मकवानपुरगढी गाउँपालिकाद्वारा कृषि यन्त्र उपकरण हस्तान्तरण

0
189

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकाले आज एक समारोहका बीच कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई विभिन्न कृषि यन्त्र उपकरणहरु हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ पालिकाले कदम चालेको र त्यसकै फलस्वरूप विभिन्न प्रकारका यन्त्र उपकरणहरु वितरण गरिएको बताउनुभयो । कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानलाई प्रत्यक्ष अनुदानको ब्यवस्था गरेको धारणा व्यक्त गर्नुभयो ।

मकवानपुरगढी वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्था र वडा नम्बर ६ मा रहेको एकीकृत शत्रुजीव ब्यवस्थापन आई पि एम कृषक सहकारी संस्थालाई कल्टिभेटर सहितको ठूलो ट्रयाक्टर १-१ वटा वितरण गरिएको छ । अन्य कृषि यन्त्र उपकरणहरुमा मिनि टिलर २७ वटा मकै छोडाउने मेशिन २० वटा र हाते मकै रोप्ने मेशिन २० वटा वितरण गरेको हो ।

यस कार्यक्रमबाट ५ वटा कृषि सहकारी,१६ वटा कृषक समूह र १२ वटा कृषि फर्महरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् भने अप्रत्यक्ष रुपमा सयौ कृषकहरु लाभान्वित हुने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक बजेट अनुसार कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यन्त्र उपकरणहरु वितरण गरिएको चौधरीले बताउनु भएको छ ।

मकवानपुरयढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षतामा भएको समारोहमा पालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत श्री रामकुमार पुडासैनी , वडा नम्बर ३ ,४ र ६ का वडाध्यक्षहरु भागवत घिमिरे, रामप्रसाद तिमल्सिना र टिकाप्रसाद दाहाल , कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत गाउँपालिकाका कर्मचारी र कृषकहरुको सहभागीता रहेको थियो ।