एमाले पार्टी एकता नतिजा उन्मुख रहेको कार्यदलको दाबी

0
27

हेटौंडा । नेकपा एमालेको एकता गर्न बनेको कार्यदलले समस्या समाधानको दिशामा अघि बढ्ने सहमति गरेको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा छलफलमा उठेका विषय तत्काल टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमति भएको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक डा. भीम रावलले जानकारी दिनुभयो । यस अघि हिजो भएको बैठकले एकता कार्यदललाई पुनर्जीवित बनाएको र आजको बैठकमा विषयमा प्रवेश गरेर छलफल भएको संयोजक रावलको भनाइ छ ।

ADVERTISEMENT

खनाल–नेपाल पक्षका कार्यदल संयोजक रावलले पार्टी एकता नजिक पुगेको बताउनुभएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले पार्टी एकताका लागि तत्काल सहमति नभए पनि यसले सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले बैठकमा अदालतको फैसलापश्चात जीवित भएको पार्टीको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरू समाधानको विषयमा छलफल भएको बताउनुभयो । कार्यदलको अर्काे बैठक भोलि बुधबार विहान साढे ८ बजे फेरि बस्ने गरि सकिएको छ । एमाले एकताको सन्देश दिन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने कुरा चर्चामा रहेको छ ।

तर, आजको कार्यदलको बैठकमा त्यस विषयमा भने कुनै छलफल नभएको नेता रघुजी पन्तले जानकारी दिनुभयो । पार्टी एकताका लागि भन्दै नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको तर्फबाट १० सदस्यीय कार्यदल गठन गरेको छ । एक महिना निष्क्रिय रहेको कार्यदल आइतबार बेलुकी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग नेपालपक्षीय नेता भीम रावलको भेटपछि सक्रिय भएको छ ।०००