लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बनाउने तयारी

0
148

हेटौडा / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभए संगै नेकपा एमालेले नयाँ सरकार गठनको तयारी थालेको छ।
मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। उहाँले राजीनामा दिनुभएसँगै उहाँ बिरुद्दको अविश्वासको प्रस्ताव स्वतः निस्क्रिय भएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा नेकपा एमालेका मात्रै ४१ सांसद छन् । नेकपा एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो ।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई बुझाएको राजीनामा पत्रमा संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गर्नुभएको छ।

संविधानको उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ भन्ने उल्लेख छ।

मुख्यमन्त्री पोखरेलको यसअघिको सरकार संविधानको धारा १६८(२) अनुसारको संयुक्त सरकार थियो।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई (चारजना कारबाही पछि)  बच्ने छन् । त्यस्तै राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।

लुम्बिनीमा एमालेबाहेकका दलको सभामुखबाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ।