मकवानपुरगढीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

0
80

मकवानपुरगढी- सबैका लागि घरघरमा मानव अधिकार , शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ बुधबार मकवानपुरगढीमा ‘ब्यवसाय र मानव अधिकार तथा उपभोक्ता अधिकार विषयक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको संयोजन तथा राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद प्रसाद भट्टराईको प्रमुख आतिथ्यता एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले राज्यले बनाएका मानव अधिकार सम्बन्धि नीति नियम स्थानीय तहसम्म नै लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका गतिविधिहरुलाई सहकार्य तथा समन्वय गरि प्रदेश तथा पालिका सम्म यथासिघ्र काम गर्न निर्देशन दिनुभएको थियो ।

त्यस्तै बागमती प्रदेश राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक यज्ञ प्रसाद अधिकारीले मानव अधिकार सम्बन्धि कार्ययोजनामा समेटिएका १७ सुचाङ्कका विषयमा प्रष्ट पार्दै हरेक तह र तप्कासम्म भएरहित वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष हुमागाईले मानव अधिकार सम्बन्धि यस्तो कार्यक्रम पालिकामा नै पहिलो पल्ट आयोजना भएकोले आगामी दिनमा काम गर्न आधार तय भएको भन्दै छिट्टै नै पालिका स्तरीय आयोग गठन गरि सहकार्य र समन्वय गरि काम गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रवर्द्धन महाशाखाका प्रमुख दिपेन्द्र बहादुर सिंह , बालकल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, गाउँपालिका न्यायिक समिति सदस्य सन्तु थिङ, सहभागिका तर्फबाट कविराज हुमागाई, रामशरण लामिछाने, कृष्ण प्रसाद कंडेल लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा, ८ वटै वडाका अध्यक्षहरु, सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, शाखाका प्रमुखहरु, वडाका सचिवहरु, संघसंस्थाका प्रतिनिधि , शिक्षक , विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।