम अन्तर्गत बीउ बैंक स्थापना गर्ने योजना बनाएको बताउँदै पशुपालक किसानको लागि सहज र सरल तरिकाले दानाको उपलब्धताको लागि दाना उद्योगको स्थापनामा सहयोग गरिएको बताउँदै पशुमैत्री पार्कको निर्माण गरिने र दुधको विविधीकरण परियोजना निर्माणका लागि पनि पालिकाले सहयोग गर्ने बताउनुभयो ।

मकवानपुरगढी घुम्न आउने पर्यटकका लागि कम्तीमा दुई दिन मकवानपुरगढी मै बिताउने गरि पाकिकाका विभिन्न ठाउँलाई पर्यटकिय हिसाबले विकास गर्छौं हुमागाईले भन्नुभयो । मनकामना मन्दिर , सहिद रुद्रबाटिका स्मृति पार्क , ऐतिहासिक मकवानपुरगढी दरबार , बुढिचौरमा रहेको ऋषेश्वर गुफा , खुँडेधार पदमार्गलाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न लागिएको बताउँदै अझ नयाँ सम्भावित पर्यटकिय गन्तब्य पहिचान गरिने र बुढिचौर एरियामा प्याराग्लाईडिङ तथा बन्जिजम जस्तो साहसिक खेलको लागि सम्भाब्यता अध्ययन काम भैरहेको बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका पत्रकार समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले पालिकाले गत तथा यस आर्थिक वर्ष पौष महिना सम्म कृषि क्षेत्रमा भएगरेको उपलब्धी तथा कृषि प्रबर्द्धनमा गरिन सकिने कार्यको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले पर्यटन प्रवर्द्धनमा भएगरेका प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ३ नं वडाका वडाध्यक्ष भागवत घिमिरे, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष राममणी दाहाल, प्रेस संगठनका केन्द्रीय सदस्य रामकुमार एलन, अर्का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सहसंयोजक सुनिल खड्का, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहाल ,प्रेस युनियन मकवानपुरका अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा मकवानपुरगढी लगायत जिल्लाका करिब ६० जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।