हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने

अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय

0
7


हेटौंडा / हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्दै कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले हेटौंडा अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएपछि समितिले बिशेष निर्णय गर्दै हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने निर्णय भएको छ साथै यस अबधीमा अस्पतालको ओपिडी सेवा बन्द हुनेछ ।

अस्पतालमा हाल सञ्चालन भइरहेको २० शैयाको सेवामा कोरोना संक्रमित बिमारीको चापलाई थेग्न नसक्ने भएकाले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गरिएको प्रतिष्ठान सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो ।

साथै अस्पतालको आकस्मिक, प्रसुती सेवा र ज्वरो क्लिनिकलाई भने यथावत राखिएको र पिसिआरको रिर्पोट एसएमएस र अनलाईनबाट छिटो उपलब्ध गराउने लगायतका निर्णय भएको सदस्य उत्सव चौलागाईंले जानकारी दिनुभयो ।