हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

0
320

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला पार्टी कार्यालय संचालन गरि पार्टीको गतिविधि सुरु गरिएको छ । 

सर्वोच्च अदालतले आइतबार केपि शर्मा ओलि र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) लाई खारेज गरी ऋषि कट्टेल नेतृत्वको नेकपालाइ मान्यता दिएको थियो । सर्बोच्चको फैसला अनुरुप पुर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै हेटौंडामा साविक नेकपा एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालय संचालन गरि गतिविधि सुरु गरेको हो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता भएपछि मकवानपुरमा तत्कालीन एमालेको मदन स्मृति भवन, हेटौंडा ५ मा पार्टीको कार्यालयमा एकीकृत कार्यालय संचालन गरिएको थियो । तर सर्बोच्चको आदेश सङ्गै पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड टांगी अध्यक्ष एकालाल श्रेष्ठलाई पदस्थापना समेत गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य अनन्त पौडेलले जानकारी दिनुभयो ।

सोमबार नेकपा एमालेको साबिक जिल्ला पार्टी कार्यालय, सानोपोखरामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला सह इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्यद्वय अनन्त पौडेल र मधुसूधन खतिवडाको उपस्थितिमा कार्यालय संचालन गरिएको हो ।

कार्यालय संचालन सङ्गै भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले सर्बोच्च अदालतले ऐतिहासिक फैसला गरेकाले फैसलाको सम्मान गर्दै आम नेता कार्यकर्ताको भावना अनुसार पार्टी कार्यालय संचालन गरिएको बताउनुभयो ।
उहाले पार्टी कार्यालय निर्माण र संचालनमा तत्कालीन एमालेका नेता कार्यकर्ताहरुको रगत पसिना बगेकोले कार्यालय सङ्ग भावनात्मक सम्बन्ध समेत रहेको बताउनुभयो ।