एकैपटक एक सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीबाट शुभारम्भ

0
25
Advertisements

हेटौंडा / प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार एक कार्यक्रमका बिच बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर एकै पटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको हो । हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

यस वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको बताइएको छ ।

शनिबार शिलान्यास गरिएका सडकको कुल लम्बाई २ हजार २१० किलोमिटर रहेको छ । प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने जानकारी दिनुभएको छ।