मकवानपुरगढीमा भइरहेको खेलमा लिगचरणका खेल सकियो

आज क्वाटर फाइनल र सेमिफाइनलका खेलहरु हुने

0
63

मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएको छ । सोमबार भएको लिग चरण खेलका विजेता टिम सबै फाइनलमा प्रवेश गरेका छन् । सोमबार पनि ७ खेल भएका छन् ।

जसमा एफसी कालिखोला र युसिटी बिच भएको खेलमा दुबै तर्फबाट १-१ गोल भएको थियो । यी दुई मध्ये प्वाइन्टको आधारमा एफसी कालिखोला क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसैगरी सयपत्री क्लब र नेस्टकला बिच भएको खेलमा सयपत्रीले नेस्टकला टिमलाई ४-० गोलले पराजित गरेको थियो । सौजन्य ‘ए’ र स्पोर्ट्स समूह बिच भएको खेलमा १६-७ गोलले सौजन्य ‘ए’ विजय भएको हो ।

यसैबीच सोमबार नै भएको खेलमा नागरिक सचेत क्लबलाई सौजन्य ‘बी’ ले ५-१ गोलले पराजित गरेको थियो । यसैगरी गाउँपालिका टिम प्रतिभा ‘बी’ बाट ८-१ गोलले पराजित भई क्वाटर फाइनल जान रोकिएको छ । यता युवक क्लब र गढी ५ बीच भएको खेलमा गढी ५ ले युवक क्लबलाई १-० गोलमा हराएको छ । यसैगरी प्रतिभा भेट्रान्स र प्रतिभा ‘ए’ बीच भएको खेलमा १५-१ गोल अन्तरले प्रतिभा ‘ए’ क्वाटर फाइनलमा प्रवेश गरेको आयोजक गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजकुमार दुलालले बताएका छन् । आइतबार भएको खेलबाट आयोजक टिम गढी स्टार स्पोर्ट्स क्लब र मकवानपुरगढी २ अन्तर्गतको सौजन्य ‘ए’ क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् ।

मकवानपुरगढी वडा नम्बर ३ मक्रान्चुली, भानुपिच मैदान (फुटसल) मा भइरहेको खेलमा मंगलबार क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु हुने आयोजक गढी स्टार स्पोर्ट्स क्लबका सचीव एवम् खेलका संयोजक विदुर हुमागाईले बताए ।

नयाँ वर्ष २०७८ साल बैशाख १ गते फाइनल खेल सहित विजेता टिमहरुलाई पुरस्कार वितरणका साथ खेलको समापन गर्ने कार्यक्रम तय गरिएको छ ।