नेपाल पशुपन्छीजन्य उत्पादन माछा , मासु , दुध र अण्डामा आत्मनिर्भर

0
41

काठमाडौँ-  सरकारले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको छ । विहिबार एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको हुन् ।

प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा संगै दूध ढुवानीको लागि प्रतिक(लोगो) चिन्हको समुद्घाटन, धुलो दूधको नयाँ प्याकेज समेत सार्वजनिक गरेका । प्रधानमन्त्री ओलीले पशुपन्छिजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण गरे तापनि मुलुक मासु र अण्डामा मात्र आत्मनिर्भर भएको कृषि मन्त्रालयले जनाएको छ । दुधमा आत्मनिर्भर उन्मुख रहेको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा २३ लाख १ हजार मेट्रिक टन दूध, ५ लाख ४८ हजार मे. टन मासु उत्पादन हुन्छ । १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मे टन माछा उत्पादन भएको छ । हालको प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट,१७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैया बराबरको खाद्यबस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको मन्त्रालयको दावी छ ।

विश्व खाद्य तथा कृषि संगठनले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध, १४ केजी मासु, ४८ गोटा अण्डा उपभोगको लागि सिफारिश गरेको छ । नेपालमा प्रति व्यक्ति प्रति वर्ष ७९ लिटर दूध, १८.१ केजी मासु, ६१ गोटा अण्डा उपलब्ध हुने गरी अण्डा उत्पादन हुने गरेको मन्त्रालयको दावी छ ।

मन्त्रालयका अनुसार प्रत्येक बर्ष ५ लाख देखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको छ । राँगा भैसीको आयात विगत २ वर्ष देखि यता शुन्य भएको मन्त्रालयको दावी छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर भएकोले अब निर्यात प्रवद्र्धधनमा जोड दिनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताए । कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको उनको दावी गरे । ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो’ उनले भने । कृषि रोजगारको आकर्षण क्षेत्र बनेको छ । कृषिको क्षेत्रको विकास गर्न उत्पादनमा विविधता र बजारीकरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले ओलीले बताए । नेपालीको सौखिन खाने शैलीले गर्दा प्रशस्त उत्पादन हुँदा पनि कृषिजन्य बस्तुको आयात नघटेको उनको भनाइ छ ।

यसैगरी प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन भएको बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताए । उनले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकारले तयारी थालेको जानकारी दिए । उनले प्राकृतिक ग्याँसबाट मल उत्पादन गर्दा सस्तो पर्ने भएपनि महँगौ लगानीबाट स्वदेशमै उत्पादन हुने विजुलीबाट मल कारखाना खोल्ने बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले निर्यात प्रवर्द्धनका लागि वाधक रहेको निश्चित पशुपन्छीका रोगहरु उन्मूलन तथा रोकथामका कार्यक्रममा मन्त्रालयले जोड दिइरहेको बताइन् । उनले र अव निकट भविष्यमा नेपालका पशुपन्छीजन्य उत्पादनहरु निर्वाध विश्व बजारमा पुग्ने बताइन् । यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।