मकवानपुरगढीमा जग्गा नाप्ने काम शुरु , करिब ४ हजार आवेदन

0
252
Advertisements

मकवानपुरगढी- मकवानपुरगढीमा आइतबार (आज) बाट जग्गा नाप्ने कामको शुरूवात गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले आज एक कार्यक्रममा बिच वडा नम्बर ६ को डुम्रेकुनाबाट जग्गा नाप्नको लागि प्राविधिक टोलिलाई सामान हस्तान्तरण गरि जग्गा नाप्ने कामको शुरूवात गरिएको हो । सरकारले भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान आयोग गठन गरि त्यस सम्बन्धि समस्या भएका जिल्लाहरुमा जग्गा नाप्ने कामको शुरूवात गरेको छ ।

अध्यक्ष हुमागाईले मकवानपुरगढीको लागि निकै महत्त्वपूर्ण ऐतिहासिक कामको सुरुवात भएको धारणा व्यक्त गर्दै भुमिहिन सुकुम्बासीलाई जग्गाको मालिक बनाउने अवसर प्राप्त हुन लागेको बताउनुभयो । वडागत समितिको बैठकबाट आवश्यक निर्णय गरि विवाद रहित तरिकाले काम गर्नुपर्ने भन्दै अध्यक्ष हुमागाईले खोला , मन्दिर, वनका जग्गा नापी नहुने तथा सार्वजनिक जग्गाको संरक्षण गरिने बताउनु भयो । साथै नापीमा खटिने कर्मचारीहरुलाई कामको सिलसिलामा सहज वातावरण बनाउनु पर्नेमा जोड दिनु भएको छ । गाउँपालिकाको वडा नम्बर १ र ६ मा जग्गा सम्बन्धित बढी समस्या रहेकोले बढी समस्या भएका वडाबाट काम गर्दै जाने बताउनु भयो । जग्गा नाप्ने क्रममा विवाद उत्पन्न भए तथा विवादित जग्गा भएमा पनि त्यस्ता जग्गाहरुको नापजाँच नगरिने अध्यक्ष हुमागाईले बताउनु भएको छ ।

पहिला पनि सुकुम्बासी आयोग गठन भइ जग्गा सम्बन्धि समस्याको समाधान गर्न खोजिएको भए पनि काम नभएको भन्दै यसपटक भने जग्गा नाप्ने काम हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । यस पटक संवैधानिक ब्यवस्था अनुसार आयोग गठन भएकोले सरकार परिवर्तन भैहाले पनि आयोगको काम नरोकिने भएकोले काम हुनेमा आफू निश्चिन्त रहेको धारणा ब्यक्त गर्नु भयो ।

भुमी सम्बन्धि लगत संकलन गरिसकिएको भन्दै तथ्यांक संकलन इकाई प्रमुख कविराज हुमागाईले पालिका भरिबाट करिब ४ हजारको निवेदन संकलन भएको बताउनुभयो। उहाँले पालिका भरिबाट १८० सुकुम्बासी परिवारले जग्गा प्राप्तिका लागि निवेदन दिएको बताउनुभएको छ ।

निवेदन वा सुचनामा उल्लेख भए अनुसार जग्गा नापिने भन्दै झुक्याएर गलत काम गरेको पाइए कार्वाही हुने भन्दै काम गर्ने र गराउने दुबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो । २ जना अमिन र २ जना सर्वेक्षक गरि ४ जना प्राविधिक टोलिले जग्गा नाप्ने काम तथा वडा तहबाट भरिएका फारमहरुलाई अनलाइन इन्ट्री गर्नेछन् ।

वडा नं ६ मा ६४१ घरपरिवारबाट निवेदन प्राप्त भएको र ती मध्ये भुमिहिन सुकुम्बासी ३ जना , दलित ३ जना रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा , वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता भागवत घिमिरे , वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिका सामाजिक विकास संयोजक जितबहादुर घिमिरे , अधिवक्ता रामशरण लामिछाने, जनप्रतिनिधि चिनिमाया लुङ्वा, केशब प्रसाद न्यौपाने , ६ नम्बर वडा सचिव सागर लामा लगायतकाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

६ नम्बर वडा अध्यक्ष टीका प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।