विश्वकप छनोट नेपालबाट खोसेर कुवेतमा

0
3

काठमाडौं / फुटवल विश्वकप छनोट अन्तरगत नेपालको घरेलु मैदानमा तय भएका खेल अब न्युट्रल भेन्युमा हुने तय भएको छ। कोरोनाको कारण देखाउँदै दशरथ रंगशालामा हुने तय भएका खेल अब कुवेतमा हुने एसियाली फुटबल महासंघ एएफसीले जनाएको छ।

कोभिड–१९ कै कारण पटक–पटक सर्दै आएको विश्व कप छनोटमा नेपालले तीन खेल खेल्ने कार्यतालिका रहेको छ। यसअघि खेल हुने स्थानको तय भएको थिएन। शुक्रबार कुवेत तय भएको हो। विश्वकप र एएफसी एसियन कप छनोटको खेलका रुपमा रहेको प्रतियोगिता ३१ मे देखि १५ जुन अर्थात २०७८ जेठ १७ देखि असार १ गते सम्मका लागि तय भएको हो।

विश्व कप छनोट अन्तर्गत समूह ‘बी’ मा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ छन्। नेपालले कुवेतसँग दुवै खेल खेलिसकेको छ भने बाँकी टोलीसँग अवे खेल खेलेको थियो। गत असोजका लागि तय भएको छनोट खेल कोभिड–१९ कारण चैतका लागि सारिएको थियो।

चैतमा पनि खेल नहुने भएपछि पुन नयाँ मिति र भेन्यू तय गरेको हो। नेपालले छनोटका ५ मध्ये ४ खेलमा हार र १ खेलमा जित हासिल गरेको छ। चाइनिज ताइपेलाई २–० ले हराएको नेपालले कुवेतसँग पहिलो लेगमा ७–० र दोस्रोमा १–०, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो। दशरथ रंगशाला तयार नभएका कारण नेपाल र कुवेतबीचको दोस्रो खेल भुटानमा भएको थियो। (थाहा खबरबाट )