राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने देउवाको अडान

0
28

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको विज्ञप्ति सच्चिएसम्म सपथ ग्रहणमा सहमागी नहुने अडान राख्नु भएको छ ।

नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाउनु भएको हो । देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तीको विषय नसच्चिएसम्म सपथ ग्रहण नहुने बताउनु भएको हो । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाउनु भएको हो ।

ADVERTISEMENT

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाउनु भएको हो । यसअघि कानुनविदहरुले देउवालाई संविधानको धारा उल्लेख नगरी गरिएको नियुक्तिमा शपथ नलिन सुझाव समेत दिएका थिए । देउवाले विज्ञप्ति सच्याउन निर्देशन दिएपछि राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिनु भएको बताइएको छ । विज्ञप्तिबारे विवाद भएपछि साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।००००