मोजाम्बिकमा आतंकबादी आक्रमण, दर्जनौंको ज्यान गयो

0
15


मोजाम्बिकको पल्मा सहरमा भएको आतंकबादी  आक्रमणमा दर्जनौं व्यक्तिको ज्यान गएको र केही वेपत्ता छन् ।
मोजाम्बिकको रक्षा मन्त्रालयका प्रवक्ता ओमर सारंगाले समुद्री किनारमा पर्ने पल्मा शहरमा इस्लामी चरमपन्थीहरुले गरेको आक्रमणबाट दर्जनौं व्यक्तिको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

करिब ७५ हजार जनसंख्या रहेको पल्मामा कति जनाको मृत्यु भयो भन्ने यकिन अझै भइसकेको छैन । हतियारधारी समूहले पल्मा सहरलाई कब्जामा लिएको र सन्चार सम्पर्क पनि विच्छेद भएकाले क्षतिको यकिन विवरण आइनसकेको बीबीसीले जनाएको छ ।

मोम्बिक प्रहरीलाई सहयोग गर्दै आएको डाइक एडभाइजरी ग्रुप प्राइभेट सेक्युरिटी कम्पनीका कर्णेल लायनेल डाइकका अनुसार पूरै सहरमा शवहरु छरिएका छन् । केही शवहरु टाउको अलग भएको अवस्थामा पनि पाइएका छन् । हतियारधारी समूहले सबैभन्दा पहिले पसल, बैंक र सेनाका क्याम्पहरुमा आक्रमण गरेका थिए । आक्रमणबाट जोगिन केही मानिसहरु होटलहरुमा लुकेर बसेका थिए भने केही जंगलतर्फ भागेका थिए ।

मोजाम्बिकको रक्षा मन्त्रालयले चरमपन्थीहरुको चंगुलबाट केही विदेशी नागरिक र स्थानीयलाई बचाइएको जनाएको छ । गत बुधबार सो क्षेत्रमा इस्लामी चरमपन्थी आक्रमण भएको थियो । प्रत्यक्षदर्शीका अनुसार धेरै व्यक्तिहरु आक्रमणबाट जोगिन लुकेर बसेका थिए र सुरक्षाकर्मीहरुको प्रतीक्षा गरिरहेका थिए । चार दिनदेखि एक होटलमा लुकेर बसेका सात जनालाई भने आक्रमणकारीले मारेका छन् । यसैगरी समुद्री किनारमा केही व्यक्तिहरुको शव टाउको अलग भएको अवस्थामा फेला परेका थिए ।

मोजाम्बिकको उत्तरी क्षेत्रमा सन् २०१७ देखि चरमपन्थी आक्रमण हुँदै आएको छ । इस्लामिक स्टेटसँग सम्बन्धित समूहको आक्रमणबाट हालसम्म २ हजार ५ सय जनाको मृत्यु भइसकेको र सात लाख जना घर छाडेर भाग्न बाध्य भएको बीबीसीले जनाएको छ ।