अनुभव- “सेवाग्राहीलाई हैरानी”

0
233

✍️
आजकाे मेरो अनुभवले मलाई मेरै गाउँ अन्तर्गत पर्ने मकवानपुरगढी गाउँपालिका-३ काे वडा कार्यालय अन्तर्गत रहेको भुकम्प पुनः निर्माण अफिसकाे सेवाको सम्बन्धमा केही भन्न बाध्य गराएको छ। आज फागुन -२ गते म भुकम्पकाे पूर्ण क्षतिमा परेको मेरो घरको दाेस्राे र तेस्रो किस्ताकाे लागि सिफारिस लिन लगभग १०:०० बजे मकवानपुरगढी गाउँपालिकाकाे कार्यालयमा पुगेको थिएँ। अफिसमा सव इन्जिनियर रीता चाैधरी हुनु हुँदाे रहेछ। म पुगेको केही समयपछि इन्जिनियर सुरज यादवलाई फाेन गरेर उहाँ अफिसकाे काम छ भन्दै बजार लाग्नु भयो ।

उहाँ बाहिरिएको एक घण्टापछि सुरज सरलाई फाेन गरे। उहाँले आउन ढिलो हुन्छ नपर्खिए पनि हुन्छ भन्नु भएको थियो । अर्को दिनबाट बिदा मिलाउन कठिन हुने भएकोले उहाँलाई पर्खिरहने प्रतिबद्धता जाहेर गरे र पर्खि रहेँ पनि । उहाँले आइपुग्न ढिलो हुन्छ भनेता पनि उहाँ १:०० बजेतिर अफिस आइपुग्नु भयो र मैले मेरो दाेस्राे र तेस्रो किस्ताकाे लागि घर निर्माण सम्पन्न भएकाे फाेटाे देखाएर सिफारिसकाे लागि अनुरोध गरेँ। उहाँले मेरो सम्पन्न घर निर्माणको फाेटाे हेरेर के भयो के भएन भन्दै बल्ल फर्ममा सही गर्नु भयो ।

एउटा काम त भयाे अब बाँकी रह्यो गाउँ पालिकाकाे सिफारिस लिन। साेही दिन पालिकामा कार्यक्रम भएको कारण पालिका सचिवसँग समय थिएन।पालिका अध्यक्षकाे अनुमति लिएर साेही भुकम्प शाखाका इन्जिनियरलाई चिठी बनाउन अनुमति गरे। उहाँले शुरुमा मलाई आउदैन,म भ्याउदिन भने पनि गाउँपालिका अध्यक्षकाे अनुमतिले अनुरोध गरेकाे हुँ भनेपछि उहाँले बल्ल हुन्छ केही समय कुर्नु भन्नुभयो । लगभग सवा घण्टा भन्दा बढी कुरेँ । कुनै चालचाेल नदेखिएपछि अफिस भित्र गएर साेधेँ। मेरो कामको पालाे आयाे त सर? त्यसपछि उहाँले जवाफ दिनुभयो । आज मैले सबै फाइल बुझाउनु पर्छ। ४:०० बजेसम्ममा मेरो काम सकियाे भने तपाईंको काम गरि दिन्छु । कुर्न सक्नु हुन्छ भने सबै काम सकेपछि जति बजे पनि गरिदिउँला । गजब लाग्यो दश मिनेटको कामको लागि बिहान १०:०० नबज्दै अफिस पुगेकी म बिना काम चार बजेपछि पनि काम हुने नहुने यकिन नदेखे पछि मैले कुर्न सकिनँ । उहाँको काम गराइ हेर्दा चार बजे पनि काम बन्ने छाँटकाँट देखिदैनथ्याे। बिना काम ६/७ घण्टा खेर गएकोमा निराश भएर घर फर्किएँ।

सामान्य १०/१५ मिनेटको काम त ६/७ घण्टामा बन्दैन भने लामो समय लाग्ने काम भए कति समयमा फत्ते हाेला ? याे विषय चाँहि साेचनीय देखिन्छ । त्यहाँको काम अत्यधिक भनाै भने उहाँलाई बिरलै अफिसमा देखिने जानकारी पाइएको थियो । अरु कर्मचारीकाे भनाइ अनुसार उहाँले ल्याप्चे लगाउन नपर्ने कारण उहाँ मन लागेको दिन अफिस जाने मन नलागे नजाने भन्ने पनि बुझिएको थियोे । उहाँले गर्ने धेरै जसाे काम साेही अफिसकाे सचिवले गर्ने गरेकी रहिछन् । उहाँलाई कसैले केही बाेल्दैन,आनन्द छ । आज पनि साेही अफिसकी सचिव रीता चाैधरी अफिसकाे कामले बजार गएको कारण मात्र उहाँ अफिसमा उपस्थित भएको जस्तो बुझिएको थियोे । उहाँ नआईपुग्दै केही सेवाग्राही आज पनि काम भएन भन्दै फर्किएका थिए। यसरी सामान्य कामकाे सेवा लिन यति कठिन छ भने माथिल्लो निकायको अवस्था के हाेला?

हरेकले आफ्नाे काममा इमानदार,लगनशील र कर्तब्यनिष्ठ भएर नलाग्ने हाे भने आगामी दिनहरू झन् कस्ता रहलान्।याे त एउटा सामान्य उदाहरण मात्रै हाे यस्ता सयौं उदाहरण सेवाग्राहीबाट दिनहुँ जसाे सुनिने गरेको छ। साना मसिना कुरा भनेर हेलचेक्र्याइ नगराैँ। हरेक कमजोरी शुरुवातमा सानो नै हुन्छ । सियो चाेर्नेले फाली चाेर्छ,फाली चाेर्नेले घर फाेर्छ भनिन्छ नि होइन र! त्यसैले म जस्तो सेवाग्राहीले एउटा सेवा लिनकाे लागि पटकपटक धाउने अवस्था नआओस्। यस्ता पक्षमा सम्बन्धित सबैको ध्यान जानु जरुरी देखिन्छ ।

अन्त्यमा कुनै कर्मचारी र कुनै अफिस कामको सन्तुलन नमिलेको पाइए पनि सामान्य अवस्थामा रहेको मेरो गाउँ मकवानपुरगढी गाउँपालिका-३ मा भएको विकासको गतिले मलाई धेरै गर्भान्वित बनाएको छ। गाउँका सबै जसाेले राेजगार पाएका छन् । गाउँमा सबै कुराकाे सुविधा भइसकेको छ ।

बाटोघाटाे ,बत्ती,पानी,यातायात,स्कुल,बजार सबै कुरा पूर्ण मेरो गाउँ पालिकामा सानातिना कमीकमजोरी सुधार गर्दै जाने हाे भने एक दिन साच्चै नमुना गाउँ पालिका बन्ने कुरामा दुइमत छैन। त्यसैले मेरो अनुरोध के छ भने “सके राेपिएकाे बिरुवामा मलजल गराैँ नसके पनि बिरुवा उखेलेर फाल्ने काम नगराैँ ।”
– अर्चना दहाल
मकवानपुरगढी गाउँपालिका-३, मक्रान्चुली