कृषि क्षेत्रमा नयाँ आयाम,मकवानपुरगढीमा किसानलाई किसान कार्ड वितरण

0
181

मकवानपुरगढी – कृषि क्षेत्रमा नयाँ आयाम सहित मकवानपुरगढीमा आज एक समारोहका बिच किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ ।साना तथा सिमान्तकृत कृषकहरु माझ बित्तिय पहुँच पुर्याउने उदेश्यका साथ किसान कार्ड वितरण कार्य शुरुवात गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता एवम् मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि का अध्यक्ष अर्जुन प्रसाद दाहाल , गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको समेत उपस्थिति रहेको थियो । नेपाल बंगलादेश बैंक लि. मकवानपुरगढी शाखाका प्रबन्धक बद्रि बिक्रम थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्ड वितरण गर्दै गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले कृषि क्षेत्र विकास किसानका सुविधाको लागि गाउँपालिकाले विशेष पहल कदम गरिरहेको बताउनुभयो । बित्तिय क्षेत्रमा पहुँच कम पुगेका साना किसान हरुका लागि बिनाधिताे न्युनतम ब्याजमा ५ बर्षका लागि क्रेडिटकार्ड मार्फत पशुपालन ,कृषि ब्यबसाय का लागि २लाख रुपैयाँ सहकारी काे ब्यबस्थापन र समूह जमानतमा बितरण गर्ने याे कार्यक्रम ८ सय किसान मा पुर्याउने उदेश्य रहेकाे हुमागाईले बताउनुभयो। पालिका अध्यक्ष हुमागाई र ३ नं का वडाध्यक्ष भागवत घिमिरेले संयुक्तरूपमा किसानहरुलाई कार्ड वितरण गर्नुभएको थियो । यस कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरि जम्मा २५ जना कृषकलाई किसान कार्ड मार्फत प्रति किसान २ लाखका दरले विना धितो सहुलियत व्याज दरको कृषि कर्जा उपलब्ध गराईएको हो ।

नेपाल बंगलादेश बैंक लि., आर.एण्ड डि.ईनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच भएको चौपक्षिय सम्झौता बमोजिम किसान कार्ड वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

अगामी दिनमा थप कृषकहरुलाई समेट्दै बित्तिय पहुँच पुर्याई कृषि तथा पशुपालन क्षेत्रमा थप व्यवसायिक बन्ने अपेक्षा गरिएको चौधरीले बताउनु भएको छ ।