यो रुखदेखी कति दिन तर्सिने ? सुरक्षित ढलाउने जिम्मा कस्को ?

0
297

मकवानपुरगढी- केही दिन अघिको डढेलोका कारण जोखिमपूर्ण अवस्थामा रहेको रुखलाई सुरक्षित ढलाउने काम नहुँदा जोखिम बढेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मनकामना चोकबाट केही माथि रहेको सालको धोत्रो रुखमा भित्री भाग सबै आगोले जलेको तथा बाहिरी भाग समेत छिया छिया हुनेगरी डढेकोले जोखिम बढेको हो ।

गत शनिबार रातीको समयमा खडा अवस्थामा रहेको रुखमा आगो दन्किए पछि दमकल बोलाएर आगो निभाईएको स्थानीय मानकुमारी पाख्रीनले बताउनुभयो ।

रुख हेटौंडा-मक्रान्चुली सडकको नजिक रहेको तथा रुख सडक पट्टी ढलेमा सडकमा सवार सवारी साधन एवम् पैदलयात्रीलाई जोखिम हुन सक्ने भएकोले सम्बन्धित ब्यक्ति वा निकाय जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

यसै पनि यो समय हावाहुरी आउन सक्ने समय भएको तथा सामान्य हावाले पनि रुख ढल्नसक्ने अवस्थामा रहेको कारण थप डराउनु पर्ने अवस्था छ । हेटौंडा बजारबाट गाउँपालिका कार्यालय ओहोरदोहोर गर्ने यहि सडक भएकोले एक्कैदिन सयौं सवारी साधन यस सडकमा गुड्ने गरेका छन् । ब्यक्तिको जमिनमा रहेको रुखलाई सुरक्षित तरिकाले तुरुन्तै ढाल्नको लागि सम्बन्धित जग्गाधनी , टोलविकास संस्था वा वडा कार्यालयले जिम्मेवारी लिनुपर्ने स्थानीयहरुको भनाई रहेको छ ।