बाजपेयी सरकारमा मन्त्री रहेका यशवन्त सिन्हा ममता बनर्जीको पार्टीमा प्रवेश

0
7

अटल बिहारी बाजपेयी सरकारमा वित्त तथा विदेशमन्त्री रहेका यशवन्त सिन्हा शनिबार कोलकातामा तृणमूल कंग्रेसमा शामेल भएका छन् । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सिन्हा बीजेपीसँग रुष्ट रहेका थिए । पछि उनले पार्टी नै परित्याग गरेका थिए ।
यद्यपि, सिन्हाका छोरा जयन्त सिन्हा अहिलेसम्म बीजेपीमा नै रहेका छन् र उनी झारखण्डको हजारीबागबाट लोकसभा सिटबाट सांसद छन् । मोदी सरकारको पहिलो कार्यकालमा उनी मन्त्री पनि बनेका थिए । यता, यशवन्त सिन्हा भने लगातार नरेन्द्र मोदीमाथि हमला गर्दै आएका थिए ।
टीएमसीमा शामिल हुनअघि उनले ममता बनर्जीसँग उनको निवासमा भेटघाट गरेका थिए । भेटघाटपछि उनले केन्द्र सरकारमाथि हमला गरे । सिन्हाले भने, ‘देश दोबाटोमा उभिएको छ । हामी जुन मूल्यमाथि भरोसा गर्थ्यौँ, त्यो खतरामा छ । न्यायपालिकासमेत सबै संस्थानलाई कमजोर बनाइएको छ । यो पुरै देशको लागि अहम लडाइँ हो । यो कुनै राजनीतिक लडाइँ होइन, यो लोकतन्त्र बचाउने लडाइँ हो ।’

सिन्हाले भने, ‘ममता जी र मैले साथमा अटलजीको सरकारमा काम गरेका थियौँ । ममताजी सुरु देखि नै फाइटर हुनुहुन्थ्यो । आज म तपाईंलाई एउटा कुरा भन्न चाहन्छु कि जब इन्डियन एयरलाइन्सको विमान जब अपहरण गरेर आतंकवादीले कान्धार लगेका थिए, क्याबिनेट बैठकमा ममताजीले आफू बन्धक बनेर अन्यलाई छोडन् तयार रहेको बताएकी थिइन् ।’ त्यतिबेला ममता बनर्जी अटल सरकारमा रेलमन्त्री थिइन् ।

सिन्हाले सन् २००९ को चुनाव जितेका थिए । तर, सन् २०१४ मा उनलाई बीजेपीले टिकट नदिएपछि नरेन्द्र मोदीसँग उनी टाढा बनेका थिए । अन्ततः सन् २०१८ मा २१ वर्ष बीजेपीमा रहेर उनले पार्टीबाट राजीनामा दिएका थिए ।

बीबीसी हिन्दीबाट