धमिले कृषि सहकारी संस्थाको भवन निर्माण शुरु

धमिले फाँटको खेतमा पानी अभावसँगै जन्मिएको थियो संस्था

0
104

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्थाको भवन निर्माण कार्य शुरु भएको छ ।

वडा नम्बर ३ को देविडाँडामा संस्थाको कार्यालय भवन निर्माण हुन लागेको छ । भवन निर्माणका लागि स्थानीय गोविन्द प्रसाद तिमल्सिनाले निशुल्क रुपमा जग्गा (घडेरी) दिएसंगै भवन निर्माणको कार्य शुरु भएको हो ।

भवन निर्माणका लागि गाउँपालिकाले रु. ५ लाख दिएको संस्थाका अध्यक्ष नवराज संजेलले बताउनुभयो । संस्थाले किसान र कृषिसँग सम्बन्धित विभिन्न गतिविधिहरु गरिरहेको र संस्थाको आफ्नो कार्यालय भवन नहुँदा समस्या परिरहेको भन्दै भवन निर्माण पश्चात् काम गर्न धेरै नै सहज हुने संजेलले बताउनु भएको छ ।

संस्थाले किसानहरुबाट उत्पादित खाद्यान्न खरिद बिक्री गर्नुका साथै किसानलाई चाहिने रासायनिक मल , बीउ बिजन उपलब्ध गराईरहेको छ । यस संस्था गाउँपालिकामा खाद्यान्न तथा रासायनिक मल खरिदबिक्रीका लागि सुचिकृत रहेको संस्थाका सचिव कुलप्रसाद तिमल्सिनाले बताउनुभयो ।

केही वर्ष अघि वडा नम्बर ३ को धमिले फाँटमा लगाएको बालीमा सिंचाइ गर्ने पानी अपुग भएपछी पानी लगाउन कै लागि किसानहरुका बिच झगडा पर्ने गरेको र पुगेको पानी आलोपालो सँग सबैका खेतमा लगाउनका लागि किसानहरुसँग केही पैसा उठाई पानी हेरालु राखिएको र त्यही बेला केही बचेको रकमको सदुपयोगका लागि सहकारीको आवश्यकता महसुस गरि सहकारी संस्थाको स्थापना गरिएको संस्थाका संस्थापक अध्यक्ष अनिरुद्र दाहालले बताउनु भएको छ ।