थाहामा आइतबार सबैभन्दा कम संक्रमित

0
36


सुरेन्द्रमान प्रधान

थाहानगर / पछिल्लो समय अत्याधिक कोरोना संक्रमित दर बढिरहेको थाहानगरमा आइतबार भने सबैभन्दा कम संख्यामा पोजेटिभ देखिएका छन् ।
आइतबार लक्षणसहितका १० जनाको एन्टीजेन परिक्षण गरिएकोमा २ जना मात्र संक्रमित भेटिएको हो ।

आज प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ५ जनाको परिक्षण गरेकोमा थाहा १ र २ का १/१ जना संक्रमित भेटिएको हो । स्वास्थ्य चौकी बज्रबाराहीमा ५ जनाको परिक्षण गरेकोमा सबैको नेगेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए ।
यसैबीच, आइतबार होम आइसोलेशनमा रहेका र संक्रमितको सम्पर्कमा रहेका २२ जनाको स्वाव संकलन गरेको छ ।

त्यस्तै स्वास्थ्य चौकी बज्रबाराहीमा ७ जना र थाहा ९ मा ३१ जनाको स्वाव संकलन गरिएको छ । संकलित स्वाव पिसिआर परिक्षणका लागि सोमबार हेटौंडा पठाइने र मङ्गलबारसम्ममा रिपोर्ट आउने बताइएको छ ।
आइतबारसम्म थाहानगरमा ४ सय १३ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय २ जना संक्रमित भएका छन् । वडा नम्बर १ मा ३१, २ मा ३१, ३ मा ७०, ४ मा १७ जना संक्रमित भएका छन् । त्यसैगरी, वडा नम्बर ५ मा १०, ६ मा २३, ७ मा २, ८ मा १, ९ मा ३, १० मा ५ र ११ मा ७ जना संक्रमित भैसकेका छन् । १२ नम्बर वडामा भने हालसम्म परिक्षण भएको छैन । यी मध्ये १२ जना निको भएका छन् ।

२ जनाको मृत्यु भैसकेको छभने ६ जनाको थाहानगर बाहिर उपचार भैसकेको छ । संक्रमित मध्ये १ सय ८२ जना बिरामी होम आइसोलेशनमा छन् ।

आइसोलेशनमा रहेका सबैको स्वास्थ्य सामान्य छ ।